मासिन्या पीडा पुस्तान्तरणको दर्दनाक कथा

जल, जमिन र जंगलबाट टाढा हुन बाध्य गराएपछि गाउँ छाडेर हिँड्नुपर्दाको मर्मलाई ‘मासिन्या’ले मार्मिक ढंगले उतारेको छ

अन्वेषण अधिकारी अन्वेषण अधिकारी
शनिबार, ५ फागुन, २०८०
डिजिटल संस्करण


यो देश बिगार्यो कसले ? बनाउँछ कसले ? बन्छ कसरी ? समाजमा धेरै सुनिने बहसका विषय हुन् यी । यस्ता विषयमा आ–आफ्नै पक्षधरता हुने नै भए । सामाजिक सञ्जालको दुनियाँमा यसबारे झनै चर्को वादविवाद भइरहन्छ । तर, कुनै जवाफ भेटिन्न । यस्ता निकर्षहीन बहसलाई एकछिन बिर्सनुहोस् । मोबाइलको स्विच अफ वा साइलेन्ट मोडमा राख्नुहोस् अनि मण्डला नाटकघरमा प्रदर्शन भइरहेको ‘मासिन्या’ हेर्नुस् । यति ठोकुवाका साथ भन्न सकिन्छ कि नाटक घरमा बितेको डेढ घन्टाको अवधि तपाईंले सधैँ सम्झिरहनु हुनेछ र तपाईंभित्र ‘मासिन्या’ले जबर्जस्त स्पेस बनाउनेछ ।


‘मासिन्या’मा वर्तमान छ, आजभन्दा २० वर्षअघि (द्वन्द्वकाल) र विभिन्न संवादमार्फत इतिहास कोट्याइएको छ । जंगबहादुरद्वारा जारी विसं. १९१० को मुलुकी ऐनले समाजमा चलाइएको जातीय विभेदलाई कानुनी रूप दियो । त्यो कानुन तत्कालीन सामाजिक संरचनालाई संस्थागत गरेर शक्तिशालीहरूलाई खुसी पार्ने अनि शासनसत्तामा पकड जमाउने लक्ष्यले बनाइएको बुझ्न गाह्रो छैन । 


तागाधारी वर्गलाई माथिल्लो मानियो । राज्यले उनीहरूकै भाषा र संस्कृतिलाई अबलम्बन गरेकाले भाषिक र सांस्कृतिक कठिनाइ हुने कुनै थिएन । राज्यका निकायहरूमा अवसर उनीहरूलाई नै थियो । भलै, सबै भूगोल र वर्गका तागाधारी शक्तिशाली वा धनी थिए भन्ने होइन । नमासिन्या र मासिन्या मतवालीमा जनजातिलाई वर्गीकरण गरियो । दलितलाई छोइछिटो चल्ने र छोइछिटो नचल्ने भनेर विभाजित गरियो । उनीहरू जंगबहादुर अघि र पछि पनि पिल्सिइरहेका छन् । त्यसैले उनीहरूको दृष्टिमा जंगबहादुर मात्रै दमनकारी हुनुपर्ने कारण छैन । 

२०२० सालमा जारी मुलुकी ऐनमा नै छुवाछुत उन्मूलनबारे स्पष्ट उल्लेख गरिए पनि चोर बाटो समातेर नयाँ जंगबहादुर कसरी गाउँ छिर्छन् र मासिन्या बनाइएका समुदायलाई मास्छन् भन्ने कथा नै नाटकको मुख्य विषय हो 


युरोपेली तथा अमेरिकी देशमा क्रान्ति सम्पन्न भएर अलग जागरण आइसकेको, छिमेकी भारतमै स्वतन्त्रताको चेत विकास भएर सिपाही विद्रोह चलेको (उक्त विद्रोह दबाउन पनि जंगबहादुरकै नेतृत्वमा नेपालबाट सेना गएको थियो । विद्रोहीहरू हार्दा स्वतन्त्रताका लागि अर्कै एक सय वर्ष कुनुपर्यो ।) त्यस समय फ्रान्सेली क्रान्तिको नारा ‘स्वतन्त्रता, समानता र भातृत्व’ विश्वभर फैलँदै थियो । यता, नेपालमा जंगबहादुरका भाइ–भतिजासमेत गरेर थप एक शताब्दी राणाशासन चल्नेवाला थियो । त्यस अवधि यसरी नै शासन चल्यो । 


