अक्षरदेखि आकारसम्म : भाषाशैली, साहित्य र प्रकाशनका कुरा

डा. सिके राउत डा. सिके राउत
शनिबार, १९ फागुन, २०८०
डिजिटल संस्करण

नेपाल लिटरेचर फेस्टिवलका लागि पोखरा जानुपर्ने । आफू कतारमा मजदुरहरूसँग छु । क्याम्प घुम्दै । कतारबाट फर्किने टिकट एक दिनअगाडि सारेँ । नसारेर ‘रिस्क’ लिन सकिन्थ्यो, तर लिइनँ । खगेन्द्र संग्रौला सरको डरले । 

‘डाक्टरसाहब, एक दिनअगाडि नै आउनुहोला । हामीले स्टेजमा जानुपूर्व एक छिन छलफल गर्नुपर्छ,’ उहाँले भन्नुभएको थियो । तर, कुरा त्यो होइन ।

उहाँजस्तो हस्तीलाई कुनै पूर्वतयारी चाहिँदैन । खासमा गतवर्ष पनि पोखरामै आयोजना गरिएको नेपाल लिटरेचर फेस्टिवलमा मेरो सत्र उहाँसँगै थियो । ठीक त्यही दिन गठबन्धनको पहिलो बैठक । मन्त्रालयको निर्णय हुनुपर्ने, त्यही दिन शपथग्रहण गर्नुपर्ने । राजनीतिको नवप्रवेशी कच्चा खेलाडी । गठबन्धनको बैठक कस्तो हुन्छ, थाहासमेत नभएको । म शंकर हलमा एक्लै कुर्दै बसेको, उता अर्को कोठामा नेताहरू एक–एक गरी पालैपालो फुत्त–फुत्त छिर्दै निस्किदैँ । कति खेर बैठक भयो थाहै पाइनँ । पछि म पनि उतै फुत्त छिरेँ, निस्केँ । आफ्नो पार्टीको भाग लिएँ, सहयोद्धालाई दिएँ, शपथग्रहण गराएँ । शपथग्रहण गराउन पनि कम्ता सास्ती भएको थिएन– हुनेवाला मन्त्रीज्यूलाई खोजेर, डेराबाट टिपेर, गन्जी र अन्तरवस्त्रसम्म आफैँले किनेर ल्याइदिएर शपथग्रहण गराउनुपरेको थियो ।

उता पोखरामा खगेन्द्रसर जिल्ल ! रंगमञ्चमा बस्दा त पार्टनर नै छैन । ‘सी.के. राउतलाई बोलाएको भनेर तपाईंले हामीलाई ठग्ने ?’ भन्दै उर्लेको आक्रोशित भिडलाई उहाँले मलाई सत्ताले काठमाडौंमा भुल्यायो भनेर गाली गर्दै आफ्नो प्रेमलीला सुनाएर थामथुम पार्नुभएको थियो । त्यही कुराको प्रायश्चितस्वरूप पुनः पोखरामा यसपालि उहाँसँगै मेरो सत्र राखिएको थियो । उहाँमा डर थियो– फेरि यो सी.के. भाग्ला कि भनेर ! त्यही भएर एक दिन अगाडि नै उहाँले आउन भन्नुभएको थियो ।

कतारबाट काठमाडौं ओर्लेको केही घन्टामै बेलुका ९:२५ को उडानबाट पोखरा आएँ । आउनेबित्तिकै खगेन्द्रसर अगाडि पहिला हाजिरी लगाइहालौँ भनेर मलाई त्यहीँ लगिदिन अनुरोध गरेँ । एक सातादेखि कतारमा नै हुँदा उहाँसँग फोन सम्पर्क पनि हुन सकेको थिएन । उहाँको मुटु पक्कै ढुकढुक गरिरहेको होला भनेर सहजै अनुमान लगाएँ । 

‘खगेन्द्र दाइ ‘डिनर’ मा हुनुहुन्छ, सीधै उत्तै जाऊँ न त !’ एयरपोर्टमा लिन आएका भाइले भने । गाडी झिलमिल्ल सडकहरू छिचोल्दै अगाडि बढ्यो । परिचयको क्रममा भाइ एउटा प्रकाशन गृहसँग सम्बद्ध भएको थाहा पाएँ । 

