लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्रध्ययापक इन्द्र काफ्लेले बुद्धिज्म पढाउन थालेको ११ वर्ष पुग्यो । २०६० सालतिर बिएस्सी पढ्न काडमान्डु पसेका थिए उनी । साथीहरूको लहैलहैमा बिएस्सीको कक्षा छाडेर ठमेलका पर्यटकले बुद्धप्रति देखाएको चासोप्रति ध्यान दिन्थे । गुम्बा पुगेर बुद्धबारे प्रवचन सुन्थे । क्रमशः उनलाई बुद्ध दर्शनको रस पस्यो । भन्छन्, ‘साइन्स बिर्साइदियो बुद्धिज्मले ।
बुद्धिज्म फिजिक्स, साइकोलोजी तथा तत्वशास्त्रसँग नजिक छ ।’ बज्रयानबाट निकै प्रभावित इन्द्र बुद्धिज्म पढेर आफूले एकबारको जीवनमा ‘सही काम’ गरेको ठान्छन् । ‘आचार्य महायोगी श्रीधर राणा रिम्पोछे’को विद्यार्थी इन्द्र भन्छन्, ‘नेपालमा बुद्धिज्म पढ्ने हो भने युवाहरू देशबाट पलायन हुनुपर्दैन ।’
०००
अमृत साइन्स क्यापसका प्रध्यापक नारायणप्रसाद रिजाल २०४६ देखि बुद्धिज्म पढिरहेका छन् । रिजाल भन्छन्, ‘मैले बुद्धिज्म पढ्न सुरु गर्दा नेपालमा यस विषयसँग सम्बन्धित किताब पाउनै मुस्किल पथ्र्यो । भाषाको पनि उस्तै समस्या हुन्थ्यो । अहिले त किताब प्रशस्तै पाइन्छन् ।’
नेपालमा बुद्धमाथि लेखिएका किताब पाउन धौ–धौ थियो । बुद्धमाथि पढाइ कहाँ हुन्छ ? त्यसको पनि भेउ थिएन धेरैलाई । बुद्धसम्बन्धी किताब वनारसबाट मात्रै नेपाल आउँथ्यो । किताब पाइए पनि भाषाको समस्याले पढ्न सकस हुन्थ्यो । अहिले सबै समस्या समाधान भएका छन् । त्यसैले पनि बुद्धिज्मका विद्यार्थी बढेको बताउँछन् रिजाल । भन्छन्, ‘किताबको माग बढ्नुले बुद्धिज्म अध्ययन गर्नेको संख्या बढेको संकेत गर्छ ।’
०००
क्याजुअल ड्रेसमा झोला बोकेर पाटनस्थित लोटस एकेडेमी कलेजबाट बाहिरिँदै थिइन्, गंगबु स्थायी घर भएकी २५ वर्षीया एलिसा अधिकारी । उनको झोलामा बुद्धिज्म अध्ययनअन्तर्गत चौथो सेमिस्टरका किताब थिए । पछिल्लो ७ सालदेखि ‘बुद्धिज्म प्राक्टिस’ गरिरहेकी छिन् एलिसा । उनी बुद्धिज्म अध्ययन गर्न कलेज भर्ना भएको पनि चार वर्ष पुग्यो । एलिसा अधिकारी हिन्दू धर्मावलम्बी हुन् । भन्छिन्, ‘बुद्धिज्म मेरो इच्छाले पढेको हुँ, कसैको करकापले होइन ।’
कतिपय साथी र आफन्त सोध्छन्– के पढिरहेकी छौ ? उनको उत्तर हुन्छ, ‘बुद्धिज्म ।’ सोध्नेहरू अवाक् हुन्छन् । उनी बुद्धिज्ममै करिअर बनाउन लागिपरेकी छिन् । उनी भन्छिन्, ‘बुद्धले देशना गर्नुभएको चतु आर्य सत्य : दुःख आर्य सत्य, समुदाय आर्य सत्य, निरोध आर्य सत्य, मार्ग आर्य सत्य र पञ्चशील पालनाले मानिसमा धेरै परिवर्तन ल्याउँछ । बुद्धिज्म मैले ज्ञानका लागि पढेको हुँ ।’
०००