नमासिन्या जनजातिहरूले सेनामा भर्ती हुन तथा सरकारी कामकाजमा जागिर पाउँथ्ये । मासिन्या समुदाय त्यस्तो अवसरबाट वञ्चित थिए । चन्द्रशमशेरले दासप्रथा अन्त्य भएको घोषणा गर्नुअघिसम्म उनीहरूलाई दास राख्नसमेत छुट थियो । ज्यालाविना नै काममा लगाउन पाइन्थ्यो । धेरै तामाङ युवतीहरूलाई यस अवधिमा नतर्की, सुसारे, दासी बनाएर काठमाडौं ल्याइयो । युवाहरूलाई दास बनाएर ज्याला नदिई दरबारहरू बनाउन लगाइयो । ज्याला माग्नेहरूलाई मासियो ।


तर, राणा शासन धेरै टिकेन । सचेत युवाहरूको नेतृत्वमा नेपालमा क्रान्ति भएर २००७ सालमा प्रजातन्त्र आयो, त्यसपछि गुमेको प्रजातन्त्र ०४६ सालमा फर्कियो, ०६३ सालमा अर्को जनआन्दोलन भएर मुलुक गणतन्त्रमा आयो । २०२० सालमा जारी मुलुकी ऐनमा नै छुवाछुत उन्मुलनबारे स्पष्ट उल्लेख गरिए पनि चोर बाटो समातेर नयाँ जंगबहादुर कसरी गाउँ छिर्छन् र मासिन्या बनाइएका समुदायलाई मास्छन् भन्ने कथा नै नाटकको मुख्य विषय हो । 


निकुञ्ज स्थापना भयो, नयाँ जंगबहादुर गाउँ छिरे । संरक्षित क्षेत्रको घाँस काटेको भन्दै गाउँलेको कठालो समाते । विकासका नाममा डोजर चल्यो, गाउँमा भएका छ्योर्तेन, गुम्बामै गएर ठोक्कियो । सुनुवाइको मौका नै नदिई गोबधको झुठो मुद्दामा राज्यले कसुरदार ठहर गर्यो । यसरी जल, जमिन र जंगलबाट टाढा हुन बाध्य गराएपछि गाउँ छाडेर हिँड्नुपर्दाको मर्मलाई ‘मासिन्या’ले मार्मिक ढंगले उतारेको छ । 


बाबु–आमाको सम्झनामा छ्योर्तेन बनाउन जीवनका ऊर्जावान् समय खर्चिरहेको च्याङ्बाको सिर्जनशील हातमा राज्यले खुकुरी थमाइदिएको छ । निर्धक्क र निर्दोष साङ्मोलाई प्रेतात्मा बनेर आफ्नै भदैको शरीरमा प्रवेश गर्न बाध्य राज्यले पारेको छ । ‘मासिन्या’ पीडा पुस्तान्तरणको दर्दनाक कथा हो । यो नाटकले भावुक मात्रै बनाउँदैन, इतिहास कोट्याउन र वर्तमानमा सहअस्वित्वको सिद्धान्त अवलम्बन गर्न पनि प्रेरित गर्छ । यसले राज्यसँग अधिकार माग्नका लागि उत्पीडित समुदायलाई झकझक्याउँछ । 


लेखकहरू राजु स्याङ्तान, लक्ष्मी रुम्बा र रावत, कलाकार तथा निर्देशक बुद्धि तामाङ र सोनाम लामाको प्रयास सराहनीय छ । यसमा बहुसंख्यक तामाङ कलाकारकै अभिनय छ । प्राविधिक कमीकमजोरी हरेकमा हुन्छन् । त्यसतर्फ जान्न । किनकि ‘मासिन्या’ नाटक मात्रै नभई तामाङ समुदायले आफ्नो पुस्तौँदेखिको पीडा अभिव्यक्त गर्न र सम्मानित ठाउँ खोज्न थालेको एउटा अभियान हो । यसलाई बेवास्ता गर्न कसैले मिल्दैन । 

सम्पादकको रोजाइ

सुझावित समाचार