यो घाउ

पीताम्बर शर्मा पीताम्बर शर्मा
शनिबार, ७ पुष, २०८०
डिजिटल संस्करण

यो घाउ, म के गरूँ
मलम लगाऊँ, चिलाऊँ, पाप्रा पल्टाऊँ
र उम्रने रगतसँगै घाउलाई चर्काऊँ
यो घाउ म के गरूँ, के गरूँ ?

यो घाउ मेरो आशीर्वाद हो, यसैले त
यो घाउसँग म अभिशप्त छु
यो घाउ, म के गरूँ ?

यो घाउ मेरो सपना हो –
मेरो आफ्नोपनको मूर्त रूप
ममाथिका प्रत्येक आहतको 
मर्म अनि सार र अभिव्यक्ति 
यो घाउबाट म पृथक् कसरी हुन सक्छु ?
यो घाउ मेरै जीवनबाट बनेको छ
मेरो रगतले यसलाई सिँचेको छ
मभित्रका सबै विकारहरूको मूर्त रूप यो
मभित्रका सबै विकारहरूको प्रतिलोम यो
वस्तुतः यो घाउ झिकिदिए
म, म रहन्नँ
यो घाउ मेरो सम्पूर्ण उपलब्धि,
मेरो सहारा, मेरो बाँच्ने आधार
मेरो पहिचान ।

यो घाउसँग म जेलिएको छु
यो घाउ मभित्र प्रशस्त छ
म घट्दा ऊ बढ्छ
म बढ्दा ऊ घट्छ
म र ऊको फरक पनि कहाँ छ र ?
यो घाउ, म के गरूँ ? 

यो घाउ मेरो सोच मात्रै हो कि ?
यो घाउ पौडँदा सास फालेजस्तो 
मैले मात्रै सुन्ने र ग्रहण गर्ने अनुभूति हो कि ?
यो घाउ, अस्ताउन लागेको सूर्यलाई हेर्दा
अकारण, अनायास
समाप्तिको समवेदनामा त्यसै–त्यसै
टल्पन खोज्ने आँसु हो कि ?

यस्तो नहोस् कहीँ,
यो घाउ मेरो देश त हैन ?
यो घाउ स्वयं म त हैन ?

सम्पादकको रोजाइ

सुझावित समाचार