‘कति बिक्री हुन्छ हौ अचेल किताब ? पाठक राम्रै बढेको छ जस्तो छ । महावीर पुनले त आफैँले ३४ हजार प्रति बेचिसके !’ मैले जिज्ञासा राखेँ । महावीर पुन आफैँले सहर–सहर गएर माइकिङ गर्दै किताब बेचेको मार्मिक र प्रेरणादायी लागेको भिडियो मैले सामाजिक सञ्जालमा भर्खरै सेयर गरेको थिएँ, त्यही भएर आँकडा मलाई थाहा थियो ।

‘राम्रो जान्छ सर ! महावीर पुनले गल्ती गरे, हामीलाई छाप्न नदिएर । नभए लाखौँ बिक्री भइसकेको हुन्थ्यो !’ भाइले भने ।

‘हामीलाई छाप्न नदिएर’ शब्द मलाई च्वास्सै बिझ्यो । केही बोलिनँ । गाडीभित्र सन्नाटा छायो । गाडी पोखराका सडकमा हुँइकिरहँदा मचाहिँ आफ्नै विगततिर पुगेँ ।

                                                                      ०००

म अमेरिकाबाट ०६८ सालमा फर्केको थिएँ, गाउँमै बस्न, बा–आमासँगै । तर, त्यहाँ समाजको प्रश्नले घेरिएर निसास्सिएर बस्न गाह्रो भएपछि बुबाले काठमाडौंमै गएर केही महिना बस भन्नुभएपछि काठमाडौंमा दाइको डेरामा बस्न आएको थिएँ । हात्तीवनतिर । दाइ पनि भर्खर ‘सेटल’ नै भइराख्नुभएको थियो । कोठामा फर्निचर थिएन । फ्लोरमा पत्रपत्रिका र त्यसमाथि कपडा ओछ्याएर सुत्थेँ । राति साह्रै जाडो हुन्थ्यो । सुत्नै नसकिने । जाडो भएर हाछ्युँ आएकोआयै गर्ने । अनि मध्यरात १–२ बजेतिर नै उठेर हिटर ताप्दै आफ्नो अंग्रेजीमा लेखिएको आत्मकथा ‘डिनायल टु डिफेन्स’ अनुवाद गर्न थाल्थेँ । निद्रा लाग्दा इयरफोनमा राहत फतेअली खानका गीत सुन्थेँ । अनुवाद सकेपछि दुईवटा समस्या अगाडि आयो, एकचोटि पढ्नलाई कसैलाई दिऊँ न, भाषा पनि जाँच गर्देला, अन्य सुझाव पनि देला भनेर लाग्थ्यो, तर कसलाई दिने ? दोस्रो, प्रकाशन र वितरण गर्न कसलाई दिऊँ, कसले छाप्न मान्छ ?

यसको कारण थियो, आत्मकथा सामान्य छैन, विवादास्पद हुनेवाला छ भन्ने बोध थियो । सरकारले छाप्नै नदिने, पक्राउ गर्न सक्ने आभास थियो । त्यही भएर कसैलाई प्रुफ हेर्न दिऊँ भने उसैले सूचना चुहाइदिए छापिनुपूर्व नै किताबको अन्त्य हुने हो कि भन्ने पिर । नदिऊँ भने मैले विद्यालय र कलेजमा पढेको नेपालीभन्दा अहिले विदेशबाट फर्केर आउँदासम्ममा व्यापक फरक देख्दै छु, हामीले ‘शहीद’ लेखेर पास भएको, अहिले सहिद, शहिद जे पनि जताततै देख्छु । पदयोग–वियोगको अवस्थामा झनै अराजकता, कतिखेर के कतिखेर के भन्ने जस्तो देख्छु । भाषा परिवर्तन हुँदै नहुने होइन, तर के कति कस्तो स्वरूपमा स्वीकार्य हुने स्पष्ट हुनुपर्छ । नेपाली भाषामा त्यो सर्वथा अभाव देख्छु । स्वीकार्य मानक अझै छैन जस्तै देख्छु । फेरि नेपाली बोलाइमा अलिकति मधेशी लवज झल्किँदा, ‘हेर्नु’ र ‘देख्नु’मा फरक पर्दा त यत्रो खुट्टा तान्ने र अयोग्य घोषणा गर्ने नेपाली समाजले लेखाइमा सानो त्रुटि मात्रै भेट्टाउनुपर्छ, कति खुट्टा तान्ने हो, त्यो पनि डर । त्यसैले प्रुफ–रिडिङका लागि कसैलाई दिनै प¥यो जस्तो एकातिर लाग्थ्यो भने अर्कोतिर सरकारसम्म सूचना पुगेर किताबै नछापिने हो कि भन्ने डर । 

