मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाममा बनेको ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय’मा पुगेकामध्ये अधिकांशको प्रश्न हुन्छ, ‘महाकविका नासोहरू यति मात्रै हुन् ?’ महाकविको पुरानो मौलिक घर भत्काएर नयाँ बनाइएको संग्रहालय पुग्ने जोकोहीलाई यस्तो लाग्नु स्वाभाविकै हो । किनकि त्यहाँ महाकविलाई नै खिसिटिउरी गर्ने गरी उनका सीमित कृति मात्रै डिस्प्ले गरिएको छ । संग्रहालय पुगेकाहरूले न त देवकोटाका सबै कृतिहरू भेटाउन सक्छन् न त उनको जीवनशैली नै थाहा पाउन सक्छन् । दजर्नाैँ कृति रचेका महाकविका नाममा खोलिएको संग्रहालय अहिले रित्तोजस्तै छ । केही उनले लेखेका कृति, केही उनका बारेमा अरूले लेखेका लेखरचना, केही उनका लुगाफाटा र उनले अध्ययन गरेका पुस्तक मात्रै संग्रहालयमा भेटाउन सकिन्छ ।
०७९ मा निर्माण सम्पन्न भएको तीनतले संग्रहालयको बाहिरी स्वरूप हेर्दा मौलिक शैलीकै देखिन्छ । तर, भित्र छिर्दा कंक्रिट थुपारिएको भान हुन्छ । साहित्य सिर्जनामा विश्वकै अद्भूत व्यक्ति मानिएका उनको संग्रहालयलाई निकै अव्यवस्थित र अपूर्ण तरिकाले सजावट गरिएको छ । संग्रहालयको भित्री आकारमा न त मौलिकता झल्किन्छ न त देवकोटालाई प्रस्ट चिनाउने चिजबिच नै राखिएका छन् । देवकोटाका बारेमा धेरै कवि तथा साहित्यकारहरूले महाकविले गलत ठाउँमा जन्म लिएको भनी त्यसवेलादेखि नै टिप्पणी गर्दै आइरहेकै हुन् । तर, अझै पनि राज्यले उनका रचनालाई नबुझेझैँ गर्दै आइरहेको महसुस उनको नाममा बनाइएको संग्रहालय पुग्दा थाहा हुन्छ । उनले रचना सिर्जना गर्ने कविकुञ्ज गत वर्ष राज्यले नै भत्काएपछि धेरै साहित्यकार र लेखक चिन्तित पनि बनेका थिए । संस्कृतिविद् हरिराम जोशीले महाकविको पुरानो घरलाई जोगाउन नसके पनि उनको संग्रहालयलाई संग्रहणीय बनाउन आवश्यक रहेको बताए ।
महाकविको पुरानो मौलिक घर भत्काएर कंक्रिट उभ्याएको नेपाल प्रज्ञा प्रतिष्ठानले महाकविका कृतिहरू संकलन गर्न सकेको छैन । सरकारले नै सञ्चालन गरेका केही लाइब्रेरीमा महाकविका लेख रचना छन् वा छैनन् सोधीखोजीसमेत प्रतिष्ठानले गरेको छैन । यसअघि प्रतिष्ठानमा महाकविका आफन्तले दिएका केही सरसामान र बजारमा किन्न पाइने पुस्तक मात्रै प्रतिष्ठानले संग्रहालयमा राखेको छ ।
‘महाकवि देवकोटालाई राज्यले चिनेकै थिएन, महाकवि उपाधि पनि जनस्तरबाट आएको हो, तर महाकविलाई देशले नचिने पनि संसारले चिनेको छ,’ उनले भने, ‘महाकविको नाममा राज्यस्तरबाट भएका प्रयास निकै कम छन्, वास्तवमा उहाँको जन्म गलत ठाउँमा नै भएको हो त्यसैले भनिँदै आएको होला ।’ उनका अनुसार महाकविका कृति र उनीसँग सम्बन्धित वस्तुलाई राज्यले उचित संरक्षण गर्न जरुरी छ । त्यसो त संग्रहालयसँग पनि महाकविका कृति कति थिए भन्ने सही तथ्यांक छैन । संग्रहालयले सोधीखोजी गरेर र केही अध्ययन गरेर केही पुस्तकको क्याटलग भने तयार पारिएको छ ।
के–के छन् संग्रहालयमा ?
