डकुमेन्ट्री बोरिङ विधा होइन

पवन बराइली पवन बराइली
शनिबार, ६ माघ, २०८०
डिजिटल संस्करण

झन्डै डेढ दशकदेखि सिनेकर्ममा सक्रिय राजन कठेतले फिचर फिल्म, सर्ट फिल्म तथा डकुमेन्ट्री निर्देशन गरेका छन् । उनको सर्ट फिल्म ‘बेयर ट्रिज इन द मिस्ट’ टोरोन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पनि छनोट भएको थियो । उनले फिचर फिल्म ‘मोक्ष र ‘दोख’को पटकथासमेत लेखे । भर्खरै राजन र सुनिर पाण्डे मिलेर बनाएको ‘ढोरपाटन’ डकुमेन्ट्री राजधानीको हलमा प्रदर्शन भइरहेको छ । निर्देशक कठेतलाई पवन बराइलीको ६ प्रश्न :

१ . नेपालमा डकुमेन्ट्री सिनेमा हलमा प्रदर्शन भएको खासै देखिन्न । तर,तपाईंहरूले ‘ढोरपाटन’ हलमा प्रदर्शन गरिरहनुभएको छ । किन ?
नेपालमा प्रायः डकुमेन्ट्री बनाएर अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पठाउने र नेपालका केही फेस्टिभलमा देखाएपछि थन्क्याएर राख्ने प्रचलन छ । डकुमेन्ट्रीलाई मेकर आफैँले पनि हलमा देखाउने कोसिस गर्दैनन् । यसअघि पनि केही नेपाली डकुमेन्ट्री सिनेमा हलमा देखाइएको थियो । पछि निरन्तर रूपमा देखाउन नसकेको देखिन्छ । हामीले यो डकुमेन्ट्री पाँच वर्ष लगाएर बनायौँ, र निर्माण प्रक्रियामा पनि निकै दुःख गर्यौँ । पहिलो त, यस्ता खालको डकुमेन्ट्रीको पनि दर्शक हुन सक्छन् होला र ती दर्शकबीच हामी पुग्न सकिन्छ कि, सकिँदैन ? हामीले भविष्यमा यस्ता खालका चलचित्र बनायौँ भने पनि दर्शक त चाहिन्छ । यस्ता खालका चलचित्रका लागि पनि दर्शक बनाउने कोसिस गरौँ भन्ने सोचले हलमा प्रदर्शन गरेका हौँ । 


२. यो डकुमेन्ट्रीले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा अवार्ड जितेको सुनियो । एकजना मेकरलाई त्यस्ता फेस्टिभलले के फरक पार्दो रहेछ ?
अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको अवार्डले फिल्ममेकरलाई एकदमै ठूलो महत्व राख्छ । अवार्डले एक त कामको मूल्यांकन गर्छ । कतिपय फेस्टिभलले नगद अवार्ड पनि प्रदान गर्छ । यसले आउँदो प्रोजेक्टका लागि पनि सहयोग गर्छ । अवार्ड पाउनेबित्तिकै फिल्मको प्रमोसन तथा मार्केटिङका लागि सहयोग पुग्छ । जसरी ‘ढोरपाटन’ विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भयो । जसले गर्दा नेपालमा फिल्ममेकर, फिल्मको पारखी, फिल्म विश्लेषक तथा पत्रकारले यो फिल्मबारे थाहा पाए । यो फिल्मलाई कसरी हेर्ने, कस्तो फिल्म हो भन्ने धेरैले उत्सुकता जगाए । ‘ढोरपाटन’लाई धेरैले चासो देखाएको हुनाले पनि हलमा रिलिज गर्न सक्यौँ ।

साउथ एसियाको कथा भन्नेबित्तिकै विदेशमा दुःखका कथा मात्रै आउँछ भन्ने बुझाइ छ । अझ नेपालबाट हिमाल चढ्नेको कथा, हनी हन्टिङ, नेचरलगायत कथाको मात्रै फिल्म बन्छ भनेर हेर्छन् । जब हामी ‘ढोरपाटन’बाट दुई हजुरआमाको कथा लगेर विदेशका केही फेस्टिभलमा गयौँ, उनीहरूले फरक कथा पाएर उत्साहित भएर हेरे । 


