बुद्ध जन्मेको देशमा बुद्धको दर्शन बुझ्ने थोरै छन् । आजभन्दा २२०० वर्षअघि नै बुद्धधर्म एसियाका देशमा फैलिने क्रम सुरु भएको थियो भने अझै यसको प्रभाव बढ्ने क्रम तीव्र छ, खासगरी पाश्चात्य बौद्धिक समाजमा । बुद्धलाई राम्ररी बुझ्ने हो भने बुद्धकालीन समाज र अवस्थाको पृष्ठभूमि बुझ्नु आवश्यक छ ।
बुद्धकै समयमा भारतवर्षमा बुद्धको प्रभाव तत्कालीन शक्तिशाली सम्राट् र विद्वत् ब्राह्मणदेखि जनसामान्य अनि अछुत मानिएका समुदायसम्म उत्तिकै थियो । तर, बुद्धको समयमा बुद्ध नै एक मात्र प्रभावशाली धार्मिक नेता भने थिएनन् । हिमालयको दक्षिणी भूभागमा त्यसवेला वैदिक ब्राह्मण र तिनका समानान्तर विधर्मी श्रमणहरूको उत्तिकै प्रभाव रहेको बौद्ध र जैन ग्रन्थहरू आफैँ बोल्छन् ।
दार्शनिक द्वन्द्वको उत्कर्ष
एक हिसाबले बुद्धकालीन भारतवर्ष वैचारिक स्वतन्त्रता र प्रतिस्पर्धाको स्वर्णिम युग थियो । यसै स्वतन्त्रताका कारण दार्शनिक चिन्तन उत्कर्षमा पुगेको थियो । वेद मान्ने ब्राह्मण र वेद नमान्ने श्रमण दुई प्रमुख ध्रुव थिए भने वेदकै अलग–अलग दर्शन अनि श्रमणका पनि फरक–फरक पन्थ थिए । कार्लमाक्र्सको द्वन्द्वात्मक सिद्धान्तको दृष्टिकोणबाट हेर्ने हो भने त्यसवेला विभिन्न मत र विमत (थेसिस र एन्टिथेसिस) बीच तीव्र द्वन्द्व हुँदै नयाँ–नयाँ सम्मतहरू (सिन्थेसिस) मार्फत विचारको नवीन उचाइमा पुग्ने र पुनः नयाँ–नयाँ वैचारिक द्वन्द्व सिर्जना भइरहेको अवस्था थियो ।
एक किसिमले दार्शनिक मत एक–आपसमा प्रभावमा पर्दै र पार्दै अघि बढिरहेका थिए । बौद्ध दर्शन पनि अघिल्ला दर्शनबाट प्रभावित हुँदै, आफ्नै मौलिकता थप्दै, अन्यलाई गतिलो प्रभाव छोड्दै अघि बढेको थियो । बौद्ध दर्शन वैदिक–अवैदिक दर्शनबाट प्रभावित थिए भने बुद्धपछिका सम्पूर्ण पूर्वी दर्शन बौद्ध दर्शनबाट अप्रभावित रहनैसकेन । त्यसैले सनातनीहरू आफैँले पनि आदि शंकराचार्यलाई प्रच्छन्न बौद्ध भएको आरोपसमेत लगाउन पुगे ।
बुद्धकालीन दार्शनिकहरू
बुद्धको समयमा फरक–फरक मतका अनगिन्ती श्रमण थिए भने अत्यन्त प्रभावशाली श्रमणमा बुद्धलगायत सात श्रमण थिए । बुद्धका अलावा बुद्धका समकालीन अन्य छ प्रभावशाली श्रमण थिए— १. अजित केशकम्बल, २. पूरण काश्यप, ३. प्रकुध कात्यायन, ४. सञ्जय बेलठ्ठीपुत्र, ५. मक्खली गोशाल, ६. भगवान् महावीर ।
