०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा हलचल आयो । सर्वोच्च अदालतले नेकपाको एकता खारेज गर्दै एमाले र माओवादीलाई ब्युँताइदियो । त्यहीवेला तत्कालीन एमालेको माधवकुमार नेपाल पक्षले कर्णालीमा विद्रोह गर्यो । त्यसको नेतृत्वकर्ता थिए–प्रकाश ज्वाला ।
कर्णाली प्रदेश सभामा ०७८ वैशाख ३ गते ‘फ्लोर क्रस’पछि तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगियो भने एमालेमा ओलीपक्षको सत्ता बहिर्गमन सुरु भयो । बदलामा तत्कालीन पोलिटब्युरो सदस्य ज्वालाले सांसद र अर्थमन्त्री मात्रै होइन, पार्टीको साधारण सदस्यसमेत गुमाए । तर, ज्वालाको राजनीति झन् चम्कियो । प्रतिनिधिसभामा ज्वाला निर्वाचित भए । एकीकृत समाजवादीका उपमहासचिव रहेका ज्वाला हाल नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायातमन्त्री छन् । उक्त विद्रोहलाई ज्वाला आफैँचाहिँ कसरी हेर्छन् त ? प्रेम गौतमसँग ज्वालाले त्यो क्षण यसरी सम्झिए :
तत्कालीन दुईतिहाइको सरकारले गरेको प्रतिगमनविरुद्ध राजनीतिक दलहरू एकताबद्ध नभएको भए, संयुक्त आन्दोलनमा नहोमिएको भए व्यवस्था र संविधान संकटमा पथ्र्यो । हामीले त्यो एकताको जग निर्माण गरिदियौँ । दलहरू मिल्नुपर्छ र एकताबद्ध भएर अगाडि बढ्नुपर्छ भन्ने सन्देश हामीले कर्णालीबाट दियौँ । प्रतिगमनविरुद्ध समीकरण बन्यो । दलहरूबीचमा एकता भयो । सडक आन्दोलन भयो । अदालतमा पनि सँगै जाने स्थिति भयो । यदि, त्यो स्थिति हुँदैन थियो भने संविधान पनि संकटमा पथ्र्यो, व्यवस्था पनि संकटमा पथ्र्यो । र, देशमा ठूलो अराजकता आउन सक्थ्यो । प्रतिगमन जति हाबी हुँदै जान्थ्यो, क्रान्तिका उपलब्धि त्यति नै गुम्दै जान्थे । चाहे लोकतान्त्रिक गणतन्त्रको कुरा गरौँ, चाहे, संघीयता, समावेशिता, धर्मनिरपेक्षता । सबै उपलब्धि गुम्न सक्ने ठूलो खतरा थियो । त्यो खतराबाट राष्ट्र जोगियो ।
संविधानको रक्षाका लागि विद्रोह
विद्रोह जटिल नै हुन्छ । विद्रोह मान्छेले रहरले गर्दैन, कुनै आवेशमा आएर पनि गर्दैन । हामीले प्रतिगमनविरुद्ध, व्यवस्था र संविधानको रक्षाका लागि विद्रोह गरेका थियौँ । क्रान्तिका उपलब्धिमाथि जुन खालले आक्रमण भइरहेको थियो, ती उपलब्धि जोगाउन, पार्टीभित्र विकसित निरंकुशता र अराजकताविरुद्ध हामीले विद्रोह गरेका थियौँ । पार्टीमा जुन खालको गुटबन्दी थियो, अराजकता थियो, निरंकुशता थियो, त्यसविरुद्ध एउटा च्यानल त थियो नै, अर्कोतिर कूटनीतिक रूपमा अपिल पनि थियो त्यो । तर, नेतृत्वले सुन्ने कोसिस गरेन ।
क्रान्तिमा लाग्दा हाम्रा कतिपय सहयोद्धाले ज्यानकै बलिदानी दिए । हामीले उपलब्धि रक्षाका लागि पदको बलिदान गर्यौँ । भविष्यबारे चिन्ता गरेर हामीले निर्णय लिएनौँ । पद, प्रतिष्ठा, फाइदा–बेफाइदा केही पनि हेरेनौँ । आँट र हिम्मतले निर्णय गर्यौँ ।