महाकवि देवकोटाको नाममा बनेको संग्रहालय पुग्दा रित्तोझैँ महसुस हुन्छ । किनभने संग्रहालयमा देवकोटासँग सम्बन्धित सरसामान निकै कम छन् । देवकोटाका सीमित वस्तु मात्रै संग्रहालयमा छन् । अन्य वस्तु कहाँ छन् अत्तोपत्तो छैन । संग्रहालयको पहिलो तलामा उनका तस्बिर र केही जोर लुगा राखिएको छ । जहाँ दुई जोर सेता दौरा–सुरुवाल, दुईवटा पाइन्ट, एउटा गन्जी, तीनवटा सेतो कमिज मात्रै छन् । तर, देवकोटाको संगहालय हेर्न पुगेका अधिकांशले देवकोटाका लुगाफाटो यति मात्रै हुन् ? भनेर प्रश्न गर्ने गरेका छन् । त्यस्तै, त्यही तलामा एक थान हार्मोनियम र रुसबाट देवकोटाले ल्याएको एउटा साइडब्याग राखिएको छ । सोही तलामा त्यसवेला देवकोटाको घरमा प्रयोग हुने एउटा पुरानो जाँतो, चुरोटको खरानी राख्ने ट्रे एक थान, एक थान कासको थाल, एक थान गिलास र एक थान कचौरा राखिएको छ ।
महाकविको जीवनशैली झल्काउने कुनै पनि चिजबिज संग्रहालयमा भेटिन्न । देवकोटाले अध्ययन गर्न बस्ने सुकुल तथा गुन्द्री, खाट, कुर्सी, टुल, उनको घरको भान्साघरमा राखिने किचेनका सरसामान, लुगाफाटो, पुराना दराजलगायत घरमा प्रयोग हुने अन्य सरसामान कहाँ पुगे कसैलाई थाहापत्तो छैन ।
महाकविको जीवन्तता झल्काउने र जीवनशैली झल्काउने कुनै पनि चिजबिज संग्रहालयमा भेटिन्न । देवकोटाले अध्ययन गर्न बस्ने सुकुल तथा गुन्द्री, खाट, कुर्सी, टुल, उनको घरको भान्साघरमा राखिने किचेनका सरसामान, लुगाफाटो, पुराना दराजलगायत अन्य घरमा प्रयोग हुने सरसामान कहाँ पुगे कसैलाई थाहापत्तो छैन । देवकोटामा छोरा पद्म देवकोटाले आफ्ना बुबाका केही सामान परिवारका सदस्यसँग पनि हुन सक्ने बताए । ‘उहाँका सरसामान को–कोसँग छन् मलाई थाहा छैन, म वा परिवारसँग पनि केही सामान हुन सक्छन्,’ उनले भने, ‘तर यसमा के–के भयो के–के भएन भनेर जान्ने–खोज्ने जिम्मा प्रज्ञा प्रतिष्ठानको पनि हो ।’
त्यस्तै, महाकविका कृति तथा रचनाबारेमा संग्रहालयलाई पनि यथेष्ट जानकारी छैन । सामान्य अध्ययन र सोधीखोजी गरी संग्रहालयले क्याटलग तयार पारेको छ । क्याटलगमै भएका अधिकांश पुस्तक तथा कृतिहरू संग्रहालयमा छैनन् । थोरै कृति मात्रै राख्दा महाकविका बारेमा अध्ययन गर्न संग्रहालय पुगेका साहित्यकार मन खिन्न बनाउँदै फर्किन्छन् । उनीहरूले सकेसम्म खोज अध्ययन गरेरै भए पनि महाकविका हराएका र संग्रहालयसँग नभएका कृति राख्न सुझावसमेत दिन्छन् ।
हराउने अवस्थामा महाकविका सिर्जना