गौतम बुद्धको जस्तै महावीरको जैनधर्म परम्परा आजपर्यन्त जीवित छ भने बाँकी पाँचका मत लुप्त भइसकेका छन् । तर, बुद्धकालीन समयमा तिनका प्रशस्त अनुयायी थिए र तिनका आश्रममा ज्ञानको प्यास मेटाउन राजाहरूसमेत पुग्ने गर्थे भन्ने बौद्ध र जैन ग्रन्थबाटै थाहा हुन्छ । तिनका दर्शन मूल स्वरूपमा जीवित नरहे पनि बौद्ध र जैन ग्रन्थमा भएका उल्लेखबाट तिनको झल्को पाउन सकिन्छ, भलै मात्र ती आलोचनाकै उद्देश्यले लेखिएका किन नहोऊन् ।
तिनै ग्रन्थका आधारमा अजित केशकम्बल पूर्णतः भौतिकवादी थिए । उनलाई चार्वाक वा लोकायत दर्शनका अगुवा मानिन्छन् । तर, जसरी चार्वाक दर्शनलाई भौतिकवादी भएको नाताले ‘जीवनमा मोजमज्जा मात्र गर्न सिकाउने’ भनेर मजाक उडाउने गरिन्छ, अजित केशकम्बलको जीवन त्यस्तो कतै देखिँदैन । उनी सन्तको सरल जीवन बिताउँथे र कुनै स्वार्थ उनमा देखिँदैन । बरु जसरी भौतिकवादीहरू हरेक कुरा तर्कपूर्ण हुनुपर्ने मान्छन्, उनी पनि अद्वितीय तार्किक थिए । तर्कमा कसैले जित्न नसक्ने भएकैले उनलाई ‘अजित’ भनेको पनि भनिन्छ ।
वास्तवमै यी सातै श्रमण नास्तिक थिए, तर ऋषिमुनिहरूकै जस्तो त्यागी जीवन बाँच्थे । त्यसवेला स्वतन्त्र रूपले सत्यको चिन्तनमा लागेका ज्ञानीहरू त्यागी जीवन व्यतीत गर्थे, तर यो कदापि होइन कि ती सबै धार्मिक वा अध्यात्मवादी नै थिए । बरु ती सबै धुरन्धर दार्शनिक भने थिए ।
अर्का प्रभावशाली श्रमण पूरण काश्यप पनि साधु जीवन बिताउँथे । तर, पाप–पुण्यमा विश्वास गर्दैनथे । सञ्जय बेलठ्ठीपुत्र अज्ञेयवादी थिए । प्रकुध कात्यायन शाश्वतवादी थिए । उनको दर्शनअनुसार सृष्टि सात तत्वबाट बनेका हुन् । ती तत्व न कहिल्यै बने वा बनाइए, न कहिल्यै नष्ट नै हुन्छन् । त्यसैले उनको दर्शनमा पनि सृष्टिकर्तालाई स्थान छैन । बुद्धको सृष्टिसम्बन्धी दर्शन पनि यस्तै खालको छ ।
बुद्धको दर्शन बहुकारणवाद भएकाले ईश्वर नै सृष्टिको एक मात्र कारण हो भन्नेमा सहमत हुँदैन । एउटा बिरुवा जन्मिन माटो, पानी, हावा, ताप र बिउ चाहिन्छ । अनि साथै यी पाँचै विषय एकै ठाउँमा हुने संयोग पनि । बौद्ध दर्शन मान्छ– कुनै पनि कुरा कसैको इच्छा वा अनिच्छाले हुने होइन । जहाँ आवश्यक सामग्री र संयोग (कारणहरू) जुट्छन्, त्यहाँ स्वतः घटना हुन्छ । त्यसैले बौद्ध दर्शनलाई कारणवादी (हेतुवादी) पनि भनिन्छ ।
