भावनामा बहकिनु नहुनेरहेछ

पवन बराइली पवन बराइली
शनिबार, १२ फागुन, २०८०
डिजिटल संस्करण

फिल्म ‘कागबेनी’बाट अभिनेता सौगात मल्लले दर्शकको राम्रो तारिफ पाए । उनी ‘लुट’ फिल्मको ‘हाकु काले’ चरित्रका कारण दर्शकमाझ निकै रुचाइए । ‘लुट’पछि ‘छड्के’, ‘फिटकिरी’, ‘फन्को’, ‘कबड्डी’लगायत थुप्रै फिल्ममा उनले राम्रो अभिनय गरे । नेपाली सिनेमाको परम्परागत बाटो भत्काएर फरक बाटोमा हिँडाउने श्रेय उनलाई पनि जान्छ । केही समयअघि उनी अभिनीत फिल्म ‘रेड सुटकेस’ भेनिस फिल्म फेस्टिभलमा प्रदर्शन भएको थियो । उनको अर्काे फिल्म ‘अगस्त्य च्याप्टर–१ रिलिजको तरखरमा छ । फिल्ममा व्यस्त सौगातले आफ्नो कलायात्राको समीक्षा पवन बराइलीसँग यसरी गरे :

म नवलपरासीमा जन्मेँ, हुर्किएँ । सानै हुँदा गाउँका विभिन्न चाडपर्वमा फिल्म देखाइन्थ्यो । हाम्रो घरमा काम सघाउने एकजना दाइ बस्थे । उनी घरको काम सकेपछि गाउँ डुल्थे । र, बेलुका फिल्म पनि हेरेर आउँदा रहेछन् । हामीलाई घरबाहिर घुम्ने छुट थिएन । बुबाआमाले निकै कडा गर्नुहुन्थ्यो । ती दाइले घरमा आएपछि मलाई फिल्मको कथा सुनाउँथे ।

म पनि फिल्मको कथा सुन्न पाइन्छ भनेर उनलाई काममा सघाउँथेँ । मलाई दिनदिनै हिन्दी फिल्मको कथा र कलाकारबारे सुनाउँथे । त्यसपछि म पनि फिल्म भनेपछि हुरुक्कै हुन थालेँ । म सात–आठ वर्षको थिएँ । ती दाइले फिल्मको कथा सुनाएपछि फिल्मको हिरो बन्छु भन्ने लाग्थ्यो । डान्स पनि गर्थें । स्कुलमा पनि साथीहरूले खत्रा गर्न सक्छ भन्थे । बिस्तारै पढाइतिरभन्दा फिल्मतिर ध्यान गयो । मेरो अनुहार हिरोको जस्तो थिएन । हिरो हुनका लागि अनुहार नै राम्रो चाहिन्थ्यो ।

म राम्रो डान्स गर्थें । त्यही भएर मलाई सबैले फिल्मको हिरो बन् भन्थे । तर, घरमा मभन्दा मेरो दाइ (सौरभ मल्ल) हिरो देखिन्थ्यो । उसलाई ह्यान्डसम छ भन्थे । म दाइजस्तो किन भइनँ भन्ने लाग्थ्यो । स्कुल पढ्दा मलाई साथीहरूले कसम तैँले एक्टिङ गर्न सक्छस् । तर, अनुहारचाहिँ छैन तेरो । तैपनि फिल्मचाहिँ खेल्नुपर्छ भनेर उचाल्थे । मलाई पनि एक्टिङ गर्न त सक्छु । तर, अनुहारलाई के गर्ने ? अनुहारले ‘फेल’ खायो भन्ने लाग्थ्यो । मेरो अनुहार देखेर बिचरा फिल्मको हिरो बन्ने सपना बोक्छ, अनुहारचाहिँ छैन के गर्छ होला ? भनेर मेरो अनुहारका लागि सबैले चिन्ता गर्थे । तर, फिल्मको हिरोचाहिँ बन्नैपर्छ भन्ने लाग्यो । 

