कान्छी सांसदको संसद् अनुभव : संसद् त स्क्रिप्ट मञ्चन हुने ठाउँ पो रहेछ

शनिबार, ३० मंसिर, २०८०
डिजिटल संस्करण
कान्छी सांसदको संसद् अनुभव : संसद् त स्क्रिप्ट मञ्चन हुने ठाउँ पो रहेछ

निशा डाँगी, प्रतिनिधिसभा सदस्य, राष्ट्रिय स्वतन्त्र पार्टी

प्रतिनिधिसभाकी कान्छी सांसद हुन्, निशा डाँगी । २६ वर्षमा सांसद बनेकी डाँगीले सांसद बन्छु भनेर कहिल्यै सोचेकी थिइनन् । राजनीतिमा प्रवेश गर्नुअघि डाँगी पत्रकारितामा थिइन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसदको रूपमा निर्वाचित भएकी डाँगीले अनिल यादवसँग आफ्नो करिब एक वर्षको संसद् अनुभूति यसरी सुनाइन् :

संसद्मा पहिलो दिन
सांसद निर्वाचित हुनुअघि कहिल्यै सदन छिरेकी थिइनँ । संसद्मा पहिलो दिन प्रवेश गरेकै शपथ खानलाई हो । हाम्रो पार्टी नयाँ भएकाले सबै सांसद सँगै जाने भन्ने योजना बनेको थियो । दलको बैठक बसेर हाम्रा २० जनै सांसदले सांस्कृतिक वेशभूषा लगाएर शपथ खान जाने भन्ने निर्णय भएको थियो । निर्वाचनताका मलाई सबैभन्दा बढी सहयोग मेरी फुपू द्रिपा भट्टराई डाँगीले गर्नुभएको थियो । सदनमा पहिलो दिन छिर्दै गर्दा मैले उहाँले नै उपहार दिएको सेतो सारी लगाएँ ।

सबै सँगै गएका कारणले पनि होला कहाँ–कहाँ पुगियो जस्तो महसुसचाहिँ भएको थिएन । पहिलो दिन संसद् छिर्दा मलाई मात्रै होइन, हाम्रा पार्टीका अधिकांश सांसदलाई धेरैजनाले अनौठो तरिकाले हेरेको महसुस भएको थियो । गगन थापा, विश्वप्रकाश शर्मालगायत जति पनि सांसद भेटिए, सबैलाई नमस्कार गर्दै हिँडेको थिएँ । चियापानमा सांसदहरूलाई दुइटा फरक–फरक स्थान छुट्याएको देख्दा अचम्म लागेको थियो । शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताहरूका लागि बेग्लै स्थान, हामी अन्य सांसदका लागि अर्कै स्थान । सबै सांसद नै हुन्, किन फरक–फरक स्थान राखेको होला भन्ने लागेको थियो । 


प्रतिनिधिसभाको दोस्रो बैठकमा सांसद विश्वप्रकाश दाइले हात समाएर धेरै सांसदसँग चिनाउँदै लगेको मलाई अझै याद छ । उहाँ र म एउटै जिल्लाको भएकाले पनि होला, मलाई ‘झापाका सांसद त चिन्नुपर्छ ल नानी’ भन्दै धेरै सांसदसँग परिचय गराउन सहयोग गर्नुभएको थियो । संसद्को पहिलो दिन खासै अनौठो महसुस नगरे पनि त्यसपछिका दिन भने अनौठा लाग्दै गए । हामी हाउस छिरेपछि एक–अर्कासँग हात मिलाउँथ्यौँ । त्यो देख्दा अरू पार्टीका सांसद छक्क पर्नुहुन्थ्यो । हामी बोल्दाखेरी पनि दाइ, दिदी भनेर नै बोल्थ्यौँ । सुरुमा माननीयज्यू भनेर सम्बोधन गर्न अभ्यस्त थिएनौँ । त्यो देख्दा अरू दलका सांसद छक्क पर्नुहुन्थ्यो ।