अजित, पूरण, प्रकुध र सञ्जयका दार्शनिक मत धेरै समयसम्म चलेको देखिँदैन । तर, मक्खली गोशालको आजीवक धर्म भने झन्डै दुई हजार वर्ष अर्थात् चौधौँ शताब्दीसम्म चलेको इतिहासले प्रमाणित गर्छ । सम्राट् अशोकको समयमा ठूलो संख्यामा आजीवक रहेको बौद्ध र जैन ग्रन्थमै उल्लेख छ । त्यसवेला वैदिक धर्मसँगसँगै श्रमण धर्ममा बौद्ध, जैन र आजीवक उत्तिकै प्रभावशाली थिए ।
आजीवकहरू नियतिवादी थिए र प्रकृति (जंगल)मा प्राकृतिक अवस्थामा रही कठोर तपस्या गर्न रुचाउँथे । जसरी बौद्ध र जैन ग्रन्थमा यिनीहरूलाई मात्र नियतिवादीको रूपमा प्रस्तुत गरिएको छ, त्यस्तो नहुन सक्छ । नभए त यिनीहरू किन कठोर आध्यात्मिक उद्यममा लाग्थे त भन्ने प्रश्न उठ्छ ।
मक्खली गोशालको बारेमा अझै रोचक तथ्य के छ भने जहाँ बुद्ध र महावीर राजकुमार थिए, गोशाल दास परिवारबाट आएका थिए । उनी सत्यको खोजमा निस्किनै लाग्दा उनलाई मालिकले लखेटेर पक्रन खोजेको थियो । पक्रिँदा उनको लुगा मात्र समाउन पुग्यो र त्यो च्यातिन थाल्यो । यसरी गोशाल महावीरजस्तै नांगो फकिर हुन पुगे । त्यसवेला वैदिक—अवैदिक दुवै परम्परामा नग्न साधु थिए । सिद्धार्थ गौतमले पनि बुद्धत्वको खोजीको क्रममा केही समय नग्न रहेर अभ्यास गरेका थिए ।
महावीरको जैनधर्म त भारतवर्षको अत्यन्तै प्रभावशाली धर्म हो । महावीर नै जैनधर्मका संस्थापक भने होइनन् । उनी चौबीसौँ तीर्थंकर थिए । जैनधर्मका तेइसौँ तीर्थंकर पाश्र्वनाथ विश्वकै पहिलो ऐतिहासिक धार्मिक नेता हुन् । उनी गौतम बुद्धभन्दा अढाइ सयजति वर्षअघि वाराणसीको राजकुलमा जन्मेका थिए र ३० वर्षको उमेरमा राजदरबार छाडी तपस्यामा हिँडेका थिए ।
आज बौद्धधर्मको तुलनामा जैनधर्मका अनुयायी धेरै कम छन् । त्यसो भन्दैमा जैन दर्शनको गहिराइलाई कदापि कम आँक्न मिल्दैन । जैनधर्मका स्यादवाद, नयवाद, अनेकान्तवाद अत्यन्त गहन दर्शन हुन् । उत्तर भारतमा बौद्ध तीर्थाटन गर्दा अलिकति सोधखोज गरेमा जैन र आजीवकका महत्ववपूर्ण स्थान नजिक–नजिकमै भेटिन्छन् । नालन्दाबाट दुई किलोमिटर पर महावीरको जन्मस्थल कुण्डलपुर भेटिन्छ । आजीवकका साधनास्थल विहारको गयानजिकै भेटिन्छन् ।
सिद्धार्थ गौतम संसारको दुःख देखेर दुःखमुक्तिको खोजीमा लागेका थिए । दुःखबारे बृहदारण्यकजस्ता प्रारम्भिक उपनिषद्मै उल्लेख भइसकेको थियो । त्यसो भए बुद्धको दर्शनमा नयाँ के छ ?
चलायमान समाज
सिद्धार्थ गौतम संसारको दुःख देखेर दुःखमुक्तिको खोजीमा लागेका थिए । दुःखबारे बृहदारण्यकजस्ता प्रारम्भिक उपनिषद्मै उल्लेख भइसकेको थियो । त्यसो भए बुद्धको दर्शनमा नयाँ के छ ?
