अभिनेत्री मिरुना मगर नेपाली फिल्म क्षेत्रमा रुचाइएको नाम हो । ‘लालपुर्जा’ बाट अभिनय यात्रा सुरु गरेकी उनले ‘रोज’, ‘साइनो’, ‘चचहुँई’,‘कबड्डी–४’,‘जारी’, ‘नाङ्गो गाउँ’ लगायतका फिल्ममा काम गरिसकेकी छन् । पहिलो पटक क्यामेरा फेस गर्दाको अनुभव मिरुनाले यसरी सम्झिइन् :
मेरो पहिलो डेब्यु फिल्म ‘लाल पुर्जा’ हो । ठूलो पर्दाका लागि पहिलोपटक क्यामेरा फेस त्यही फिल्ममा गरेँ । पहिलो सिन ककनीमा खिचिएको थियो । फिल्ममा सबै अनुभवि कलाकार हुनुहुन्थ्यो । मेरो पहिलो सिन सौगातदाइ(सौगात मल्ल)सँग थियो । थिएटरबाट आउनु भएको सौगात दाई खारिएको कलाकार हुनुहुन्थ्यो । उहाँलाई पछाडि राखेर मैले बाइक चलाउँनु पर्ने थियो ।
छोटो संवाद पनि बोल्नु पर्ने थियो । डर लाग्यो, नर्भस पनि भएँ । दुई/तीन टेक लिनु परेको थियो । लामो डाइलग नभएकोले सजिलो भयो । मैले फिल्ममा चान्स पाउँछु भन्ने सोचेको थिइनँ । त्यो सिनपछि ठूलो मौका पाएँ भन्ने फिल भयो । दोस्रो सिनपछि सहज भयो । सौगात दाई लगायत टिमले सहयोग गर्नु भयो । ‘लालपुर्जा’ मा क्यामेराको अनुभव लिन पाएँ । पहिलो फिल्म भएकोले मेरो लागि चुनौती पनि थियो । राम्रो टिम र को–एक्टर पनि राम्रो हुँदा काम गर्न सहज हुँदो रहेछ ।
हुन त मैले ८/९ वर्षको उमेरमै फिल्म ‘क्याविन गर्ल’मा बालकलाकार भएर काम गरेकी थिएँ । त्यतिबेला सानै भएकोले केही ज्ञान थिएन । ज्ञान नहुँदा डर पनि नलाग्ने रहेछ । फिल्ममा काम गर्नुअघि म्युजिक भिडियोमा पनि काम गरिसकेकी थिएँ ।मलाई सिक्ने लोभ जहिल्यै हुन्छ । दयाहाङ दाई(दयाहाङ राई) सँग बढी काम गर्ने मौका पाएकी छु । ‘कबड्डी ४,’ ‘जारी’, ‘नाङ्गो गाउँ’मा उहाँसँगै काम गरेँ । दर्शकले पनि रुचाईदिनु भएको छ । उहाँसँग काम गर्दा एक किसिमको कम्फर्ट हुन्छ । दयाहाङदाईलाई नबुझेका कुराहरू सोधिरहन्छु । म ‘लालपुर्जा’ फिल्मबाट जन्मिएँ, अहिले बामे सर्दै, लड्दै उठेर हिड्न सिक्दै छु ।ह