विभेदकारी शिक्षाविरुद्ध विद्रोहको मसाल

शुरोजंग पाण्डे शुरोजंग पाण्डे
शनिबार, २७ असोज, २०८०
डिजिटल संस्करण

समसामयिक विषय, घटनाक्रम र प्रवृत्तिलाई अभिनयमार्फत महत्वपूर्ण सन्देश प्रवाह गर्ने प्रभावशाली माध्यम हो नाटक । रंगमञ्चले समाजका अनेकन समस्या उजागर गर्दै समाधानको दिशाबोध गर्छ र कलात्मक रूपमा जनतामा सञ्चार गर्ने काम गर्दछ । शिल्पी थिएटर, बत्तिसपुलतीमा १७ असोजदेखि प्रस्तुत यस्तै प्रभावशाली नाटक ‘कालो अक्षर, रातो अक्षर’ले नेपालको शिक्षा प्रणालीको अत्यासलाग्दो वर्गीय खाडल र यसले निम्त्याएको अनेकन समस्याको उजागर मात्र गरेको छैन, शैक्षिक आन्दोलनलाई दिशाबोध गर्दै निद्रामा रहेको सरकार, पार्टी र नेताहरूलाई ब्युँझाउने कोसिस पनि गरेको छ । 


अनेरास्ववियुको प्रस्तुति रहेको नाटकले यतिवेलाको राजनीतिक परिदृश्यलाई मात्र होइन, शैक्षिक माफियाहरूको जगजगीमा नेताहरूको राजनीतिक अवसानको जीवन्त प्रस्तुुति पनि दिएको छ । नाटकले समाजवादी प्रगतिशील चिन्तन बोक्ने सबैको ध्यान खिचेको छ । त्यस्तै, वर्गीय खाडल फराकिलो पारिरहेको मार्क्सवादी भाषाको बुर्जुवा शिक्षा प्रणालीलाई पुनर्गठन गरिछाड्ने कसम पनि खाएको छ । करिब डेढ घन्टाको प्रस्तुति हेरेपछि कथावस्तु, चरित्र चित्रण, संवाद, परिवेश, भाषाशैली, द्वन्द्व, अभिनय रंगशिल्प र उद्देश्यले नाटकलाई जीवन्त बनाउन अपरिहार्य भूमिका खेलेका हुन्छन् भन्ने कुरालाई परिकल्पनाकार, लेखक र निर्देशकले राम्रोसँग बुुझाउने प्रयास गरेका छन् ।

नाटकले देशमा जतिसुकै ठूलो परिवर्तन र बलिदान भए पनि एकखाले शिक्षाले उच्च अभिजात वर्ग जन्माइरहेको र अर्कोखाले शिक्षाले जनताका छोराछोरीलाई मजदुरभन्दा माथि उठ्न नदिएको सन्देश राम्ररी दिएको छ ।


दलाल पुँजीपति र माफियाहरूको राजनीतिक नेतृत्वसँगको पहुँच र उनीहरूले शैक्षिक आन्दोलन तुहाउन खेल्ने षड्यन्त्र, अहिलेका राजनीतिक दलका नेताहरूको दलाल र स्वार्थी चरित्रलाई नाटकले नांगेझार बनाएको छ । उनीहरूको त्यस्तै चरित्र शैक्षिक समानता र निःशुल्क शिक्षाको मौलिक अधिकार कार्यान्वयनमा गम्भीर चुनौतीका रूपमा देखापरेको पात्रमार्फत उजागर गरिएको छ । खासगरी, पछिल्लो ०६२/६३ को जनआन्दोलनपछि शैक्षिक आन्दोलनलाई दिशा दिन नसकेको आरोप खेपिरहेको अनेरास्ववियुले आफ्ना लक्ष्य र क्रान्तिकारी स्पिरिट कायमै रहेको पनि सन्देश दिएको छ ।

त्यस्तै, ०३६ को विद्यार्थी आन्दोलनमा सक्रिय आफ्नै पार्टीका कतिपय नेताहरूसमेत निजी शिक्षाको प्रवर्तक बनेकोमा नाटकले व्यंग्य गरेको छ । नाटकमा दिएको प्रस्तुुतिले व्यवस्था बदलिएको, तर अवस्था नबदलिएको मात्र होइन, केही मुट्ठीभर व्यक्तिहरूलाई लाभ हुँदा लाखौँ युवा बिदेसिएको कथाले उत्तिकै दर्शकको ध्यान खिचेको छ । सार्वजनिक शिक्षा र निजी शिक्षाको विभेद छर्लंग पार्दै नाटकले जतिसुकै ठूलो परिवर्तन र बलिदान भए पनि एकखाले शिक्षाले उच्च अभिजात वर्ग जन्माइरहेको र अर्को खाले शिक्षाले जनताका छोराछोरीलाई मजदुरभन्दा माथि उठ्न नदिएको सन्देश राम्ररी उजागर गरेको छ । निजी शैक्षिक संस्थाहरू विद्यार्थी निर्यात गर्ने कम्पनीको रूपमा खडा भएका तथा सरकारी संस्थाहरू शैक्षिक बेरोजगार उत्पादन गर्ने थलोको रूपमा विकास भएको तथ्यसमेत उद्घाटित छ । 