बुद्धकालीन भारत स्वतन्त्र खोजको समय थियो भने मौर्यकालीन भारत धार्मिक रूपमा उदार र चलायमान समय थियो । त्यसवेला वैदिक सनातन धर्म र तीन प्रमुख श्रमण धर्म (बौद्ध, जैन र आजीवक) को जल्दोबल्दो प्रभाव थियो । सम्राट् अशोकका हजुरबुबा चन्द्रगुप्त मौर्य ब्राह्मण जिष्णुगुप्त चाणक्यबाट दीक्षित भए पनि पछि उनले जैनधर्म ग्रहण गरे ।
अन्त्यमा उनी छोरा विन्दुसारलाई राज्य सुम्पी जैनमुनि बनेका थिए । चन्द्रगुप्तका छोरा बिन्दुसारको दरबारमा ब्राह्मणहरूका साथसाथै आजीवकहरूलाई पनि सम्मान थियो । उनको दरबारमा एक आजीवक पुरोहित थिए, जसले अशोक बालक छँदै अशोकका लक्षण हेरी भविष्यमा ठूलो सम्राट् बन्ने भविष्यवाणी गरेका थिए ।
अशोक विशाल भारतका सम्राट् बनेको र युद्धबाट थाकेपछि बौद्ध धर्म ग्रहण गरेको इतिहास विख्यात छ । उनले नै भारतबाहिर एसियाका विभिन्न देशमा बुद्धधर्मको प्रचारप्रसार गर्न लगाएका थिए । यसैले गर्दा कालान्तरमा भारतबाट बुद्धधर्म लोपप्रायः भएको अवस्थामा पुगेको भए तापनि एसियाका अन्य देशमा बुद्धधर्मको प्रशस्त विकास भइसकेको थियो ।
अशोकपछि पनि बौद्धसँगसँगै जैन र आजीवक धर्मको उत्तिकै प्रभाव थियो । अशोक आफैँले पनि गयानजिकै बराबर नामक पर्वतमा अनेकौँ गुफा बस्नलायक बनाई आजीवकलाई चढाएका थिए । ती गुफाभित्रका ढुंगामा अशोकका अभिलेख कुँदिएका छन्, जसमा पर्वत आजीवकलाई चढाएको कुरा स्पष्ट उल्लेख छ । त्यस्तै अशोकका नाति दशरथले पनि आफ्नो राज्याभिषेकका वेला बराबरकै तीनवटा गुफा आजीवकलाई चढाएका थिए ।
अशोकपछिका तेस्रो र चौथो मौर्य राजा क्रमशः सम्प्रति र शैलीशुक जैन धर्मावलम्बी थिए । त्यसपछिका मौर्य राजाहरू देवरमण बौद्ध अनि शतधन्वन जैन र फेरि मौर्य वंशका अन्तिम राजा बृहद्रथ बौद्ध धर्मावलम्बी थिए । त्यसवेला एउटै राजपरिवारका सदस्यहरू फरक–फरक मत अपनाउँदै पनि मिलेर बसेको देखिन्छ । यस्तो धार्मिक स्वतन्त्रता र सहिष्णुता नेपालमा लिच्छवीकालमा पनि देखिएको थियो । लिच्छवीकाललाई नेपालको स्वर्णकाल पनि भनिन्छ ।
राजा बृहद्रथको हत्यापछि भारतबाट मौर्य शासन समाप्त भयो । आफ्नै ब्राह्मण सेनापति पुष्यमित्रले उनको हत्या गरी राज्य हत्याएका थिए । त्यसपछि शुंगवंश प्रारम्भ भयो र बौद्धधर्मको सँगसँगै अन्य श्रमण पन्थ पनि बिस्तारै ओरालो लाग्न सुरु भयो । हुन त भारतबाट बौद्धधर्म लुप्तप्रायः हुनुमा यही एउटै मात्र कारण थिएन, तापनि यो ओरालोको सुरु बिन्दु भने थियो ।
खुला समाज र समृद्धि
