अग्रजबाट यसरी आफ्नो जीवनको उत्तरार्द्धमा अनुभव सँगालेर पस्किँदा नयाँ पिँढीलाई पुरानो इतिहास, विगतका तौरतरिका र शासन पद्धतिबारे जान्ने–बुझ्ने र सिक्ने अवसर प्राप्त हुने भएकाले यो ज्ञान हस्तान्तरणका लागि लेखकलाई हृदयदेखि नै नमन टक्य्राउन चाहन्छु ।
यतिवेला हालसालै बजारमा प्रकाशित पुस्तक ‘राष्ट्र–परराष्ट्र’को चर्चा छ । श्रद्धेय डा. भेषबहादुर थापाद्वारा लिखित पुस्तक मैले पनि किनेर पल्टाउन सुरु गरेँ । उहाँको जीवनका व्यक्तिगत आरोह–अवरोहभन्दा पनि महेन्द्रकालीन समयका अनुभव र भोगाइ सुन्न, पढ्न मन लागिरहन्छ, जुन मेरो पेसागत संलग्नता र मुलुकको विदेश नीतिप्रतिको चासो र चिन्ताले पनि हुन सक्छ ।
पुस्तकमा भनिएको छ, ‘उनको समयमा मान्छेले अवसर होइन, अवसरले मान्छे खोजिरहेको...’ यस वाक्यमा पुगेर म एकछिन अडिएँ । त्यसवेला राजाले क्षमता भएका र योग्यता भएकाको कदर गर्दै सही मान्छेलाई सही समयमा टिपेर मुलुकको हितमा प्रयोग गरेका रहेछन् । मुलुकको विकासका लागि सन्तुलित परराष्ट्र नीति सञ्चालन गर्ने राजा महेन्द्रको हुटहुटी रहेछ । त्यो समयमा अहिलेजस्तै भूराजनीतिक प्रतिस्पर्धा र एकदमै चुनौतीपूर्ण विश्व राजनीतिक परिदृश्य थियो । विकास निर्माण तथा अन्य क्रियाकलापमा रसिया, चीन, अमेरिका बेलायत र भारतको सहयोग मज्जाले सदुपयोग गरेको देखिन्छ । त्यो समयमा चीनसँग सडक सञ्जालले जोड्ने हिम्मत गर्नु आफैँमा चानचुने चुनौती थिएन । राजा आफैँले असंलग्न आन्दोलनको शिखर सम्मेलनमा गई सम्बोधन गरे । यसरी राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेको देखिन्छ ।
नेपाललाई अहिले पनि महेन्द्रकालीन
अवसर छ । विश्व भूराजनीति अब एकध्रुवीयबाट बहुध्रुवीयतिर जाँदै छ । क्षेत्रीय शक्तिहरू उदीयमान भइरहेका छन् । विशाल छिमेकी मुलुकले आर्थिक तथा भौतिक विकासमा ठूलो फड्को मारिसकेका छन् । विश्वमै अबको भविष्य एसियाको हो भन्ने धारणा विकास भई संस्थागत हुँदै गइरहेको छ । हुन पनि भारत, चीन, जापान, इन्डोनेसिया, दक्षिण कोरिया, अरब मुलुकहरू अहिले नै विकास तथा आर्थिक रूपमा पश्चिमा मुलुकलाई टक्कर दिने अवस्थामा पुगिसके । हामीलाई अवसरै अवसर अहिले सिर्जना भएको छ । यस अवसरलाई कसरी सदुपयोग गर्ने भन्ने कुरा हाम्रो नेतृत्वले सूक्ष्म विश्लेषण गरी विज्ञहरूलाई साथमा लिएर अगाडि बढ्नुपर्ने देखिन्छ ।
