धम्मवतीको चरणमा आङ साङ सुकी

केही महिना विहारमा बस्दा सुकीले नेवार भाषासमेत बोल्न जानिसकेकी थिइन् । आङ साङ सुकी र धम्मवती गुरुमाबीचको सम्बन्ध यसरी प्रेमिल बनेको थियो ।

सुरेश किरण सुरेश किरण
शनिबार, ४ जेठ, २०७६
डिजिटल संस्करण

विहारकी गुरुमा

काठमाडौंको असन हुँदै ठहिटी निस्कने एउटा साँघुरो गल्ली छ । धेरैलाई नाम पनि थाहा छैन होला, नःघः टोल भनिन्छ त्यो ठाउँलाई । त्यसैको छेउमा एउटा बहाल छ– श्रीघः बहाः । काठमाडौंकै धेरै मानिस त्यहाँ पुगेका छैनन् होला । तर, म्यान्मारकी शक्तिशाली नेतृ एवं त्यहाँको प्रधानमन्त्रीसरह अधिकार प्राप्त स्टेट काउन्सिलर तथा नोबेल शान्ति पुरस्कार विजेता आङ साङ सुकी भने हरेकपटक नेपाल आउँदा नःघलको उक्त गल्ली नछिरी फर्किन्नन् ।

गत नोभेम्बरमा एसिया प्यासिफिक सम्मेलनमा भाग लिन मात्र दुई दिनको व्यस्त कार्यक्रम लिएर काठमाडौं आउँदा पनि सुकी नःघः गल्लीभित्र रहेको श्रीघः विहारमा केही घन्टा बिताएर फर्किन् । त्योभन्दा दुई वर्षअघि नेपालको औपचारिक भ्रमणमा आउँदा पनि सुकीले श्रीघः विहार भ्रमणलाई आफ्नो औपचारिक कार्यक्रममा राखेकी थिइन् ।आखिर के छ त्यो श्रीघः विहारमा जहाँ आङ साङ सुकीजस्ता विश्वप्रशिद्ध नेता नियमित पुग्ने गर्छन् ?

श्रीघः बहालमा थेरवादी बुद्ध धर्ममा आबद्ध महिला भिक्षु, जसलाई अनगारिका भनिन्छ, हरूको एउटा छुट्टै विहार छ । त्यो विहारको नाम हो धर्मकीर्ति विहार । धर्मकीर्ति विहारका प्रमुख हुन् धम्मवती गुरुमा । सुकी वास्तवमा उनै धम्मवती गुरुमालाई भेट्न नघल टोलका ती साना–साना गल्ली छिचोल्दै धर्मकीर्ति विहार पुग्छिन् ।

धम्मवती गुरुमाप्रति नेपालका बौद्ध अनुयायीहरू त असीम श्रद्धा गर्छन् नै, उहाँप्रति सुकीको समेत कति ठूलो श्रद्धा छ त भन्दा उनी विहारमा छिर्नेबित्तिकै सोफामा बसिरहेकी गुरुमाका सामू दुवै घुँडाले टेकेर साष्टाङ्ग दण्डवत् गर्छिन् र बौद्ध परम्पराअनुसार तीनपटक ढोग्छिन् । म्यान्मारजस्तो शक्तिशाली देशकी प्रभावशाली नेतृ एवं नोबेल पुरस्कार विजेता हस्ती, नेपालकी एक चेलीलाई घुँडा टेकेर सम्मान प्रकट गर्छिन् ! नेपालमा धम्मवती गुरुमा मात्रै एक्ली त्यस्तो व्यक्तित्व हुन् ।
०००
म्यानमार एक थेरवादी बौद्ध मुलुक हो । धम्मवती पनि थेरवादी बौद्ध गुरुमा नै हुन् । तर, सुकीले धम्मवती गुरुमाप्रति यति ठूलो श्रद्धा प्रकट गर्नुको कारण भने यो मात्र होइन । यसका लागि पल्टाउनुपर्ने हुन्छ करिब ४५ वर्षअघिको एउटा अलिखित इतिहास । 