३. ‘ढोरपाटन’ बनाउने योजना कसरी बन्यो ?
म र सुनिर पाण्डे मिल्ने साथी पनि हौँ । फिल्ममा केही नयाँ काम गरौँ भनेर सल्लाह गरिरहन्थ्यौँ । यसबीचमा सुनिरले ‘हेर्ने कथा’मा ढोरपाटनको चौकीदार दुई महिलाको भिडियो हेरेछन् । उनलाई त्यो कथा राम्रो लागेछ । सँगै बसेर ती महिलाको कथा हेरेपछि डकुमेन्ट्री बन्छ कि भनेर सल्लाह गर्यौँ । गफैगफमा ढोरपाटन जाने योजना बनायौँ । सुरुमा ढोरपाटनमा १० दिन बितायौँ । १० दिनमा ट्रेलर काट्न सफल भयौँ । तर,ट्रेलर लगेर ‘डकेज कलकत्ता’मा कथा पिज गर्यौँ । त्यहाँबाट हामीले अवार्ड पनि जित्यौँ । यसरी नै यो डकुमेन्ट्री निर्माण भयो ।


४ .यो डकुमेन्ट्रीदर्शकले किन हेर्ने ? 
पहिलो त सिनेमा हलमा मूलधारका चलचित्र मात्रै प्रदर्शन हुन्छन् । डकुमेन्ट्री केही फिल्म फेस्टिभल र सीमित च्यारिटी–सोमा मात्रै देखाइन्छ । तर, डकुमेन्ट्रीलाई पनि ‘फिक्सनल’ तरिकाबाट बनाउन सकिन्छ भनेर ‘ढोरपाटन’ बनाएका हौँ । यस डकुमेन्ट्रीलाई धेरै दर्शकले मन पराउनु पनि भएको छ । नेपालमा पनि डकुमेन्ट्री फिल्म यसरी पनि बन्दो रहेछ भन्ने अनुभवका लागि पनि यो डकुमेन्ट्री हेर्नुपर्छ । 


५ .नेपालमा डकुमेन्ट्रीमेकरको खडेरी नै देखिन्छ । यस्तो किन भइरहेको होला ? 
पहिलो त डकुमेन्ट्री बनाउन धेरै समय लाग्छ । कुनै विषय र पात्रलाई फलो गर्न कठिन हुन्छ । जसले गर्दा डकुमेन्ट्री बनाउनै गाह्रो छ । नेपालमा केही अग्र फिल्ममेकरले पनि डकुमेन्ट्री बनाउनुभयो । केही राम्रा डकुमेन्ट्रीले विदेशी फिल्म फेस्टिभलबाट अवार्ड पनि जित्यो । तर, उहाँहरू विकासे डकुमेन्ट्रीतिर नै हराउनुभयो जस्तो लाग्छ । अर्काे, नेपालका फिल्म कलेजमा डकुमेन्ट्री फिल्मभन्दा फिक्सन फिल्मको बढी पढाइ हुन्छ । डकुमेन्ट्रीलाई एक हप्तामा बनाउन पनि सकिन्छ, सजिलै बनाउन पनि सकिन्छ भन्ने बुझाइ छ । डकुमेन्ट्रीमा कुनै ग्लामर हुँदैन, फिक्सन हुँदैन र डकुमेन्ट्री आफैँमा बोरिङ कन्टेन्ट हो भन्ने अर्काे बुझाइ छ । त्यसैले गर्दा नयाँ पुस्ताका फिल्ममेकरमा डकुमेन्ट्रीप्रति खासै चासो देखिँदैन । र, स्तरीय डकुमेन्ट्री बन्न नसकेको हो ।


६ .नेपालका कथालाई बाहिरका मानिसले कसरी हेर्दा रहेछन् ? 
साउथ एसियाको कथा भन्नेबित्तिकै विदेशमा दुःखका कथा मात्रै आउँछ भन्ने बुझाइ छ । अझ नेपालबाट हिमाल चढ्नेको कथा, हनी हन्टिङ, नेचरलगायत कथाको मात्रै फिल्म बन्छ भनेर हेर्छन् । जब हामी ‘ढोरपाटन’बाट दुई हजुरआमाको कथा लगेर विदेशका केही फेस्टिभलमा गयौँ, उनीहरूले फरक कथा पाएर उत्साहित भएर हेरे ।

सम्पादकको रोजाइ

सुझावित समाचार