तीन पुस्तासँगको साक्षात्कारको संयोग छ मेरो । हजुरबुबा भैरवानन्द खरेल राणाशासनका नामचीन सुब्बा । पिता चन्द्रिकानन्द खरेल पञ्चायतकालका कुशल प्रशासक । अनि, मेरो आलेखको मूल पात्र कसैलाई पनि चिनाइरहनुनपर्ने । शायद ‘छिमेकी’ भएकाले नै दीपक खरेलसँग उहाँको हजुरबुबा र बुबाभन्दा पनि धेरै पछि मात्र भेट भयो । पुख्र्यौली थलो खरेलथोकमा मेरा हजुरबुबा हरिकृष्ण खरेल भैरवानन्दका छिमेकी हुनुहुन्थ्यो । मैले आँखा खोल्दासम्म बुबापट्टिका हजुरबुबा र हजुरआमाले आँखा चिम्लिसक्नुभएको थियो ।
तर, बाल्यकालमा अतिशय भोक र तिर्खाले लखतरान भएको एउटा दिन मैले सुब्बा भैरवानन्दलाई सपत्नी भेटेपछि महसुस गरेँ, हजुरबुबा–हजुरआमा उनीहरूजस्तै हुन्छन् भनेर । स्कुलको हिउँदे बिदामा बाह्रबेसीबाट ठाडो उकालो चढेर खरेलथोक पुगेपछि निर्जन आफ्नो मूलघरभन्दा पनि जीवन्त साँधै जोडिएको सुब्बा भैरवानन्दको घर पुगेको थिएँ । सुब्बाबाट अवकाशपछि आफ्नो जन्मथलोमै फर्किनुभएका भैरवानन्द दम्पती उः वेला गाउँकै मियो अनि दियो पनि हुनुहुन्थ्यो । सौम्य भैरवानन्द र उहाँकी शालीन पत्नी (नाम सम्झिन नसकेकोमा क्षमा चाहन्छु) म फुच्चेको अपर्झट उपस्थितिबाट पुलकित बन्नुभयो । र, हजुरआमाले भण्डारमा छिरेर मेरा निम्ति ठेकीमा जमाएको दही र चिनी छरिएको घिउ चिउराको खाजा तयार गरिदिनुभयो । घिउ, चिउरा र चिनी पनि त्यति मीठो हुन्छ भन्ने कुरा मलाई त्यसअघि थाहा थिएन । शायद, उहाँहरूको प्रेम र आशीर्वादको मिठास हुनुपर्छ, त्यति मीठो व्यञ्जनद्वारा जीवनमा कमै मात्र तृप्त भएको छु ।
चन्द्रिकानन्द खरेलले पनि प्रशासनको ‘डिएनए’ बुबाबाटै प्राप्त गर्नुभएकाले हुनुपर्छ, उहाँले आफूलाई सदैव एक अब्बल प्रशासक प्रमाणित गर्नुभयो । भक्तपुर, चितवन र सिरहाजस्ता ‘हाई प्रोफाइल’ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रहनुभएका उहाँको कार्यकुशलताको सम्झना अहिले पनि गरिन्छ । मेरा बुबा दयाराम खरेल पनि एक समय सिडिओ रहनुभएकाले चन्द्रिका ठूलोबुबाको चर्चा घरपरिवार र समाजमा भइरहन्थ्यो । दीपक दाइकी दिवंगत माता भारती खरेल कविता र खासगरी भजन लेखनमा दख्खल राख्नुहुन्थ्यो । व्यस्त नोकरीकालमा आकलझुकल चन्द्रिका ठूलोबुबालाई देखे पनि अवकाशपछि भने उहाँसँग लामै भलाकुसारीको मौका जुर्दै आएको छ ।
दीपक खरेलसँगको मेरो साइनो आमश्रोताको जस्तै हो । यदि खरेलथोकको मूलघरमै हामीहरू रहिरहेका भए, ऐँचोपैँचो चल्ने घर उहाँकै हुन्थ्यो । दीपक दाइको जन्म र प्रारम्भिक शिक्षा खरेलथोकमा भए पनि नोकरीका कारण चन्द्रिका ठूलोबुबा काठमाडौं झरिसक्नुभएको थियो । म जुन वेला दीपक खरेल भन्ने नामबाट परिचित बनेको थिएँ, त्यतिन्जेल उहाँ एक सेलेब्रिटी बनिसक्नुभएको थियो । रेडियो नेपालको एकल साम्राज्य र त्यसमाथि पनि घरीघरी