आङ साङ सुकीका श्रीमान् माइकल एरिस बेलायती नागरिक हुन् । बेलायती नागरिकसँग विवाह गरेकै कारण सुकीलाई अहिले पनि म्यान्मारको राष्ट्रपति वा प्रधानमन्त्री बन्न संवैधानिक रोक लागेको हो । एरिस पेसाले एक प्राध्यापक एवं अन्वेषक थिए । उनी बेलायतको सेन्ट जोन कलेजमा पढाउँथे ।

उनको विषय थियो– दक्षिण एसियाली मुलुकका हिमाली संस्कृति । उनले भुटानको हिमाली संस्कृतिबारे किताबै लेखेका छन् । त्यही हिमाली संस्कृतिको अध्ययन गर्ने क्रममा उनी सन् १९७० को दशकतिर नेपाल आएका थिए । त्यतिवेला उनीसँगै सुकी पनि आएकी थिइन् । नेपालमा एरिस हिमाली क्षेत्रतिर व्यस्त भइरहँदा सुकीचाहिँ यही धर्मकीर्ति विहारमा बस्ने गर्थिन् । र, उनको स्याहारसुसार गर्थिन् उनै धम्मवती गुरुमा । सुकीका दुई छोरामध्ये सानो छोरा किम एरिस नेपालमै जन्मेको तथ्य सुकीले आफ्नो जीवनी पुस्तकमा लेखेकी छन् । 

त्यतिवेला काठमाडौंमा बच्चालाई खुवाउने ल्याक्टोजिन दूधको अभाव थियो । सुकीको दूध भने बच्चालाई नपुग्ने रहेछ । त्यसैले धम्मावती गुरुमाले विहारका महिला गुरुमाहरूलाई राति सेवन गर्न आवश्यक प-यो भन्दै भारतीय राजदूतावासबाट ल्याक्टोजिन दूध मगाएर सुकीको नानीलाई खुवाउने गरेकी थिइन् । त्यतिवेला धम्मावती गुरुमाले सुकीलाई आफ्नै छोरीझैँ माया गरेर स्याहारेकी थिइन् । सुकी धेरै वर्ष देशबाहिरै बसेकीले उनले बौद्ध धर्म र संस्कारसम्बन्धी कुराहरू पनि त्यतिविधि सिक्न पाएका थिएनन् । त्यो ज्ञान पनि उनले धम्मवती गुरुमाबाटै प्राप्त गरिन् ।

भनिन्छ, सबै नेवार गुरुमाहरूले भरिभराउ हुने उक्त विहारमा केही महिना बस्दा सुकीले नेवार भाषासमेत बोल्न जानिसकेकी थिइन् । वास्तवमा आङ साङ सुकी र धम्मवती गुरुमाबीचको सम्बन्ध यसरी प्रेमिल बनेको थियो । त्यसमाथि आङ साङ सुकी म्यान्मारमा प्रजातन्त्र पुनस्र्थापनाका लागि लडेकी योद्धा । त्यसैले उनीप्रति गुरुमाको माया मात्र होइन, सम्मान पनि थियो । किनभने गुरुमा आफैँ पनि खुलापन र प्रजातन्त्रका हिमायती हुन् । महिलालाई पनि शिक्षा–दीक्षा प्रदान गर्नुपर्छ, समाजमा खुल्न दिनुपर्छ भन्ने उनको मान्यता थियो । भिक्षु संघभित्रै पनि महिलामाथि गरिने भेदभावविरुद्ध उनी लागिरहेकी छन् । म्यान्मारमा सुकीलाई वर्षौंसम्म नजरबन्दमा राख्दा पनि गुरुमाको धार्मिक सम्बन्ध त्यहाँको सैनिक सरकारसँग थियो, तर श्रद्धा भने सुकीबाट हटेको थिएन ।
०००
नेपाल आउँदा धम्मवती गुरुमासितै सुकीको सम्बन्ध गाँसिन पुग्नुको कारण भने अर्को पनि छ । धम्मवती गुरुमा आफैँ पनि म्यान्मारमै बौद्ध धर्ममा दीक्षित भएर आएकी अनुयायी हुन् । त्यतिवेला बर्मा भनिने सुकीको देशमा उनी लगातार १६ वर्ष बसिन् । र, त्यहाँ सिकेर आएको ज्ञानलाई नेपालमा प्रचार गर्न थालिन् । तर, धम्मवतीमाथि सुकीको आस्था जम्नुको कारण यति मात्र पनि होइन । २००६ सालमा धम्मवती गुरुमा जसरी कठिन यात्रा पार गर्दै बर्मा पुगिन् त्यो कुनै फिल्मको पटकथा भन्दा कम्ता छैन । सायद गुरुमाप्रति सुकी प्रभावित हुनुको खास कारण त्यो पनि हुन सक्छ ।

