झट्ट सुन्दा ‘पाश्र्वधुन’ कुनै संगीतको पुस्तक हो, जस्तो लाग्न सक्छ । तर, यो दुई दशकदेखि साहित्य लेखनमा क्रियाशील कृष्ण कुसुमको नवीन कथाकृति हो । शिखा बुक्सले प्रकाशित गरेको ‘पाश्र्वधुन’मा कुल १३ कथा छन् । त्यसमध्ये आठ कथा अमेरिकी परिवेशमा बाँचिरहेका नेपाली पात्रमाथि केन्द्रित छन् भने बाँकी पाँच कथा नेपालकै भूगोल, पात्र र परिवेश समेटेर लेखिएका छन् । उनले आफ्नो लेखनमा सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक र राजनीतिक विषयलाई उठाएका छन् ।
‘एउटा अन्त्य’ संग्रहको पहिलो कथा हो । भूगोल, भाषा र संस्कृतिविहीन हुन पुगेका गोपाल अंकलले रोजेको आत्महत्याको दुर्दान्त चित्र यो कथामा देखाइएको छ । नेपालीभाषी भुटानीलाई त्यहीँको शासकले लखेटेको हो भन्ने आमबुझाइविपरीत यो कथाले सम्पत्ति हडप्न आफ्नै दाजुभाइले गरेको अत्याचार देखाउन खोजेको छ । अर्काेतर्फ, अमेरिकी समाजको भौतिक वैभवले मात्र मान्छेलाई मानसिक शान्ति र सन्तुष्टि दिन सक्दैन भन्न खोजिएको छ । संस्मरण शैलीमा लेखिएको यो एउटा बलियो कथा हो ।
दोस्रो कथा हो ‘क्लोन’ । यसले गणतन्त्रपछि नेपालमा उदाएका बग्रेल्ती राजारजौटाको रवाफलाई थप्पड हानेको छ । टेबलमाथि चढेर सलामी खाने र फूल–अबीरले पुरिएर हिँड्ने र विकास भनेकै गाउँमा भ्यु टावर र सहरमा पशुपक्षीका सालिक निर्माण हो भन्ने भाष्यलाई कथाकार कुसुमले बिम्बैबिम्बका माध्यमबाट भनेका छन् । अमेरिकामा बस्ने कानुनी र आर्थिक आधार निर्माण भएपछि दाम्पत्य जीवनमा आउने खटपट र त्यसले ल्याउने पारिवारिक विग्रहका घटना अब नौलो हुन छोड्यो । सम्बन्धविच्छेद र त्यसको दुष्परिणाम भोग्न बाध्य सन्तानको पीडा हो कथा ‘दुत्कार’ ।
यो कथासंग्रहले नेपाली पाठकलाई अमेरिकी समाजको अनुहार देखाइदिएको छ । आफ्नै देशका सीमान्तकृत पात्र, परिस्थिति र उनीहरूको कथानक पनि पस्किएको छ । पहिलो संग्रहमा जुन स्तरका कथा कृष्ण कुसुमले लेखेका छन् त्यसले भविष्यमा उनको कथा लेखनको बाटो सुगम छ भन्ने देखाएको छ ।
‘लडाकु’ कथाले नेपालको द्वन्द्वकालीन अवस्था र त्यसपछिका राजनीतिक परिदृश्य उजागर गरेको छ । एकातिर आफूलाई सर्वहारा पनि भन्ने र अर्काेतिर पुँजीपति वर्गसँग गला पनि लगाउने नेतृत्वको दोहोरो चरित्रलाई यो कथाले देखाएको छ । सारमा यो कथाले माओवादी आन्दोलनको विद्रुपीकरणलाई प्रकाश पारेको छ । ‘कोखा र पाखुराको बीचबाट कमिजको छेउ मात्र छेडेर दुइटा गोली गए, तर मलाई लागेन’ भन्ने प्रवीनको घटना वर्णन भने उति पत्यारिलो लाग्दैन ।