स्वयम्भू स्थायी घर भएकी मिङ्मा लामाले २०७५ मा बुद्धिज्म विषयमा मास्टर सकिन् । मिङ्माका लागि बुद्धिज्म जागिरको बाटो होइन, उनको एउटै ध्येय छ– ज्ञान आर्जन । उनी पनि एलिसाझैँ भन्छिन्, ‘मात्र ज्ञान आर्जन मेरो ध्यान हो ।’लुम्बिनी बौद्ध विश्वविद्यालय, महेन्द्र संस्कृत विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पाटन क्याम्पसलगायत सीमित विश्वविद्यालय र कलेजमा बुद्धिज्म पढाइ हुँदै आएको छ । अन्य विषयमा अध्ययन सकेर बाँचेको समयमा बुद्धिज्म पढ्ने धेरै छन् । यसमै ‘भविष्य’ बनाउँछु भन्ने विद्यार्थी निकै कम छन् ।
०००
झापा घर भएकी २९ वर्षीया शकुन्तला तिम्सेना बुद्धिज्ममा मास्टर पढिरहेकी छन् । अहिले उनको ‘फोर सेमिस्टर’ चलिरहेको छ । उनी दैनिक त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस पुग्छिन् । उनका लागि बुद्धिज्म अध्ययन अत्यन्तै प्रिय छ । भन्छिन्, ‘नेपालमा बुद्ध जन्मिए पनि उनको वास्तविकता कैयौँ नेपालीलाई थाहा छैन । हामीले बुद्धधर्म होइन, बुद्ध दर्शन पढ्ने हो ।’ हरेक नेपालीले बुद्ध दर्शन ‘पढ्नैपर्ने’ उनको तर्क छ । ‘बुद्ध मान्छे हुन् कि ज्ञान– यो बुझ्न पनि बुद्धिज्म पढ्नु अनिवार्य छ ।’
उनका झोलामा भएका किताबका सूची यस्ता छन्– बुद्धिज्म फिलोसोफी, हिस्ट्री अफ बुद्धिज्म, बुद्धिज्म अफ नेपाल, कन्सेप्ट एन्ड थ्यौरी अफ् एप्पाइड बुद्धिज्म, बुद्धिज्म लिट्रेचर, बुद्धिज्म आर्ट एन्ड एग्रिकल्चर, बुद्धिज्म एन्ड सोसाइटी ।
बुद्धिज्म पढेका प्राध्यापक
‘नेपालमा बुद्धिज्ममाथि बढी चासो राख्ने बज्राचार्यहरू हुन्,’ २०५८ मा त्रिभुवन विश्वविद्यालयमा बुद्धिज्म अध्ययन विभागका संस्थापक भएर काम गरेका डा. नरेशमान बज्रचार्य भन्छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपतिसमेत रहेका बज्राचार्य भन्छन्, ‘विद्यालय तहदेखि बुद्धिज्म पढाए हरेक नेपालीले बुद्ध दर्शनबारे थाहा पाउनेछन् ।’
नरेशमानले बुद्धिज्म पढाएकै विद्यार्थी हुन्– कवीन्द्र बज्राचार्य । उनी त्रिविका गोल्डमेडलिस्ट हुन् । महिलाको तुलनामा बुद्धिज्म पढ्ने पुरुषको संख्या बढी भएको कवीन्द्र सुनाउँछन् । युवाहरू ‘खालि समय’को सदुपयोग गर्न बुद्धिज्म पढिरहेको बताउँछन् कवीन्द्र । ‘लुम्बिनी विश्वविद्यालयको मातहतमा पाँचवटा कलेजमा बुद्धिज्म पढाइन्छ । बुद्धिज्म अध्ययन देशभरका सबै कलेजमा हुनुपर्छ,’ कवीन्द्र भन्छन् ।
लोटस एकेडेमी कलेज, सुगत बौद्ध महाविद्यालय, थेरवाद बुद्ध एकेडेमी, बौद्ध बहुमुखी क्याम्पस, ग्लोबल कलेज अफ इकोनोमिक्स एन्ड बिजनेस स्टडिज, स्वरिग्पा इन्टरनेसनल कलेजहरूमा बुद्धिज्म पढाइ भए पनि त्यो व्यवस्थित नभएको जानकारहरू बताउँछन् । बुद्धिज्ममा ‘भविष्य छैन’ भन्थे कवीन्द्रका अभिभावक । अन्य विषय पढ्न कर पनि गरिरहन्थे । तर, उनले मानेनन् । ‘बुद्धिज्म भविष्यका लागि भन्दा पनि ज्ञानका लागि पढ्ने हो,’ कवीन्द्र भन्छन् ।