बुद्धकालीन र मौर्यकालीन भारतवर्ष समृद्ध थियो । हुन त जातीय भेदभाव र दासप्रथा पनि प्रचलनमै थियो । तर, समग्रमा देश समुन्नत र समृद्ध थियो । बुद्धका प्रमुख शिष्यहरू पनि धेरैजसो पहिले नै वैदिक र श्रमण दर्शनका विद्वत ब्राह्मण तथा क्षेत्रीहरू थिए । तर, श्रमणहरू वर्ण–व्यवस्थाविरोधी भएकाले बुद्धको संघमा वैश्य तथा शुद्र पनि प्रशस्तै थिए । त्यसैले बुद्धका सन्देशहरू विद्वत् वर्गलाई सन्तुष्ट पार्ने खालका गहन दार्शनिक पनि थिए भने सामान्यजनले बुझ्ने खालका सरल उपदेश पनि थिए । अझ अर्को विशेषता के भने बुद्धका आर्यसत्य, अष्टांग मार्ग र मध्यममार्गका दर्शनलाई सरल–व्यावहारिक अर्थमा मात्रै बुझ्न सकिन्छ र गहिरो व्याख्या पनि गर्न सकिन्छ । दर्शनको गहिराइकै कारण आज पश्चिमी समृद्ध मुलुकका विद्वत् वर्ग बुद्धधर्मतिर आकर्षित भएका हुन् ।
बुद्धको मौलिक दर्शन
अब आऔँ बुद्धको दर्शनको विषयमा । वेद र केही प्रारम्भिक उपनिषद् बुद्धभन्दा अघि नै थिए भने श्रमणधर्मको विकास पनि बुद्धभन्दा अघि नै भइसकेको थियो । कर्मफलको सिद्धान्त, पुनर्जन्म पनि मानिएकै थियो । वैदिकभित्रै र बाहिर ईश्वररहित दर्शन पनि प्रचलनमै थियो । सांख्य दर्शन आफैँ ईश्वररहित दर्शन थियो । भनिन्छ, सांख्यका प्रवर्तक कपिल मुनिको वास्तुअनुसार स्थापना गरिएकैले शाक्य गणराज्यको राजधानी कपिलवस्तु नामकरण भयो । सिद्धार्थ गौतमले गृहत्यागपछि आलार कालाम र उदक रामपुत्रसित ध्यान सिकेका थिए । यी दुई गुरुहरू त्यस समयका सांख्यका पोख्त विद्वान् थिए भनिन्छ ।
सिद्धार्थ गौतम संसारको दुःख देखेर दुःख मुक्तिको खोजमा लागेका थिए । दुःखबारे बृहदारण्यकजस्ता प्रारम्भिक उपनिषद्मै उल्लेख भइसकेको थियो । त्यसो भए बुद्धको दर्शनमा नयाँ के छ ?बुद्धले पूर्वीय दर्शनमा के योगदान दिए भनी एकै शब्दमा भन्नुप-यो भने त्यो ‘प्रतीत्यसमुत्पाद’को दर्शन हो । कुनै पनि विषयको स्वतन्त्र अस्तित्व छैन । सबै एकअर्कामा निर्भर भई अस्तित्वमा आउँछन् । सबैका कारण छन् । त्यसैले बुद्धधर्मलाई ‘हेतुवादी’ वा ‘कार्य–कारणवादी’ पनि भनिन्छ । बुद्धका प्रमुख भिक्षु सारिपुत्र एक समय सञ्जय बेलठ्ठीपुत्रका शिष्य थिए । उनले बाटोमा बुद्धका एक अर्हत भिक्षु अस्सजीलाई देखे । अस्सजीबाट प्रभावित भई उनले आफ्ना गुरुको शिक्षाबारे केही बताउन भने । तब भिक्षु अस्सजीले भने–
ये धर्मा हेतु प्रभवा हेतुं तेषां तथागतो ह्यवदत्
तेषां च यो निरोध एवं वादी महाश्रमण
अर्थात, जति पनि यी परिघटना छन्, कारणबाट नै उत्पन्न भएका छन् । तथागतले ती कारण र तिनको निवारण बताउँछन् । प्रतीत्यसमुत्पादको दर्शनअनुसार, कुनै पनि कुराको स्वतन्त्र अस्तित्व छैन । जति पनि छन्, एकअर्कामा निर्भर भई अस्तित्वमा आएका छन्– अस्मिं सति इदं भवति । त्यसैले कुनै कुरा छ नै पनि भन्न मिल्दैन र छँदै छैन पनि भन्न मिल्दैन । अध्यात्ममा लाग्नेहरू संसारलाई माया वा भ्रम ठान्छन् भने भौतिकवादीहरू भौतिक संसार नै सत्य हो भन्छन् । ‘मध्यममार्ग’ यी दुई अति बीचको सन्तुलित दर्शन हो । बुद्धको दर्शन एउटा आलेखमा स्पष्ट गर्न सकिने होइन । अध्ययनको इच्छा राख्नेका लागि यो धागोको एउटा टुप्पो हुन सक्ला, जुन पहिल्याउँदै जाँदा गाँठो फुस्किन सक्छ ।