उधौली सम्झना

गिलु रातोस गिलु रातोस
शनिबार, २३ मंसिर, २०८०
डिजिटल संस्करण

एह सिम्मा ! 
उधौली लागेपछि 
हिमाल हुँदै मेरो शिरको आकाश ढाकेर
उँधो लागेथे कर्याङकुरुङका बथान
आइपुगे होलान् तिम्रै समुद्र छेउ ।

रैथाने मुहानको मूल चिसिएपछि
साप्सुको छालहरूलाई सोहोरेर 
उँधो लागेथे माछाका बथान
आइपुगे होलान् तिम्रै समुद्र छेउ ।

यसै सोध्न मन लाग्यो–
‘एह सिम्मा !
त्यही बथानमा मिसाएर पठाएथेँ सम्झनाहरू
तिमीसम्म आइपुगे कि आइपुगेनन् ?’

चौतारीको वरबाट बिस्तारै झरिरहेछन् पातहरू
लाग्छ, मेरो सिरानीको सपनाहरू फुत्किँदै छन् 
बगरमा रातो ढुङ्गा देखेपछि
विरह गाउन छाडेको छ थ्युबिम्या चरी
तर बगर–बगर उडिरहेछ बिलौना गर्दै मेरो मन
उँधो बगेको खोला 
उँधै झरेको पात 
उँधैउँधो उडेका चरा
उँधोउँधै लागेको सम्झना
उधौलीमा सबै–सबै उँधो लाग्दा 
उही समुद्रलाई कल्पन्छु
जहाँ बतासलाई छाल हानिरहेछ तिम्रो कपाल ।

यता सुनाखरी फुल्दै गर्दा 
फर्किनेछन् फेरि कर्याङकुरुङ
यता पानीको मूल फुट्दै गर्दा
फर्किनेछन् फेरि माछाहरू
ओ सिम्मा !
उँभौलीमा कसैगरी फर्की आउनू
चराहरूको पखेटा भएर
माछाहरूको हुल बनेर
हामी पनि लागौँ उँभैउँभो
जिन्दगीको चोमोलुङमातिर ।

सम्पादकको रोजाइ

सुझावित समाचार