अन्त्यमा निर्णय गरेँ– ‘भो, गराउँदिन प्रुफ–रिडिङ । जति त्रुटि भए होस् । त्रुटि पनि मेरो इतिहास हो, मेरो वेदना हो । ती त्रुटिहरूले पनि एक दिन मेरो कथा भन्नेछन् । किन हटाउने ? हटाउँदिनँ ।’ र, मैले त्रुटि सच्याउनुभन्दा आत्मकथामा एक–दुई अनुच्छेद थपेँ, भाषिक अशुद्धि पनि मेरो विद्रोह हो, मेरो स्थितिको अभिव्यक्ति हो, पिछडिएका विपन्न वर्गको यथार्थ हो । त्यो वर्गले कहाँबाट रुस्दीको रूपक र अमिसको जस्तो वाक्य ल्याओस् ? गैरसरकारी संस्थाले झैँ त्यो वर्गले कहाँबाट ‘ग्लस पेपर’मा ‘परफेक्ट डिजाइन’सहित जानकारी छपाएर बाँडोस् ? कहाँबाट ‘प्रोफेसनल एडिटर’ हायर गरोस् ? कहाँबाट ओस्कर पाउने ‘डक्युमेन्ट्री’ बनाओस् ? सोचेँ, भाषा ‘र’ भए होस्, लेखमा भाषिक त्रुटि भए होस्, भिडियो कमसल ‘क्वालिटी’को भए होस्, महत्वपूर्ण कुरा हामीले आफ्नो आवाज आफैँले उठाउनु हो, आफ्नो कथा आफैँले भन्ने हो । र, विश्वका हरेक पिछडिएका वर्गले आफ्नो कथा आफैँले भन्नुपर्छ । स्वतन्त्रताप्रेमी जोसुकैले आफ्नो अभिव्यक्ति आफैँले अगाडि ल्याउनुपर्छ । शासकवर्गको सेन्सरसिप स्विकार्नु, उनीहरूको कृपामा आफ्नो अभिव्यक्तिलाई शहीद हुन छोड्नु दासताको अर्को रूप नै हो । 

कुनै वेला थियो, कलेजमा सर्टको एउटा बटन लाउन छुट्दा लाजले भुतुक्क हुन्थ्यौँ, अहिले पाइन्टको ‘जिपर’नै खुलेको थाहा पाउँदा कुनै प्रतिक्रिया नदिई लाइन्छ । माथिकै अनुच्छेदले मेरो दोस्रो समस्याको पनि समाधान दियो । प्रकाशक को हुने भनेर । चलन थियो– आफैँले छापे पनि प्रायः श्रीमती वा कुनै सामाजिक संस्था वा फाउन्डेसन आदिको नाम प्रकाशकमा लेखिदिने । यसको अर्को पाटोबाट पनि म सचेत थिएँ, स्वयं–प्रकाशित कृतिहरूलाई पत्रपत्रिकाहरूले समीक्षा गर्दैनन्, । तर, मसँग त्यतिवेला जुन ‘कन्भिक्सन’ आयो, त्यसले त्यो ढोंगलाई तोड्ने हिम्मत ममा पलायो । किन स्वयं–प्रकाशित नगर्ने ? मेरो कथा हो भने मैले किन भन्न नपाउने ? किन अरूको सहारा खोज्नुपर्ने ? पीडितले रुँदा पनि अरूको सहारा पाए मात्रै रुन पाउने ? हामी शोसित र दमितले आफ्नो कथाभन्दा पनि अरूको मुख, कागज र माध्यम खोज्नुपर्ने ? होस्, हामी आफ्नो कथा आफैँ भन्छौँ, र गर्वका साथ भन्छौँ, किनकि यो मेरो अनुभूति हो, कुनै कल्पना होइन, कसैको कुनै सापटी होइन । 