सदनमा जाँदै गर्दा मेरो अपेक्षा एकदमै ठूलो थियो । मलाई लाग्थ्यो, हाउसमा बोलिसकेपछि त्यो कार्यान्वयनमा आउँछ । तर, यथार्थ अर्कै रहेछ । हाउसमा बोलेको कुरा न त्यहाँ कसैले लेख्ने रहेछ, न कसैले टिप्ने नै । फेसबुकमा भिडियो बनाउनका लागि मात्रै बोलिने रहेछ भन्ने थाहा पाउँदा तितो महसुस भयो ।


संसद्मा पहिलो भाषण 
संसद्मा बोल्नलाई ‘शून्य समय’ र ‘विशेष समय’ हुन्छ भन्ने थाहा थियो, तर ‘आकस्मिक समय’ हुन्छ भन्ने अलि पछि नै थाहा भयो । प्रशिक्षणमा यसबारे कुरा गरिएको त थियो, तर राम्रोसँग भनिएको थिएन । कहिले पालो आउँछ भन्ने थाहा नहुँदा मैले सुरुको दुईपटक शून्य समय ‘मिस’ गरेँ । पार्टीमा सबै सांसद नयाँ भएका कारण पनि यसबारे अवगत भइएन । त्यसैले अबचाहिँ ‘विशेष समय’ नै लिएर बोल्ने निधो गरेँ । चुनावताका म भोट माग्न जाँदा झापाका जनताले ‘हामी तिमीलाई जिताउन तयार छौँ, तर यो हात्तीको मुद्दाचाहिँ सुरुमै उठाइदिनू ल, अस्पतालको विषय सुरुमै बोल्दिनू ल’ भन्नुहुन्थ्यो । पहिलो भाषणमा मैले त्यही मुद्दा नै उठाएँ । चार मिनेट बोल्दा मैले हात्ती, अस्पताललगायत मुद्दा उठाएँ । स्क्रिप्ट राम्रोसँग लेखेको र तीन–चारपटक रि–राइट पनि गरेका कारण संसद्मा बोल्दा समस्या भएन । 


...अनि तितो लाग्यो
सदनमा जाँदै गर्दा मेरो अपेक्षा एकदमै ठूलो थियो । मलाई लाग्थ्यो, हाउसमा बोलिसकेपछि त्यो कार्यान्वयनमा आउँछ । तर, यथार्थ अर्कै रहेछ । हाउसमा बोलेको कुरा न त्यहाँ कसैले लेख्ने रहेछ, न कसैले टिप्ने नै । फेसबुकमा भिडियो बनाउन मात्रै बोलिने रहेछ भन्ने थाहा पाउँदा तितो महसुस भयो । अर्को कुरा हामीलाई संसद् सचियवालयले प्रशिक्षण दिँदा ‘हाउसमा चाहिँ बोल्ने हो तर काम गर्ने समितिले हो’ भनेर भनिएको थियो । त्यो मलाई राम्रोसँग स्मरण थियो, तर पहिलो अधिवेशन सकिँदासम्म पनि समिति बनेको थिएन । त्यसैले पहिलो अधिवेशनको अन्तिमपटक विशेष समयमा बोल्दा मैले ‘संसदीय समिति कहिले बन्छ, सभामुख महोदय’ भनेर प्रश्न नै गरेको थिएँ । समिति बनेपछि त रफ्तारमा काम होला भन्ने लागेको थियो । तर, जब बल्ल–बल्ल समिति बन्यो, मेरो त्यो अपेक्षा पनि निराशामा परिणत भयो । समिति पनि सुस्त नै पाएँ । यसले झन् निरुत्साहित गर्यो । 


संसद्को करिब एक वर्षको अनुभवमा आफ्नातर्फबाट मैले शतप्रतिशत दिएँ भन्ने लाग्छ । तर, आजभोलि एक्लैले गरेर नहुने रहेछ भन्ने महसुस हुन थालेको छ । म आफैँ पूर्वाधार विकास समितिको सदस्य छु । तर, समितिको बैठक पनि ‘पर–पर’ सार्ने प्रवृत्ति देखेर दिक्क लागिरहेको छ । जाजरकोटमा भूकम्प गएपछि मैले १० जनाजति माननीयलाई आफैँ फोन गरेर समितिको बैठक बसौँ न भनेको छु । साँच्चै सोचेकोजस्तो काम नहुने रहेछ । कोही पनि सांसद बैठकमा आउनै चाहँदैनन् । संसद् चल्दा त्यसलाई कारण देखाएर समितिको बैठक बस्दैन । तर, जब संसद् बन्द हुन्छ, त्यसपछि पनि अधिकांश सांसद आ–आफ्ना जिल्लातिर लाग्नुहुन्छ । यसरी त यो पाँच वर्षमा पनि केही काम गर्लान् भन्ने मलाई लाग्दैन । एक्लैको पहलले पनि यहाँ नहुने रहेछ । खासमा संसदीय समिति यति बलियो हुन्छ कि उसले मन्त्रीलाई प्रश्न गर्न र निर्देशन दिन पाउँछ । तर, यहाँ बैठक नै सुस्त भएपछि कसरी हुन्छ ?