नायक संगीत नाटकमा सफल देखाए पनि अन्तिममा उनको मृत्यु भएको हो वा उनी जिउँदै छन् भन्ने कौतुहलता कायमै छ । नाटकको पहिलो दृश्यमै सकारात्मक, तर ठट्यौली पाराको भूमिकामा देखिएका राजको अभिव्यक्तिले अहिलेको सामाजिक सञ्जालमा रमाइरहेका पुस्तालाई व्यंग्य पनि गरेको छ । ‘आन्दोलन भन्यो ढुंगामुढा गर्यो, रेलिङ भाँच्यो’ भन्दै पुरानो शैलीका आन्दोलनप्रति केही कटाक्ष गर्दै राजले ‘मायापिरती’ का कुरा गरौँ भन्दै बोलेको संवादले आन्दोलनबाट प्राप्त उपलब्धि आर्थिक अपराधमा परिणत भएको भन्ने संकेत गरेको छ । आन्दोलन र मायापिरती मात्रै होइन, यो नाटकमार्फत आन्दोलनबाटै मिडियाले रातारात बनाइदिएका सेलिब्रेटीहरूको कथालाई पनि कुशल ढंगले उधिन्ने प्रयास गरिएको छ । मजदुरका छोराछोरीलाई फेरि पनि मजदुर नै बनाइरहन बाध्य पार्ने शिक्षाबारे सोच्ने वेला आएको छ भन्ने सन्देश नाटकले दिएको छ । 


बहुदल, लोकतन्त्र र गणतन्त्रसँगै मान्छे बदलियो, तन्त्र बदलियो, मन्त्री बदलिए र व्यवस्था बदलियो, तर अवस्था बदलिएन । यो नबदलिएको अवस्थाप्रति पनि ‘कालो अक्षर, रातो अक्षर’ले बेजोड प्रश्न उठाएको छ । जनताका छोराछोरीमाथि मार्क्सवाद, समाजवाद, माओवादका नारा मात्रै घोकाउने नेताहरूविरुद्ध पनि नाटक केन्द्रित छ । नाटकले थाक्ने र भाग्नेहरूको इतिहास नलेखिने भन्दै आशाको दियो बोकेर हिँड्नुपर्छ भन्ने प्रेरणा दिने प्रयास गरेको छ ।


शैक्षिक माफियाहरूका पक्षमा लागेर पुँजीवादी राष्ट्रसामु हाम्रो देशका नागरिकलाई श्रमिकका रूपमा चिनाउन राज्य नै लागिपरेको र त्यसका विरुद्ध अझै आक्रामक हुन जरुरी छ भन्ने सन्देशसहित नाटकले माफियातन्त्रका विरुद्ध बिगुल फुक्ने प्रयत्न गरेको छ । 


शिक्षा, स्वास्थ्य, जातीय विभेद आदिका बारेमा समेत केही उठान गरिएको नाटकमा निर्देशक दिलीपले चिया बेच्ने आमा पात्रमार्फत सन्तानको शिक्षाका लागि उमेरजति सबै चियामा उमालेर सक्ने हजारौँ आमाहरूको कथालाई उन्ने प्रयास गरेका छन् । विद्यार्थी नेता दिलीपको मिहिनेत हेर्दा उनी राम्रो नाट्य निर्देशकको पथमा लम्किने प्रयासमा देखिएका छन् । रंगमञ्चको पृष्ठभूमिमा मधुर स्वरमा बजिरहेको गीत ‘खोलाको पानी यो जिन्दगानी’ जस्तै सन्तानको शिक्षाका लागि हड्डी बूढो बनाएपछि शिक्षा र रोजगारीका लागि बिदेसिन बाध्य युवाहरूको कथालाई पनि निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ । 


नाटकका परिकल्पनाकार समिक बडाल अनेरास्ववियुका अध्यक्ष हुन् । उनी आफैँलाई प्रश्न उठाएर यो नाटक परिकल्पना गरेका छन् । लेखक आरके रोमस र निर्देशक दिलीप खड्का पनि अनेरास्ववियुका केन्द्रीय सदस्य हुन् । उनीहरूको यो सिर्जनशीलताले सिंगो विद्यार्थी आन्दोलनलाई दिशाबोध गरेको छ । 


नाटकमा अनुप न्यौपाने, अजय लामा, दिपेश काफ्ले, बालकृष्ण रिजाल, मिलन कार्की, योगिन राई, रेनुनाथ योगी, रमिला मोक्तान, संगीता थापा, सञ्जीव राई, सुजैन सिलवाल, सुदीप खतिवडा र शान्ता राईको राम्रो अभिनय छ । 

सम्पादकको रोजाइ

सुझावित समाचार