बजिरहने ‘तिम्रो त्यो हँसिलो मुहारको’, ‘प्रतीक्षा गर मेरी मायालु’, ‘तिम्रो हरप्रश्नको जवाफ मेरो चिठीहरूमा खोज्नु’, ‘बादल बनाइदेऊ’, ‘पूर्णिमाको रात पनि औँसीको झैँ’ जस्ता गीतहरू युवा तथा किशोरवयका निम्ति स्पन्दन नै बनिसकेका थिए । कक्षाकोठाको गायनमा म अक्सर उहाँको ‘उपेक्षाको लहरमा’ गाउँथेँ । आज पनि स्कुले दौतरीसँग भेट हुँदा उनीहरू त्यो गीतको सम्झना दिलाउँछन् ।
राष्ट्रिय जीवनमा उहाँ सेलेब्रिटी भए पनि हाम्रो घरपरिवारमा उहाँको छवि एउटा आदर्श व्यक्ति (आइकोनिक पर्सन) को थियो । उहाँको ख्याति दुईधारे थियो । एकातिर, लोकप्रिय गायकको र अर्कोतिर स्नातकोत्तर सकेर लोकसेवा उत्तीर्ण गर्दै सरकारी सेवामा प्रवेश गरेका अधिकृत । बोलीचालीको सरल भाषामा भन्नुपर्दा नाम र दाम दुवैको अनुपम संयोग उहाँलाई जुरेको थियो ।
प्रधानमन्त्री रहिसकेका नगेन्द्रप्रसाद रिजालकी छोरी शिला रिजालसँगको उहाँको ‘फेरिटेल’ विवाहले पनि खरेल समाजमा राम्रो चर्चा ओगटेको थियो । एकै थातथलोको भए पनि दीपक दाइसँग साक्षात्कार हुने मौका लामो समयसम्म जुरेन । रेडियोको जमानामा नामसँग मात्र परिचित हुने हुँदा कुनै सामाजिक समारोहमा आकलझुकल देखिँदा सायद ठम्याउन नसकेको पनि हुन सक्छ । पछि, स्कुले जीवनको अन्त्यतिर एक आफन्तको विवाह समारोहमा टाढैबाट कसैले ‘उः दीपक खरेल’ भनेर देखाइदिएको सम्झना भने अहिले पनि टड्कारो छ । तर, दाइसँग लामो अवधिको कुराकानीको जसचाहिँ मानिसभन्दा पनि देउतालाई नै दिनुपर्छ मैले ।
दुई वर्ष बिराएर तेस्रो वर्षतिर पर्छ पलाञ्चोके खरेलहरूको दिवाली पूजा । पुस महिनामा पर्ने दिवालीको मूल थलो खरेलथोक नै हो । तर, आन्तरिक आप्रवासन र सुविधाका कारण अहिले दिवाली मनाउने ठाउँ पनि अलगअलग बनिसकेका छन् । पछिल्लो दशकबाट पलाञ्चोके खरेलहरूको एउटा उल्लेखनीय समूहले काठमाडौंको रानीबारीमा दिवाली मनाउन सुरु गरेपछि थातथलो खरेलथोकको जमघट अलि पातलिएको छ । तर, पातलै सही, मूलथलोको पूजाको रौनकमा भने कुनै फिक्कापन छैन ।
खरेलथोकको पिँधमा पर्ने भएकाले पाताल भनिने रूख र बुट्यानहरूबीचको सेपिलो अनि केही फराकिलो कुलदेवी स्थानमा दिवाली भर्नेहरू जम्मा हुन्छन् । कुलदेवीलाई पशुवलि दिनुअघि महादेवका लागि गरिने रुद्रीपूजाको मन्त्रोच्चारण, प्रसादको तयारी निम्ति भकभक उम्लिरहेका खिर र पुवाको टाढा–टाढासम्म फैलिएका बास्ना, बोकाहरूका म्याँम्याँ–मुमु र मानिसहरूका कल्याङमल्याङले पाताल साँच्चिकै उत्सवमय हुन्छ । रुद्रीपाठ र त्यसपछि सुरु हुने वलि सकिन अपराह्नको तीन–चार बज्ने हुँदा त्यतिन्जेलसम्मको समय दाजुभाइ र बन्धुबान्धवबीच क्षेमकुशल सोध्ने र गफगाफमा भुल्ने हुन्छ ।