अर्को कुरा, संसद्मा बोल्ने अवसरचाहिँ निकै कम पाइने रहेछ । एउटा पार्टीबाट सबै सांसदलाई बोल्ने समय छुट्याउँदा एउटा अधिवेशन सकिँदासम्म मुस्किलले एक–दुईपटक बोल्ने मौका पाइन्छ । पार्टीको सचेतकका हिसाबले म आफैँ समय विभाजन गरिदिने ठाउँमा हुँदा पनि अस्तिको बजेट अधिवेशनमा मैले नै बोल्ने समय पाइनँ । शून्य समयमा जुन–जुन विषय उठान गरेँ, त्यसमा पनि जनताबाट राम्रै प्रतिक्रिया आए । तर, उठान भएका विषय सम्बोधन नहुँदा र सम्बन्धित निकायले ध्यान नदिँदाचाहिँ दुःख लाग्छ । सुरुसुरुमा ‘हाम्रो यो विषय पनि बोल्दिनू है’ भन्दै फोन गर्ने जनता धेरै हुन्थे । आजभोलिचाहिँ यस्तो फोन अलि कम आउन थालेको छ ।


संसद् त स्क्रिप्टेड हुने रहेछ
जब म कार्यव्यवस्थाको बैठकमा जान्छु, मलाई हरेक दिन संसद् अनौठो लाग्छ । त्यहाँ पुगेपछि महसुस भयो, हाउस त यस्तो मञ्च रहेछ, जसको स्क्रिप्टचाहिँ कार्यव्यवस्थाले लेख्छ, अनि सदनमा पात्र (सांसद)हरूले मञ्चन गर्छन् । प्रमुख सचेतकको अनुपस्थितमा कहिलेकाहीँ म कार्यव्यवस्थाको बैठकमा जाने गर्छु । आज संसद् कसरी चलाउने, कति बजेदेखि सञ्चालन गर्ने, कस–कसलाई बोल्न दिने, सबै निर्णय कार्यव्यवस्थाको बैठकले नै गर्ने हो । त्यहाँ ‘आज केही विषय छैन, नबोल्दा पनि हुन्छ’ भनेर सहमति गरिन्छ । ‘आज यत्तिकै सकाइदिम्’ भन्छन् । ‘आज हामी आन्दोलन गर्दै छौँ, तपाईं बैठक स्थगित गरिदिनुस्’ देखि ‘आज हामी कपडा खोल्दै छौँ’ सम्मको जानकारी कार्यव्यवस्थामा सभामुखलाई गराइएको हुन्छ ।

 
पछि त्यही कुरा सदनमा मञ्चन हुँदा म चकित हुन्छु । कार्यव्यवस्थाको बैठकमा जाँदा मैले सधैँ ‘यो हाउस बोल्नका लागि सञ्चालन गर्ने हो, सुन्नलाई मात्रै होइन, बोल्ने वातावरण दिनुपर्छ’ भनेर आवाज उठाउने गर्छु । सुन्ने नै हो भने त म घरमै लाइभ हेरेर बस्छु, किन हाउसमा आउने भनेर मैले सभामुखलाई पनि भनेको छु । खासमा कार्यव्यवस्था नै फितलो भएका कारण हाउस राम्रोसँग चल्न नसकेको भन्ने लाग्छ । अर्को कुरा, हाम्रो पार्टीका सांसद शून्य समयमा बोल्दा पनि एकदम अध्ययन गरेर मात्रै जान्छन् । तर, त्यही कुरामा पनि हामीलाई उडाए । शून्य समयमा बोल्न पनि पढेर जानुहुन्छ भन्दै अन्य दलका सांसदले हामीलाई उडाए । 


