मानिसको स्वभाव नै हो, सकेसम्म उसले सजिलो बाटो रोज्छ । अप्ठ्यारोमा भनसुन गरेर भए पनि आफ्ना लागि केही न केही मिलाउन खोज्छ । तर, त्यस्ता केही पात्र पनि हुन्छन्, जो आफ्नो स्वाभिमानका लागि अथाह दुःखमा आफँै होमिन्छ । त्यस्तै एक व्यक्ति हुन्, डा. भम्पा राई । भुटानी शरणार्थी नेता तथा ‘मानवतावादी’ चिकित्सक राईको २०७९ असारमा निधन भइसकेको छ ।
सन् ९० को दशकवरपर डा. राईसँग के थिएन ? भुटानका रोयल सर्जन, मानसम्मान, दरबारसँग निकटता, थेरथोर कमाइ सबै थियो उनीसँग । वीरेन मगर लिखित उनको जीवन भोगाइ ‘भम्पाः एक अडान अनेक प्रश्न’ पढिसक्दा पुनः एकपटक महसुस हुन्छ यी सब क्षणिक रहेछन् ।सन् ९० को दशकमा भुटानबाट नेपालीभाषी भुटानी नागिरक ल्होत्साम्पाहरूलाई अनागरिक बनाउन राजा जिग्मे सिंघे वाङचुक नै लागिपरे । त्यही समय अनागरिक हुनेमध्येका एक हुन् राई ।
उनलाई भुटान छाडेर शरणार्थी बन्नुपर्ने बाध्यता थिएन, तर मानिससँग स्वाभिमान पनि सँगै हुन्छ । कसैले स्वाभिमान छोड्न सक्छन्, कोही आफ्नो स्वाभिमानसहित बाँच्छन् । डा. राई मृत्युपर्यन्त स्वाभिमानसहित बाँचे । उनको त्यही स्वाभिमानले नेपालीभाषीमाथि भुटानमा अन्याय हुँदा ती सब अनदेखा गर्दै दरबारको सेवा गरेर बस्न दिएन, अनि उनी भए शरणार्थी ।
भुटानदेखि माईबगरसम्म शरणार्थीका दुःखका दिन पुस्तकमा पढ्दा कतिपय ठाउँमा आँखा रसाउँछन् त कहिले भुटानी तानाशाहविरुद्ध घृणा र आक्रोश पैदा हुन्छ ।
लगातार तीन दशक नेपालमा बसेर उनले शरणार्थीको घरफिर्तीका लागि संघर्ष गरे । नामी चिकित्सक उनले शरणार्थी र त्यस क्षेत्रका नागरिकको स्वास्थ्य उपचार गरे । यसैले पनि उनको नाम शरणार्थीमाझ श्रद्धेय छ ।
पत्रकार देवेन्द्र भट्टराईले पुस्तकको अन्तिम गातामा लेखेका छन्, १७ अगस्ट, १९९० मा भुटानका सहायक गृहमन्त्री दागो छिरिङको एउटा सार्वजनिक सूचना आयो– दक्षिण भुटानबाट ठूलो संख्यामा ल्होत्साम्पाहरू राज्यद्रोहको अभियानमा सहयोगी बन्न देश छोडेर हिँडिरहेका छन् । आइन्दा उनीहरूलाई भुटानी नागरिकका रूपमा दर्ज गरिनेछैन । यही नोटिफिकेसन बोकेर थिम्पुबाट फुन्चोलिङ–जयगाउँ झरेका एक वरिष्ठ चिकित्सक भम्पा राई फेरि फर्किएर आफ्नो जन्म–कर्मथलो कहिल्यै गएनन् ।
यो एक हरफले उनको शरणार्थी जीवन कहानी बोल्छ । दक्षिण भुटानबाट एक लाखभन्दा बढी ल्होत्साम्पालाई देश छोड्न राजाले नै बाध्य पारे । उनीहरू अनेक दुःखका पहाड छिचोल्दै भारत हुँदै पूर्वी नेपाल आइपुगे ।
