कहिले उत्खनन भए बुद्ध ?

फणीन्द्रकुमार न्यौपाने फणीन्द्रकुमार न्यौपाने
शनिबार, ४ जेठ, २०७६
डिजिटल संस्करण

बुद्ध जन्मस्थलको रूपमा लुम्बिनीको वर्णन बौद्ध साहित्यमा छ । पालि साहित्यहरू जातक निदानकथा, दिव्यावदान, महावंश एवम् संस्कृत साहित्यहरू जस्तै– महावस्तु, बुद्धचरित, ललितविस्तार, मूलसर्वास्तिवाद विनयहरूमा बुद्धजन्मस्थल लुम्बिनीको बारेमा विस्तृत चर्चा भएको पाइन्छ । यी साहित्यमा लुम्बिनी वनलाई विभिन्न प्रकारका मनमोहक वृक्ष एवम् फूलले सजिएको प्रादिमोक्ष वनको रूपमा उल्लेख गरिएको छ ।

लुम्बिनी वनलाई स्वर्गका राजा इन्द्रको चित्तलता बगैँचासँग तुलना गर्ने गरिएको छ । सर्वप्राचीन पालि साहित्य सुत्तनिपातमा बुद्ध तत्कालीन शाक्य राज्यअन्तर्गतको लुम्बिनी वनमा जन्मिएको प्रसंग उल्लेख भएको छ भने कुनै साहित्यमा लुम्बिनी वनलाई तत्कालीन शाक्य र कोलीयहरूको क्रिडास्थलको रूपमा पनि व्याख्या गरिएको छ ।  
लुम्बिनी
ऐतिहासिक रूपमा लुम्बिनी वनलाई भगवान् बुद्धको जन्मस्थलको रूपमा प्रमाणित गर्ने ठोस आधार अशोकस्तम्भ हो । बुद्ध महापरिनिर्वाणको अढाइ शताब्दीपछि बुद्धजन्मस्थल लुम्बिनीमा पूजा गर्न आएका तत्कालीन सम्राट् अशोकले इ.पू. २४९ मा स्थापना गर्न लगाएको यो शिलास्तम्भमा उनले आफ्नो राज्याभिषेकको २०औँ वर्षमा दोस्रोपटक शाक्यमुनि बुद्ध जन्मेको ठाउँमा आएर पूजा गरेको र उक्त उपलक्ष्यमा शिलास्तम्भ खडा गर्न लगाई लुम्बिनीवासीले तिर्नुपर्ने राज्यकरमा केही छुट गरेको कुरा उत्कीर्ण गराएका थिए । उक्त स्तम्भमा पालि भाषामा अंकित थियो– ‘हिद बुधे जाते साक्यमुनिति, हिद भगवं जातेति लुंमिनिगामे’ । अर्थात् ‘यहाँ शाक्यमुनि बुद्ध जन्मिएका थिए’ भन्ने वाक्यांश नै बुद्धजन्मस्थललाई प्रमाणित गर्ने आधार हो, जुन अशोककालदेखि करिब २३ सय वर्षको घामपानी सहँदै वर्तमानमा पनि हाम्रो सामु खडा छ । 

पालि साहित्य दिव्यावदानअनुसार आफ्नो राज्याभिषेकको १०औँ वर्षमा प्रथमपटक लुम्बिनीको भ्रमणमा आएका सम्राट् अशोकलाई उनका गुरु भिक्षु उपगुप्तले बुद्धको जन्मस्थानको सांकेतिक शिला देखाएका थिए, जहाँ अशोकले श्रद्धासुमन व्यक्त गर्दै एक लाख सुनका सिक्का चढाई चैत्य स्थापना गराएका थिए । उक्त समयसम्म पनि मायादेवीले सिद्धार्थलाई जन्म दिँदा समातेको सालवृक्ष जीवितै थियो । त्यस स्थानमा उनले मायादेवीले सिद्धार्थलाई जन्म दिँदै गरेको दृश्य झल्काउने मूर्ति स्थापना गर्न लगाए ।