संग्रहालयमा महाकविले लेखेका पुस्तक संख्या करिब चार दर्जन हाराहारी छन् । तर, अन्य केही पुस्तक तथा कृतिको नाम मात्रै संग्रहालयले संकलन गरेको छ । तर, ती नाम पनि पर्याप्त छैनन् । त्यसो त महाकविका कति कृति थिए भन्नेबारे नेपाल प्रज्ञा प्रतिष्ठानलाई यकिन जानकारी छैन, न त उनका परिवारलाई नै छ । हाल संग्रहालयसँग महाकविका पाँच मात्रै महाकाव्य छन् । अन्य महाराणा प्रताप, भक्त प्रह्लाद, सुषमालोचना र बुद्ध चरित्र÷सत्यभामा महाकाव्य छैनन् । यसमध्ये भक्त प्रह्लाद र सुषमालोचना अपूरा कृति हुन् ।
त्यस्तै, नौवटा खण्डकाव्य संग्रहालयले राखेको छ भने अन्य मायाविनी, नवरस, कटक, वसन्ती लघुकथा र वसन्ती लघुकाव्य संग्रहालयसँग नै छैनन् । यी कृति कहाँ छन् प्रज्ञा प्रतिष्ठानलाई पनि जानकारी छैन । महाकविकै रजपुत रमणी नाटक, शोककाव्य रामायण, अनुदित कृति म्याकबेथ, श्यामदास वैष्णवका कविताहरूको अनुवाद, इन्दे्रणीको दोस्रो र सातौँ अंकमा गरिएका अनुवाद, पागल तथा अन्य कविता र इन्द्रेणी कविता संकलनमा समेटिएका कविता, मैत्रदेव पाठकले श्री ५ महाराजाधिराजको भारत यात्राको वर्णन गरेका अंग्रेजी अनुवाद पनि संग्रहालयमा राखिएको छैन ।
त्यस्तै, देवकोटाका अंग्रेजी कृति दुईवटा मात्रै संग्रहालयमा राखिएका छन् । अन्य बिग गेम सुटिङ इन नेपाल, द ब्यालेड अफ लर्नी, द लुन्याटिक एन्ड अदर पोइम्स र द विथ डाक्टर एन्ड अदर एस्से संग्रहालयमा भेटिँदैन । यसबाहेक अप्रकाशित अंग्रेजी कृति पनि संग्रहालयमा राखिएका छैनन् । त्यस्तै, देवकाटाका कवितासंग्रहमध्ये दशवटा कवितासंग्रह मात्रै संग्रहालयमा राखिएका छन् । तर, अन्य आकाश बोल्छ, मृत्युशड्ढयाबाट, लक्ष्मी गीतिसंग्रह, कटक, नवरस, चिल्ला पातहरू, छहरालगायत कवितासंग्रह संग्रहालयमा छैनन् । हाल संग्रहालयसँग नभएका पुस्तकको खोजीकार्य पनि प्रज्ञा प्रतिष्ठानले गरेको छैन । प्रतिष्ठानका कुलपति भूपाल राईले महाकविका थप कृतिहरू कहाँ–कहाँ छन् यकिन नभएको बताए । ‘उहाँका कतिपय कृति बाहिरतिर छरिएका छन्, तर सबै कृति हामीसँगै छैनन्, विशेषगरी हामीले छापेका र केही कसैले हामीलाई उपलब्ध गराएका कृतिहरू हामीले राख्ने हो,’ उनले भने, ‘तर, महाकविका बारेमा थप अध्ययन गर्न र संग्रहालयलाई व्यवस्थित पार्न हामीसँग बजेटको अभाव छ ।’ उनले पुस्तकालय, लेखक, साहित्यकार, कुनै व्यक्तिसँग महाकविसँग सम्बन्धित पुस्तक वा अन्य सामग्री भएमा उपलब्ध गराउन अनुरोध गरे ।
के–के कृति छन् संग्रहालयमा ?
