दोस्रो विश्वयुद्धताका जापानको मुख्य निसानामा थियो, बर्मा । आकाशबाट गोलाबारी सुरु भएपछि ज्यान जोगाउन धेरै नेपाली बर्मा छाडेर भागे । तिनै बर्मेली नेपालीको कथालाई दार्जिलिङका प्रसिद्ध साहित्यकार इन्द्रबहादुर राईले सन् १९६१ ताका ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’मार्फत सार्वजनिक गरेका थिए ।
झन्डै ६ दशकअघि लेखिएको त्यो कथा नेपाली (गोर्खा) समाजमा अझै सान्दर्भिक नै छ । यो कथालाई अग्रज रंगकर्मी सुनील पोखरेलले पहिल्यै नाट्य रूपान्तरण गरिसकेका थिए । मोरङको पथरीका युवा रंगकर्मी जीवन बरालले त्यही कथालाई पुनः फरक ढंगले प्रस्तुत गरेका छन् । रंगकर्मी सिजन दाहालले नाट्य रूपान्तरण गरेको नाटक असोज १२ देखि दमकको कदम थिएटरमा जारी छ ।
कथाअनुसार दोस्रो विश्वयुद्धका कारण बर्माका नेपालीभाषीले आफ्नो थातथलो छाड्छन् । उनीहरूको यात्रा भारत असमको लिखापानीतिर मोडिन्छ । त्यो यात्राको नेतृत्वकर्ता छन्, सुबेदार । उनका छोरा सेनामा छन् । कहाँ छन् ? कस्तो अवस्थामा छन् अत्तोपत्तो छैन । छोरी जयमाया, श्रीमती र गाउँलेको नेतृत्व गर्दै उनको यात्रा मोडिन्छ लिखापानीतिर ।
लिखापानीमा आफन्त थिएनन् । मात्रै नेपाली (गोर्खा) मन थियो । बुबा सुबेदारको पछि लागेकी छन्, १५ वर्षीया जयमाया । लिखापानीसम्म पुग्ने आसमा हिँड्दै गर्दा पीडा सहन नसकेर आफ्नाले आफ्नैलाई मार्नुपरेको, खाना नपाएर भोकै मर्नुपरेको, दर्दनाक पीडाको दृश्य नाटकमा देखाइएको छ । पानी–झरीले रुझ्दा बिरामी परेका बर्मेली नेपालीभाषीले ज्यान गुमाएका पीडा उस्तै छन् । ज्यान बचाउन हिँडेका नेपालीभाषीले के कारण बीचमै प्राण त्याग्छन् ? त्यो थाहा पाउन दमकस्थित कदम थिएटरको ‘पाङ्वाइलाहिम’ (नटकघर)सम्म पुग्नैपर्छ ।
०००
१५ वर्षीया जयमायालाई युद्धको सन्त्रासले छोपेको छ । त्यही सन्त्रासले निम्त्याएको लिखापानीसम्मको यात्रा कष्टकर छ । नाटककी मुख्य पात्र जयमायासँगै यात्रामा निस्किएका बुबा–आमा, गाउँले गुमाउँछे । आफ्ना रहर गुमाउँछे । अर्थात् लामो यात्रापछि ऊ मात्र लिखापानी आइपुग्छे । कष्टकर यात्रामा आफूले असाध्यै माया गर्ने व्यक्ति गुमाउनुपर्छ । केही दिनको यात्रा त एकले अर्कालाई सहयोग गर्दै अघि बढ्छ । तर, निरन्तर यात्रा बढ्दै जाँदा सबै थकित हुन्छन् । खानलाई अन्नको जोहो हुँदैन । पानीमा रुझ्दै यात्रा गर्दा बिस्तारै बिरामी पर्न थाल्छन् । शरीरको शक्ति गुम्दै जान्छ । अनि एकले अर्काको मृत्यु हेर्नुको विकल्प रहँदैन । यात्राकै क्रममा युवासुले असाध्यै माया गरेकी आफ्नी श्रीमतीको हत्या गर्नुपर्ने अवस्था आउँछ । बिमारले छट्पटिएकी श्रीमतीको पीडा हेर्न नसकेर युवासु गोली ठोक्न बाध्य छन् । आफ्ना पुर्खा खोज्दै ज्यान बचाउन हिँडेका अधिकांश नेपालीभाषी बर्मेलीको पाइला बीचमै रोकिन्छ ।
