त्यसपछि आमा खुब रुनुभयो

रीता साह रीता साह
शनिबार, २१ बैशाख, २०७६
डिजिटल संस्करण
त्यसपछि आमा खुब रुनुभयो

पेन्टिङ : एरिना ताम्राकार

काठमाडौंमा मातातीर्थ औँसीलाई आमाको मुख हेर्ने दिन भनेर मनाए पनि मधेसी समुदायमा भने मनाइन्न । यो चलनबारे म काठमाडौं आएपछि मात्रै थाहा पाएँ । पछिल्लो समयमा मधेसीहरूले पनि सामाजिक सञ्जालमा आमाको फोटो राखेर त्यस दिनलाई सम्झिने गर्छन् । आमाको मुख हेर्ने दिनले आमा र छोरीको सम्बन्धलाई पनि दर्शाउँछ । विशेष गरेर बिहे भएका छोरीसँगको सम्बन्धलाई अझ बलियो बनाउने पर्वका रूपमा लिने गरिन्छ । जब आमाको मुख हेर्ने दिन आउँछ त्यतिवेला म आमालाई खुब सम्झिन्छु । 

हुन त बिहे गरेकी छोरीका दुईवटी आमा हुन्छन् भन्छन् । पहिलो, जन्म दिने आमा । दोस्रो, सासू आमा । तर, दुवै आमासँगको सम्बन्ध फरकफरक हुने गर्छ । दुवैको अपेक्षा र व्यवहार पनि फरक—फरक हुन्छ । मैले पनि दुवै किसिमको अनुभव बटुलेँ ।मेरी आमाले आजभन्दा ४० वर्षअगाडि आफ्नो अधिकारका लागि जुन संघर्ष गर्नुभयो, त्यो कुनै महिला अधिकारकर्मीको भन्दा कम थिएन । मेरो जन्म गाउँ ‘कनकट्टा’ सप्तरी जिल्लाको दक्षिणी भेगमा पथ्र्यो । हामी संयुक्त परिवारमा बस्थ्यौँ । हाम्रो परिवार गाउँभरिमै धनी थियो । गाउँमा हाम्रो हजुरबुबालाई ‘सेठजी’ भन्थे । जमिन्दार परिवारमा महिला घरबाहिर जाने चलन पनि थिएन् । घरभित्रको चुलोचौकाको काम गर्ने जिम्मा महिलाको हुन्थ्यो । तर, आमाको चाहना थियो छोरीहरू घरको कामसँगै पढाइ पनि गरून् । 

छोरीबेटीले नामसम्म लेख्न जाने भइहाल्यो भन्थे हजुरबुबा, हजुरआमा । उहाँहरूको चाहना हुन्थ्यो, स्कुल पठाउनुको सट्टा घरकै काम गरून् । तर, आमाले हामीलाई पढाउन चाहनुहुन्थ्यो । आमाले भन्नुहुन्थ्यो, ‘बरु घरमा गर्नुपर्ने सबै काम म एक्लै गर्छु तर छोरीहरूले पढ्नैपर्छ ।’गाउँको स्कुलमा सात कक्षासम्म मात्रै पढाइ हुन्थ्यो । आठ कक्षा पढ्न हामीलाई राजविराज पठाउनुभयो । राजविराजमा पनि हाम्रो घर थियो तर त्यहाँ कोही अभिभावक बस्दैनथे । २०४६/४७ साल ताका हाम्रो गाउँमा छोरी मानिस एक्लै राजविराजमा गएर बस्न सहज थिएन् । छिमेकी र नातेदारहरूले कुरा काट्थे । छोरीको बिहे गर्ने वेलामा पढ्न पठाउँछन् भन्थे ।

कतिपयले भन्थे, ‘अहिले छोरीलाई पढाउन पठाएका छन्, भोलि जागिरमा पठाउलान् । आफ्नो बाबुबाजेको सम्पत्तिले नपुगेर अब छोरीको कमाई खान खोजेका छन् ।’ यी यस्तै कुराहरू भन्दै गिज्याउने गर्थे । यी कुराहरूको सामना गर्दै आमाले हामी दुवै दिदीबहिनीलाई शिक्षित बनाउन अथक प्रयास गर्नुभयो । दाजु र भाइसहित जब हामी चारजना स्कुलमा पढ्न थाल्यौँ । पढाइमा हुने खर्चलाई लिएर परिवारभित्र झगडा हुन थाल्यो । त्यत्रो धनी परिवार भएर पनि खर्चलाई लिएर झगडा अस्वाभाविक थियो । अहिले आएर सम्झिँदा त्यो झगडा खर्चलाई लिएर थिएन् । बरु, इगोको लडाइँ थियो । नातिनीहरूलाई धेरै किन पढाउनुप-यो भन्दाभन्दै बुहारीले नमानेको रिस थियो । हजुरबुबाको त्यसपछि आमाले अड्डी लिनुभयो, बरु, सगोल परिवारबाट छुटिन्छु तर छोरीहरूको पढाइ रोक्दिन भन्नुभयो । हाम्रो परिवारमा भागबन्डा भयो । हामी छुट्टियाैँ । बुबा साह्रै सोझो हुनुहुन्थ्यो । कम बोल्नुहुन्थ्यो । उहाँको सोझोपनका कारण धेरैले हाम्रो सम्पत्तिमा आँखा लगाएका थिए । विशेष गरेर मेरो काकाले हाम्रो भागको सम्पत्ति पनि हडप्न खोज्थे ।

