सत्ता–राजनीतिले बिग्रिएको खनाल–ओली सम्बन्ध

शनिबार, २९ असोज, २०७९
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र केपी ओली नेपाली कम्युनिस्ट आन्दोलनमा शीर्षस्थ नेतामा पर्छन् । ओली हाल नेकपा (एमाले)को अध्यक्ष छन् भने खनाल नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता हुन् । खनालले ओलीभन्दा पहिला नै एमालेको नेतृत्व गरिसकेका छन् । पाँच दशकदेखि एउटै पार्टीमा रहेका खनाल र ओली ९ भदौ २०७८ देखि भिन्न पार्टीमा छन् । केपी ओलीले व्यवस्था मास्ने षड्यन्त्र रचेको भन्दै माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेता तथा कार्यकर्ताले एमालेबाट विद्रोह गरी एकीकृत समाजवादी निर्माण गरेका हुन् ।

दुई नेता आगामी ४ मंसिरको निर्वाचन फरक गठबन्धनबाट लड्दै छन् । खनाल सत्तारुढ दलको गठबन्धनबाट चुनावी माहोलमा होमिएका छन् भने ओली विपक्षी गठबन्धनबाट ।६ चैत २००६ मा जन्मिएका खनालले ०२५ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । २१ माघ २००८ सालमा जन्मिएका ओली ०२३ सालमा राजनीतिमा प्रवेश गरे पनि ०२७ सालमा मात्र कम्युनिस्ट पार्टीको सदस्य भएका थिए । 

काठमाडौंको अस्कल कलेजबाट आइएस्सी पास गरेपछि बाग्लुङको गल्कोट गएर खनाल पढाउन थाले । प्रशासनले कम्युनिस्ट गतिविधिमा लागेको भनी ०२७ सालतिर पक्रेर बाग्लुङ बस्न नपाउने गरी खनाललाई इलाम पुर्याएर छाड्यो । त्यहीँबाट खनाल पार्टी विस्तार अभियानमा सक्रिय बने । सुरुवातमा खनाल इलाम र त्यसपछि झापामा संगठन विस्तारको काममा लागे । त्यो वेला खनाल इलामको मंगलबारेमा पढाउँथे । ०२८ सालमा खनाल रामनाथ दाहालको घरमा पुगेका थिए । त्यतिवेलाका नेता दाहाल झापा आन्दोलनको क्रममा सुखानीमा सहिद भए । 

०२८ मंसिरमा ओली र खनालबीच पहिलोपटक भेट भएको थियो । झापा आन्दोलनको एक नेतृत्वकर्ता मालेका महासचिव सिपी मैनालीले यी दुई नेताको भेटको संयोजन गरेका थिए । तेह्रथुमको आठराई पोखरीमा जन्मेका ओली परिवार बसाइँ सरेर झापा आएको थियो । त्यसपछि ओली चारपानेमा रामनाथ अधिकारीको घरमा बस्न थालेका थिए । रामनाथकै घरमा खनाल र ओलीबीच पहिलो भेट भएको थियो । त्यसपछि दोस्रो भेट ०३६ सालको जनमत संग्रहपछि मात्रै भएको थियो ।

तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य धर्मप्रसाद ढकालको २०२९ सालमा हत्यापछि पञ्चायती दमन बढ्दै गयो । नेताहरू अलग–अलग क्षेत्रमा खटिए । खनाल अध्यापनका लागि बाग्लुङ लागे । ओली पनि भूमिगत राजनीतिमा होमिए । सुरुवातमै ओली जेल परे भने खनालले भूमिगत राजनीतिलाई अगाडि बढाए । ढकाल हत्या काण्डमा अदालतले ओलीसहितलाई कैद र जरिवानाको फैसला सुनायो । ओली रौतहटबाट पक्राउ परे । उनले १४ वर्ष जेलजीवन बिताए ।

झापा आन्दोलनका एक योद्धा मुकुन्द न्यौपाने स्मरण गर्छन्, ‘खुला राजनीतिमा आउनुअघि खनाल र ओलीबीच धेरै भेट भएन । झापा आन्दोलनको सुरुमा खनाल जोडिनुभएको थिएन । ओली सुरुवातमै जेल पर्नुभयो । सिपी मैनाली जेल परेपछि खनालले को–अर्डिनेसन केन्द्रको नेतृत्व गर्नुभयो । त्यतिवेला ओली जेलमै हुनुहुन्थ्यो ।’