यही सोच्दै, त्यसो गर्नुको बेफाइदा थाहा हुँदाहुँदै पनि मैले आत्मकथा ‘वैरागदेखि बचावसम्म’को प्रकाशकमा ‘लेखक स्वयं’ भनेर गर्वका साथ लेखेँ । आफैँले टाइप र डिजाइन गरेको किताब नजिकैको एउटा प्रेसमा छपाउन दिएँ । अरूले पढ्न लाग्ला कि भनेर डर थियो, त्यसैले डिजाइन पनि आफैँले गर्नुपरेको थियो । 

तैपनि छाप्दासम्म प्रेसका केही स्टाफहरूले आत्मकथाका केही पाना पढिसकेका थिए । यो कुरा प्रेस मालिकसम्म पुगिसकेको थियो– मालिक पूर्वतिरका कोही राईलिम्बू थिए । यो हामी वितरण गर्न सक्दै–सक्दैनौँ, प्रहरीले हामीकहाँ छापिएको थाहा पायो भने हाम्रो प्रेस बन्द गराइदिन्छन्, तपाईं आफ्नो सबै किताब तुरुन्तै यहाँबाट लग्नुहोस् भनेर फोन आयो । बल्लतल्ल लुकाएर हामीले किताबका कार्टुनहरू प्रेसबाहिर निकाल्यौँ, तर राख्ने कहाँ ? कोही राख्न मान्दैनन् । अनि कसैले राख्नै नमानेको किताब पसलमा बिक्री–वितरण कसरी गर्ने ? हामी किंकर्तव्यविमूढ भएका थियौँ ।

                                                                  ०००

‘दाइ, यही होटेल हो, होटेल सरोवर । ओर्लौं । माथिल्लो तलामा खगेन्द्र दाइ हुनहुन्छ होला,’ भनेर भाइले भनेपछि मात्रै म आफ्नो सोचबाट निस्केँ । अनि गाडीबाट । भाइ काउन्टरसम्म छोडेरै फर्के । म गार्डलाई लिएर माथिल्लो तलातिर उक्लेँ । होटेलको छतमा । 

‘खगेन्द्रसर कता हुनुहुन्छ ?’ कार्ड भिरिरहेका फेस्टिवलका आयोजकमध्येकै कसैलाई सोधेँ । उसले टेबल देखाइदियो । सिसाको ढोका खोलेँ । गोलो टेबलवरिपरि खगेन्द्रसर केही साथीसँग गफिँदै हुनुहुन्थ्यो । नमस्कार गरेँ, उहाँले फर्काउनुभयो । 

‘सर, ५–१० मिनेट बस्नुपर्छ बेलुका भन्नुभएको थियो, बस्नुपर्छ कि ?’ सोधेँ । ‘पर्दैन’ जवाफ आयो । मेरो ओठमा मुस्कान थियो । आखिर मैले सोचेको ठीक नै रहेछ । खालि उहाँलाई मेरो हाजिरी चाहिएको थियो । 

लिटरेचर फेस्टिवलमा सहभागी हुनुपहिला मेरो ठूलो रहर थियो, तर सरकारबाट झन्डै एक दशकसम्म निरन्तरको धरपकड र नजरबन्दमा राखेर विद्रोही पात्रको रूपमा स्थापित हुँदा आफ्नै नजिकैको घर–परिवारको बिहे व्रतबन्धमा बोलाउन त गाह्रो मान्थे भने कुनै लिटरेचर फेस्टिवल, थिएटर वा थिंक ट्यांकले बोलाउने कुरै रहेन । तर, ईश्वरको कृपाले विना मेरो कुनै प्रयत्न नेपाल लिटरेचर फेस्टिवलले त्यो शौभाग्य गत वर्ष नै पहिलोपटक जुराइदिएको थियो, म नै सहभागी हुन सकेको थिइनँ । तर, यसपालि सहभागी भएँ भनेर ढुक्क भएँ । 

