मन परेका ८ पुस्तकमाथि उमेश मैनालीको समीक्षा

अन्वेषण अधिकारी अन्वेषण अधिकारी
शनिबार, ५ फागुन, २०८०
डिजिटल संस्करण

पूर्वसचिव तथा लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनाली दर्शन, राजनीतिक तथा सामाजिक दर्शनका पुस्तक बढी पढ्ने गर्छन् । उनले आफूलाई मन परेका केही पुस्तकबारे टिप्पणी गरेका छन् :

द रिपब्लिक :  दर्शनसँग सम्बन्धित हरेक पुस्तक रोचक हुन्छन् । यसले हाम्रो बौद्धिकता बढाउँछ । सोक्रेटिस्का चेला प्लेटोको रिपब्लिक र उनले आफ्ना गुरुसँग गरेको संवादमा आधारित पुस्तक मलाई निकै मनपर्छ । प्लेटोले युटोपिया नामक काल्पनिक राज्यको विषयमा लेखेका छन् । एउटा उचित सिजनमा हृष्टपुष्ट युवा–युवतीलाई सँगै राख्ने र समागमपछि जन्मिएको बच्चालाई राज्यले हेर्ने कुरा यसमा उल्लेख छन् । उनले यसलाई महिलाको साम्यवाद भनेका छन् । प्लेटोले ‘दार्शनिक राजा’को कल्पना गरेका छन् ।

हरेक ३५ वर्षमा एउटा परीक्षा दिने र त्यसमा उत्कृष्ट हुने व्यक्ति राजा चयन हुने उल्लेख छ । यो एउटा काल्पनिकी हो । यसलार्ई कालान्तरमा प्लेटोका चेला अरिस्टोटलले नै अव्यावहारिक भनिदिए । तर, काल्पनिकी नै भए पनि पढ्दा मज्जा आउँछ । प्लेटोले ‘माइट मेक्स राइट्स’ भनेका छन् । यसलाई कालान्तरमा अब्राहम लिंकनले खण्डन गरे । लिंकनले ‘राइट्स मेक्स द माइट’ अर्थात् अधिकार पाएपछि मात्रै मानिस शक्तिशाली बन्छ भने । 


 द प्रिन्स : राजाले जिम्मेवारीबाट बर्खास्त गरेपछि निकोलो म्याकियाभेलीले राजकुमारलाई पत्र लेखे । यही पत्र उनको मृत्युको पाँच वर्षपछि १५३२ मा ‘प्रिन्स’ पुस्तकमा प्रकाशित भयो । यसमा उनले शासन कसरी चलाउने भनेर आफ्नो अनुभव लेखेका छन् । उनले लेखेका छन्– क्षमताविनाको अवसर व्यर्थ हुन्छ । त्यसैगरी, अवसरविनाको क्षमता खेर जान्छ । राजनीति सधैँ धोका, विश्वासघात र अपराधबाट चल्ने भएकाले यस्ता अप्रिय काममा राजा संलग्न हुन नहुने उनको तर्क छ । शासकले अप्रिय काम अरूलाई प्रत्यायोजन गर्नुपर्ने सुझाव दिएका छन् । 


ह्वाई नेसन्स फेल : डेरोन एस्मोग्लु र जेम्स ए रोबिनसनको यो पुस्तक पनि निकै मनपर्छ । सन् २०१२ मा प्रकाशित यो पुस्तकले विभिन्न दार्शनिकका सिद्धान्त र त्यसको व्यावहारिक प्रयोगबारे विश्लेषण गरेको छ । फ्रान्सेली दार्शनिक मन्टेस्क्युले भनेका थिए, देशको विकास हुनका लागि भौगोलिक अवस्थाले भूमिका खेल्छ । गर्मी देशमा बस्ने मानिस अल्छी हुने र जाडोमा बस्ने मानिस जाँगरिलो हुने तर्क उनले गरेका थिए । ‘ह्वाई नेसन्स फेल’ले यो सिद्धान्त कसरी गलत हुन्छ भन्ने विश्लेषण गरेको छ । जस्तो, नोग्याल्स आधा मेक्सिको र आधा अमेरिकामा पर्छ । अमेरिकापट्टिको प्रगति, उनीहरूको प्रतिव्यक्ति आयदर र शिक्षास्तर राम्रो छ । अर्कोतर्फ, मेक्सिकोको बिजोग छ । एउटै भूगोल, एउटै संस्कृति र एउटै भाषा भएको ठाउँमा पनि फरक छ । भनेपछि मन्टेक्स्युको ‘जियोग्राफिकल हाइपोथेसिस’ सही भएन । यसले अन्य धेरै दार्शनिकका सिद्धान्तलाई पनि खण्डन गरेको छ । इनोसेन्ट हाइपोथेसिस सही देखिन्छ ।