सम्राट् अशोकले सिद्धार्थको प्रथम पाइला परेको सांकेतिक शिलालाई सुरक्षित पार्न लगाए । लुम्बिनीमा सन् १९९३ देखि १९९७ सम्म गरिएको उत्खनन्मा उक्त मूर्ति र सांकेतिक शिला फेला परेको छ ।महापरिनिर्वाण सूत्रमा बुद्धले आफ्ना शिष्यलाई बौद्ध चारधामको भ्रमण गर्नुपर्ने भनी दिनुभएको उपदेश अनुसार सम्राट् अशोक लुम्बिनी आएका थिए । अशोकपछि पनि विभिन्न कालखण्डमा भिक्षु–भिक्षुणी एवम् उपासक–उपासिका लुम्बिनीको भ्रमणमा आएका थिए ।

मौर्यकालीन समयपछि सुङ्ग, कुशाण, गुप्ता एवम् मल्लकालमा विभिन्न राजामहाराजाले भगवान् बुद्धप्रति श्रद्धा प्रकट गर्न लुम्बिनीको भ्रमण गरेका थिए । उनीहरूले मायादेवी मन्दिरका पुराना संरचनामाथि नयाँ संरचना थप्ने एवम् मायादेवीपरिसरमा विभिन्न विहार तथा स्तूप निर्माण गरे । यसप्रकार इ.पू. तेस्रो शताब्दीदेखि इसाको सातौँ शताब्दीसम्म लुम्बिनीमा निर्माण भएका मन्दिर, विहार एवम् चैत्यका अवशेष हालसम्म लुम्बिनीमा देख्न सकिन्छ ।

लुम्बिनीलाई उजागर गर्न तीर्थयात्रीहरूको यात्रा वर्णन पनि उत्तिकै महत्वपूर्ण रहेको छ । पाँचौँ शताब्दीमा लुम्बिनीको भ्रमण गरेका चिनियाँ यात्री फाहियानको वर्णनअनुुसार रानी मायादेवीले लुम्बिनी वनस्थित मनमोहक पुष्करिणी तलाउमा स्नान गरेपश्चात् तलाउबाट २० पाइला उत्तरतर्फ गई सिद्धार्थलाई जन्म दिएकी थिइन् ।

सातौँ शताब्दीमा लुम्बिनीको भ्रमण गरेका अर्का चिनियाँ यात्री ह्वेनसाङले शिरोभागमा रहेको घोडाको आकृति चट्याङ लागी दुई टुक्रा भएर भुइँमा खसेको अवस्थामा आफूले अशोक स्तम्भ पाएको प्रसंग उल्लेख गरेका छन् । त्यति मात्र हैन, १२३४ मा खस मल्लराजा रिपु मल्लले लुम्बिनीको भ्रमण गरी उक्त अशोक स्तम्भमा ‘ॐ मणि पद्मे हुँ’ मन्त्र लेखेको वर्तमानमा पनि देख्न सकिन्छ । यसप्रकार यी तीर्थयात्रीको वर्णनले बुद्धजन्मस्थल लुम्बिनीलाई संसारमाझ चिनाउन भूमिका खेलेको छ ।

तर, दुर्भाग्यवश १६औँ शताब्दीबाटै लुम्बिनी बिस्तारै विश्वजगत्बाट ओझेलमा पर्दै गएको देखिन्छ । केही विद्वान्ले मुस्लिम आक्रमणका कारण लुम्बिनी कालान्तरमा घना जंगलमा परिणत भएको उल्लेख गरे पनि आक्रमणको कुनै प्रमाण नपाइएकाले यसका दुइटा कारण आंकलन गर्न सकिन्छ ।

एउटा प्राकृतिक प्रकोपका कारण लुम्बिनी बस्तीयोग्य बन्न नसकेको हुन सक्छ भने अर्को कारण मल्लकालपछि अभ्युदय भएको सेनवंशीय हिन्दू राजाहरूले कालान्तरमा बौद्ध केन्द्रको रूपमा विकसित लुम्बिनीलाई महत्व नदिनाको कारण लुम्बिनी विस्मृतिको गर्वमा परेको हुन सक्छ । यसप्रकार, लुम्बिनीको अस्तित्व बौद्ध साहित्यमा मात्र सीमित भयो । लुम्बिनी क्षेत्र अवस्थितिको विषयमा भ्रम सिर्जना भए र उत्तर भारतको कुनै क्षेत्रमा लुम्बिनी हुन सक्ने अनुमान अगाडि सारिए ।

