बुर्का छाडेर रंगमञ्चमा

बुर्काबाट बाहिर निस्किएर रंगमञ्चमा आउने थोरै महिलामध्येकी एक हुन् माही

हदिश खुद्दार हदिश खुद्दार
शनिबार, ४ भदौ, २०७९
डिजिटल संस्करण

रंगमञ्च र मैथिलीभाषीमाझ परिचित नाम हो, माही तनविर खान । रंगमञ्चमा काम गर्दै आएकी २६ वर्षीया माहीले सयौँ म्युजिक भिडियो तथा सर्ट फिल्ममा काम गरिसकेकी छिन् । आमदर्शकले उनको कला निकै रुचाएका छन् । तर, माहीले त्यहाँसम्म पुग्न निकै कठिन संघर्ष गरेकी छिन् । 


मधेसमा पनि कलालाई बुझ्ने सवालमा संकीर्ण सोच छ । मुस्लिम समुदायकी माही यही संकीर्ण सोचविरुद्ध संघर्ष गरी रंगमञ्चसम्म पुगेकी हुन् । पहाडी तथा हिमाली समाजमा जस्तै मधेसी समाजमा पनि छोरा र छोरीबीच विभेद छ । छोराभन्दा छोरीको स्वतन्त्रतामा समाजले प्रश्न उठाउँछ । यस्तो संकीर्ण सामाजिक मनोविज्ञान भएको समाजबाट कुनै मुस्लिम महिला रंगमञ्चमा आउनु भनेको ठूलो कुरा हो । साँच्चै माही मधेसी समाजका लागि उदाहरण नै हुन् ।


मुस्लिम समुदायमा पनि महिलालाई सामाजिक तथा धार्मिक अनुशासनको दायरामा राखिएको देखिन्छ । त्यसैले वेला–वेलामा महिलाप्रति मुस्लिम समुदाय अनुदार रहेको आरोप लाग्ने पनि गर्छ । मुस्लिम महिलाले लगाउने बुर्का, हिजाफबाट बाहिर निस्किएर रंगमञ्चमा आउने एकदमै थोरै महिलामध्येकी एक हुन् माही । 


 बाल्यकाल : माही बाल्यकालदेखि नै मोडलिङ र कला क्षेत्रमा रुचि राख्थिन् । उनी प्रदेश १ को विराटनर–६ सरोचियामा जन्मेकी हुन् । माहीले प्राथमिक शिक्षा विराटनगरकै सत्यनारायण बोर्डिङ स्कुलबाट लिइन् । उनी त्यहाँका हरेक सांस्कृतिक कार्यक्रममा सहभागी हुने गर्थिन् । विद्यालयमा हुने कार्यक्रममा सहभागी भई उनले कैयन् पुरस्कार पनि हात पारिन् । त्यस्ता गतिविधिले माहीलाई कलाक्षेत्रमा लाग्न हौसला दिइरह्यो ।

२०७० मा एसएलसी उत्तीर्ण गरेपछि उनले रंगमञ्चमै आफ्नो भविष्य देख्न थालिन् । तर, माहीले रोजेको बाटोप्रति परिवारले असहमति जनायो । परिवारको चिन्ता थियो– कलाक्षेत्रमा लाग्दा सानो कपडा लगाउनुपर्छ, अपरिचितसँग कहाँ–कहाँ जानुपर्छ । परिवारका लागि माहीले घुम्टो ओड्नुपथ्र्यो । तर, माही रंगमञ्चको कलाकार बन्न चाहन्थिन् । उनी अवरोधहरू बेवास्ता गर्दै कलाक्षेत्रमा लागिन् । माही भन्छिन्, ‘आमाबुबा मेरो सपना र रहरमा सहमत हुनुहुन्थ्यो । तर, गाउँ–समाजले के भन्ला भन्नेमा धेरै चिन्तित हुनुहुन्थ्यो । त्यहीकारण मैले परिवारबाट सहयोग पाउन सकिनँ ।’


 कर्मथलो जनकपुर : रंगमञ्चमा लाग्न घरबाटै अवरोध भए पनि माही पढ्न विराटनरबाट मधेस प्रदेशको राजधानी जनकपुरधाम आइन् । उनी जनकपुर आएर पत्रकार बन्ने सोचमा थिइन् । तर, जनकपुरमा कुनै पनि राम्रो मिडिया हाउसमा काम पाइनन् । त्यसपछि उनले जनकपुरधामका केही विद्यालयमा नृत्य प्रशिक्षकको रूपमा काम गर्न थालिन् । समय आफ्नो रफ्तारमा बित्दै गयो । 