इमानदार र अध्ययनशील केटो हो सुमन विक । उसले नेपालमा जातीय तगारोले बाधा पुर्याएको प्रेमलाई अमेरिकाको खुला समाजमा ल्याएर फुलाउन चाहन्छ । ऊ प्रेमीकाको सपनाकै योजना मुताविक चल्छ । अन्ततः भइदिन्छ उल्टो । ऊ झुटो विवाहको अभियोगमा एफबिआईको फन्दामा पर्छ । सच्चा प्रेम र सफा नियत हुँदाहुँदै कानुनी फन्दामा परेको पात्रको कथा हो ‘माया उर्फ पासो’ ।
विद्रोही र सुरक्षाकर्मीको दोहोरो चेपुवामा परेर विदेश हिँड्न बाध्य भएका अर्जुनका बुबा मेसिन दुर्घटनामा परेर कतारमै मृत्युवरण गर्छन् । आकाशमा विदेश उडेर बाकसमा स्वदेश फर्किनुपर्ने नेपाली युवायुवतीको क्रुर नियति ‘गथासो’ कथाले अभिव्यक्त गर्न खोजेको छ । ‘पारिजात’ सांस्कृतिक बेमेलको कथा हो । नेपाली संस्कारमा जुन कुरालाई कर्तव्य र ममता भनिन्छ त्यही कुरा अमेरिकामा गैरकानुनी पनि हुन सक्छ भन्ने यहाँ छर्लंग देखाइएको छ । बहस गर्नका निम्ति यसले एउटा गहिरो प्रश्न पनि सतहमा ल्याइदिएको छ । मृतक बच्ची पारिजात पुतलीको अवतारमा आएर आफ्नो मृत्युमा आफ्नी आमा जिम्मेवार नभएको संवाद बोल्छे । यहाँनिर पाठकलाई जिन रिचार्डसनको पूनर्जन्मको कथा ‘द लस्ट डल’ सम्झना आउन सक्छ । चार वर्षको उमेरमा मरेकी कार्मेन एक वर्षपछि इभान्जेलिनाको अवतारमा पुनर्जन्म लिन्छे र आमालाई आफ्नो विगत हुबहु बताउन थाल्छे ।
‘न्युयोर्कमा भेटिएको देश’मा नेपालमै बस्न चाहने श्रीमान् र अमेरिकामै बस्न चाहने छोरोको बीचमा परेकी पात्र देवकीको मानसिक कष्ट देखाइएको छ । कथाकार कुसुमले देखाएको यो विषय सिक्काको एउटा पाटो हो ।
‘ब्लाइन्ड डेट’ पुष्करले हरियो पत्ता अर्थात् ग्रिन कार्ड प्राप्त गर्न अँध्यारोमा हानेको ढुंगा हो । त्यो सही निशानामा लाग्न पनि सक्छ, नलाग्न पनि सक्छ । नाता प्रमाणित गर्नका निम्ति एउटी किशोरीले गरेको कानुनी संघर्ष हो ‘अपूरो’ । मूल प्रवाहबाहिरका विषयलाई टिपेर कथाकार कुसुमले आफ्ना कथाको केन्द्रमा ल्याएका छन् । वर्णनको शैली मीठो भएकाले पाठकको ध्यान कथामै केन्द्रित गरिरहन उनी सफल छन् । कथाभित्र कथाहरू बुन्दै जाने, तर ठीक ठाउँबाट फेरि मूल कथामै फर्किने उनको चलाखी पनि मज्जाको छ । महिलाका विषयमा लेख्दा महिलाकै भावना प्रतिबिम्बित गर्न सक्नुपर्छ त्यसतर्फ उनी सचेत देखिन्छन् ।
अधिकांश पात्र दुःख, पीडा र संघर्षको चक्रव्यूहबाट बाहिर आउनै सक्दैनन् । भाषिक सौन्दर्य र शाब्दिक घनत्वको अपेक्षा पनि पाठकले गर्छ नै । केही सुखान्त कथा पनि पढ्न पाएको भए झनै राम्रो हुन्थ्यो । समग्रमा भन्दा यो कथासंग्रहले नेपाली पाठकलाई अमेरिकी समाजको अनुहार देखाइदिएको छ । आफ्नै देशका सीमान्तकृत पात्र, परिस्थिति र उनीहरूको कथानक पनि पस्किएको छ । पहिलो संग्रहमा जुन स्तरका कथा कृष्ण कुसुमले लेखेका छन् त्यसले भविष्यमा उनको कथालेखनको बाटो सुगम छ भन्ने देखाएको छ ।