कतिपय छिमेकीहरू पनि जोडबल गर्ने, काकालाई नै साथ दिन्थे । गाउँमा कसैको घरमा दाजुभाइ छुट्टिँदा जमिन र सम्पत्ति बाँडफाँटका लागि पञ्चायत बोलाउने चलन थियो । अहिले पनि गाउँघरमा हुने त्यस्ता पञ्चायतमा लगभग सबै पुरुषहरू नै हुने गर्छन् । त्यस्तो सामाजिक जमघटमा महिलाको उपस्थितिमा अघोषित बन्देज लागेको हुन्छ । तर, हाम्रो घरआँगनमा हुने पञ्चायतमा बुबासँगै आमा पनि जानुहुन्थ्यो । आमा जब ‘पंचैती’मा जानुहुन्थ्यो, उपस्थित कतिपय पञ्चहरूले विभिन्न किसिमको अपशब्दहरू प्रयोग गरेर आमालाई होच्याउने गर्थे । जस्तै : मेरो घरमा (मौगियागी जुइत) आइमाईको निर्णय चल्छ भन्थे । त्यस्तो भन्नेहरू प्रायः काकाका पक्षका मानिस हुन्थे । तिनीहरूको चाहना हुन्थ्यो, आमा त्यस पंचैतीमा उपस्थिति रहेन भने बुबालाई झुक्याएर पनि सम्पत्ति बाँडफाँटमा जालझेल गर्न सकिन्छ । 

बुबा गाउँकै स्कुलको शिक्षक हुनुहुन्थ्यो । हाम्री आमा घरदेखि बाहिरसम्मको काम पनि गर्नु हुन्थ्यो । पुरुषले गर्ने सबै काम आमाले आफँै गर्नु हुन्थ्यो । खेती गर्नेेदेखि घरको काम पनि उहाँले आफैँ सम्हाल्नुहुन्थ्यो । जुन त्यतिवेलाको समाजमा अपाच्य थियो । पितृसत्तात्मक सोच र संरचनाले बनाएको पर्खाललाई भत्काएर सम्पत्तिको रक्षा गर्नु आमाका लागि बाध्यता थियो भने छोराछोरीलाई शिक्ष्तिि बनाउने उहाँको सपना थियो । त्यतिवेलाको समाजमा यस्तो जोखिम उठाउन ठूलो साहस चाहिन्थ्यो । आमाको सपना थियो—आफू पढ्न नपाए पनि सबै छोराछोरीलााई शिक्षित बनाउने । आमाको चाहना थियो छोरा इन्जिनियर बनोस् । तर, मेरो गाउँमा त्यतिवेला पढाइलेखाइभन्दा पनि लडाइँ, झगडाको माहोल बढी थियो ।

यता हजुरबुबाको चाहना हुन्थ्यो नातिहरू स्कुल गए पनि नातिनीहरू घरकै काम गरून् । हजुरबुबा, हजुरआमाको भन्नुहुन्थ्यो, ‘छोरीबेटीले धेरै पढेर कामै छैन । आफ्नो  नाम, ठेगाना लेख्न सिके भइहाल्यो नि ! तर आमाले हामीलाई पढाउन चाहनुहुन्थ्यो । आमाले भन्नुहुन्थ्यो, ‘बरु घरमा गर्नुपर्ने सबै काम म एक्लै गर्छु तर छोरीहरूले पढ्नैपर्छ ।’
०००
२०४८ साल तिरको घटना हो, मेरो गाउँमा जातीय तथा बस्तीको हिसाबले गुटहरू क्रियाशील थिए । वेलावेलामा दुई पक्षबीच हिंसात्मक झडप हुन्थ्यो । दिनदिनै गाउँमा झगडा हुने, पुलिस आउने र मुद्दा चल्ने सामान्य थियो । गाउँभरिका युवा गुट/उपगुटमा विभाजित थिए । दाइ पनि त्यस्तै एक गुटमा लागेका थिए । त्यतिवेला आमा धेरै चिन्तित हुनुहुन्थ्यो । अब छोरालाई इन्जिनियर बनाउने सपना तुहिने भो भनेर पीर गर्नुहुन्थ्यो । म पनि त्यसवेला केही दिनका लागि गाउँमै थिएँ । एकरात आमा अचानक रुनु भयो । हामी सबै आश्चर्यचकित भयौँ । 