राष्ट्रिय राजनीतिलाई जुन ढंगले गलत दिशातिर लैजाने षड्यन्त्र भइरहेको थियो, हाम्रो विद्रोह त्यसविरुद्ध थियो । अर्कातिर कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने र बलियो पार्टीलाई कमजोर बनाउने जुन खालका गतिविधि भएका थिए, त्यसविरुद्ध पनि विद्रोह थियो ।
विद्रोहपछि राष्ट्रिय राजनीतिमा एउटा तरंग आयो । प्रतिगमनका विरुद्धमा, निरंकुशताका विरुद्धमा, व्यवस्था र संविधानका पक्षमा राजनीतिक दलहरू अझै एकताबद्ध भएर अगाडि बढ्ने, आन्दोलित हुने वातावरण बन्यो । हाम्रो विद्रोहले एउटा राष्ट्रिय माहोल बनायो । त्यसपछि राजनीतिक दलहरू प्रतिगमनविरुद्ध सडकमा उत्रिए । सर्वोच्च अदालतमा गए । अन्ततः प्रतिगमन पराजित भयो र हाम्रो विद्रोहको औचित्य सावित भयो ।
कर्णालीबाटै विद्रोहको बिगुल
कुनै सुनियोजित योजना थिएन । हरेक हिसाबले पछाडि परेको÷पारिएको कर्णालीबाटै प्रतिगमनविरुद्ध विद्रोहको बिगुल फुकौँ भन्ने छलफल भयो । त्यो छलफलका आधारमा एउटा उद्घोष गर्ने गरी, राष्ट्रिय रूपमा अपिल गर्ने गरी विद्रोह ग¥यौँ ।
हाम्रो विद्रोह ह्विप उल्लंघनको विषय मात्रै थिएन । हामीले घोषणा गरेरै विद्रोह गरेका थियौँ । हामी हाम्रो पद त्याग्न तयार भएका थियौँ । क्रान्तिमा मान्छेले जीवन बलिदान गर्न तयार भए । अन्याय र अतिवादविरुद्ध घोषित रूपमा आफ्नो पदसमेत बलिदानी गर्ने गरी हामीले गरेको विद्रोह सामान्य संसदीय ह्विपको घेराभित्रको विषय मात्रै थिएन । ठूलो सन्देश पनि थियो ।
स्वाभाविक रूपमा पार्टीभित्रको गुटबन्दीविरुद्धमा, अराजकताको विरुद्धमा, निरंकुशताको विरुद्धमा हामी संघर्षरत थियौँ । एमाले र माओवादी अलग भएपछि संघर्ष अझ चर्को भयो । जसरी केही नेताहरूले हिजो अलि चर्कैै स्वरमा पार्टीभित्रको निरंकुशताको विरुद्धमा, तानाशाहको विरुद्धमा बोल्नुभएको थियो, लड्नुभएको थियो, अन्तिममा उहाँहरूले खुट्टा कमाउनुभयो ।
विद्रोह गरौँ, संघर्ष गरौँ, अलग पार्टी नै निर्माण गरेर अगाडि बढौँ भनेर चर्को स्वरमा गतिविधि गर्ने नेताहरू नै गल्नु भयो । त्यो उहाँहरूको कुरा भयो । तर, हामी गलेनौँ । उहाँहरूले अन्तिममा खुट्टा कमाएपछि हाम्रो अभियानलाई स्वाभाविक रूपमा घाटा भयो । एउटा वेलामा आक्रामक रूपमा अगाडि आउने अनि ब्याक हुने प्रवृत्तिले हामीलाई दुःख नै लाग्यो । हामीले आँटिलो र जोखिमपूर्ण कदम चालेका थियौँ, हामी रोकिएनौँ । लक्ष्य प्राप्तितर्फ अगाडि बढिरह्यौँ । सत्यको पक्षमा, अन्यायको विरुद्धमा न्यायको पक्षमा झन्डा उठाएर विद्रोह गरेका हौँ । त्यो विद्रोह गरेकोमा हामीलाई पछुतो पनि छैन । विद्रोहको औचित्य पुष्टि भएको छ ।
पदका लागि थिएन विद्रोह