शरणार्थी हुनु अन्तहीन दुःख मात्र होइन, यो एउटा संघर्षको कथा पनि हो । डा. राईको आत्मवृत्तान्तले त्यही भन्छ । उनले भुटानी शरणार्थी पूर्वी नेपाल प्रवेश गरेदेखि आफ्नो जीवनको अन्त्य नहुन्जेलसम्म उनीहरूकै भलो र घरफिर्तीका लागि काम गरे । आफ्नो र परिवारका लागि सोच्नेसमेत फुर्सद पाएनन् । त्यो समयमा डाक्टरी पढाइ गरेका राईलाई आफ्नो पढाइअनुसारको कामको खाँचो थिएन । सीप र दक्षताले आर्थिक रूपमा पनि सम्पन्न जीवन जिउन सक्ने क्षमता राईमा थियो । तर, उनले त्यसतर्फ सोचेनन् । सायद राई र यस्तै अन्य त्यागी शरणार्थीको समूहमा भएकैले उनीहरूको पूर्वी नेपालको बसाइमा केही सहजता, केही आड–भरोसा भए होलान् ।
सबै गुमाइसकेका मानिसलाई चाहिने भनेकै भरोसा हो, आफ्नो कोही छ भन्ने महसुस गराउनु हो । राईले आफ्नो जीवनपर्यन्त भुटानी शरणार्थीलाई त्यो भरोसा दिलाइरहे । राईले गुवाहाटीमा एमबिबिएस पढ्दै गर्दाको आफ्नो प्रेम प्रसंगदेखि पछि जीवनको उत्तरार्धमा उनीसँग इन्टरनेटमार्फत भएको भेटसम्म पुस्तकमा समेटेका छन् । उनको निजी जीवनका यस्ता प्रसंगले पुस्तकलाई अझ रोचक बनाएको छ ।
तेस्रो मुलुक पुनर्वास गएकाहरूले पनि डा. राईको चिन्ता गरे उतै बोलाएका प्रसंगमा उनले उनीहरूलाई आशामा राखेका छैनन् र सहज रूपमा भनेका छन्, ‘म आउँदिनँ ।’ उनी तेस्रो मुलुक पुनर्वास कार्यक्रम होइन, शरणार्थीको ससम्मान घरफिर्ती हुनुपर्छ भन्ने आफ्नो धारणामा अन्तिमसम्म अडिग रहे । पुनर्वास जाँदै गरेका उनका मित्रहरू जसले राईलाई जाने वेला सम्झेनन् । उनीहरूलाई पनि धन्यवाद भन्दै चौँडा छाती देखाएका छन् ।
‘घर फिर्ता आन्दोलनको क्रममा कति साथीहरूसँग मनमुटाव भयो होला । तर, त्यो हाम्रो मुद्दा र विचारमा भएको असमझदारी हो । यही कारण धेरै साथीले पुनर्वास जाँदै गर्दा मसँग भेट गर्न जरुरी देख्नुभएन होला । उहाँहरू सबैलाई सम्झना छ ।’ पुस्तकमा यो लाइन पढ्दा प्रस्ट हुन्छ उनी व्यक्तिगत इगोमा होइन, विचारमा समस्याको हल खोज्छन् ।
भुटानदेखि माईबगरसम्म शरणार्थीका दुःखका दिन पुस्तकमा पढ्दा कतिपय ठाउँमा आँखा रसाउँछन् त कहिले भुटानी तानाशाहविरुद्ध घृणा र आक्रोश पैदा हुन्छ । घरफिर्तीका लागि संघर्ष गरिरहेका संगठनबीचकै बेमेलबारे पनि उनी खुलेका छन् । उनलाई भुटान पिपुल्स पार्टी (बिपिपी) को नेतृत्व लिन युवाहरूले गरेको आग्रह र नचाहँदा–नचाहँदै पनि पार्टी राजनीतिमा पुगेको प्रसंग पुस्तकमा छ ।
