भेट

प्रेमिला राई प्रेमिला राई
शनिबार, ४ चैत, २०७९
डिजिटल संस्करण

कविता

भेट्न त हामीले जीवनको कुनै पनि मोडमा 
नभेटिऔँ भनेका थियौँ
तर संयोगवश
हामी आन्दोलनमा भेटियौँ
म शासक प्रशासकहरूविरुद्ध खबरदारी गरिरहेथेँ
तिमी त्यहीँ हुलमा मुठी उठाइरहेका रहेछौ
म लाल गद्दारहरूलाई चेतावनी उद्घोष गरिरहेथेँ
तिमी त्यही वेला नारा लगाइरहेका रहेछौ ।

भेट्न त हामीले चोक, चौतारा, देउराली
कतै नभेटिऔँ भनेका थियौँ
तर हामी आन्दोलनमा भेटियौँ

छुटिनुपूर्व लहर नमिलेका पहाडजस्तै
हाम्रा आस्था र विचारहरू
आज एकैठाउँ भएछ
वर्षौंपछि हामी भेटिएका छौँ
भेट्न त हामीले जीवनको कुनै पनि मोडमा 
नभेटिऔँ भनेका थियौँ 
तर आज सडकमा भेटियौँ ।

मलाई अझै पनि सम्झना छ 
धेरैअघि हामी दोबाटोमा छुट्टिएका थियौँ
कहिले नभेटिने उज्यालो र अँध्यारोजस्तै
तिमीले सोच्ने तरिका अलग
मैले बाँच्ने तरिका अलग
हामी एकै भएर पनि
आकाश र धर्तीजस्तै छुटेका थियौँ
अलग बाटो समातेका थियौँ
हामीले अलग यात्रा हिँडेका थियौँ ।

मलाई अझै पनि सम्झना छ 
हामीले छोडेको बिन्दु नै अन्तिम थियो
तर कसो हामी दुई फरक ध्रुवमा उभिएका मान्छे
आज यो ध्रुवमा भेटियौँ 
मलाईजस्तै आश्चर्य तिमीलाई पनि लागेको हुनुपर्छ
मलाईजस्तो छट्पटी तिमीलाई पनि लागेको हुनुपर्छ 
भेट्न त हामीले सपनीमा पनि नभेटौँ भनेका थियौँ
तर आज यस्तो महत्वपूर्ण घडीमा भेटियौँ ।

थाहा छैन
बादलबाट छुट्टिएको पानीको थोपाजस्तै छुट्टिएका हामी 
कसरी भेटियौँ ?
हुन सक्छ पानी समुद्रमा पुगेर बादल बनेझैँ
तिमीले आफ्नो धारणा परिवर्तन ग¥यौ कि म बदलिएँ ?
तिमीले आफ्नो अहंकार तोड्यौ कि
म फेरिएँ ?
या त यो पृथ्वीको धरातल बदलियो ?
फरक ध्रुवमा उभिएका हामीहरू
आज यसरी भेटिएका छौँ 
छुट्टिनुअघि जसरी त्यो अन्तिम बिन्दु थियो
भेटिएपछि उस्तरी नै यो सुरुवाती बिन्दु हुन सक्छ 
या त नहुन पनि सक्छ
तर हामी अनौठो गरी यसरी भेटियौँ
यो भेट अन्तिम पनि हुन सक्छ
या त निरन्तर भेटिइरहने पहिलो पनि हुन सक्छ ।

भेट्न त हामीले जीवनको कुनै पनि मोडमा 
नभेटिऔँ भनेका थियौँ
तर संयोगवश
हामी आन्दोलनमा भेटियौँ ।

नभेटिनु भेटिएपछि
हामीले एउटा शब्द त बोल्नै थियो
जुन आन्दोलनले व्यहोर्थ्यो
झरीपछिको
बाहिर आँगनमा फुलेकोजस्तै जिन्दगी ।

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार