नेपालको पहिलो संगठित राजनीतिक दल, नेपाल प्रजापरिषद्ले (नेप्रप) विसं. १९९७ मा क्रुर जहानियाँ राणशासनविरुद्ध चलाएको असाधारण पर्चा आन्दोलन हाम्रो मुलुकको पहिलो संगठित राजनीतिक संघर्ष थियो । कुनैमा नेप्रपका अध्यक्ष र कुनैमा नेप्रपका प्रेजिडेन्टको हस्ताक्षरबाट सोही सालको असार ९ गते भोटोजात्राको रातबाट सुरू भई एक महिनाभित्र चार–चारवटा क्रान्तिकारी पर्चाहरू राजधानीका तीनै सहरमा र राणा शासक दरबारभित्र छरिएका थिए ।
ती पर्चा निरंकुश शासनको उन्मूलन गरी देशमा प्रजातान्त्रिक हक–अधिकार स्थापना एवं जनताको कल्याण गर्ने ध्येयको शंखनाद थिए । दशरथचन्द, रामहरि शर्मा, धर्मभक्त माथेमा, जीवराज शर्मा, गोविन्दप्रसाद उपाध्याय, गंगालाल श्रेष्ठ, गणेशमान सिंह, चूडाप्रसाद शर्मा, पुष्करनाथ उप्रेती, मुकुन्दनाथ रिमाल, हरिकृष्ण श्रेष्ठ, चन्द्रमान कम्पाउन्डर, बलबहादुर केसी, ध्रुवनाथ दवाडी आदि अब्बल क्रान्तिकारीले सक्रिय रूपमा भाग लिएको त्यस आन्दोलनका नायक टंकप्रसाद आचार्य थिए । आचार्य नै नेप्रपका संस्थापक अध्यक्ष हुन् एवं दशरथचन्द उपाध्यक्ष तथा रामहरि शर्मा महासचिव भन्ने तथ्यमाथि उल्लिखित क्रमशः चार संस्थापक सदस्यबाहेक अरूहरूलाई राजनीतिक गोप्यताका कारण थाहा थिएन । आचार्यलाई आदिसहिद शुक्रराज शास्त्रीलाई पनि सम्मान गर्थे ।
आचार्य नै ती चार क्रान्तिकारी पर्चाका रचयिता थिए, जसलाई उनी आफैँले स्टेन्सिल पेपरमा फलामको निबले कोरेर आफैँले कालो मसीमा लिथो गरेका थिए । आचार्य पहिले त्यस आन्दोलनका जनक र पछि, अमेरिकी नृवंशशास्त्री – इतिहासकार एवं उनको जीवनी–लेखक जेम्स फिसरका शब्दमा ‘लिभिङ मार्टिएर’ –ज्युँदा सहिद)को नामले नेपालको इतिहासमा सम्मानित छन् ।
रमाइलो कुरा के भने, आचार्यले गोप्र उपाध्यायसँगै लिथो मेसिन चिसापानीगढीको कठोर सुरक्षा भन्सार जाँचबाट चमत्कारपूर्ण ढंगले बचाई राजधानी ल्याएका थिए । तर, उपाध्यायलाई आचार्य नै आफू सम्मिलित क्रान्तिकारी दलका अध्यक्ष हुन् भन्ने थाहा थिएन । उक्त मेसिन दशरथचन्द तत्कालीन समयमा बारा जिल्लामा आफू काम गर्ने मौजाका मालिक महेन्द्रविक्रम सिंहको सहयोगबाट कलकत्तामा किनिएको थियो ।
क्रान्तिकारी महानायक
भारतमा अंग्रेज शासनविरुद्ध चलेको स्वाधीनता–संग्राममा समेत भाग लिएर खारिएका क्रान्तिकारी दशरथचन्दले आचार्यलाई सोही मौजामा पहिलोपल्ट भेट्नासाथ साधारण व्यक्तित्वका उनलाई नेपालको राणाशासनविरुद्ध भावी आन्दोलनका नायक कसरी ठम्याए र उनीहरूका विचार एवं योजना कसरी मेल खाए, ती कुरा फिसरको उपर्युक्त पुस्तकबाट थाहा पाइन्छ । चन्दले नै आचार्यलाई नेपाल प्रजा परिषद्का प्रेसिडेन्ट(अध्यक्ष)का लागि प्रस्ताव गरेका थिए ।