छोराभन्दा छोरीको स्वतन्त्रतामा समाजले प्रश्न उठाउँछ । यस्तो संकीर्ण सामाजिक मनोविज्ञान भएको समाजबाट कुनै मुस्लिम महिला रंगमञ्चमा आउनु भनेको ठूलो कुरा हो । साँच्चै माही मधेसी समाजका लागि उदाहरण नै हुन् ।


जनकपुरमा ‘मिस्टर एन्ड मिसेज जनकपुर’ सो हुने भयो । मोडलिङ र रंगमञ्चको कलाकार भन्ने सपना छाड्दै गएकी थिइन् उनले । त्यो खबर सुनेपछि उनको सपना फेरि ताजा भयो । उनी उक्त सोमा सहभागी हुने भइन् । तर, त्यो सो नै हुन सकेन । त्यसपछि उनी जनकपुरको चर्चित नाट्य समूह ‘मिनाप’सँग जोडिन पुगिन् । उनले आफ्नो लक्ष्यमा पुग्ने बाटो भेटिन् । ‘मिनाप’सँग जोडिएपछि माहीको कलापक्षमा निखारता आउँदै गयो र उनको लोकप्रियता पनि बढ्दै गयो ।

मिनापकै माध्यमबाट दिल्ली, जयपुरलगायत ठाउँमा पुगिन् । त्यहाँ ‘जानकी लीला’मा उनले काम गरिन् । त्यसपछि उनको परिचय झनै फराकिलो हुँदै गयो । माही भन्छिन्, ‘जनकपुरले रंगमञ्चको क्षेत्रमा एउटा पहिचान दियो, रंगमञ्चमा लाग्न ऊर्जा दियो । विराटनगरमै भएको भए यस्तो स्थान पाउने थिइनँ सायद । त्यसकारण जनकपुरसँग मेरो गहिरो सम्बन्ध छ ।’


 कलाक्षेत्रमा चुनौती  ः माही भन्छिन्, ‘यो क्षेत्रमा मञ्च र पर्दामा मात्रै राम्रो देखिन्छ । तर, पर्दापछाडिको अवस्था निकै कठिनाइ र चुनौतीपूर्ण छ । सबैले म्यानेज गर्न सक्दैनन् । कारण आर्थिक रूपमा यो क्षेत्र मरुभूमिजस्तै छ ।’ उनका अनुसार मधेसका किशोरी तथा युवतीहरू ठूलो संघर्ष गरेर कलाक्षेत्रमा आउन चाहन्छन् र आउँछन् पनि । तर, घरपरिवारबाट सहयोग हुँदैन । काम गर्दा उचित पारिश्रमिक पनि पाउँदैनन् । माही भन्छिन्, ‘यस्तो अवस्थामा अभाव, दबाब र प्रभावमा काम गर्नुपर्ने बाध्यता हुन्छ ।’ 


‘रंगमञ्चमा लाग्ने कलाकारले राम्रो प्लेटफर्म पाइरहेको छैन, उनी भन्छिन्, ‘यो क्षेत्रमा व्यावसायिक रूपमा लगानी गर्नेको संख्या एकदमै न्यून छ । कोही लगानी गर्न चाहँदैनन् । केही सोखिन मान्छेहरूले एक–दुईवटा फिल्म तथा म्युजिक भिडियो बनाउँछन् । तर, त्यसको बजार व्यवस्थापन गर्न नसक्दा लगानी पनि उठ्दैन ।’


माहीका अनुसार मैथिली फिल्म तथा म्युजिक भिडियोको बजार नभएको होइन । नेपाल र भारतमा करिब दुई करोड दर्शकहरू मैथिली भाषा बोल्छन्, बुझ्छन् । तर समयसापेक्ष र मागअनुसारको फिल्म नबन्दा दर्शकको रुचि हुँदैन । केन्द्र र प्रदेश सरकारको उदासीनताका कारणले पनि यो क्षेत्रले समयअनुसार विकास गर्न नसकेको उनी बताउँछिन् ।

राज्यले कहिल्यै पनि मैथिली फिल्मको विकास, संरक्षण र प्रवद्र्धन गर्ने काम गरेन । यो क्षेत्रलाई सम्मानित र मर्यादित बनाउन राज्यले जोडबल नै गरेन । माही प्रश्न गर्छिन्, ‘हरेक राजनीतिक परिवर्तनमा कलाकारले पनि आफ्नो ठाउँबाट भूमिका निर्वाह गरेका छन् । तर राज्यले कलाकारका लागि किन केही गर्दैन ?’

सम्पादकको रोजाइ

सुझावित समाचार