रक्त कविता

शनिबार, २८ पुष, २०८०
डिजिटल संस्करण

प्रेमको चंगा उडाएर नीलो आकाशमा
आकाशकै कविता लेख्नेहरू हेर्नुस्

छालाजस्तै चरचरी च्यातेर आकाश
नौलाख तारा होइनन्
उदाए असंख्य विनष्टहरू 
उदाएन तपाईंको प्रेमिल चाँदनी रात
चाँदबाट उडिरह्यो सेतो फोस्फरस खरानी
वर्षात् भइरह्यो मृत्युका उल्काहरू
प्रेमको छातीमाथि विस्फोट भइरह्यो बर्बरता

बर्बरतालाई बर्बर भन्न कुनै साइत कुर्नु पर्दैन
साँझ–बिहान भन्नुपर्दैन
चाहिँदैन कसैको तोक आदेश

म पनि रगत र मृत्युको कविता नलेखुँ भन्छु
तर, मेरो हातमा थमाइएको छ रगत भरिएको कलम

म पनि हत्या र हिंसाको कविता नलेखुँ भन्छु
तर, मलाई लखेट्दै आउँछन् बन्दुकहरू

जब रगतले नुहाउँदै भागिरहेका हुन्छन् केटाकेटी
रुँदै, कराउँदै, डरले थरथर काम्दै
म कसरी चुपचाप बस्न सक्छु ?
मेरो कविता पनि डरले कापिरहेको हुन्छ

मेरो मनमा पनि छन् अनुरागका सहस्र मुहान्
म चाहन्छु मुस्कुराइरहेको इन्द्रेणी सद्भावना
क्या आनन्ददायी हुन्छ त्यो सद्भावको फूलबारी 
तर, जब केटाकेटीमाथि खसालिन्छ बम
म भत्काइदिन्छु सदाका लागि त्यो सद्भावना
खलबलियोस् बरु पृथ्वीको साराका सारा मथिंगल
कुनै पनि किमतमा 
चाहिँदैन मलाई सद्गत गरिएको भावना

यो कविताभन्दा कैयौँ गुणा मुटु चुडान्त छन्
खेल्दै गरेका केटाकेटीलाई 
फलामे ट्यांकले लखेटिरहेको दृश्य ?
अस्पतालका बिरामीमाथि छोडिएको रकेट?
आफ्नै आमाबाको हाडखोर बटुलिरहेका केटाकेटी?

खै, के लेखौँ समवेदना पनि ?
खियाग्रस्त छ समवेदना
समवदेनाको मुटु, कलेजो
एक एक अंग पतन भइसक्यो
बरु, दिन्छु समवेदनालाई नै श्रद्धाञ्जली
‘हार्दिक श्रद्धाञ्जली छ तलाईं समवेदना’

दया पनि नगर, नासमझहरू, दया नगर
दया त तिनीहरूले पनि गरेका थिए
भनेका थिए– भाग, भाग यो पृथ्वीबाटै भाग
आजै भाग, भोलि भाग
खाली गर तिम्रा सारा बस्तीहरू, भूगोलहरू

जहाँ आँखाको कुनाबाट केवल रगत बगिरहन्छ
त्यस्तो दयाको कुनै अर्थ हुँदैन
त्यो हिउँझैँ पग्लिएर जान्छ
त्यो बमको धुवाँझैँ फैलिन्छ
धुवैधुवाँ, धुवैधुवाँ
रगत नै रगत, रगत नै रगत

चिहानै–चिहानको पृथ्वीमाथि विराजित भएर
अब मानवताको बडापत्र प्रकाशित नगर्नु
मानवताको स्तोत्र पढाउँदै नहिँड्नु
मानवता सकिएको दिन
यो पृथ्वी पनि सकिन्छ सदाका लागि

म रगत र मृत्युको कविता नलेखुँ भन्छु
तर, मेरो हातमा थमाइएको छ रगत भरिएको कलम
म लेख्छु एउटा रक्त कविता । 

सम्पादकको रोजाइ

सुझावित समाचार