आफ्ना अध्यक्षको नेतृत्वमा क्रान्तिकारीले गरेका कार्यलाई निरन्तरता दिन आचार्यलाई देशबाहिर बनारस पठाउँदा राणाशासनले जालसाजीसँग जनकपुरमा बोलाई कसरी उनलाई नेल–हत्कडी–गलबन्दीले बेर्दै कोक्रोमा जाकेर काठमाडौं चलान ग¥यो र कसरी बन्दी अध्यक्षलाई राणा– अदालतमा ल्याइँदा चन्दले आफ्ना क्रान्तिकारी सहयोद्धाद्वारा ‘कमरेड्स ! द प्रेजिडेन्ट !! स्यालुट !!!’ भन्ने सम्बोधन अंग्रेजी भाषामै गरेर सम्मान सलामी दिए, त्यसको विवरण यस लेखकको ‘१९९७ सालदेखि ०१७ साल– एक अवलोकन’, (द्वितीय संस्करण, वसन्तपञ्चमी, ०६३, माघ)मा पढ्न सकिन्छ । यो तथ्य रामहरि शर्माको उपस्थितिमा हरिकृष्ण श्रेष्ठले उनलाई बताएका हुन् ।
राणाशासनको दमनबाट सम्पूर्ण नेतृत्व बन्दी बनाइयो र आन्दोलन चकनाचुर भयो । परन्तु आफ्ना अध्यक्षलाई आफूमाझ पाउँदा समस्त क्रान्तिवीरको मनोबल उच्च भएको र चार–चारजना राजनीतिक योद्धाहरूको ज्यान लिइँदा पनि १० वर्षे जेलजीवन जागरुकतापूर्ण व्यतित भएको तथ्य रामहरि शर्माले यस लेखकलाई बताएको पनि यहाँ उल्लेख हुनु उपयुक्त ठहर्छ ।
सुदूरदृष्टिका राजनीतिज्ञ
आफूले नेतृत्व गरेको प्रजातान्त्रिक आन्दोलनको पूरै दमन भए पनि आचार्य ००३ सालमा नेपाल नेसनल लिगले र ००५ सालमा नेपाल प्रजा पञ्चायत (नेप्रप)ले चलाएको नागरिक अधिकार आन्दोलनबाट प्रभावित भएका थिए । फलतः ००७ सालको क्रान्ति नेपाली कांग्रेसको नेतृत्वमा भए पनि त्यसले देशभित्रका समस्त राजनीतिक शक्तिको निःसर्त समर्थन–सहयोग हुनुपर्दछ भन्ने धारणा आचार्यको थियो । अतः ००७ सालको माघ महिनामा आफ्नो सहयोगी मित्रसहित आफू जेलमुक्त भएपछि उनी नेपाली कांग्रेससित नेप्रपको बिलय नै गरेर भए पनि ००७ को क्रान्तिका उपलब्धिको रक्षा गर्ने ध्येय लिएर भारतको राजधानी दिल्ली गए ।
दुःखको कुरा आचार्यको उक्त अग्रसरताले नेपाली कांग्रेस नेतृत्वबाट समर्थन पाएन । त्यसपछि उनी राजधानी फर्किए । प्रजातान्त्रिक व्यवस्थामा प्रतिपक्षको पनि अहं भूमिका अनिवार्य रहन्छ भन्ने तथ्य बुझेर उनले नवगठित नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) संस्थापक महासचिव पुष्पलालसित मिलेर ‘नेपाल जातीय जनतान्त्रिक संयुक्त मोर्चा’ गठन गरे । सामान्य राजनीतिक गतिविधिको फलस्वरूप एक क्रान्तिकारी समाजवादी पार्टी तथा कम्युनिस्ट पार्टीबीच सम्पन्न भएको यो असाधारण राजनीतिक घटनाक्रमको ऐतिहासिक महत्वलाई नेकपाले आफ्नो तत्कालीन बाह्य प्रभावित सोच र संयुक्त मोर्चाप्रति संकीर्ण धारणा एवं व्यवहारका कारण बुझ्न सकेन । यसप्रकारले क्रान्तिको सुदृढीकरणको ऐतिहासिक प्रयोग तुहियो । यसको फलस्वरूप विभिन्न सरकारको गठन–विघटनबाट देशमा राजनीतिक अनिश्चितता छायो ।