‘लुट’पछि बाटो बिराएको आरोप मलाई लागेको छ । झुर फिल्म खेल्यो भनेर धेरैले आलोचना पनि गर्छन् । यो म स्वीकार गर्छु । मलाई पहिले वर्षमा एक–दुईवटा फिल्म खेल्ने सोच आउँथ्यो । तर, वर्षमा दुईवटा फिल्ममा काम गरेर जीवन नचल्ने रहेछ । 


अनि थिएटरमा आएँ
म नवलपरासीबाट फिल्मको हिरो बन्ने सोचले काठमाडौं आएँ । हिरो बन्ने चक्करमा धेरै ठाउँ धाएँ । गाउँको एकजना दाइले आकाश अधिकारीसँग भेटाइदिनुभयो । त्यसवेला उहाँको फिल्म ‘रणभूमि’ अन्तिम चरणमा पुगिसकेको रहेछ । फिल्मको एउटा मात्रै गीतको सिन बाँकी रहेछ । उहाँले भन्नुभयो ‘तिमी पनि काम गर्छाै ?’ मलाई पनि त्यस्तै चाहिएको । उहाँले भनेजस्तै गरेँ । मेरो धीरेन शाक्यको साइडमा बसेर टाउको मात्रै हल्लाउने सिन थियो । पछि फिल्ममा आफूलाई हेर्दा झुर देखेँ । त्यसपछि उहाँको दोस्रो र तेस्रो फिल्ममा अलि ठूलो रोल पाएँ । तर, चित्त बुझेन । आफैँलाई कठै बिचरा भनेजस्तो लाग्न थाल्यो । ज्यान मात्रै ढाडे । आफैँलाई पनि फिल्म सुहाएकोजस्तो लागेन । म के बन्न हिँडेको थिएँ ? के भएँ होला जस्तो लाग्थ्यो । मलाई साथीहरूले के भन्लान् ? भन्ने लाग्न थाल्यो । फिल्ममा देखिसक्नुभएन । त्यसपछि एक–दुई वर्ष काम नगरी बसेँ । म डिप्रेस भइसकेको थिएँ । त्यो वेला बाहिर अनुहार देखाउन मन लागेन । मलाई कतै लुकेर बसौँ जस्तो भएको थियो । पछि त घरमा बस्दाबस्दा दिक्क भइसकेको थिएँ ।


त्यसवेला वीरेन्द्र हमाल सरको ‘एमआर थिएटर’ थियो । त्यहाँ अभिनय, डान्स सिकाइने रहेछ । मलाई पनि त्यस्तै ठाउँ चाहिएको थियो । पछि म पनि ‘एमआर थिएटर’ पुगेँ । त्यहाँ वीरेन्द्र सरसँग भेट भयो । सुरुमा उहाँले मलाई के–के गर्न आउँछ ? भनेर सोध्नुभयो । मलाई डान्स र एक्टिङ दुवै आउँछ भनेँ । मैले गरेर पनि देखाएँ । उहाँले वाह ! बबाल गर्दा रहेछौ भन्नुभयो । त्यहाँ कमलमणि नेपाल, भोलाराज सापटकोटालगायत काम गरिरहेका थिए । त्यसपछि म त्यहीँ व्यस्त भएँ । 


त्यही दौरान वीरेन्द्र सरसँग सुनिल पोखरेल सरले तिम्रोमा विद्यार्थी को–को छन् ? मलाई नाटकका लागि कलाकार चाहियो भन्नुभएछ । वीरेन्द्र सरले भन्नुभयो, ‘नाटकमा मेरो पनि रोल छ । तिमीहरूले पनि रोल पाउँछौ ।’ नाटकमा वीरेन्द्र सर मुख्य भूमिकामा हुनुहुन्थ्यो । नाटकमा सुनिल सर पनि हुनुहुन्थ्यो । नाटकको नाम ‘जात सोध्नु जोगीको’ थियो ।