०००
हिजो नेपालीभाषी (नाटकअनुसार गोर्खाली) ले ज्यान बचाउन बर्मा छाडे । आज परिस्थिति फेरिएको छ । सुन्दर जीवनको कल्पना गरेर नेपालीहरू दैनिक सयौँको संख्यामा खाडी मुलुकसम्म पुगेका छन् । हिजो शासकको डरले बर्मा, भुटानबाट नेपालीभाषी लखेटिए । नाटकले आठ दशकअघिको त्यो बाध्यता मात्र होइन, आजको परिस्थिति पनि समेटेको छ । आज असीमित आवश्यकता पूरा गर्न र रहरले बुढेसकालका बुबाआमा छाडेर ‘ग्रिनकार्ड’को लोभमा बिदेसिइरहेका छन् । रहरले मात्र होइन, बाध्यताको पोको बोकेर रुँदै साउदी, कतार, मलेसिया पुग्नेहरूको व्यथा अझ चर्को छ । नाटकले यो दृश्यलाई पनि समेटेको छ ।
पूर्वी नेपालका तीन नाटकघर ‘कदम थिएटर’ दमक, ‘परिवर्तन थिएटर’ काँकडभिट्टा र ‘चेतना नाट्य समूह’ इलामले धमाधम नाटक मञ्चन गरिरहेका छन्
नाटकमा बर्मेली नेपाली भाषीले लिखापानी आउँदा गरेका कष्टलाई पुनर्ताजगी गराएको छ । सीमित स्रोतसाधनका बाबजुद कदम थिएटरले तयार पारेको नाटकले निकै प्रशंसा बटुलिरहेको छ । इलाम रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो नाटकले मनै कटक्कै पारेको बताउँछन् । ‘यो नाटकले देखाएको विषयले मन छोयो । आँसु थामिएन,’ उनी भन्छन्, ‘मोफसलमा यत्तिकोे नाटक मञ्चन हुनु असाध्यै राम्रो हो ।’
नाटकमा अनुभवी कलाकार थिएनन्, हालै कदममा तीन महिनाको ‘थिएटर क्लास’ सिकेका विद्यार्थी थिए । र पनि, कलाकारले आफ्नो भूमिकालाई उत्कृष्ट ढंगले निभाएका छन् । नाटकमा चारजना भुटानी शरणार्थी कलाकारले पनि अभिनय गरेका छन् । ती कलाकारमध्ये केही तीन दशकअघि भुटानी शासकले लखेट्दा आमाको काखमै देश छाडेका थिए । केही नेपाल आएर जन्मिए । भुटानी शरणार्थी र बर्मेली नेपालीभाषीले पाएको दुःखको कथा उस्तै–उस्तै छ । उनीहरूका पुस्ताले भोगेको पीडासँग साक्षात्कार भएर होला, नाटकमा त्यो संवेदना देखिन्छ । कलाकारको अभिनयले दर्शकको मथिंगल हल्लाएको छ । आँखा रसाएका छन् ।