धम्मवती जतिवेला बुद्ध धर्ममा प्रव्रजित भइसकेकी थिइनन्, उनको गृहस्थी नाम थियो गणेशकुमारी शाक्य । पाटनका एक धनाढ्य व्यापारीकी छोरी । चार दाजुभाइबीच हुर्किएकी एक्ली बहिनी । अनि, घरमा सबैकी प्यारी । त्यतिवेला महिलालाई शिक्षा दिने चलन थिएन । पाटनको सुमंगल विहारमा बर्माबाट आएका भिक्षु धम्माबुद्ध र नेपालकै भिक्षु बुद्धघोषले टोलका बालबालिकालाई विहारमा बोलाई सामान्य लेखपढ सिकाउने र बुद्ध धर्मसम्बन्धी ज्ञान दिने काम गर्दथे ।

स्कुल जाने चलन नभएकाले गणेशकुमारीलाई पनि उनकी आमाले सोही विहारमा पठाई बुद्ध शिक्षा ग्रहण गर्न लगाउँथे । यसरी सामान्य रूपमा विहारमा गई लेखपढ गर्दै रहेकी गणेशकुमारीले एक दिन परिवारमा यस्तो इच्छा व्यक्त गरिन् जो सुनेर शाक्य परिवारको जमिन धसिएर पाताल पुगेजस्तो भयो । उनले उद्घोष गरेकी थिइन्, ‘म पनि घर त्यागेर भिक्षुणी बन्न चाहन्छु ।’

ओहो ! मात्र १४ वर्ष टेकेकी फुच्चीको मुखबाट यस्तो इच्छा व्यक्त हुँदा कुनचाहिँ आमाबुबाले स्वीकृति दिन सक्थ्यो र ! त्यसमाथि गणेशकुमारीको परम्परागत नेवार समाज । अझ त्यसमाथि बुबाले अत्यन्तै माया गर्ने एक्ली छोरी । त्यो पनि प्रव्रजित हुन र शिक्षा ग्रहण गर्न बर्मा नै जानुपर्ने । यो त सम्भव हुने कुरै भएन । तर, गणेशकुमारीले आफ्नो इच्छा भने त्यागिनन् । यदि यसका लागि आमाबुबाले अनुमति दिएनन् भने घरबाट भागेरै भए पनि बर्मा पुग्ने अठोट उनले गरिसकेकी थिइन् । 

उनले सुरुमा आमालाई भनिन् । आमाले बुबालाई सोध भनिन् । बुबालाई भनिन्, बुबाले दाइहरूसँग सोध भने । दाइहरूलाई सोधे, दाइहरूले बुबाले मान्दैन भने । उनी रोइन्, कराइन् । तर अहँ, अनुमति मिलेन । अझ उल्टो घरबाट भाग्लिन् कि भनेर घरैमा निगरानी बढाउने कामसमेत भयो, जस्तो कि सिद्धार्थ गौतम कपिलवस्तु छाडेर भाग्लान् भनी राजा शुद्धोधनले दरबारमा सैनिक पहरा बढाएका थिए । तर, सिद्धार्थ गौतमको पथमा हिँड्न आखिर गणेशकुमारीले पनि सिद्धार्थ गौतमकै बाटो अँगाल्नुप-यो ।