म विद्यार्थीको रोलमा रिहलसल गर्दै थिएँ । वीरेन्द्र सरको रोल मैले गर्नुपर्यो । पछि नाटक निकै रुचाइयो । त्यसपछि मेरो पत्रपत्रिकामा नाम आउँन थाल्यो । फिल्ममा एक्टिङ गर्ने मान्छे थिएटरमा छन् भन्ने खालको चर्चा हुन थाल्यो । आफू फिल्मबाट नाटकमा आएको थिएँ । फेरि मलाई फिल्ममा नै फर्किहाल भन्न थाले । मलाई अचम्म लाग्न थाल्यो । तर, म फिल्ममा काम गरेर आएको भन्ने कसैलाई थाहा थिएन । मलाई नाटकमा फुर्काउन थाले । मचाहिँ फुर्किनँ । अब नाटक गर्छु भन्ने लाग्यो । 


सुनिल सरले गुरुकुल खोल्ने योजना बनाउनुभएको रहेछ । उहाँले अब गुरुकुलमै बसेर काम गरौँ भन्नुभयो । मैले पनि गुरुकुलमै बस्ने निर्णय गरेँ । थिएटरमै रमाइलो लाग्दै गयो । त्यहाँ संसार बुझ्न पाएँ । मैले बिस्तारै अरू नाटक पनि गर्दै गएँ । आठ–नौ वर्ष गुरुकुलमै बिताएँ । सुनिल सरले एकदिन सोध्नुभयो, ‘अब तिमीहरू के गर्छाै ?’ मैले फिल्म खेल्न आएको सुनाए । तर, नाटक रमइलो लाग्दै छ । कुनै दिन फिल्म पाएँ भने फिल्म खेल्न जान्छु भनेँ । उहाँले भन्नुभयो, ‘ठीकै छ, आफ्नो रुचिमा काम गर । तर, दुवैलाई सन्तुलनमा राख्नुपर्छ ।’


तर, म नाटकमै ठीक छु भन्ने लाथ्यो । नाटक सबैले मन पनि पराइरहेका थिए । म पनि खुसी दर्शक पनि खुसी । तर, एकजना साथीले यस्तो फिल्मका लागि फर्म खुलेछ, तपाईंले पनि भर्ने हो ? हलिउडको टिम ल्याएर फिल्म बनाउन लागेको रहेछ भन्यो । उसको कुरा सुनेर झसंग भएँ । हलिउडकै फिल्म हो भने गरौँ न त भन्ने लाग्यो । त्यसपछि आँखा चिम्लेर फर्म भरेँ । फर्ममा हाल्ने फोटो पनि थिएन । व्रतबन्धको फोटो हालेर पठाएको थिएँ । फिल्ममा लिए लिन्छ, नलिए लिँदैन भन्ने थियो । तर, म अडिसनका लागि छानिएछु । पछि अडिसनमा बोलाइयो । पहिलोपटक विदेशबाट क्यामेरा ल्याइएको रहेछ । सबैले हलिउडको फिल्म हो भन्थे । तर, मलाई हलिउडको मान्छे जस्तो लागेन ।

अडिसनमा भूषण दाहाललाई देखेँ । त्यहाँ अनुप बराल सर पनि हुनुहुन्थ्यो । अनुप सरलाई देखेर छक्क परेँ । फिल्ममा अनुप सरको कास्टिङ निर्देशन रहेछ । म अडिसनबाट फिल्मका लागि छानिएँ । फिल्म सकिएपछि म फेरि गुरुकुल नै फर्किएँ । मलाई फिल्ममा सुहाउँदैन भन्ने लाग्थ्यो । तर, पछि आफूलाई ‘कागबेनी’मा ठिकै देखेँ । त्यसपछि अझै राम्रो गर्न सक्छु होला जस्तो लाग्यो । ‘कागबेनी’पछि अरू फिल्ममा काम पाउँछु होला भन्ने लागेको थियो, तर पाइनँ । मैले सोचेजस्तो भएन । जीवनमा सोचेजस्तो हुँदै नहुने रहेछ । हामी सधैँ हतार गर्दा रहेछौँ ।