राजा महेन्द्र राजनीतिक दल र तिनका नेताहरूप्रति नै पूरापुर असहिष्णु तथा घोर शंकालु थिए । आफ्नो कुनै अभीष्ट साध्यका लागि, मुख्य कुरा त, विश्वेश्वरप्रसाद कोइरालालाई सत्ताबाट बाहिर राख्नका लागि नै, आफूले खेलाउन सक्ने ठानेर टंकप्रसाद आचार्यलाई प्रधानमन्त्री बनाएका थिए, उनले । नेपालको राजनीतिक, आर्थिक, शैक्षिक तथा वैदेशिक क्षेत्रमा ऐतिहासिक एवं युगान्तकारी कार्यको प्रारम्भ गरेर प्रम आचार्यले राजा महेन्द्रकै मान–सम्मान बढाएको पनि महेन्द्रले आफ्नो क्षुद्रताका कारण बुझ्न सकेनन् र आफ्ना यशस्वी प्रमलाई षड्यन्त्रात्मक ढंगले पदत्युत गरे ।
आचार्यले आफू प्रम बनेको तेस्रो दिनमै भारतसँग नेपालको तथाकथित ‘विशेष सम्बन्ध’ नभएको घोषणा गरे, भारतीय फौजी मिसनको कार्यालयमा नेपाल–भारत फौजी विषयक छलफल हुँदा नेपालका प्रम आफैँ उपस्थित हुनुपर्ने, नेपालको मन्त्रिमण्डलको बैठकमा, वा बडाहाकिम सम्मेलनमा भारतीय राजदूत उपस्थित नभई नछाड्ने ‘चलन’को अन्त्य गरिदिए । भारत तथा चीनसँग नेपालको सम्बन्धलाई परस्पर सम्मान र लाभका आधारमा समानतापूर्ण स्थितिमा कायम गरे तथा जापान एवं तत्कालीन सोभियत रूसलगायत धेरै देशसित राजनीतिक सम्बन्ध राखेर नेपालको विश्व सम्बन्धलाई नयाँ आयाम एवं क्षितिज प्रदान गरे ।
आचार्य ती चार क्रान्तिकारी पर्चाका रचयिता थिए, जसलाई उनी आफैँले स्टेन्सिल पेपरमा फलामको निबले कोरेर आफैँले कालो मसीमा लिथो गरेका थिए । ती पर्चा निरंकुश शासनको उन्मूलन गरी देशमा प्रजातान्त्रिक हकअधिकार स्थापना एवं जनताको कल्याण गर्ने ध्येयका शंखनाद थिए ।
००८ सालको सिंहदरबार काण्डलगत्तै डा. केआई सिंहले आचार्यलाई र नेकपाका तत्कालीन महासचिव मनमोहन अधिकारीलाई सल्लाहका लागि बोलाई पठाए । आचार्य अधिकारीलाई आफूसँगै लैजान बोलाउन जाँदा पनि जान मानेनन् जो उनको गम्भीर गल्ती थियो । तर, आचार्य गणेशमान सिंह तथा पुष्करनाथ उप्रेतीसहित राजा त्रिभुवनकहाँ सम्झौता वार्ता गरिरहेकै समयमा अधिकारीले आफू एक्लैले गौरीभक्त प्रधानलाई फौजीकाण्डको समर्थनमा जिपबाट माइकद्वारा प्रचार गर्न लगाउनु घोर दुस्साहस थियो । फलतः मातृकाप्रसाद कोइरालाको प्रम कालखण्डमा केआई सिंह फौजीकाण्डबापत पार्टीलाई पाँच–पाँच वर्षसम्म अवैध हुनुप-यो । प्रम आचार्यले नेकपामाथिको प्रतिबन्ध हटाउन राजा महेन्द्रसँग के–कस्तो कौशलताको परिचय दिनुप-यो होला, “अवलोकन” हेरे थाहा हुन्छ । यी कालखण्डका अन्य पक्षलाई ‘ज्युँदा सहिद’ले पनि बताउनेछ ।