खगेन्द्र सरबाट बिदा लिँदै म डिनर गर्नतिर लागेँ । प्लेटमा एक–एक चम्चा परिकारहरू लिँदै अगाडि बढेँ । एउटा टेबलमा हेर्छु– कालो वस्त्रधारी र गलामा प्रायः रुद्राक्षको माला लगाई शिवजीको स्वरूप झैँ देखिने भनौँ कि चिनियाँ सन्तको जस्तो दाह्रीधारी भनौँ, कवि आख्यानकार कुमार नगरकोटीज्यू । ‘ओहो ! यस्तो मौका त चुक्नुहुन्न’ सोच्दै उहाँकै छेउमा गएर बसेँ । अभिवादन गरेँ । यो हाम्रो दोस्रो देखभेट थियो । पहिला पनि खगेन्द्र संग्रौला सरसँगै एउटा ‘टक’ रेकर्डिङ गरिराख्दा उहाँसँग देखभेट र तस्बिर खिच्नेसम्म काम भएको थियो, कुरा भएको थिएन । आज कुरा गर्ने मौका पाएँ भनेर दंग परेँ । तर, सुरु कहाँबाट गरौँ, के गरौँ ? एकछिन अलमलिएँ । उहाँ कम बोल्ने हुन् कि उहाँले पनि केही भन्नुभएन ।

‘नेपाली साहित्य अहिले कुन चरणमा छ, कविज्यू ?’ मौनता मैले नै तोडेँ, ‘अहिलेका पाठकको रुचि र पठनशैलीलाई कसरी लिनुभएको छ ?’ 

खासगरी मेरो चासो यो ‘सियुएल’ लेख्ने र हरेक दुई–सेकेन्डमा ‘स्क्रोलिङ’ गर्ने जमानामा गम्भीर कविता बुझ्न कसलाई फुर्सद छ, पन्ध्र सेकेन्डको टिकटकमा रमाउने ‘सर्ट एटेन्सन स्पान’को पुस्तामा लामा र जटिल उपन्यास पढ्ने फुर्सद कसलाई छ, महाकाव्यका दिन त उहिले नै गए भनेर मेरो सरोकार थियो । 

‘तपाईं पनि लेख्नुहुन्छ ?’ उहाँले सोधिहाल्नुभयो । अलिकति असहज महसुस गरेँ । दुई–चारवटा साहित्यिक किताब वा आख्यान प्रकाशित भएको भए हुने जस्तो बोध भयो । ‘कविता, गजलहरू लेख्थेँ । अहिले पनि कहिलेकाहीँ कविता लेख्छु,’ अलि लजाई–लजाई भनेँ । उहाँले गम्भीरताले लिनुभएन । ह्या, कविता त अचेल जसले पनि लेखिहाल्छ नि, के ठूलो कुरो भयो, भन्ने जस्तो भयो कि ! बच्नलाई मेरो दिमागले अलि बढाइचढाइ गरेर भन्यो, ‘अँ, एउटा उपन्यास पनि लेखेको थिएँ – जिघांषा ।’ 

माओवादी जनयुद्धका लडाकु र राजतन्त्रको द्वन्द्वको प्रधान विषय बनाएर जापान जानुअगाडि नै त्यो लेखेको थिएँ । त्यसमा परिवेश यथार्थपरक देखाउनका लागि एक दशकजतिको घटनाको समयक्रम पनि मिलाएको थिएँ । त्यो उपन्यास त्यतिवेला केही साथीभाइहरूले कापीमा नै पढे पनि प्रकाशन गर्ने चरणसम्म पुगेन । त्यसपछाडि पनि अर्को उपन्यास लेखेँ, तर अंग्रेजीमा, जुन अझै अप्रकाशित छ । मेरो प्रकाशित कृति सबै गैरआख्यान मात्रै छन् । आत्मकथा, इतिहास र राजनीतिशास्त्रसम्बन्धी किताब प्रकाशित छन् । आख्यान प्रकाशन गर्ने रहर अधुरो छ । त्यसमा एउटा समस्या छ । यही वेला हो, मूर्धन्य साहित्यकारसमक्ष आफ्नो समस्या राखिहालौँ भनेर मैले सोधिहालेँ ।

