‘हिउँ फाल्दा करङ दुख्यो, निको भा नाइँ’

कुन्साङ कुन्साङ
शनिबार, २१ बैशाख, २०७६
डिजिटल संस्करण

अघिल्लो वर्षको भदौ २४ गते । बुबाको मुख हेर्ने दिन । हावाको वेगमा दौडेर भाइ मेरो नजिकै आयो । मेरो हातमा एउटा हरियो रङको कागज थमाउँदै उसको थोते बोलीमा भन्यो, ‘दिदी आज त फादर्स डे हो । तपाईं मेरो स्कुल आउन भ्याएनुभएन । अब मदर्स डे पनि आउँछ रे । त्यतिवेला तपाईं मेरो स्कुलमा जसरी नि आउनु है ।’ 

त्यो हरियो कागज खोलेर हेरेँ । त्यसमा उसले टेडोमेडो अक्षरमा कोरेको रहेछ चित्र । उठ्न लाग्या सुपर म्यानजस्तो, एकजना मान्ठा, एउटा तारा अनि चक्लेटजस्तो केही । यो सानो चित्रमा धेरै, कत्ति धेरै भावनाहरू ! केही बोल्नै सकिनँ । स्तब्ध भइगएँ ।आज आमाको मुख हेर्ने दिन । म भाइको उही थोते बोली सम्झिरहेछु । अब त उसले तोते बोली बोल्न पनि काम गरिसक्यो । तर, मेरो कानमा गुन्जिरहेछ, भाइको उही शब्द । सम्भवतः आज मेरो भाइले पक्कै केही भन्नेछ मलाई । 

हुम्ला, खगालगाउँ छाडेर काठमाडौं पसेको पनि वर्षौं बितिसकेछ । आज पनि मेरो मस्तिष्कको कुनाकाप्चामा बारम्बार सल्लाइरहन्छ सम्झनाका अनेकन् धूमिल तस्बिरहरू । ती अनेकन् धूमिल तस्बिरहरूमाझ प्रस्टै देख्छु आमालाई । आमालाई कहिल्यै सुस्ताएको, थाकेको, अल्छी मानेको देख्या छैन । सधैँ केही न केही काम गरिरहेकै देख्छु । हुन पनि आमालाई कहिले कामहरूबाट फुर्सदै मिल्दैनथ्यो । अहिले पनि केही न केही काम गर्दै हुनुहुन्छ होला । 

यो वर्षको चैत उराठ नै बित्यो । ठ्याक्कै मेरै मुडजस्तो भयो । छिनमै पानी पर्छ, छिनमै घाम लाग्छ । अहिले एकदमै चर्को घाम लागिरहेको छ । यो चर्को घाम लाग्दा म सम्झिन्छु, मेरो हुम्ला । हो, यतिवेला म नारायणचौरको एउटा बेन्चमा बसी हुम्ला सम्झिरहेछु । यो गर्मीमा हिउँको कल्पनाले मात्रै पनि केही शीतलता दिँदो रहेछ । घर सम्झिरहेँ । आमाले भनेका कुराहरू पनि मगजमा घुमिरहे । आमालाई फोन गरेँ । फोन लागेन । फोन लाग्दैन भन्ने थाहा थियो । तर, तीनपटक फोन गरेँ । 
०००
एक दिन आमाले फोन गरेर दुखेसो सुनाउनुभएको थियो । आमाले भन्नुभएको शब्द अहिले पनि म सम्झन्छु । उहाँले भन्नुभएको थियो– लामाले यो वर्ष अम्तै (धेरै) हिउँ पर्छ भनेको छ रे । अस्ति तीन खेप हिउँ परिसक्यो रे । त्यो हिउँ राम्ररी बिलाएकै छैन । कतै मेला पनि निस्क्या छैन । फारु गरीगरी दिँदा पनि घाँस सकिन लाइगो । जोपा–जुमा (चौँरीका बच्चाहरू) र घोडाहरू गोठमा बसीबसी हुक्की (आत्तिनु) सकेछन् । भरी पेट खान पाउँदैनन् । आज फेरि आकाश गड्याङडुङ गर्दै छ । अब फेरि हिउँ पर्छ होला । घट्ट पिस्न जाने बाटोचाहिँ अलि–अलि खुल्या छ ।

