मृत्युको मुखमा पुगेर फर्केको व्यक्तिले आफ्नो बारेमा होइन, देशको समृद्धिका बारेमा लेखेको पुस्तक ‘समृद्धिको हुटहुटी’ एकै सिटिङमा पढिसकेर यो समीक्षा लेख्न बसेको छु । मान्छे कसरी यस्तो ढिठ बन्न सक्छ ? दुःख, पीडा, परिवार, आर्थिक शारीरिक समस्या, अभाव, औषधि, पथपहरेज आदिबारे गनगनको सट्टा देशको समृद्धिबारे चिन्ता बिरलैले गर्छन् । अधिकांशको चिन्ता र चासो दैनन्दिनमै हुन्छ । अपवादमा परेका छन् लेखक अश्विन पुडासैनी । के कारणले उनलाई आफ्नो देहको हुटहुटी अभिव्यक्त गर्नुको सट्टा देशको समृद्धिको सूत्र बुन्न हुटहुटी जाग्यो ?
लेखकले पुस्तकमा दुइटा लेखकीय लेखेका छन् । कुन सन्दर्भमा यो पुस्तक लेख्ने प्रेरणा आयो ? के कारणले यो पुस्तक लेख्नुपरेको हो भन्ने जवाफ दोस्रो लेखकीयमा प्रकाश पारेका छन् । त्यसबाहेक यो पुस्तकमा अरू कसैको भनाइ वा मन्तव्य समावेश गरिएको छैन । सीधै उनी नेपाललाई समृद्ध पार्ने १०१ उपाय लिएर प्रस्तुत भएका छन् ।
जम्मा १२४ पृष्ठको समृद्धिको हुटहुटीलाई सुशासन, समन्याय र विकासको हाते पुस्तक भन्दा न्याय हुन्छ । १०१ विचार र सूत्रलाई सकेसम्म एक उपाय एक पृष्ठमा समेट्न कोसिस गरिएको देखिन्छ । पुस्तक पल्टाउँदै जाँदा पाठकलाई कुन सूत्रले आकर्षित गर्छ, त्यसलाई सम्झन सहज बनाउन राम्रै मिहिनेत भएको छ । लेखकका भावना र अक्षरलाई ख्यातिप्राप्त कपी–इडिटर शरच्चन्द्र वस्तीले कडा मिहिनेत गरेको पुस्तक पढ्दा अनुभूत हुन्छ । सुशासन समृद्धिका एक सय एक पाइला भनेर एक सय एक शीर्षकलाई त्यत्तिकै उपशीर्षक राखेर भाषविद् वस्तीले सूत्रबद्ध बनाइदिएका छन् ।
मृत्युको मुखमा पुगेको व्यक्तिले शाश्वत कुरा बोल्छ भन्ने परापूर्वदेखिको मान्यता हो । त्यस्तो मानिसले ब्रह्मले देखेको बोल्छ भनिन्छ । गंगालाल अस्पतालका डाक्टर अरुण मास्केले यमराजको पन्जाबाट थुतेर लेखक अश्विनलाई बचाएका हुन् । त्यसैले यो पुस्तकमा अश्विनले जे–जति विचार ओकलेका छन्, त्यो उनको मनको भित्री तहबाट नै आएको हुनुपर्छ । कहीँकतै उनले तलमाथि गरेको, पूर्वाग्रही धारणा राखेका छन् भने पाठक स्वयंले निफनिहाल्छन्, कसैले भनिरहनै पर्दैन ।
यो पुस्तक अझै कस्तो हुन सक्थ्यो होला ? अहिले प्रकाशित संस्करणमा १०१ च्याप्टर छन् । सय च्याप्टरको किताब लेख्न कति अनुसन्धान चाहिन्छ होला ? सयवटा विषयको सयवटै प्रयोगात्मक अनुसन्धान हुन सक्थ्यो । विषयका फ्याकल्टी, त्यसमा स्कलरहरूको संलग्नता, अनुसन्धानको प्रयोग व्यापक हुन सक्थ्यो । क्षेत्र र विषयवस्तुगत पाटामा अझ गहिरिएर जान सक्ने थियो । तर पनि लेखकले आफूलाई लागेका कुरा निर्बिघ्न भएर पस्केका छन् । यसमा विषयविज्ञले थप तथ्यतथ्यांक, तुलनात्मक अध्ययन, सिद्धान्त र व्यवहार तथा परिमार्जित कुरासमेत समेट्न सके पुस्तक अझ गहकिलो हुने थियो ।
१०१ विज्ञहरू भेला भएर अन्तक्र्रिया, विषय मन्थन गरेर यो पुस्तकले उठाउन खोजेका कुरालाई अझ परिमार्जन र समय सान्दर्भिक बनाउनुपर्ने आवश्यकता टड्कारै देखिन्छ । यसो गर्न सक्यो भने यो पुस्तक देश र जनताका लागि साझा रोटी बन्न सक्ने र अझै निर्विवाद हुन सक्ने देखिन्छ ।
माया, प्रेम, विछोड, व्यक्ति प्रशंसा र आत्म प्रवञ्चना लेखनको समयमा समृद्धिको हुटहुटी बेग्लै रूपमा प्रस्तुत गरेको छ । यस अर्थमा लेखकले लेखकमाझ नयाँ र मौलिक प्रस्तुति गरेर बाजी नै मारे भन्दा अत्युक्ति हँुदैन । त्यसैले चलनचल्तीको लेखकीय अभ्यास होइन यो पुस्तक । न पुरस्कारका लागि नै लेखिएको हो । कसैको बजारीकरणका लागि पनि यो लेखिएको देखिँदैन । बजारमा देखिएकामध्ये नित्तान्त पृथक् छ यो पुस्तक ।
त्यसैले यो पुस्तक सांसदहरू, ७५३ स्थानीय निकाय, तिनका अनगिन्ती वडाहरू, युवा विद्यार्थी, कलेज र विश्वविद्यालयमा अध्ययनरत भाइबहिनी, जुनसुकै विचार र सिद्धान्त मान्ने राजनीतिक पार्टी, तिनका भ्रातृ संगठनहरू, मजदुर किसान, जाति जनजाति संगठनहरू, विज्ञ र विषयविज्ञ, योजनाविद्, टेक्नोक्रेट अनि ब्युरोकेट, लेखक पत्रकार विश्लेषक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, दातृ संस्था, मुलुक तथा निकाय, सहकारी, सामुदायिक संघसंस्था र युवा क्लबसम्मका लागि उपयोगी भएकाले यो पुस्तक तिनका लागि हाते पुस्तक बन्न सक्छ । आफूलाई कांग्रेस, कम्युनिस्ट, माओवादी, वामपन्थी, दक्षिणपन्थी, मध्यपन्थी, पुराना–नयाँ भन्ने सबै पार्टी, राष्ट्रवादी, अन्तर्राष्ट्रियतावादी, क्षेत्रीयतावादी भन्ने र ठान्नेहरूका लागि पनि यो पुस्तक उपयोगी देखिन्छ ।
एउटा बहुचर्चित उखान नै छ, नपत्याउँदो खोलाले बगाउँछ ! मिहिन रूपमा हेरिल्याउँदा यो पुस्तक नपत्याउँदो गरी बजारमा आइपुगेको छ । यो सर्वउपयोगी छ । यसले कसैको अहित चिताएको देखिँदैन । सबैको हितमा अर्थात् देश, जनता र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा खुला रूपमा आएको छ यो पुस्तक । त्यसैले यो छेपारोले चाटेको ढुंगोजस्तो चम्किलो, पारदर्शी र फटिक देखिन्छ ।