प्रेमताल

भूपिन भूपिन
शनिबार, ५ फागुन, २०८०
डिजिटल संस्करण

हर्पन खोला बाँधले छेकिएर फेवाताल बन्छ
तिमीमा पूर्ण मन अर्पेको अर्पण–खोला हुँ म 
तिम्रो मनको बाँधमा छेकिएर प्रेमताल बन्छु । 

हरपल महसुस गर्छु 
मेरा स्नायु गल्लीका ओरालाहरूमा 
तिम्रा यादहरूको जलधार बग्छ, 
मेरो हृदयको जलाशयमा
तिम्रा सम्झनाहरूको करेन्ट बग्छ ।
अवश्य महसुस गर्नेछौ एकदिन तिमीले
कि
जसरी फेवातालबाट बग्दैबग्दै गएर 
पातले छाँगोमा हाम फाल्ने सुन्दर झरनाबाट 
सहरको सारा अँध्यारो मेटिदिने 
सयौँ ‘वाट’ बिजुली निकाल्न सकिन्छ
प्रेमतालबाट बग्दैबग्दै गएर 
तिम्रो मनमा हाम फाल्ने मजस्तो विरूप झरनाबाट पनि
एउटा जीवन झिलमिल पार्ने 
केही ‘वाट’ बिजुली निकाल्न सकिन्छ ! 

जीवनका लागि 
प्रेमजत्तिको उज्यालो बत्ती केही छैन 
तर निश्चितता स्वयं अनिश्चित हुने यस दुनियाँमा 
कुनै टुंगो छैन 
कि प्रत्येक प्रेम–झरना 
आफ्नै बाँधबाट बगेर
हाम फाल्दैमा कुनै मनको पहरामा 
उसले बिजुली नै बन्ने मौका पाओस् 
र कसैको मनको सहर
झलमल्ल पार्ने अवसर पाओस् !

ओ मेरो प्रेम ! 
जीवनका सबैसबै प्राथमिकताहरू बिर्सिएर
धिपधिपे बिजुली बन्ने आजीवन रहरको बन्दी म, 
तिम्रो मनको पहरामा हाम फालिरहन्छु
पातले छाँगोजस्तै ! 
भ्रम नै सही 
म एक बल्ब उज्यालो बन्न चाहन्छु । 

अन्डा तोडेर कोकुनमा हाम फालिरहेको  
म एक झुसिलकिरा 
पुतली बन्न चाहन्छु । 

सम्पादकको रोजाइ

सुझावित समाचार