लेखकले नेपालको अर्थतन्त्रको जग बसाल्न आफ्नोतर्फबाट धेरै मिहिनेत र कुनै पनि कसर बाँकी नराखेको देखिन्छ । उहाँले व्यक्तिगत चिनजानका आधारमा समेत कुवेत पुगेर कुवेती फन्डमार्फत कुलेखानी जलविद्युत् आयोजनाका लागि रकम चाँजोपाँजो गरेको विषय पनि उल्लेख गर्नुभएको छ । एकै व्यक्ति आफ्नो क्षमता इमानदारिता तथा कर्तव्यनिष्ठाकै कारण होला, महेन्द्रकालीन, वीरेन्द्रकालीन तथा बहुदलकालीन, सक्रिय ज्ञानेन्द्रकालीन तथा गणतन्त्रकालीन समयमा पनि राज्यले उहाँलाई खोजि नै रह्यो । यसमा उहाँले देखाएको टेक्नोक्रेटिक सीपले गर्दा नै हुनुपर्छ, यदि राजनीतिक भूमिकाको रूपमा चिनिएको भए उहाँ धेरै पहिला नै छायामा परिसक्नुहुन्थ्यो ।
‘फाइन प्रिन्ट’ले बजारमा ल्याएको पुस्तकमा जीवनका विभिन्न आयाममा तस्बिर पनि समावेश छन्, यसले पुस्तकलाई थप मनमोहक बनाएको छ । लेखकको पारिवारिक जीवनमा आएका केही वियोगान्त घटनाले नरमाइलो महसुस पनि गराउँछ । खुसीमा नमात्तिनु र दुःखमा नआत्तिनु भन्ने भनाइ उहाँको जीवनबाट पनि सिक्न सकिन्छ । समयकालीन युगमा सामान्य नेपालीको भन्दा उहाँको पारिवारिक आर्थिक अवस्था र सामाजिक जीवन उच्चस्तरको नै देखिन्छ । तर, पनि सैनिक पृष्ठभूमिको पारिवारिक वातावरणमा उहाँले आफूलाई छुट्टै हिसाबले रूपान्तरण गर्न सफल हुनु आफैँमा ठूलो कुरा हो ।
सायद उहाँले जीवनमा आफूले सोचेकोभन्दा धेरै उपलब्धि प्राप्त गरेको देखिन्छ । हुन त उहाँलाई प्रधानमन्त्रीसम्म बनाउने आश्वासन पनि राजा वीरेन्द्रबाट भएको देखिन्छ । त्योबाहेक उहाँका अधुरा गन्तव्य कुनै देखिँदैनन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरको अनुभव एकै जिन्दगीमा कमै मानिसले प्राप्त गर्न सक्छन् । त्यो उहाँलाई प्राप्त भयो । हरेक जिम्मेवारीलाई सफलतापूर्वक निर्वाह गर्दै खुड्किला चढेर पछाडि फर्कन नपरेको उहाँको जीवनीमा सफलतै सफलताका कथा छन् । बीचबीचमा केही अवरोह पनि भेटिन्छन् ।
पछि वीरेन्द्रकालीन समयमा दरबार षड्यन्त्रमै तल्लीन रहेको र काम गर्ने वातावरण नभएको चित्रण पुस्तकमा पाइन्छ । तीनै राजाको सक्रिय शासनमा परराष्ट्रमन्त्री हुन उहाँ सफल हुनुभएकाले कसो–कसो शंका लाग्ने ठाउँ पनि छ । कतिपय विषय पटक–पटक तथा विभिन्न शीर्षकमा पुनः दोहोरिएर आएकाले सम्पादकीय पक्षबाट अलि ध्यान दिइएन कि जस्तो अनुभव पाठक वर्गमा पर्न सक्छ ।
समग्रमा अग्रजबाट यसरी आफ्नो जीवनको उत्तराद्र्धमा अनुभवहरू सँगालेर पस्किँदा नयाँ पिँढीलाई पुरानो इतिहास, विगतका तौरतरिका र शासन पद्धतिबारे जान्ने–बुझ्ने र सिक्ने अवसर प्राप्त हुने भएकाले यो ज्ञान हस्तान्तरणका लागि लेखकलाई हृदयदेखि नै नमन टक्य्राउन चाहन्छु ।