संसद्मा सबैभन्दा कम उमेरकी भएर मलाई सबैले सुरुमा कान्छी सांसद नै भनेर बोलाउँथे । तर, सचेतक भइसकेपछि कान्छी सांसद कम, धेरैले रास्वपाको सचेतक नै भनेर चिन्नुहुन्छ । सांसद भइसकेपछि मैले प्रधानमन्त्री प्रचण्डसँग तीनपटक भेट्ने मौका पाएँ । म जाँदा ‘कान्छी सांसद आउनुभएछ, झापाको खबर के छ ?’ भनेर सोध्नुहुन्छ । पहिलोपटक सदनमा बोलेको दिन एमालेका सचेतक महेश बर्तौलाले केपी शर्मा ओलीसँग चिनाउनुभएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवासँग भने अहिलेसम्म ‘फेस टु फेस’ हुन पाएको छैन । 


संसद्मा मसँग सबैभन्दा नजिक हुनुहुन्थ्यो, पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ । म ‘सुवास बुबा’ भन्थेँ । पार्टीको सचेतक हुनुअघि मलाई ‘तिमी सचेतक बन्दै छौँ भन्ने सुनेको थिएँ, ड्रेसमा निकै ध्यान देऊ ल’ भन्नुभएको थियो । सचेतकको काम कर्तव्य के हो, जनताको मुद्दा कसरी उठाउनुपर्छ, जनतासँग कसरी प्रस्तुत हुनुहुन्छ, सबै सिकाउनुहुन्थ्यो । फोन कत्तिको आउँछ, कसरी रेस्पोन्स गर्छौ भनेर सोध्नुहुन्थ्यो । उहाँको सुझाव थियो– ‘जे जस्तो भए पनि सकेसम्म सबैको कल रेस्पोन्स गर्नू । कहिल्यै आफ्नो मोबाइल नम्बर चेन्ज नगर्नू ।’ त्यो सुझावले यसरी हिर्काएको छ कि मैले नम्बर परिवर्तन गर्न सकिनँ । सायद गर्दिनँ पनि होला । उहाँ भन्नुहुन्थ्यो, ‘जनतासँग टाढा नहुनू । फोन आउँदा इरिटेट नहुनू । हरेक विधेयक पढ्नू । संशोधन हावा तालमा नहाल्नू ।’ 


त्यस्तै मलाई सांसद प्रेम सुवालले पनि गाइड गरिरहनुहुन्छ । धेरैजसो किताब पढ्न सुझाउनुहुन्छ । एक दुइटा किताब उपहार पनि दिनुभएको छ । माओवादीका सांसद माधव सापकोटाको प्रस्तुति निकै मनपर्छ । संसदीय समितिमा पनि उहाँले अध्ययन गरेर बोलेको देखिन्छ । त्यस्तै, गगन थापा, एमालेका सचेतक महेश बर्तौलालगायतको प्रस्तुति म ध्यान दिएर सुन्छु । महिला सांसदमा सुमना श्रेष्ठको प्रस्तुति मलाई बबाल लाग्छ । राम्रो अध्ययन र सम्बन्धित निकायसँग छलफल गरेर मात्रै उहाँ संसद्मा बोल्नुहुन्छ । एमालेकी सांसद विद्या भट्टराई पनि कम बोल्नुहुन्छ तर राम्रो बोल्नुहुन्छ । 


संसद्मा युवाको टिम छुट्टै बन्ने रहेछ । कहिलेकाहीँ लामो समय हाउस चल्दा हामी चिया पिउन बाहिर निस्किन्छौँ । त्यतिवेला म धेरैजसो युवा सांसदसँग चिया पिउन गइरहेको हुन्छु । तर, मलाई कुरा गर्न अलि मज्जाचाहिँ पाका नेताहरूसँग लाग्छ । रघुजी पन्त, प्रेम सुवाल, चित्रबहादुर केसीहरूसँग सल्लाह लिइरहन्छु ।ह 

सम्पादकको रोजाइ

सुझावित समाचार