०००
कम्युनिस्ट आन्दोलन अगाडि बढाउने क्रममा झलनाथ खनाल, माधवकुमार नेपाल, सिपी मैनाली, मुकुन्द न्यौपाने, मणिराज राई, गोविन्द्र न्यौपाने, अमृत बोहोरा र रामचन्द्र यादवले २०३२ सालमा को–अर्डिनेसन केन्द्र निर्माण गरेका थिए । केन्द्रको लक्ष्य कम्युनिस्ट आन्दोलनलाई एकत्रित गरेर सशक्त संगठन निर्माण गर्नु थियो । ‘ओलीले १४ वर्षसम्म जेल सजाय भोगे । समाज परिवर्तन र आन्दोलनको बाहिरी वातावरण ओलीले बुझ्न पाएनन् । जतिवेला खनालले झापा आन्दोलनको नेतृत्व गरिसकेका थिए ।’ को–अर्डिनेसन केन्द्रका संस्थापकमध्येका एक न्यौपानेले स्मरण गरे, ‘केपी ओलीले समाज बुझ्नै सक्नुभएको छैन । १४ वर्ष जेल बस्नुभयो, समाजबाट ज्ञान प्राप्त गर्ने, द्वन्द्वात्मक भौतिकवादको विकास, निरन्तर र परिवर्तनबारे उहाँले नजिकबाट बुझ्नै पाउनुभएन । त्यहीकारण नेकपाकालमा दुई अध्यक्ष बनाएर असफल भएको हो ।’ 


पार्टी कमिटीमा खनाल–ओली
कम्युनिस्ट आन्दोलन अगाडि बढाउने क्रममा सिपी मैनालीको नेतृत्वमा ०३५ मा नेकपा (माले) स्थापना भयो । ०४६ मा भएको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव बने । जुन कमिटीमा झलनाथ खनाल पोलिटब्युरो सदस्य थिए । आन्दोलनको सफलतापछि ओली जेलबाट छुटे । त्यसपछि उनलाई केन्द्रीय कमिटीमा मनोनीत गरियो । 

माले र माक्र्सवादी एकता भएर ०४७ मा एमाले बनेपछि मनमोहन अधिकारी अध्यक्ष र मदन भण्डारी महासचिव भए । उक्त कमिटीमा झलनाथ खनाल पोलिटब्युरो सदस्य र केपी ओली केन्द्रीय सदस्य बने ।०४९ मा पाँचौँ महाधिवेशनबाट ओली स्थायी कमिटी सदस्य बन्दा र खनाल केन्द्रीय सदस्यमा सीमित भए । ओलीले महासचिव भण्डारीको समर्थन गरे । खनालले भने आफ्नै फरक विचार अघि सारेका थिए । पाका नेता न्यौपाने स्मरण गर्छन्, ‘सुरुमा आरके मैनाली र खनालबीच द्वन्द्व भयो । पछि भण्डारी र खनालबीच पनि विचारमा मतभेद भयो । ओलीले अन्तरविरोधमा छक्याउन खोजे । ओलीको घनिष्ठता कसैसँग पनि थिएन । कसको नजिक हुँदा आफू माथि परिन्छ भन्ने मात्रै थियो । त्यही कारण पाँचौँ महाधिवेशनमा ओली स्थायी कमिटी सदस्य बन्दा खनाल अटाउनुभएन ।’


०५४ मा छैटौँ महाधिवेशनबाट मनमोहन अधिकारी अध्यक्ष र माधवकुमार नेपाल महासचिव बन्दा उक्त कमिटीमा खनाल र ओली दुवै स्थायी कमिटी सदस्य बने । ओली महासचिव बन्न चाहेका थिए, तर सकेनन् । मदन भण्डारीको सच्चा उत्तराधिकारी दाबी गर्दै ओली अगाडि बढे । खनालले ओलीको विरोध गर्दै नेपाललाई साथ दिए । त्यसपछि ओलीले वामदेव गौतम र आफूमा को ठूलो भन्ने विषय ल्याए । भण्डारीले ओली र गौतम दुवैलाई पार्टीको प्रमुख पद नदिन सुझाएको न्यौपाने सम्झन्छन्, ‘ओलीलाई प्रमुख दिए लुलो र गौतमलाई प्रमुख दिए धुलो बनाउँछन् भन्ने तर्क मदनको थियो ।’ नेपाल महासचिव बनेपछि ओली उनीतिर नै लागे । नेपालले ओलीलाई दोस्रो वरीयता दिए । वामदेवले पार्टी नै विभाजित गरे । त्यतिवेला गौतमलाई खनालले एमालेमै समेटेर लैजाने र ओलीले पार्टीबाट बाहिर पठाउने भूमिका खेलेका थिए । गौतम ०५८ मा पुनः एमालेमै फर्किए ।