भगवान् बुद्ध र उहाँको ज्ञानप्रतिको चेतना पश्चिमी जगत्मा पनि बढ्दै गएपछि बुद्ध जन्मस्थल लुम्बिनीबारे १८औँ शताब्दीदेखि खोजी तीव्रतर रूपमा हुन थाल्यो । यसै क्रममा सम्पूर्ण विश्वजगत्का निम्ति खुसीको विषय बन्न पुग्यो, जब बौद्ध साहित्यमा वर्णित एवम् चिनियाँ यात्रीहरूको वर्णनसँग मेल खाने गरी लुम्बिनीको भौगोलिक अवस्थिति सन् १८९६ को अन्ततिर दक्षिण–पश्चिम नेपालमा फेला प-यो ।

जर्मन पुरातत्वविद् डा. फुहरर र तत्कालीन राणा बडाहाकिम खड्गशमशेरले वर्तमान नेपालको लुम्बिनीमा अशोकस्तम्भ फेला पारेपछि बुद्धजन्मस्थलप्रतिको संशय सदाका निम्ति अन्त भयो ।
 

जर्मन पुरातत्वविद् डा. फुहरर र तत्कालीन राणा बडाहाकिम खड्गशमशेरले वर्तमान नेपालको लुम्बिनीमा अशोक स्तम्भ फेला पारेपछि बुद्धजन्मस्थलप्रतिको संशय सदाको निम्ति अन्त भयो । लुम्बिनी क्षेत्रमा थालिएका उत्खनन्बाट उक्त क्षेत्रमा बुद्धकालीन एवम् उक्त समयभन्दा अगाडिका मानव बस्तीका प्रमाणसमेत प्राप्त भए । वर्तमानमा लुम्बिनी मात्र होइन, यसवरिपरिका शाक्यमुनि र शाक्यमुनिपूर्वका बुद्धहरूसँग सम्बन्धित ऐतिहासिक प्रमाण उजागर हुँदै गइरहेका छन् ।

लुम्बिनीबाट २५ किमि पश्चिममा प्राचीन कपिलवस्तु र राजा शुद्धोदनको तिलौराकोट दरबार फेला परिसकेको छ । तिलौराकोट दरबारबाट ३ किमि उत्तरपूर्वमा कनकमुनि बुद्ध र ९ किमि दक्षिण–पश्चिमको गोटिहवामा क्रकुच्छन्द बुद्धको जन्मस्थान फेला परेको छ । सम्राट् अशोकले स्थापना गरेका शिलास्तम्भका आधारमा यी स्थान उक्त बुद्धहरूको जन्मस्थल भएको तथ्य प्रमाणित भइसकेको छ । यसप्रकार शाक्यमुनि बुद्ध मात्र होइन, अन्य दुई बुद्धको जन्मभूमि एवम् ज्ञानभूमि नेपाल भएको तथ्य सबै नेपालीका निम्ति गौरवको विषय हो । 

बौद्ध शिक्षा
राजकुमार सिद्धार्थले २९ वर्षको उमेरमा राज्य परित्याग गरी ३५ वर्षको उमेर हुुँदा प्राप्त गरेको बुद्धत्व ज्ञानलाई आफ्नो महापरिनिर्वाण हुँदाको उमेरसम्म तत्कालीन समयको गाउँ, नगर एवं राज्यमा प्रचार गरेको ज्ञानलाई आज हामी बुद्ध शिक्षा भन्छौँ । विभिन्न जन्ममा कुशल कर्मको सञ्चय गर्दै आउनुभएका बोधिसत्व सिद्धार्थ वर्तमान भारतको बोधगयामा आफ्ना सम्पूर्ण राग, द्वेष र मोहजन्य बन्धनबाट मुक्त भएपछि भगवान् भनेर चिनिनुभयो । बुद्धले आफूलाई तथागत भनेर सम्बोधन गर्न रुचाउनुहुन्थ्यो, जसको अर्थ तथ्यको सहारा लिएर जीवन र जगत्को अन्तिम सत्यसम्म पुग्नु भन्ने हुन्छ । बुद्धले चित्त र शरीरधारी मानवजीवनको दुःख, दुःखको कारण, दुःख निवारण र मार्ग सत्यलाई सम्पूर्ण रूपमा बुझ्नुभएकाले नै उहाँँलाई तथागत भनिएको हो । 