गुम्बाबाट सुरु भएको बुद्धिज्म अध्ययन विश्वविद्यालयका कक्षासम्म पुगेको छ । ज्ञानका भोका मानिस पहिले बुद्ध पढ्न गुम्बाहरू चहार्थे । अब गुम्बा ओहोरदोहोर गरिरहनुपर्ने दुःखका दिन सकिएका छन् । मात्र पढ्ने इच्छा भए पुग्छ ।
अध्ययन सम्भावना
नेपालमा दुई चिज देखेर पर्यटक भित्रिन्छन्– सगरमाथा र बुद्ध । तर, विदेशमा गौतम बुद्धको जति चर्चा हुन्छ, त्यति चर्चा नेपालमा नभएको बुद्धिज्म अध्यापन गराइरहेका प्रध्यापकहरूको गुनासो छ ।नेपाल बुद्धको देश हो भनेर पर्यटकलाई बुझाउनै नसकिने अवस्था भएको डा. नरेशमान बताउँछन् । भन्छन्, ‘विस्तृत रूपमा बुद्ध दर्शनबारे बताउन सके यहाँ भित्रिने पर्यटकलाई महिनौँ भुलाउन सकिन्छ । छिट्टै अवसर खोज्ने नेपाली मानसिकताले पनि बुद्धिज्मका विद्यार्थी कम भएका छन् ।’
बुद्धिज्ममै ‘भविष्य बनाउँछु’ भन्ने विद्यार्थी निकै कम छन् भन्छन् बुद्धिज्म अध्येता नेत्र आचार्य । ‘ट्यालेन्ट र प्लस टु सकेका फ्रेस विद्यार्थी बुद्धिज्म पढ्न आउँदैनन्,’ नेत्र भन्छन् । नेपालमा बुद्धिज्म पढ्ने वातावरण नभएको नेत्र बताउँछन् । भन्छन्, ‘बुद्धिज्म भनेको हाम्रो हेरिटेज हो ।’ विश्वले बुद्धिज्मको महत्व बुझिसकेको बताउने नेत्र भन्छन्, ‘अमेरिकामा पाँच सय विश्वविद्यालयमा बुद्धिज्म नै पढाइ हुन्छ । नेपालमा सीमित कलेजमा पनि त्यो व्यवस्थित हुन सकेको छैन ।’
०००
ध्यानले मात्रै बुद्ध दर्शन बुझ्न सकिने बताउँछन्, बुद्धिज्मका प्रध्यापक । नेत्र भन्छन्, ‘बुद्धको दर्शनलाई न क्यास गर्न सक्यौँ, न क्याच नै ।’एक दशकदेखि नेत्र बुद्धिज्म पढिरहेका छन् । अहिले पनि उनी पर्यटकहरूलाई बुद्धिज्मकै बारे सुनाइरहेका हुन्छन् । नेपालमा बुद्धिज्म पढ्ने वातावरण राज्यले बनाउनुपर्ने बताउँछन् उनी । भन्छन्, ‘युवाहरूलाई बुद्धिज्मको महत्व बुझाउन स्कुलस्तरबाट पढाइ हुनुपर्छ ।’
बुद्ध दर्शन अध्ययन गरिरहेकाहरू बुद्ध–ज्ञानले मन शान्त भएको बताउँछन् । बुद्ध दर्शनलाई आर्ट अफ लाइफको रूपमा हेर्छन् नेत्र । उनको चित्त दुखाइ छ, ‘यहाँका नेताले बुद्ध दर्शनलाई राजनीतिसँग जोडिदिए ।’ बुद्ध साझा हुन्, आदर्श हुन् । ‘बुद्ध बुझ्नुपर्छ, बुझाउनुपर्छ,’ आचार्य भन्छन्, ‘बुद्धत्वबारे सबैलाई सही ज्ञान दिनु हाम्रो प्रमुख कर्तव्य हो ।’
०००
अब बुद्धिज्म गुम्बामा मात्रै होइन, विश्वविद्यालयका कक्षासम्म पुगेको छ । ‘२०४६ सालतिर राजधानीका गुम्बामा मात्रै बुद्धबारे सुन्न पाइन्थ्यो,’ आफ्नो अनुभव सुनाउँछन् नारायण प्रसाद रिजाल । त्यस समय काठमाडौंका कलेजमा बुद्धिज्म पढाइ हुँदैनथ्यो । सहज रूपमा किताब पनि पाइँदैनथ्यो । किताब पढ्न उनी सबै गुम्बा चहार्थे । ज्ञान प्राप्तिका लागि गुम्बा ओहोरदोहोर गरिरहनुपर्ने दुःखका दिन अब सकिएका छन् । मात्र पढ्ने इच्छा भए पुग्छ ।