‘एउटा खण्डकाव्य लेख्न खोज्दै छु । ओशो सन्न्यासी बन्दाखेरि नै लेख्ने भनेर सोचेको थिएँ । तर, भाषाको समस्या भएर अगाडि नै बढ्न सकेको छैन ?’ मैले आफ्नो समस्या राखेँ । उहाँको आश्चर्यअंकित अनुहार मतिर फर्कियो । 

मेरो मातृभाषा मधेशी हो, त्यसमा औपचारिक रूपले पढेलेखेको नहुनाले त्यति परिष्कृत लेख्न सकिँदैन र सबै पाठक त प्रशंसकसम्म पुग्न पनि सकिँदैन । हिन्दीमा लेख्न त मन पर्छ, तर नेपालमा त्यसले स्वीकार्यता दिनप्रतिदिन गुमाउँदै गएको छ । गुल्जारको दुई–लाइन कहिलेकाहीँ सामाजिक सञ्जालमा उद्धरण गर्दा पनि ‘नेपाली भए त नेपाली बोल्थ्यो । यो त नेपाली नै होइन’ भन्ने दर्जनौँ गाली बर्सिन थाल्छन् । अंग्रेजीमा श्रीअरविंदले ‘सबिता’ लेखे झैँ अंग्रेजीमा नै लेखौँ भनेर पनि वेलाबखत झोंक चल्छ, तर झन् आफ्नो सेरोफेरो, आफ्नै प्रशंसकहरूले पढ्न नपाउने, अरूका लागि लेखिदिएको जस्तो हुने । नेपालीमा काव्य लेखौँ भने, जुन गहनताको अपेक्षा गर्छु, त्यो शब्द र संरचनाहरूले दिइराखेको छ जस्तो मलाई लाग्दैन । प्रायः ‘छ’, ‘हो’, ‘थियो’ जस्ता शब्दहरू मलाई आएकै मनैपर्दैन, हल्का महसुस हुन्छ । फेरि नेपालीमा लेख्दाखेरि हामीले कुनै रचनात्मक प्रयोग गर्नै नहुने हुन्छ, हामीले गर्न खोजे, यसले नेपाली भाषा जानेकै छैन भनेर तुरुन्तै आरोपित हुनुपर्ने हुन्छ । लक्ष्मीप्रसाद देवकोटाको ‘गोबरी’ सबैले वाहवाही गर्दै स्विकार्छन्, तर मातृभाषा नेपाली नहुनेले त्यही आविष्कार गर्न खोजे गोबर ग¥यो भन्छन् । भवानी भिक्षु यस्तै भाषिक प्रताडनाका सिकार थिए, नभए उनमा प्रतिभाको कमी थिएन । दोस्रोभाषीको समस्या नेपालीभाषी मानसिक रूपमा अलिकति पनि बुझ्न वा ‘टोलरेट’ गर्न तयार हुँदैनन्, जबकि बुझ्न र अनुभूति गर्न एकदम सजिलो छ । जसरी दोस्रो भाषा अंग्रेजी बोल्नुपर्दा प्रधानमन्त्रीदेखि विदेशमन्त्रीसम्म कसरी कनिकुथी गर्छन्, उच्चारण र ‘एकसेन्ट’को त कुरै छोडौँ, त्यो मात्रै अनुभूति नेपालीभाषीले गर्दिने हो भने अरूले नेपाली भाषामा अभिव्यक्त गर्दा के समस्या पर्दा रहेछन् बुझ्न सफल हुन्थे । तर अहँ, नेपालीभाषीले सोच्छन् स्वीकार्य हुन विश्वका अरू सबैले उसको जस्तै हुबहु शैलीमै नेपाली बोल्नुपर्छ, मानौँ नेपालीहरू अंग्रेजी वा अरू भाषा बोल्दा कति न हुबहु ‘नेटिभ एकसेन्ट’मा बोल्छन् । 