 २१ फस्र्ट लेसन्स फर २१ फस्र्ट सेन्चुरी : यो पुस्तक म बल्ल आधा पुगेँ । तर, निकै मज्जा भइरहेको छ । युवल नोहा हरारीको यो पुस्तक प्रविधिले विश्वलाई कसरी परिवर्तन गर्दै छ भन्ने विषयमा छ । एआईले कतिखेर रोजगारी कसरी समाप्त गरिदिन्छ । त्यसपछि फेरि कसरी रोजगारीका अवसर सिर्जना हुन्छ भन्नेबारे पुस्तकमा उल्लेख छ । सन् २०५० सालसम्म के हुन्छ, सन् २०८० तिर आइपुग्दा के हुन्छ भन्ने विषयको पूर्वानुमान गरिएको छ । 


 ग्रेट स्पिचेस :  अब्राहम लिंकनले प्रजातन्त्र र सुशासनबारे बोलेका कुराहरू निकै सान्दर्भिक छन् । उनका ती भाषण ‘ग्रेट स्पिचेस’मा संग्रहित छन् । गणतन्त्रबारे उनले भनेका थिए, ‘यो राष्ट्रपतिको कुर्सी न त सिंहको परिवारलाई न त चिलको जातलाई हो ।’ यसको व्याख्या मात्रै जरुरी रह्यो । सर्वसाधारण पनि कुर्सीमा जान्छन् । यहाँ कसैको जात र वंश जाने होइन । लोकतन्त्रमा कोही पनि अरूभन्दा तल हुँदैन । त्यही नै हो गणतन्त्र भनेका छन् । लोकतन्त्रलाई कसैले मार्नै सक्दैन । यसका सञ्चालकले गलत गरे भने यसले आफैँ आत्महत्या गर्छ भनेका छन् । हामी (जनप्रतिनिधि) नै लोकतन्त्रका लेखक र उपसंहारक हुनेछौँ भनेका छन् । उनका भाषणका हरेक शब्दमा अलग कुरा छ । जनताद्वारा जनताका लागि भन्ने व्याख्या पनि उनले आफ्नो भाषणमै गरेका हुन् । प्रजातन्त्रको परिभाषा पनि यसै भाषणमार्फत दिने गरिन्छ । 


 चाणक्य :  चाणक्यका सबै पुस्तक उत्कृष्ट लाग्छ । प्राचीनकालमा नै उनले राज्यसम्बन्धी लेखेका पुस्तक निकै राम्रा छन् । उनको वास्तविक नाम विष्णु गुप्त हो । तर, चाणक्य नाममा राजनीति र कौटिल्य नाममा अर्थशास्त्रका पुस्तक लेखे । कौटिल्य नीतिमा कस्तो किल्ला बनाउनुपर्छ, कस्ता कर्मचारी हुनुपर्छ, कस्ता गुप्तचर हुनुपर्छ आदि धेरै रोचक कुरा समावेश छन् । भ्रष्टाचारबारे लेखेका छन्– पानीमा भएको माछाले सास फेरेको हो कि पानी खाएको हो कसरी थाहा पाउने ? सरकारी कोष चलाउनेले पनि कतिवेला हीनामिना गर्छ भन्ने थाहा हुँदैन । तर, थाहा भएपछि कडा सजाय हुनुपर्छ भनेर लेखेका छन् । पूर्वीय दर्शनतर्फ विवेकानन्द, खप्तड बाबालगायत भौतिक दर्शनका पुस्तक मलाई निकै मनपर्छ । 


 विज्डम अफ लाओत्से :  प्राचीन चिनियाँ दार्शनिक लाओत्सेका विचार ‘विज्डम अफ लाओत्से’मा समावेश छन् । राज्य सञ्चालनसँग सम्बन्धित धेरै कुरा यसमा समावेश छन् । कर्मचारीतन्त्रबारे उनले भनेका छन्– एक–एक केस्रा छानेर कपाल कसरी कोरिन्छ ? सीता–सीता छानेर भात कसरी बन्छ ? एकैपटक पकाउनुपर्ला नि ?’ कर्मचारी यस्तै हुन्, उनीहरूले हरेक कुराको डिटेल खोज्छन् र ढिलाइ हुन्छ । कन्फ्युसियसको दर्शन पनि जीवनउपयोगी छ । 


त्यस बखतको नेपाल :  सरदार भिरबहादुर पाँडेको त्यस बखतको नेपाल (भाग १ देखि ५) निकै मनपर्छ । ठेट भाषामा सबैले बुझ्ने गरी पुस्तक लेखिएको छ । यसले नेपाली समाज, राज्य प्रणाली सबै विषयमा दर्शाउँछ । विदेशी लेखक सिल्भियन लेभीको ‘नेपाल हिन्दू अधिराज्यको इतिहास :  भाग १ र भाग २’ (नेपालीमा अनूदित) पनि निकै राम्रो छ । ग्रीष्मबहादुर देवकोटाको, नेपालको राजनीतिक दर्पण भाग १, २ र ३ पढेपछि कसले नेपालमा के गरेको रहेछ भन्ने छर्लंग हुन्छ । अरबिन्द रिमालका पुस्तक ‘१९९७ देखि २०१७ एक अवलोकन’ पनि महत्वपूर्ण छन् । यी पुस्तकबाट नेपाली राजनीतिको एउटा तस्बिर आउँछ । कसले के गल्ती गरेको रहेछ त्यो पनि थाहा हुन्छ । 
 

सम्पादकको रोजाइ

सुझावित समाचार