आचार्यले देशको आन्तरिक एवं बाह्य क्षेत्रमा असाधारण महत्व एवं दूरदृष्टिका अनेक कार्य गरे, जुन आज पनि देशका लागि मार्गदर्शक बनेका छन् । नेपालमा कर्मचारी समुदाय अहिले जुन सुनिश्चित वर्तमान र भविष्य भोग गरिरहेको छ, त्यसको आधारशीला आचार्यले नै राखेका थिए । पजनीमा पर्ने गरेका कर्मचारी अब नियम–कानुनअन्तर्गतका राष्ट्रसेवक भएका छन् । यस्ता राष्ट्रिय विभूतिप्रति समुचित आदर, सम्मान गर्ने दायित्व त नेपाल सरकारको छँदै छ, तर तिनीहरूले आफ्ना कुनै संगठनमार्फत वा सामूहिक तवरले कम्तीमा नयाँ बानेश्वरको सिभिल अस्पतालको नामकरण टंकप्रसाद आचार्यको नाममा गरे भने उक्त कार्य आचार्यप्रति सच्चा आभार व्यक्त गरेको ठहरिने निर्विवाद छ ।
सन् १९५६ को सेप्टेम्बर १५ तारिखमा सुरु भएको चिनियाँ कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशन ३० तारिखमा सम्पन्न भयो । अक्टोबर १ तारिखमा पर्ने चिनियाँ राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा पेकिङ होटेलको विशाल कक्षमा माओत्सेतुङ एवं ल्यु सावो चिका तर्फबाट भव्य समारोह भएको थियो ।
त्यसमा इन्डोनेसियाका राष्ट्रपति सुकार्नाे, इन्डोनेसिया कम्युनिस्ट पार्टीका सुविख्यात महासचिव डिएन ऐडिट, उपमहासचिव लुकमान, कम्बोडियाका राष्ट्राध्यक्ष राजकुमार सिंहानुक, नेपालका प्रम टंकप्रसाद आचार्य र चिनियाँ कम्युनिस्ट महाधिवेशनमा सोभियत पार्टी प्रतिनिधिमण्डलका सदस्यलगायत हामी पेलिटब्युरो सदस्य शम्भुराम श्रेष्ठ, केन्द्रीय समिति सदस्य कमर शाह र ‘मशाल’ साप्ताहिकको विशेष संवाददाताका रूपमा उत्तर गण्डक प्रान्तीय समिति सचिव, यो लेखकसहित सबै देश तथा पार्टीका अतिथि उपस्थित थियौँ । मनमोहन अधिकारी औषधोपचारका लागि अस्पताल भर्ना भइसकेका थिए ।
समारोहमा उपस्थित प्रम आचार्यको अभिवादन गर्न हामी तीनैजना जाँदा सदा प्रसन्नचित्तका आचार्यले हामीहरूप्रति दर्साएका सदाशयताले सम्पूर्ण अतिथिलाई प्रभाव पारेको थियो । आनन्ददायी आश्चर्यका साथ उनीहरू सबै विश्वका सबैभन्दा कान्छो कम्युनिस्ट पार्टीप्रति देशका प्रधानमन्त्रीको, शब्दको सही अर्थमा एक असल मान्छेको, सद्व्यवहार देखिरहेका थिए
(हेर्नाेस् सोही ‘अवलोकन’) । आचार्यको राजनीतिज्ञपूर्ण कौशल एवं नयाँ चीनप्रति उनको मैत्रीभावबाट प्रभावित चिनियाँ नेतृत्व र विशेषगरी प्रम चु एन लाईले आचार्यमार्फत जापानी सरकारसमक्ष विशेषरूपले महŒवपूर्ण पत्र पठाएको र अन्य रोचक प्रसंग पनि ‘ज्युँदा सहिद’ र ‘अवलोकन’ मा पढ्न पाइन्छ ।समाज सुधारकका रूपमा आचार्य ००८ सालमा पशुपतिनाथ मन्दिरमा ‘अछुत’ भनेर प्रवेश गर्नबाट रोकिएका नेपालीका लागि प्रवेश खुलाउने आन्दोलनका अभियन्ताका रूपमा पनि उल्लेखनीय रहेका छन् ।