आख्यानमा मेरो भाषिक समस्याका विषयमा प्रायः छन्दमा कविता लेखिराख्ने कवि अलका आत्रेयज्यूले एकपटक मलाई सुझाव दिनुभएको थियो– सुरुमा त्यस्तै हुन्छ, लेख्दै गएपछि, जानेपछि र अभ्यास भएपछि त्यस्ता हल्का शब्दहरू हराउँदै जान्छन् । त्यो कुरा पनि मैले उहाँलाई बताएँ ।

सबै कुरा बुझेपछि, र हाम्रो केही समयको बहसपछि उहाँले भन्नुभयो, ‘तपाईंले नेपाली भाषामै लेख्नुपर्छ । शब्द र संरचनाको प्रयोगमा डराउनुहुन्न ।’ त्यसपछि उहाँले आफ्नो कविताका केही पंक्ति सुनाउनुभयो :

आकाशका तारा 
तिम्रै यारा सारा–का–सारा
होलीको उत्सव तिमीः जोगिरा सारारारा !

‘हिप्स डोन्ट लाई’ गाउँदै 
कम्मर मर्काउँदै मेरो मन 
हरण गर्ने तिमी नै शकिरा ओ फकिरा !

त्यसपछि उहाँले थप्नुभयो– मैले आफ्नो कवितामा यो लेख्दा धेरैले के लेखेको यस्तो, गम्भीरता र गहनता नै भएन भनेर विरोध पनि गरे । तर पनि मैले छिराएँ– ‘यारा’, ‘हिप्स डोन्ट लाई’ । मेरो युग हो त मैंले गरेँ । यही मेरो शैली हो भनेर गरेँ । तपाईंले पनि आफ्नो शैलीले गर्नुपर्छ ।

‘शैली’ । यो शब्द सुन्नेबित्तिकै मेरो आख्यानको एउटा शैली याद आयो । मैले जापान रहँदा लेख्न खोजेको एउटा काव्यबाट एक पंक्ति सुनाएँ :

झलक एक अतीत अलकनन्दा
मन्द मुस्कान सुशोभित चन्दा

मैले भाषिक चयनको समस्याले गर्दा नै यस्तो शैली अपनाउने गरेको छु, जसमा प्रायः कुनै विभक्ति हुँदैनन् । यसलाई मधेशी, मगही, मैथिली, बज्जिका, अवधि, भोजपुरी, थारू, नेपाली, हिन्दी जुन भाषा भने पनि हुन्छ । यसलाई एक हिसाबले मलाई भाषिक तटस्थताको आभास गराउँछ । यसले भाषिक कट्टरपन्थीलाई समेत बेरोजगार बनाउँछ ।

अन्ततः मैले खण्डकाव्य लेख्ने भनेर प्रतिबद्धता गरेँ । उहाँले मेरो पुराना उपन्याससमेत प्रकाशित गर्नुपर्छ भनेर उत्साहित बनाउनुभयो । त्यही उपन्यास लेख्ने क्रममा मैले पढाउने गरेको कलेजका एक सहकर्मीले सुझाव दिएका थिए, ‘उसले पनि लेख्छ भन्नका लागि मात्रै नलेख्नू ।’ त्यो एक पंक्तिको सुझाव मेरा लागि लेखनमा जीवनपर्यन्त मार्गदर्शक बनिरह्यो । 

गफिँदै गर्दा बीचमै पत्रकार भूषण दाहालजी पनि आउनुभयो, हामीले के पिएको भनेर सोध्नुभयो । ‘आई डन्ट ड्रिंक’ भनेँ । अरू पिए–नपिए पनि साहित्य रसपान गर्छु, गरिरहन्छु, सोचेँ।

सम्पादकको रोजाइ

सुझावित समाचार