जसरी श्रावण महिनाको एक रात सिद्धार्थ गौतम कसैलाई केही नभनी दरबार त्यागेर जंगल गएका थिए, त्यसरी नै २००६ साल असार महिनाको एक रात घरमा कसैलाई थाहा नदिई गणेशकुमारी भागिन् । मनोहरादेवी शाक्य र शुभलक्ष्मी शाक्य नामका दुई संगिनीसहित उनी पाटनदेखि थानकोटसम्म गाडीमा र त्यसपछि हिँडेरै भीमफेदी पुगिन् । यस कार्यमा उनलाई आफ्नै एकजना दाजु र दुई संगिनीका आमाले साथ दिएका थिए । 

के छ त्यो श्रीघः विहारमा, जहाँ आङ साङ सुकीजस्ता विश्वप्रसिद्ध नेता नियमित पुग्ने गर्छन् ? श्रीघः बहालमा धर्मकीर्ति विहार छ । सुकी धम्मवती गुरुमालाई भेट्न नघल टोलका साना गल्ली छिचोल्दै धर्मकीर्ति विहार पुग्छिन् । 

तर, गणेशकुमारीका बुबा पनि कमका थिएनन् । छोरी घरबाट भागेको थाहा पाउनेबित्तिकै उनले भीमफेदीको चेकपोस्टमा कुनै माध्यमबाट खबर पठाई छोरीलाई त्यहीँ रोक्न लगाइसकेका थिए । तथापि केही ढिलो खबर पुगेकाले गणेशकुमारी त्यहाँबाट उम्किन सफल भइन् । र, आफ्ना दुई संगिनीसँगै आएकी आमाले चिन्ने भीमफेदीका एक आफन्तको साथ लिई भारतको कुशीनगर पुगिन् । अनि कुशीनगरमै सम्पूर्ण कपाल मुण्डन गरी भिक्षुणीको चीवर धारण गरिन् । बौद्ध धर्ममा चीवर धारण गरिसकेपछि गृहस्थी नामलाई छोडेर नयाँ नाम राख्ने चलन छ । त्यहीअनुसार उनको पनि नयाँ नाम राखियो– ‘धम्मवती’ । उनका संगिनीहरू मनोहरादेवीको नाम ‘माधवी’ र शुभलक्ष्मीको नाम ‘मागधी’ राखियो । 

यसरी कुशीनगरमा प्रब्रजित भइसकेपछि उनीहरू तीनैजना बर्मा जान तयार भए । उनीहरूलाई बर्मासम्म पु-याउन बर्मी भिक्षु धम्माबुध पनि तयारी अवस्थामै थिए । तर, समस्या प-यो पासपोर्टको । विनापासपोर्ट बर्मा जान सम्भावना थिएन । त्यसैले कोलकातास्थित नेपाली वाणिज्य दूतावासमार्फत पासपोर्ट बनाउने कार्य अघि बढिरहेको थियो । तर, आवश्यक कागजात उपलब्ध नभएकाले त्यो कार्य विलम्ब हुँदै थियो । उता पासपोर्ट नपाएर गणेशकुमारीहरू भारतमै अड्केका छन् भन्ने खबर थाहा पाएर उनका बुबाले कोलकातामै मान्छे पठाएर फर्काउने प्रयास गरे । लिन आएका मानिसहरू गणेशकुमारीका दुई संगिनीलाई लिएरै फर्के । गणेशकुमारी भने नफर्किने अडानमै बसिन् । 

अब बाँकी रह्यो भिक्षु धम्माबुद्ध र उनी मात्रै । पासपोर्ट आउने अझै ठेगान भइसकेको थिएन । बरु गणेशकुमारीलाई उनको बुबा आफैँ कोलकाता आएर फर्काउने सम्भावना भने प्रवल बन्दै थियो । त्यसैले उनीहरूले पासपोर्ट नभए पनि जंगलको बाटो हुँदै चोरीछिपी बर्मा छिर्ने योजना बनाए । त्यतिबेला भारतको नागाल्याण्ड र आसामको जंगल हुँदै हिँडेर वर्माको मिचिना नामक गाउँसम्म पुग्न सकिने चोरबाटो थियो । जंगलमा हात्ती समाउने माहुतेहरूलाई त्यो बाटो थाहा रहेछ । त्यसैले त्यही माहुतेहरूको साथ लिई भिक्षु धम्माबुद्ध र धम्मवतीले जंगलको यात्रा शुरु गरे ।