एउटै पार्टीमा लामो समय सँगै रहे पनि ओली र खनालबीच घनिष्ठता कहिल्यै भएन । दुई नेताबीच मनमुटावले डेरा जमाइराख्यो । उनीहरूबीच आरोप–प्रत्यारोप निरन्तर चलिरह्यो, अहिले फरक पार्टीमा हुँदा पनि त्यो क्रम जारी छ ।


०५९ मा सातौँ महाधिवेशनबाट पनि खनाल र ओली स्थायी कमिटी सदस्य बने । गौतम र ओली मिलेर नेतृत्व लिने प्रयास गरेका थिए । सातौँ महाधिवेशनमा ओलीले फरक दस्ताबेज प्रस्तुत गरेका थिए । तर पनि ओलीले महाधिवेशन प्रतिनिधिलाई आफ्नो प्रभावमा पार्न सकेनन् । नेपाल नै पुनः महासचिव बने । त्यतिवेला खनालले नेपाललाई साथ दिएका थिए । खनाल र ओलीबीच टक्कर झन् बढ्दै गयो ।

०६५ को आठौँ महाधिवेशनमा खनाल र ओली दुवै अध्यक्ष बन्ने दौडमा लागे । १० जना स्थायी कमिटी सदस्यले नेपाललाई अध्यक्ष, खनाललाई महासचिव र ओलीलाई उपाध्यक्ष बनाउने सहमति गरेका थिए । तर, त्यो सहमति लागू हुन सकेन । खनाल र नेपाल अध्यक्षको प्रतिस्पर्धामा उत्रिए । ओलीलाई पराजित गर्दै खनाल अध्यक्षमा निर्वाचित भए । त्यसपछि खनालमाथि ओली निरन्तर आक्रामक रूपमा प्रस्तुत हुन थाले । खनाललाई माओवादीले जिताएकोसम्मको आरोप ओलीले लगाएका थिए । ओलीले बैठक नै चल्न नदिने अवस्था सिर्जना गरेपछि खनालले आफू र वरिष्ठ नेता (माधवकुमार नेपाल)पछिको तेस्रो वरीयता ओलीलाई दिए । खनालले ओलीलाई अन्तर्राष्ट्रिय विभाग प्रमुखको जिम्मा दिए ।


०७१ को नवौँ महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भए । विधानको व्यवस्थाअनुसार पूर्वअध्यक्ष खनाल दोस्रो वरीयताको वरिष्ठ नेता बने । खनालले अन्तर्राष्ट्रिय विभाग चाहे पनि ओलीले नीति अध्ययन विभाग दिएका थिए । एमाले र माओवादी एकता भएपछि ओलीले खनालको वरीयता घटाएर चौथोमा पुर्याइदिएका थिए । खनालले बैठकमा विषय राखेपछि वरीयता सच्याइएको थियो । ओलीले गुटबन्दी गरेको भन्दै खनालले निरन्तर आलोचना गरेका थिए ।


प्रतिस्पर्धापछि कटुता
आठौँ महाधिवेशनमा अध्यक्ष पदका लागि खनाल र ओली प्रतिस्पर्धामा उत्रिएपछि दुई नेताबीच व्यक्तिगत रूपमै कटुता सुरु भएको देखिन्छ । अध्यक्षमा खनाल निर्वाचित भएको स्विकार्न ओलीलाई लामो समय लाग्यो । धाँधली गरेको, माओवादीले जिताइदिएको जस्ता आधारहीन तर्क ओलीले लामै समय गरिरहे । खनालले उनको आरोप सुनेको नसुन्यै गरेर बसे । 