बुद्धले मध्यमार्गको सिद्धान्त देशना गर्दै अति भोगबिलास र अति दुष्करचर्याबाट जोगिनुपर्ने शिक्षा दिनुभयो । हरेक व्यक्तिले शान्तिको अनुभूति नगरेसम्म समाज र राज्यमा शान्ति नहुने, आर्थिक–राजनीतिक समृद्धि नहुने हुनाले बुद्धले व्यक्तिगत शान्ति अनुभूतिलाई महत्व दिनुभएको छ । बुद्धले मानिसले जन्मसँगै अपरिहार्य लिएर आउने विभिन्न प्रकारका दुःख, जस्तै– वृद्धावस्था, मृत्यु, शारीरिक मानसिक पीडा, शोक, दौर्मनस्यता, प्रियसँगको विछोड, अप्रियसँगको संयोगजस्ता दुःखहरूको वैज्ञानिक विश्लेषण गर्दै यस्ता दुःखको पछाडिको मूल कारण तृष्णा र यसप्रतिको अविच्छिन्न आसक्तिभाव भएको तथ्य उजागर गर्नुभयो ।

अविद्या वा बेहोसीको कारण तृष्णा उत्पन्न हुने भन्दै उक्त तृष्णाको मूल अविद्या वा बेहोसीलाई नाश गर्नु नै दुःखमुक्तिको बाटो भएको तथ्य पनि प्रकाश पार्नुभयो ।  यसनिम्ति उहाँले आठ उपायको देशना गर्नुभयो । जसमा सही ज्ञान वा वस्तुगत ढंगले विषयको विश्लेषण गर्ने क्षमता (सम्यक् दृष्टि), सही सोच–विचार (सम्यक् संकल्प), शुद्ध वचन (सम्यक् वचन), सही आजीविका (सम्यक् आजीविका), अरूलाई हानि नगर्ने शरीरका कर्महरू (सम्यक् कर्मान्त), कुशल गुणहरूको विकास गर्ने अभ्यास (सम्यक् व्यायाम), मन र शरीरका गतिविधिप्रति सजग बनिरहने अभ्यास (सम्यक् स्मृति) र सही आलम्बनको सहारा लिएर मनको एकाग्रता बढाउने अभ्यास (सम्यक् समाधि) पर्छन् ।

बुद्धशिक्षा कोरा दर्शन र धार्मिक विषय मात्र नभएर यो जीवन र व्यवहारको प्रयोगात्मक आचारसंहिता हो । र, मानव सभ्यताका निम्ति अमूल्य निधि हो । यो ज्ञानलाई बुद्धकालीन समाजको राजनीतिक, आर्थिक, सामाजिक परिवेशमा सफलतापूर्वक प्रयोग गरिएको थियो भने आजको विश्व परिवेशमा पनि यसप्रतिको जागरण बढिरहेको छ । 

बुद्धले ज्ञान प्राप्त गरेको स्थान बोधगया, ज्ञान बाँडेको स्थान वनारस एवम् उनले महापरिनिर्वाण प्राप्त गरेको स्थान कुशिनगर हाल भारतमा पर्छन् । बुद्ध जन्मस्थलबाहेक बुद्धसँग सम्बन्धित तीनवटै स्थान भारतमा परेको हुनाले भारतलाई नै बुद्धज्ञानको भूमि भनेर प्रचार गर्ने गरिएको पाइन्छ । तर, पालि साहित्यमा वर्णन भएका बुद्धज्ञान र यसको प्रचारप्रसारमा योगदान पु-याउने व्यक्तिको भौगोलिक पृष्ठभूमिलाई हेर्दा नेपाल नै बुद्धज्ञानको स्थल पनि भएको विषय स्पष्ट हुन्छ ।

वर्तमान नेपाल राज्यअन्तर्गत बुद्धकालीन शाक्य गणराज्यको राजधानी कपिलवस्तु, कोलीयवंशी राजाहरूको राजधानी रामग्राम तथा शाक्य र कोलीयहरूको आधिपत्य भएको लुम्बिनी वन पर्छ । यी तीनै क्षेत्र बुद्धकालीन समयमा उनको ज्ञानको उद्गम, विकास र विस्तारका निम्ति अत्यन्त महत्वपूर्ण भूमि बन्न सफल भएका कारण नेपाललाई बुद्ध शिक्षाको मुहान अथवा उद्गमस्थल भनेर पनि चिन्न सकिन्छ । 

(लेखक लुम्बिनी बौद्ध विश्वविद्यालय,केन्द्रीय क्याम्पसका प्रमुख हुन्)

सम्पादकको रोजाइ

सुझावित समाचार