जंगल यात्रा निश्चय पनि सजिलो थिएन । कहीं उकाली, कहीं ओराली । कहीं खोला, कहीं पहाड । खानपीनको ठेगान छैन । बस्ने–सुत्ने ठेगान छैन । छ दिन, पाँच रातसम्म जंगलको अनकन्टार यात्रामा उनीहरूले आफूलाई घिसारे ।अन्ततः छैठौं दिन उनीहरू भारतको सीमा पार गरी वर्मा पुग्न सफल भए । वर्माको मिचिना के पुगेपछि दुवैजनाले ६ दिनको थकान एकै सासमा भुले । त्यहीं एउटा वर्मी विहार पनि थियो । दुवै जना विहारमा पुगेर आफ्नो यात्रा बारे वर्णन गर्न थाले । 

तर वर्मा पुग्नुको खुशी राम्ररी साट्न नपाउँदै एउटा अर्को आपत आइपुग्यो । वर्माको मिचिना गाउँ नेपाली मूलका वासिन्दाहरू बस्ने गाउँ रहेछ । नेपालबाट एउटी चेली रातारात जंगलको बाटो हुँदै हिँडेर वर्मा आइपुगेको खबर ती नेपाली मूलका वासिन्दाहरूले थाहा पाए । जंगलको बाटो हिँडेर आएको भनेकोले उनीहरूलाई लाग्यो कि वर्मी भिक्षुले नेपाली चेलीलाई भगाएर पो ल्याएका रहेछन् । त्यसपछि उनीहरूले मिचिनाको उक्त विहारलाई नै घेराबन्दी गरी यथार्थ के हो बताउनुप-यो भन्दै धर्ना कसे । वर्मी भिक्षुहरूले कति सम्झाए, मानेनन् ।

धम्मवती त झन् १४ वर्षकी थिइन्, उनको कुरा कसैले पत्याएनन् । नेपाली चेलीलाई फकाएर बर्मा ल्याएको भनी ती नेपाली मूलका बासिन्दाहरूले प्रहरीमा उजुरी गरे । प्रहरी आए । छानबिन गरे । बुझ्दा त भिसा नै नलिइकन वर्मा आएको पाइयो । पासपोर्ट पनि छैन । बिना पासपोर्ट र बिना भिसा बर्मा आउनु त कानुनी हिसाबले अपराध पो हो । धम्मवतीलाई विनाभिसा बर्मा आएको आरोपमा प्रहरीले हिरासतमा लिए ।

वर्मी भिक्षुलाई चाहिँ त्यहींबाट रिहा गरे । रिहा भएका भिक्षुले राजधानी यांगून पुगी सबै व्यवस्था मिलाए । र, धम्मवतीलाई त्यहाँबाट छुटाई यांगून ल्याए । त्यसपछि मोलमिन शहरको महिला मात्रै अध्ययन गर्ने विहारमा उनलाई पढाउने बन्दोवस्त मिलाइयो । सोही विहारमा लगातार १६ वर्ष अध्ययन गरी वि.सं. २०२० सालमा धम्मवती नेपाल फर्किन् । 

नेपाल आई यही नःघल टोलको गल्ली भित्र सानो एकटुक्रा जग्गा खरिद गरी ‘धर्मकीर्ति विहार’ स्थापना गरिन् । त्यतिबेला आफैले माटो मुछेर, इँटा बोकेर निर्माण गरेको उक्त विहारका हाल धेरै ठाउँमा शाखा विहारहरू पनि खुलेका छन् । धम्मवती गुरुमाको यो कठिन तपस्या आज नेपालमा थेरवादी बुद्ध धर्मलाई सशक्त बनाउने एउटा अजंग खम्बाका रूपमा अंकित हुन पुगेको छ । 

सम्पादकको रोजाइ

सुझावित समाचार