ओलीले पार्टी बैठक नै चल्न नदिने स्थिति बनाएपछि दोस्रो तहका नेताहरूको समन्वयमा खनालले ओलीलाई पार्टीमा तेस्रो वरीयता दिएका थिए । सुरुमा खनाललाई प्रधानमन्त्री हुनै नदिने र पछि प्रधानमन्त्रीबाट जसरी पनि निकाल्ने रणनीतिमा ओली लागेपछि खनाल आगो भए । पार्टी बैठकमा मात्रै होइन, सार्वजनिक कार्यक्रममा पनि खनाल र ओलीबीच आरोप–प्रत्यारोप चल्यो ।

झापा आन्दोलनका अगुवा एमालेका पूर्वनेता राधाकृष्ण मैनाली खनाल र ओलीबीच ६० को दशकदेखि कटुता सुरु भएको बताउँछन् । ‘खनाल अध्यक्ष हुनुअघि दुई नेताबीच कटाक्ष थिएन । सुमधुर सम्बन्ध पनि थिएन । केपी र म जेलबाट आउँदा खनाल महासचिव हुनुहुन्थ्यो । ०४६ मा खनाल हटेर मदन भण्डारी महासचिव हुनुभयो । त्यसबीच खनालसँग ओलीको खासै नराम्रो भएन । माधव नेपाल नेतृत्वमा आएपछि पनि खनाल–ओलीबीच वैरभाव थिएन ।’ मैनाली सम्झन्छन्, ‘जब आठौँ महाधिवेशनमा खनाल र ओलीबीच अध्यक्षमा प्रतिस्पर्धा भयो, त्यहाँबाट ओलीले विष वमन गर्न थाल्नुभयो । खनाललाई प्रधानमन्त्री बन्न नदिन ओली ज्यान छाडेर लाग्नुभयो । यद्यपि खनाल प्रधानमन्त्री हुनुभयो । त्यहीँबाट खनाल–ओली कटुता सुरु भयो ।’


एमालेका पूर्वस्थायी समिति सदस्य त्रिलोचन ढकाल खनाल र ओलीबीच निकट सम्बन्ध कहिल्यै नभएको बताउँछन् । व्यंग्यात्मक शैलीमा उनी भन्छन्, ‘खनाल र ओलीको विगत राम्रो थियो, किनकि ओली जेलमा र खनाल जेलबाहिर हुनुहुन्थ्यो । प्रतिस्पर्धामा उत्रिएपछि आरोप–प्रत्यारोपको राजनीति चल्यो ।’

सत्ताको राजनीतिले बढेको दूरी
‘खनाललाई मैले भूमिगत कालदेखि सैद्धान्तिक, वैचारिक नेताको रूपमा चिनेको छु । आँखामा समस्या भए पनि खनाल पार्टीलाई एकताबद्ध बनाएर लैजाने अभियानमा निरन्तर खटिनुभयो,’ एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य भन्छिन्, ‘तर, पछिल्लो समय पार्टीलाई एकताबद्ध बनाउने विषयमा उहाँ चुक्नुभयो ।’शाक्यका अनुसार ओली वैचारिक नेता होइनन् । वैचारिक, सैद्धान्तिक छलफलमा ओली कमजोर छन् । संगठन निर्माणमा पनि उनको लामो योगदान छैन । शाक्य भन्छिन्, ‘ओली लामो समय जेलमा बस्नुभयो । उहाँ सांगठनिक मान्छे होइन । संगठन निर्माणमा कमजोर हुनुहुन्छ । जेलबाट आएपछि संगठनमा काम गर्नुभएन । इगोले काम गरेको छ । वैचारिक, सैद्धान्तिक छलफलमा कमजोर हुनुहुन्छ ।’

सत्ताको राजनीतिमा आएपछि नेताहरूबीच दूरी बढेको शाक्य बताउँछिन् । उनी भन्छिन्, ‘सत्ताको राजनीतिमा आएपछि वैचारिक, सैद्धान्तिक विषयभन्दा को शक्तिमा पुग्ने भन्ने देखियो । उहाँहरू निरंकुशता अन्यका लागि त्याग, योगदान, दुःख गरेको नेता हुनुहुन्छ । ठक्कर खाएको, हन्डर आएको नेता हुनुहुन्छ । तर, सत्तामा आइसकेपछि हिजोको दुःख, जनताले गरेको माया बिर्सिनुभयो ।’