हिउँ पर्नुपहिले घट्ट पिस्नुप-यो भनेर तेरो आनी  (फुपू), निने (माइजू) हामी तीनजना घोडामा भारी लादेर घट्ट पिस्न गाको, बाटोमा निकै गाह्रो भयो । बाटो सानो रहेछ । हिउँ भासिएर झन् घोडा हिँड्नै धेरै गाह्रो भयो । हिउँपहिरोको पनि उत्तिकै डर थियो । घट्ट पिसेर फर्कंदा बाटोमा घोडाको भारी बिग्रियो । भारी बनाउन लगाम समातेकी तेरी आनीको घोडाले ठोकेर हात सुन्निएको छ । सुरुमा त त्यस्तो दुख्या थिएन । अचेल पो दुख्न थाल्या छ रे । हिजु ढुंगा तताएर सेकाएँ, अघि लगर (फापरको रोटी) ले सेकाएँ । फेरि पनि उस्तै छ । घरभित्रको काम त जसोतसो गरिजाउँला । अब हिउँ प-यो भने कसरी हिउँ फाल्नु ? तेरो आपा र आस्याङ पनि कहिले फुरु (काटको बटुको) लिएर फर्किने हो, थाहा पत्तो नाइँ । हिउँ परेदेखि बिदो (आकाश सफा हुनु) भए पनि घाम लाग्या छैन । घामै लाग्दैन, कहाँबाट सोलार चार्ज हुनु ? घरमा खाना बनाउँदासम्म पनि बत्ती पुग्दैन । फोन चार्ज गर्न पाएको छैन । फोन पनि फारु गरीगरी चलाउनुपर्दो छ । 
०००
एक समय यस्तो पनि हुन्छ, जतिवेला हुम्लाका उत्तरी गाउँमा महिला, बुढाबुढी र केटाकेटी मात्रै हुन्छन् । सबै पुरुष कामको सिलसिलामा महिनौँ बाहिरबाहिरै हुन्छन् । त्यतिवेला हरेक काम महिलाले नै गर्छिन् । हाम्रो गाउँमा न त बिजुली छ न त घट्ट नै । आउँदा जाँदा गरी चार घन्टा हिँडेर अर्को गाउँमा घट्ट पिस्न जानुपर्छ । कहिले काँधमा बन्चरो बोकेर वर्ष दिनलाई पुग्ने दाउरा टिप्न वन जानुपर्छ । सुकेपछि त्यही दाउरा लिन जोपा (चौँरीको बच्चा) र घोडालाई भारी जागेर ओसार्छन् । 
असोज–कात्तिकमा बिहान उज्यालो हुनुपहिले एक र दुई गह्राको फापर काटिसक्छन्, आमा–फुपूहरूले । त्यसरी कहिलेकाहीँ बारीमा गोडमोल गर्दागर्दै नङ र मासु अलग्गिएको हुन्छ । कहिले असोजको चिसोमा घाँस काट्न मेलामा दगुर्नुपर्छ । फाटेको खुट्टामा जब शीत पर्छ त्यसपछि शीतले पनि शीतलता दिँदैन । मुटु दुख्ने गरी पोल्न थाल्छ । 

हाम्रोतिर ढुंगा र माटोले बनाएका घरहरू छन् । जहाँ एक छाक सेतो चामलको भात खानलाई कुनै पर्व पर्खिनुपर्छ । आमा, फुपूहरू आफ्नो दुःख भुल्न कहिले सेलु गाएर कहिले स्याप्रु गाएर वनजंगललाई सुनाउँछिन् । दुःखसित कत्ति पनि डराउँदैनन् आमाहरू । दुःखका अनेक–अनेक रूपरंगसँग नडराएर जिउन सिकिसकेका छन् हिमाली आमाहरूले । दुःख पीरसँग डराएर कोही पनि आफ्नो आँसु खेर फाल्दैनन् । दुःखकष्ट पनि हाँसीहाँसी पार गर्छन् । साथै निकै रमाइलो पनि गर्छन् । ल्होसार झन्डै एक महिना नै मनाउँछन् । सबै गाउँलेलाई पालैपालो घरमा डाकेर दुःखसुखको कुरा साटासाट गर्छन् । ल्होछार, माने, छोक पर्वहरू मनाउँछन् । 
०००
म नारायणचौरमै छु । फेरि सझिन्छु आमालाई । फेरि सम्झिन्छु पछिल्लो भेटमा आमाले भन्नुभएका शब्दहरू । जुन शब्दले मलाई बारम्बार झस्काइरहन्छ । उहाँले भन्नुभएको थियो–तो (तँ) पेटमा हुँदाहुँदै दरी ढुंगा बोकेर ठूलो घर बनाको । सुख पाइएला भनेर ठूलो घर बनाको । त्यही ठूलो घरले आफँैलाई दुःख दिँदै छ अचेल । तोहरू (भाइ र म) दसैँमा मात्रै घरमा आउँछस् । अब अर्को वर्ष यो घर भत्काएर सानो घर बनाउनुप-यो । ठूलो घर भएर के गर्नु ! घरमा बस्ने मान्ठा नै नभएसी । हपल्लो (माथिल्लो) घरे अकु (काका) हरूले पनि ठुलो घर भत्काएर सानो बनायो । हिउँ फाल्न नपर्ने गरी घर सानो बनाएर ताक्लाकोटबाट टिन ल्याएर टिन हालेको छ । आनन्दै छ, न बर्खामा चुहिएला भन्ने डर न हिउँदमा हिउँ नै फाल्नुपर्छ । हिउँ परे पनि घरमा ॐ मणिपद्मे हुँ जपेर बस्यो आनन्दै । अब हाम्रो घर पनि सानो बनाएर त्यस्तै बनाउनुपर्छ । घरमा बच्चाबच्ची भए पो घर घरजस्तो देखिन्छ । मान्ठा बसेपछि घर पनि जिक्पु (राम्रो) देखिन्छ । मान्ठा नै नबस्ने घर, केको घर ? हिउँ फाल्न मात्रै गाह्रो । 