मधेसी समाजमा छोरीको पालनपोषण गर्ने जिम्मेवारी आमाले नै लिन्छिन् । छोरीले लगाउने लुगाको छनोटदेखि बिहेका लागि केटो छान्नेसम्म 
आमाको महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले मधेसमा छोरीका लागि आमा संरक्षक मात्रै होइनन्, भगवान् पनि हुन् । 

आमाको रुवाइले दाइलाई सोचमग्न बनायो । अबदेखि गाउँको कुनै गुटमा नलाग्ने र तत्काल सहर जाने निर्णय गर्नुभयो दाइले । अहिले त्यो दिन सम्झिँदा यस्तो लाग्छ एउटी आमाले चाहे भने आफ्ना बच्चाका लागि जे पनि गर्न सक्छन् । आमाले देखाएको साहसका कारण आज हामी गाउँकै शिक्षित परिवारमा गनिन्छौँ । मेरो दाइ इन्जिनियरिङ पढेर क्यानाडा बसिराख्नु भएको छ । भाइ र म स्नातकोत्तरसम्मको पढाइ पूरा गरेर आफ्नो  जीविकोपार्जन आफैँ गर्न सक्षम छौँ ।

मधेसी समाजमा छोरीको पालनपोषण गर्ने जिम्मेवारी आमाले नै गर्छन् । छोरीले लगाउने लुगाको छनोटदेखि बिहेका लागि केटा छान्नेमा आमाको महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले मधेसमा छोरीका लागि आमा संरक्षक मात्रै होइन् तथा जन्मदाता मात्रै नभएर भगवान् पनि हो । मेरी दिदीको सानै उमेरमा बिहे भए पनि  मलाई डाक्टर बनाउने चाहना थियो । म डाक्टर त बनिन् तर नर्स बन्न सफल भएँ । आज ती दिनहरू सम्झँदा यस्तो लाग्छ मेरो आमा आफू अनपढ भए पनि पढाइको महत्व बुझेर हामीलाई शिक्षित बनाउन ठूलो आँट देखाउनुभयो । 

बिहेअघिसम्म मेरो पढाइमा जति उहाँको योगदान रह्यो, त्यसभन्दा पनि बढी बिहेपछि रह्यो । मेरो उच्च शिक्षाको पढाइ बिहेपछि बच्चा पाइसकेपछि मात्रै पूरा भएको थियो । अधिकांश महिलाहरू बिहेपछि आफ्नो  पढ्ने इच्छा पूरा गर्न सक्दैनन् । आज मैले स्नातकोत्तरसम्मको पढाइ पूरा गरेँ । त्यो पनि आमाका कारणले । बिहेपछि म काठमाडौं बस्न थालेँ । उच्च शिक्षाका लागि भर्ना भएँ । तर, स्नातक प्रथम वर्षमा नै म गर्भवती भएँ । मलाई पढाइ छोड्ने मन थिएन, साथै मेरो बच्चालाई पनि सही तरीकाले हुर्काउने चाहना थियो । यी दुवै काम एकसाथ गर्न धेरै गाह्रो थियो । त्यतिवेला मैले घरमै बसेर पढ्ने निर्णय गरेँ । घरको काम बच्चाको स्याहारसुसार एकसाथ गर्दा पढाइमा एकाग्रता हुँदैन्थ्यो । अनि, म कहिलेकाहीँ धेरै निराश हुन्थेँ । अनि, त्यतिवेला आमाले सम्झाउँदै भन्नुहुन्थ्यो, ‘तिमी निराश नहोऊ, तिम्रो परीक्षाका वेला म आउँछु ।’

अहिले पनि हाम्रो समाजको कतिपय परिवारमा विवाहपूर्व पनि छोरीलाई नपढाउने चलन छ तर मेरी आमाले बिहेपछि पनि मेरो पढाइका लागि सहयोग गर्न काठमाडौंसम्म  आउनुभयो । महिनौँ बस्नुभयो । आज म जे छु, मेरी  आमाका कारण छु ।

सम्पादकको रोजाइ

सुझावित समाचार