निर्देशक जीवन बरालले रंगमञ्चको सेटलाई वास्तविकतामा ढाल्ने राम्रो कोसिस गरेका छन् । नाटकमा केही कमजोरी भने पक्कै छन् । जसलाई कलाकार र निर्देशकले सुधार्न सके आगामी दिनमा तयार गर्ने नाटक झनै उत्कृष्ट हुन्छ । हुन त कलाकारले पहिलो नाटक गर्दै छन् । तर, रंगमञ्चको सेटमा छिरेपछि यो उनीहरूको पहिलो नाटक हो भनेर दर्शकले माफी भने दिनेछैनन् । यसमा कलाकारले ध्यान दिनुपर्छ । नाटकका कुनै–कुनै दृश्य कलाकारले अनावश्यक लम्ब्याएको देखिन्छ । जसले नाटकलाई पट्यारलाग्दो बनाएको छ । निर्देशकले यो अनावश्यक दृश्यमाथि काम गर्नुपर्ने देखिन्छ । निर्देशक बराल र कलाकारहरूले यी कमजोरीलाई सुधार्न सके नाटक अझै उत्कृष्ट बन्ने थियो ।
कदम थिएटर सुरु हुनुभन्दा पहिला दमकमा नाटकको संस्कार थिएन । फाट्टफुट्ट नाटक भए पनि रंगमञ्च नै पुगेर नाटक हेर्नुपर्छ भन्ने संस्कारको विकास भएको थिएन । तर, कदमले आफ्नो स्थापनाको सात वर्षमा भरिभराउ दशर्कबीच नाटक प्रदर्शन गर्न थालेको छ । पैसा तिरेर नाटक हेर्ने बानी बनाएको छ । थिएटरको यो मिहिनेतलाई सम्मान गर्नैपर्छ ।
नाटकमा जाग्दै पूर्वी नेपाल
कदम थिएटरको ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’को मञ्चन नसकिँदै इलामको चुलाचुली रंगमञ्चले दमकमै ‘झोडा’ मञ्चनको तयारी गर्दै छ । गणेश रसिकको उपन्यास ‘आकाशगंगाको ओतमुनि’मा आधारित कथालाई सुमन लिङ्देनले नाट्य रूपान्तरण र चेतन आङ्थुपोले निर्देशन गरेका छन् । नाटक २६ असोजदेखि ३० गतेसम्म मञ्चन हुँदै छ । ‘यो कथा पहाडबाट तराई झरेर झोडा फाँडेर बस्नेको हो । झोडा फाँडेको कालखण्ड धेरै लामो छ । तर, हामीले ०२६ देखि ०३२ सालसम्मको कथालाई समेटेका छौँ,’ निर्देशक आङ्थुपो भन्छन् ।
२२ असोजदेखि कात्तिक २ सम्म इलामको ‘चेतना नाट्य समूह’ले इलाम बजारमा नाटक ‘चियाबारी मिठ्ठो चियाको कथा’ नाटक मञ्चन गर्दै छ । यो नाटक इलामको चियाबारे रहेको समूहका अध्यक्ष तथा रंगकर्मी सुरेश पोर्तेल बताउँछन् । ‘इलामको चियाको ब्रान्डिङ गर्ने उद्देश्यले नाटक तयार पारेका छौँ,’ उनले भने, ‘निःशुल्क चिया टेस्टिङ गराउँछौँ । चियाको फोटो प्रदर्शनी र चियाबारे प्यानल डिस्कसन पनि गर्छौँ ।’ नाटकको निर्देशन तथा परिकल्पना युवा रंगकर्मी अन्वेष थुलुङले गरेका हुन् ।
सीमावर्ती सहर काँकडभिट्टामा पनि ‘परिवर्तन थिएटर’ले असोज २५ देखि कात्तिक ३ सम्म ‘म्लेच्छ’ नाटक प्रदर्शन गर्दै छ । थिएटरले चार वर्षपछि नाटक प्रदर्शन गर्न लागेको नाट्य निर्देशक कविता नेपालले बताइन् । ‘कोभिडका कारण नयाँ नाटक देखाउँनै सकिएको थिएन,’ नेपालले भनिन्, ‘लामो समयपछि देखाउन लागेका छौँ ।’
पत्रकार पर्वत पोर्तेलले लेखेको नाटक ‘म्लेच्छ’ मा आदिवासीको कथा भन्न खोजिएको छ । जसलाई युवा रंगकर्मी गणेश बस्नेतले निर्देशन गरेका छन् । ‘आदिवासीको इतिहास र वर्तमान नाटकमा देखाउने प्रयत्न भएको छ,’ निर्देशक बस्नेतले थपे ।