दुवै नेताको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाटै सुरु भएको हो । दुवैलाई राधाकृष्ण मैनालीले सदस्यता दिएका हुन् । तत्कालीन अवस्थामा खनाल सिनियर र ओली जुनियर थिए । एमालेको नवौँ महाधिवेशनपछि ओली वरीयतामा माथि उक्लिएर खनाल दोस्रो वरीयतामा रहे । एउटै पार्टीमा लामो समय सँगै रहे पनि ओली र खनालबीच घनिष्ठता कहिल्यै भएन । दुई नेताबीच मनमुटावले डेरा जमाइराख्यो । उनीहरूबीच आरोप–प्रत्यारोप निरन्तर चलिरह्यो, अहिले फरक पार्टीमा हुँदा पनि त्यो क्रम जारी छ ।

देशमा पञ्चायती व्यवस्था ढाल्न सशस्त्र ढंगले अगाडि बढ्नुपर्छ भन्नेमा दुवै नेता सहमत थिए । सबैलाई समेटेर एउटै कम्युनिस्ट पार्टी बनाउने भनेर संघर्षमा होमिए । अनि झापा आन्दोलन भयो । ०२९ मा सुखानीमा पाँचजनाको हत्या भयो । 


जेलजीवन
०३० मा ओली फौजदारी अभियोगमा रौतहटबाट पक्राउ परे । उनलाई २० वर्षको जेल सजाय सुनाइयो । जनमतसंग्रहपछि १४ वर्षमै उनी जेलबाट छुटे । ०३३ सालमा खनाल पनि जेल परे । खनाल चद्रागिरि जेलमा र ओली सेन्ट्रल जेलमा बसे । जेलभित्र पनि कमिटी थियो । तर, निरंकुश परिपाटीमा सँगसँगै मिलेर काम गर्ने अवसर दुवै नेतालाई मिलेन । 

०३५ सालमा सिपी मैनालीको नेतृत्वमा नेकपा (माले) बन्यो । ०३७ सालमा खनाल जेलबाट छुटे । उनी केन्द्रीय सदस्य बने । ०३९ मा मैनालीलाई पाखा लगाउँदै खनाल महासचिव बने । जेलबाट छुटेपछि ओली पनि केन्द्रीय कमिटी सदस्य बने । पार्टी प्रमुख भएकाले ओलीलाई काममा लगाउने र जिम्मा दिने काम खनालले नै गरेका थिए । ०४६ चौथो महाधिवेशनपछि मदन भण्डारी महासचिव भए । भण्डारी नेतृत्वको मालेमा खनाल पोलिटब्युरो र ओली केन्द्रीय सदस्य थिए ।

माओवादी रराजतन्त्रलाई हेर्ने दृष्टिकोण
०५७ मा खनालको नेतृत्वमा माओवादी समस्याको अध्ययन गर्न पार्टीले कार्यदल बनायो । खनाल माओवादीलाई नजिकबाट चिनेर वार्ताको माध्यमबाट समस्याको समाधान गर्न चाहन्थे । ओली भने माओवादीलाई पेलेरै जाने पक्षमा थिए । यो विषयमा दुई नेताबीच सार्वजनिक रूपमा समेत घोचपेच चलेको थियो । 

दोस्रो जनआन्दोलनका वेला ओली राजतन्त्रविरुद्ध उभिनुपर्छ भन्नेमा थिएनन् । राजाविरुद्ध आन्दोलन गर्नु गोरुगाडामा चढेर अमेरिका पुग्नुसरह हो भन्ने अभिव्यक्ति दिँदै हिँडेका थिए । खनाल भने जनआन्दोलनलाई सशक्त बनाउनुपर्छ, राजतन्त्रलाई नै समाप्त पार्ने गरी आन्दोलन हाँक्नुपर्छ भन्नेमा थिए । ०६२–६३ को जनआन्दोलन आवश्यक छ कि छैन भन्नेमा समेत खनाल र ओलीबीच टकराव नै परेको थियो । 