गोठको हिउँ फाल्दा–फाल्दा करङ नै दुख्यो । अझै निको भा नाइँ । हाम्रो घरको धाराको पानी अस्ति नै जमिसक्यो । अब एकैचोटि चैत–वैशाख लागेपछि मात्रै धारामा पानी आउँछ ।

जब आमाका यी शब्द सम्झिन्छु घरको सम्झनाले भित्र कताकता चिमोट्छ । एकदमै घरको न्यास्रो लाग्छ । यो मान्छे नै मान्छे भएको सहरमा एक्लो सहसुस गर्छु । एक छिनमै भावुक भइदिन्छु । उहिले बाउबाजेले कति दुःखले बनाएको घर, अब घरमा बस्ने मान्ठा नभएर आमा घर सानो बनाउने कुरा गर्दै हुनुहुन्थ्यो । हुन पनि बर्खामा पानी परेको वेला चुहिएर हैरान बनाउँछ । काठ कुहिएर घरभित्रै च्याउ उम्रिन्छ । हिउँदमा हिउँ फाल्नै‌ धौ–धौ हुन्छ । हिउँ नपर्ने ठाउँमा बसेकाहरूलाई पो हिउँ प-या रमाइलो लाग्छ । जुन ठाउँमा हिउँ पर्छ त्यहाँ हिउँ नपरे पनि सुख छैन । हिउँ धेरै परे पनि सुख छैन । हिउँ नै नपरे खेतीपाती सफ्रिँदैन  । हिउँ धेरै प-यो घरगोठ सबै भरिन्छ । घरको हिउँ त जसोतसो फालिन्छ, तर गोठमा कैयन् दिनसम्म गाईगोरु, घोडाहरू भोकै हुन्छन् । हिउँमा घेरिएर भोकले कराइरहेका गाईगोरु र घोडाहरू ‘चिसो भयो’ भनेर बोल्न सक्दैनन् । उनीहरू भोकले कराएको आवाज कस्तो विरक्तलाग्दो हुन्छ । 

आमाले भन्नुभएको फेरि सम्झिन्छु– तेरो आपा बर्खामा यार्चागुम्बु टिप्नु जान्छ । त्यहाँबाट आएर फापर, चिनु लगाएर फेरि जडीबुटी खन्न गैहाल्छ । म पनि जोपा जुमा र घोडा लिएर खर्क गइहाल्छु । अनि कहिलेकाहीँ गोडमोल गर्न एक–दुई दिन घर आइन्छ । बोल्न नसक्ने गाईवस्तुको स्याहारसुसार पनि त गर्नैप-यो । तेरो आपा त्यसपछि सीधै भदौ र कात्तिकमा घाँस काट्दा, बाली भित्र्याउँदा  मात्रै घर आउँछ । फेरि हिउँद लागेपछि फुरु निकाल्न गइजान्छ । अनि यति ठूलो घरमा म मात्रै हुन्छु । बर्खामा पानी पर्दा चुहिएर हैरान । हिउँदमा हिउँ फाल्न हैरान । 

अस्ति हिउँ फाल्न फुपाजु आएको थियो । थारा (छत)को हिउँ फुपाजु र म मिलेर फाल्यौँ । गोठको हिउँ फाल्दा फाल्दा करङ नै दुख्यो । अझै निको भा नाइँ । अब त फुपाजु पनि फुरु निकाल्न मुगुतिर गयो । हाम्रो घरको धाराको पानी अस्ति नै जमिसक्यो । अब एकैचोटि चैत वैशाख लागेपछि मात्रै धारामा पानी आउँछ । अस्ति मात्रै चान (तान) बुन्न ठीक पा-या थिएँ । हिउँले पो पुरिदियो । 
०००
चौरमा बस्दाबस्दै आमालाई फोन गरेँ । फोन लागेन । फेरि फोन गरेँ । लागेन । सम्झिएँ– आमा यतिवेला घट्टतिर जाँदै हुनुहुन्छ होला । घोडालाई दाना खुवाउँदै हुनुहुन्छ होला । तर, मलाई किन किन फोन गरिरहन मन लाग्यो ।

सम्पादकको रोजाइ

सुझावित समाचार