सोचेजस्तो नहुने रहेछ 
म संघर्षको दिन सम्झन्छु । एकैपटक नहुनेरहेछ भन्ने महसुस हुन्छ । समय परिवर्तनशील हुँदो रहेछ भन्ने लाग्छ । त्यो वेला म हिरो बन्छु भन्ने सम्भावना नै थिएन । भारतमा पनि मजस्ता कलाकार थुप्रै थिए होलान् । ओम पुरी, नाना पाटेकर, इरफान खानलगायतलाई हेर्थें । मलाई पनि उनीहरूसँग तुलना गर्थें । इरफान खान पनि बीचमा फिल्मबाट हराए । फेरि फिल्ममा देखा परे । वास्तवमा उनीहरूलाई हेरेर मलाई पनि आँट आउँथ्यो । मेरो अनुहार झुर छ भनेर थाहा थियो नै । म फिल्ममा नसुहाएर थिएटरमा आएको थिएँ । तर, मसँग एक्टर नबन्नुको विकल्प थिएन । घरबाट कम्प्युटर सिक्न पठाएको पैसा त एक्टिङ सिक्नमा खर्च गरेँ । यदि मैले कम्प्युटर सिकेको भए एक–दुई दिनमै बिर्सिन्थेँ । त्यो मलाई सिकेर कामै थिएन । 


अहिले नभए पनि छोराछोरीको पालासम्म फिल्मको हिरो भइन्छ होला भन्ने लाग्थ्यो । तर, सम्भावना रहेछ । फिल्मको हिरो पनि फेसनजस्तै रहेछ । बजारमा पुरानो हराउँछ, नयाँ फेसन सुरु हुन्छ । कुनै समयमा अनुहार राम्रो भएको हिरोको माग बढ्छ होला । यो एउटा समय चक्र रहेछ । हामीजस्तालाई यति चाँडै हिरोको रूपमा रुचाइन्छ भन्ने लागेको थिएन ।


मैले ‘कागबेनी’ गरेको सात वर्षपछि ‘लुट’मा काम गरेँ । ‘लुट’मा हामी सबैले मिहिनेत गरेर काम गर्यौँ । त्यसवेला हाम्रो लगाव बेग्लै थियो । हुन त त्यो त्यस्तै समय थियो । सबैको एउटै सोच थियो । हामी सबै खाली थियौँ । ‘लुट’ले हामी सबैलाई एउटा लेभलमा पुर्यायो । हामी सबैको उत्तिकै लगाव थियो । त्यसवेला हामी तीन महिना वर्कसपमा बस्यौँ । अहिले निर्माता निर्देशक एक महिना पनि वर्कसपमा बस्नै मान्दैनन् । सबैले ‘लुट’को उदाहरण दिन्छन् । तर, कसरी ‘लुट’ बन्यो भन्ने कसैलाई थाहा छैन । ‘लुट’मा जति अरू फिल्ममा मिहिनेत गरेको छैन होला । तीन महिना एक ठाउँमा बसेर कसरी काम गर्याैँ होला । अहिले पनि त्यसरी काम गर्न सम्भव छ । यो निर्देशक र निर्माताले बुझ्नुपर्छ । म आफू पनि दुई महिना वर्कसपमा बसेर मात्रै फिल्म गर्न पाएहुन्थ्यो जस्तो लाग्छ । फिल्मलाई राम्रो बनाउन बसेर छलफल गर्ने हो । अहिले एक–दुई दिन वर्कसपमा बसेर सुटिङमा हिँड्ने चलन छ । यो आफैँमा जोखिम छ । कतिपय निर्देशकलाई वर्कसप बसेर के अर्थ भन्ने बुझाइ छ । कलाकारले चाहेर मात्रै फिल्म राम्रो हुँदैन । निर्माता निर्देशकलाई पैसा खर्च हुन्छ भन्ने मात्रै डर छ । फिल्म राम्रो भयो भने कति राम्रो पैसा आउँछ भन्ने उनीहरूले बुझेका छैनन् ।