जनआन्दोलनको क्रममा खनाल अर्धभूमिगत बने । महासचिव माधवकुमार नेपाल पक्राउ परेपछि खनालले अर्धभूमिगत मोर्चाबाटै पार्टीलाई अघि बढाएका थिए । खनाललाई संक्रमणकालको निम्ति भन्दै एमाले केन्द्रीय कमिटीका उपलब्ध सदस्यको बैठकले संयोजक बनाएको थियो । नेपालको अनुपस्थितिमा नेतृत्व लिने इच्छा ओलीको थियो । त्यतिवेला ओली पनि पक्राउ परेका थिए । तर, ओलीलाई बिरामी भएको भन्दै केही दिन हिरासतमा राखेर शाहीसत्ताले छाडेको थियो । जनआन्दोलनका वेला खनालले लिएको अडानकै कारण आठौँ महाधिवेशनबाट नेतृत्वमा आउन उनलाई सहज भएको थियो । १२ बुँदे शान्ति–सम्झौतालगायत भूमिका खेलेका खनाललाई महाधिवेशनमा फाइदा पुगेको थियो । राजासँग संघर्ष गरेर माओवादीसँग सहकार्य गर्नु हुँदैन भन्ने ओलीको प्रभाव न्यून हुँदै गएको थियो । 

२०६४ को संविधानसभा निर्वाचनमा ओली पराजित भए भने खनाल निर्वाचित भए । महासचिव नेपाल पनि पराजित भएकाले नैतिकताको आधारमा उनले पदबाट राजीनामा दिए । त्यसपछि नेतृत्वको विषयमा खनाल र ओलीबीच प्रतिस्पर्धा चल्यो । ओली पनि पराजित भएका कारण नेपालको स्थान लिन खनाललाई सहज भयो । लामो छलफलपछि खनाल सर्वसम्मत महासचिव बनेका थिए ।

०६६ मा माधव नेपाललाई प्रधानमन्त्री बनाउन ओली सक्रिय भए । खनाल आफैँ प्रधानमन्त्री बन्ने दाउमा थिए । पार्टी बैठकदेखि सभा–सम्मेलनसम्म पनि खनाल र ओलीबीच आरोप–प्रत्यारोप चलिरह्यो । नेपालले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि खनाल प्रधानमन्त्री बने । एमालेलाई बिर्सिएर माओवादीको नीतिअनुसार चलेको भन्दै ओलीले खनालको निरन्तर आलोचना गरे ।

खनाल प्रधानमन्त्री भएका वेला ओली एकपटक बालुवाटार गेटबाटै फर्किएका थिए । खनालले ओलीलाई रोक्ने मनसाय नभएको पटक–पटक स्पष्टीकरण दिएर बालुवाटार बोलाएका थिए । तर, ओली खनाल प्रधानमन्त्री रहेसम्म बालुवाटार गएनन् । निर्वाचित अध्यक्ष भएर पनि ओलीको विरोधका कारण खनालले राम्रोसँग काम गर्न सकेनन् । खनाल पर्ख र हेरको नीतिमा बस्न बाध्य भए । खनालले ल्याएका प्रत्येक प्रस्ताव पारित गर्न हम्मेहम्मे पर्यो । खनालले बाध्य भएर ओलीलाई तेस्रो वरीयतामा ल्याएका थिए । 

नवौँ महाधिवेशनमा स्वास्थ्यको कारण देखाउँदै खनाल नेतृत्वको दाबेदारीबाट पछि हटे । माधवकुमार नेपाललाई पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भए । ओलीले खनाललाई लामो समय भूमिकाविहीन बनाए । खनालसँग विधानले दिएको वरिष्ठ नेताको उपाधि मात्र भयो । 

एमाले र माओवादी एकता भएपछि ओलीले खनाललाई वरीयतामा पनि तल झारिदिएका थिए । खनालले सार्वजनिक रूपमै आवाज उठाएपछि खनाललाई ओली र प्रचण्डपछिको तेस्रो वरीयतामा राखिएको थियो । खनालले ओलीको कार्यशैलीको खुलेरै विरोध गरेका थिए । नेकपामा खनालसहित सचिवालयका बहुमत सदस्य ओलीको विपक्षमा उभिए । सर्वोच्चको फैसलाबाट एमाले, माओवादी अलग भए । माधवकुमार नेपालको नेतृत्वमा एमालेबाट विद्रोह गरेर खनालसहितका नेताले एकीकृत समाजवादी पार्टी बनाए । ओलीप्रति खनाल आक्रामक देखिए पनि ओलीले भने पछिल्लो समय खनाललाई खासै गाली गरेका छैनन् ।

सम्पादकको रोजाइ

सुझावित समाचार