क्रान्तिमा लाग्दा हाम्रा कतिपय सहयोद्धाले ज्यानकै बलिदानी दिए । हामीले उपलब्धि रक्षाका लागि पदको बलिदान गर्यौँ । भविष्यबारे चिन्ता गरेर हामीले निर्णय लिएनौँ । पद, प्रतिष्ठा, फाइदा–बेफाइदा केही पनि हेरेनौँ । आँट र हिम्मतले निर्णय गर्यौँ । विद्रोह गरेपछि ६ महिने मन्त्री हुने मौका पनि थियो । राष्ट्रिय सभा सदस्य हुने मौका पनि थियो । तर, हाम्रो विद्रोह पद प्राप्तिका लागि थिएन, उपलब्धि रक्षाका लागि थियो । भएकै पद त्याग्न तयार भएर विद्रोह गरेको व्यक्तिले पदकै लागि चाहना राख्नु स्वाभाविक थिएन । हामीले पदका निम्ति दाबी पनि गरेनौँ ।
संविधानअनुसार प्रतिनिधिसभा निर्वाचन घोषणा भयो । गठबन्धनबाट सबैको सहयोगमा निर्वाचन लड्ने स्थिति भयो । मैले गरेको विकास निर्माणका काम, त्याग र निष्ठाको राजनीतिका कारण निर्वाचन त मैले जितिनै हाल्थेँ । पार्टीबाट मात्रै उम्मेदवार हुँदा पनि जित्ने कुरामा समस्या थिएन । गठबन्धनले नै उम्मेदवारको रूपमा अगाडि सार्दा निकै बलियो अवस्था भयो । दोब्बरभन्दा बढी मतले जितियो ।
निर्वाचनपछि फरक गठबन्धन पनि बन्यो । पदकै निम्ति भए त, जुन गठबन्धन भए पनि मन्त्रीका लागि कुदाकुद हुन्थ्यो । तर, त्यो हामीले गरेनौँ । हामीले एउटा निष्ठाका साथ विद्रोह गरेका थियौँ । त्यसको मर्मविपरीतको गठबन्धनमा हामी सहभागी भएनौँ । पछि फेरि कोर्स करेक्सन भयो । हामीले नै बनाएको, चुनावको वेलामा पनि कायम रहेको गठबन्धन ब्युँतियो । पार्टीले निर्णय गरेर हामीलाई सरकारमा पठाउने निर्णय गर्यो । हामी सरकारमा गयौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा इमान्दारितापूर्वक काम गरेको छु । तडकभडक नदेखिने गरी, प्रचारबाजी नहुने गरी, देश र जनताको पक्षमा दीर्घकालीन हितका काम कसरी गर्ने भनेर लागेको छु । यो त एउटा प्रक्रियामा प्राप्त भएको अवसर हो । यो अवसरलाई जनताको पक्षमा, राष्ट्रको पक्षमा कति उपयोग गर्न सकिन्छ, गरिन्छ ।
छोएन घमन्डले
पद भनेको काम गर्दै जाँदा प्राप्त हुने केही अवसर हुन् । ती अवसरलाई देश र जनताको पक्षमा सदुपयोग गर्दै जानुपर्छ । जस्तो, म अहिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री छु । मलाई त्यो प्राप्त भएकोमा असाध्यै धेरै के–के न प्राप्त भयो भन्ने पनि लागेन । मलाई कुनै पनि दिन घमन्ड बढेन । मैले अझ बढी दायित्वबोध गरेँ । अझ बढी जिम्मेवारी बोध गरेँ । यो सधैँ रहने पद पनि होइन । मेरो समय, मेरो क्षमताले भ्याएसम्म मन्त्रालयको क्षेत्राधिकारभित्र परेका विषयमा जनतालाई कसरी सेवा दिन सकिन्छ, कसरी सुशासन दिन सकिन्छ भनेर लाग्ने हो । कसरी हिजो बिग्रेका, भत्केका गलत प्रवृत्तिलाई सच्याउन सकिन्छ । कसरी राम्रो नीति बनाउन सकिन्छ, सुशासन कायम गर्न सकिन्छ भन्ने हिसाबले क्रियाशील छु । यात्राको क्रममा अवसर पाएँ, त्यसलाई उपयोग गर्ने हो । हामीले राष्ट्र र जनताको नाममा शपथ खाएका छौँ । त्यो जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने जिम्मेवारीबोधले घचघच्याइरहेको छ ।