हुन त ‘लुट’पछि बाटो बिराएको आरोप मलाई 
लागेको छ । झुर फिल्म खेल्यो भनेर धेरैले आलोचना पनि गर्छन् । यो म स्वीकार गर्छु । मलाई पहिले वर्षमा एक–दुईवटा फिल्म खेल्ने सोच आउँथ्यो । तर, वर्षमा दुईवटा फिल्ममा काम गरेर जीवन नचल्ने रहेछ । जीवनमा त्यसरी सम्भव नै नहुने रहेछ । दुई वर्षमा एउटा राम्रो स्क्रिप्ट आउँछ । एक–डेढ वर्षमा एउटा राम्रो फिल्म गरेर मात्रै सकिँदैन । जीवन चल्नका लागि अर्काे काम गर्नुपर्छ, अरू काम गर्न आउँदैन । एक–दुई वर्षमा आशालाग्दो ‘स्क्रिप्ट’ आउँछ । स्क्रिप्ट राम्रो नभएपछि फिल्म फितलो हुँदै जाने भइहाल्यो । हामी कलाकार इमानदार भएर काम गर्ने हो । मैले आफ्नो काममा मिहिनेत गर्छु । तीन–चार महिनामै स्क्रिप्ट तयार गरेर फिल्म गर्छन् । साथीहरू फिल्म बनाउनै हतार गर्छन् । 


अब सजग हुन्छु
मलाई पनि मेरो फिल्म फ्लप हुनुहुँदैन भन्ने लाग्थ्यो । तर, आफूले सोचेजस्तो केही पनि नहुँदो रहेछ । ‘लुट’को हाकु काले क्यारेक्टरलाई दर्शकले मन पराइदिनुभयो । फिल्म हिट भएपछि मात्रै ‘क्यारेक्टर’ले दर्शकलाई छुने रहेछ । नत्र काम गरिस्, गरेँ भन्ने मात्रै हुँदो रहेछ । तर, मलाई हरेक फिल्ममा नयाँ ‘क्यारेक्टर’ गर्न मन लाग्छ । दर्शकलाई पनि नयाँ क्यारेक्टरमा चिनाउन मन लाग्छ । त्यसैले पनि फरक–फरक क्यारेक्टर गरिरहेकै छु । पहिले वर्षमा एउटा फिल्म गर्छु भनेर सोच्थेँ । हिजो संघर्षका वेला साथीहरूलाई कुनै दिन सँगै काम गरौँला भनेर गफ दिइएको हुन्छ । उनीहरू नै अहिले फिल्ममा काम गरौँ भनेर आउँछन् । त्यही भएर सहयोग गरौँ न जस्तो लाग्छ ।

 
राम्रै सोचेर गरे पनि नराम्रो भइदिन्छ । तर, अबचाहिँ फिल्म गर्दा सजग हुनुपर्छ भन्ने लागेको छ । कतिपय फिल्ममा काम गर्दै थाहा हुन्छ यो फिल्म झुर हुनेवाला छ । सोच्दा खत्रै हुन्छ भन्ने लाग्ने तर रिजल्ट ठीक उल्टो । त्यसैले मलाई पनि डर लाग्न थालेको छ । अहिले भावनात्मक रूपमा बग्नु नहुने रहेछ । धेरै भावनामा बहकिएँ जस्तो लाग्छ । यस्ता कुरा बिस्तारै बुझ्दै छु, सिक्दै छु । पछिल्लो केही फिल्मको कथा मन नपरेर फिर्ता पनि गरेको छु ।

सम्पादकको रोजाइ

सुझावित समाचार