पार्टीको कार्यवाहक महासचिवको जिम्मेवारी उनले पाउँछन् । पार्टीलाई व्यवस्थित गर्न विधान लेख्न बस्नु नै अरूका लागि टाउको दुखाइ बन्छ । विधान लेखिरहेकै वेला महासचिवलाई थाहा नदिई पार्टीको बैठक चल्छ । दुई दिनपछि राई त्यहाँ पुग्छन् । आफ्ना कुरा राख्छन् । त्यसपछि उनी बिस्तारै त्यो राजनीतिबाट निष्क्रिय बन्छन् । पार्टी राजनीतिमा भम्पा अडिन सक्दैनन् । तर, आफ्नो अडानमा उनी अडिग छन्, त्यो हो घरफिर्ती । डा. राईप्रति सबै उमेर समूहका शरणार्थीको आशा र भरोसा थियो । शिविरमा व्यक्तिपिच्छे संगठन बनाउने र त्यसका आधारमा आर्थिक लाभ लिनेहरूका बारेमा पनि राईले पुस्तकमा बोलेका छन् । यस्तो प्रवृत्तिले शरणार्थीबीचको एकतामा असर गरेको उनको बुझाइ थियो ।
तेस्रो मुलुक पुनर्वासको विषयमा अमेरिकी राजदूत जेम्स एफ मोरिआर्टीसँग भएको बैठकमा उनले यसलाई ठाडै अस्वीकार गरेका छन् । उनले उक्त बैठकमा भनेको भनाइ यसरी उल्लेख गरिएको छ, ‘तपाईंहरुले बनाउनुभएको सुन्दर र शक्तिशाली देशमा गएर बोझ हुनुभन्दा हामी आफ्नै सानो देशलाई सुन्दर बनाई गर्व र आत्मसम्मानका साथ रहन चाहन्छौँ ।’ डा. राईले आफू ठाडो भाषामा बोल्ने भने पनि यो उनको जवाफ निकै कूटनीतिक लाग्छ ।
शरणार्थीसम्बन्धी अमेरिकी अधिकारी कृस्टल कप्लानसँग मानव अधिकारका विषयमा भएको बहसको प्रसंग रोचक छ । कसरी पश्चिमाहरू भुटानीलाई पुनर्वासमा लैजान पूर्ण योजनामा आएका थिए र शरणार्थीबीच नै फाटो पारिदिएका थिए भन्ने उनले खुलाएका छन् ।
यस्ता अनेकौँ प्रसंग पुस्तकमा छन् । राजाका एडिसी डासो कुछेसँगको ठाकठुकदेखि राजाका मामा डासो रिमसँगको अन्तरंग सम्बन्धबारे डा. राईले खुलेर लेखेका छन् । पुस्तक पढिरहँदा उनको देशभक्ति झल्किन्छ । भम्पा राईले घर काँ भनेर सोध्दा शिविरको ठेगाना नबताउन सचेत गराउने गरेको प्रसंग लेखक वीरेन मगरले पनि उद्धृत गरेका छन् । ‘लाग्थ्यो डा. भम्पा भन्ने मान्छेलाई भेट्नुअघि भुटानको आफ्नो ठेगाना त घोक्नैपर्ने रहेछ’ लेखकीयमा वीरेनले भनेका छन् । राईको देशप्रेम यो सानो प्रसंगले ठूलो गरी देखाउँछ ।
भुटानको शरणार्थी आन्दोलनका विषयमा रुचि हुनेहरूका लागि यो पुस्तक एक सन्दर्भ सामग्री बनेको छ । राईको जीवनको अन्तिम समयमा लेखिएको भएर पनि हुन सक्छ, अझै केही विषय छुटेको झैँ लागे पनि लेखक वीरेन मगरको मिहिनेत सराहनीय छ । यो पुस्तक राईको बकपत्र मात्र होइन, भुटानी शरणार्थी जगत्को एक जिउँदो इतिहास पनि हो । डा. भम्पा राईले बाँचेको समय उनको जीवन दर्शन पनि हो ।