मुनामदन (नेपाली अवधी, लिम्बू भाषा), प्रमिथस, दाडिमको रूखनेर, पृथ्वीराज चौहान, वनकुसुम, कृषिवाला, प्रबन्धसंग्रह, चम्पा, सावित्री सत्यावान, राजकुमार प्रभाकर, तिप्लिंगी, दृश्यन्त शाकुन्तल भेट, सीताहरण, म्हेन्दु, लुनी, पुतली, परी, भिखारी, सुनको बिहान, जन्मोत्सव मुटुका थोपा, गाइने गीत, भावानागांगेय, छाँगासँग कुरा, मनोरञ्जन, लक्ष्मी कथासंग्रह, लक्ष्मी कवितासंग्रह र लक्ष्मी निबन्धसंग्रह, महाकविले तीन महिनामा रचेको शाकुन्तल, १० दिनमा रचेको सुलोचना महाकाव्य, एक रातमा रचेको कुञ्जिनी खण्डकाव्य नेपाल र अंग्रेजी भाषामा, मैना र वापु सोनेइस कृतिहरू संग्रहालयमा राखिएका छन् । त्यस्तै, संग्रहालयमा महाकविका केही पाण्डुलिपि र अधुरा लेखहरू पनि राखिएका छन् । जसमा मेघदूत, आनन्द सतसा, नेपाली प्रथम महाकाव्य, प्रथिमस, झ्याउरे वैराग्य लहरी, दुई निबन्ध, सृजा माता, झञ्झा वर्णन र मैना छन् । यी कृतिहरूलाई संग्रहालयमा सजाइएका छन् । महाकविको मैना खण्डकाव्यसंग्रह विसं ०३९ मा रोयल नेपाल एकेडेमीले रजतजयन्तीको अवसरमा प्रकाशन गरेको थियो ।
महाकविको पुरानो मौलिक घर भत्काएर कंक्रिट उभ्याएको नेपाल प्रज्ञा प्रतिष्ठानले महाकविका कृति संकलन गर्न सकेको छैन । सरकारले नै सञ्चालन गरेका केही लाइब्रेरीमा महाकविका लेखरचना छन् वा छैनन् सोधीखोजीसमेत प्रतिष्ठानले गरेको छैन । यसअघि प्रतिष्ठानमा महाकविका आफन्तले दिएका केही सरसामान र बजारमा किन्न पाइने पुस्तक मात्रै प्रतिष्ठानले संग्रहालयमा राखेको छ । कतिपय लोप हुने अवस्थामा पुगेका र गातासमेत फाटेका पुस्तकलाई पुनः प्रकाशन गर्ने योजना प्रतिष्ठानसँग छैन ।
महाकवि देवकोटाका छोरा पद्म देवकोटाले पनि आफ्ना बुबाका बाँकी कृतिहरू कहाँ–कहाँ छन् भन्नेबारेमा आफूलाई जानकारी नभएको बताए । तर, नेपाल प्रज्ञा प्रतिष्ठान र कतिपय साहित्यकारले महाकविका कतिपय कृति र सरसामान परिवारकै सदस्यले राखेको हुन सक्ने बताउँदै आएका छन् । प्रतिष्ठानले परिवारका सदस्यलाई महाकविको नाममा सरसामान सरकारलाई दिन आग्रह गरे पनि आफन्तबाट कुनै किसिमको सरसामान आउन नसकेको संग्रहालयले जनाएको छ । संग्रहालय निर्माण भए पनि प्रतिष्ठानले त्यसको रेखदेखका लागि सातजना कर्मचारी खटाएको छ । तर, ती कर्मचारीलाई पनि संग्रहालयको महत्व कसरी बढाउने, कसरी प्रचार–प्रसार गर्ने भन्ने अलमलमा देखिन्छन् ।