थातथलो खरेलथोक पुगेरै दिवाली पूजा गर्नेमध्येमा दीपक दाइ पनि पर्नुहुन्छ । त्यस दिन मोटरबाटोले जोडेको खरेलथोक मात्र नभएर त्यहाँबाट १५–२० मिनेटको ठाडै ओह्रालो झरेर पुगिने पातालसम्म उहाँसँगै उहाँका चार–बीस हिउँद कटाउनुभएका पिता चन्द्रिकानन्द खरेल उत्साहका साथ दिवालीमा सरिक भएको देख्छु । राष्ट्रिय जीवनमा छुट्टै चिनारी बनाउन सफल यी पितापुत्रको आफ्नो जन्मथलोप्रतिको लगाव साँच्चिकै अनुकरणीय छ । तीन वर्षमा पर्ने कुलपूजाका लागि अहिले एक–डेढ घन्टाको आरामदायी सडकयात्राबाट पुग्न सकिने मूलथलोसम्म जान पनि किन कोही कसैलाई जागर चल्दैन, चन्द्रिका ठूलोबुबाको जोस देख्दा विस्मयमा पर्छु म ।
दीपक खरेलसँगको मेरो साइनो आमश्रोताको जस्तै हो । यदि खरेलथोकको मूलघरमै हामीहरू रहिरहेका भए, ऐँचोपैँचो चल्ने घर उहाँकै हुन्थ्यो । दीपक दाइको जन्म र प्रारम्भिक शिक्षा खरेलथोकमा भए पनि नोकरीका कारण चन्द्रिका ठूलोबुबा काठमाडौं झरिसक्नुभएको थियो ।
दिवालीको दिन बन्धुबान्धवसँग भलाकुसारीको समय पनि हो । यसै मौका छोप्दै म दीपक दाइसँग गफिन्छु, उहाँका सांगीतिक आरोहका घुम्ती र बिसौनीबारे जिज्ञासु बन्छु । नेपाली सुगम संगीतमा आफ्नो स्वरमाधुर्यको छुट्टै मानक खडा गर्नुभएका उहाँका गीतहरू जति चर्चित छन्, उहाँ स्वयं भने चर्चाहरूबाट टाढा हुनुहुन्छ, वा भनौँ, टाढै रहन रुचाउनुहुन्छ । चर्चित हुन् वा उदीयमान, गायक–गायिकाहरू आफ्ना प्रशंसकमाझ गीत गाइरहेका हुन्छन्, एकल वा समूहमा कन्सर्ट गरिरहेका हुन्छन् । तर, सत्तरीको दशक सुरु हुनुअघिसम्म उहाँले कहीँकतै गाउनुभएको न त सुनियो, न देखियो नै । त्यसका धेरै कारणमध्येको एक उहाँको निजामती सेवाको नोकरी हुनुपर्छ ।
गायनले उडान भर्दै गर्दा उहाँले सरकारी जागिरको उडान पनि भर्नुभएको थियो, जसले उहाँलाई दिनमा १०–५ मात्र नभएर नोकरीभर दशौँ ठाउँहरूमा रवाना गरिरह्यो । सत्तरीको दशकको आरम्भसँगै सरकारी सेवाबाट अवकाश लिएपछिको खरेलथोकको एउटा दिवाली गफगाफमा उहाँले त्यतिन्जेलसम्म एकल कन्सर्ट नगरेको बताउनुहुँदा म अचम्मित परेको थिएँ । गायनमा तीन दशक बितिसक्दा पनि एउटा कन्सर्टसम्मको मेसोसम्म उहाँलाई जुरेको थिएन । उहाँले त्यसो भनिरहँदा एउटा कौतूहल मेरो मनभित्र पनि झ्याँगिसकेको थियो, उहाँलाई प्रत्यक्ष सुन्ने अवसर कहिले जुर्ने हो भनेर ।
यथार्थमा चाहिँ, मैले उहाँलाई त्यसअघि दुई अवसरमा गाइरहेको देखेको थिएँ, अप्रत्यक्ष र प्रत्यक्ष गरी । स्वरसम्राट् नारायण गोपाल दिवंगत भएलगत्तै उनलाई मुलुकका गायक–गायिकाले गीति ट्रिब्युट दिएका थिए, जसको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गरेको थियो । कार्यक्रममा दीपक दाइले पनि स्वरसम्राट्लाई उनको एक गीतमार्फत ट्रिब्युट दिनुभएको थियो । दोस्रो अवसर थियो, अर्का मूर्धन्य गायक दीप श्रेष्ठको एउटा प्राइभेट कन्सर्ट । एक दशकअघिको कुनै दसैको पूर्वसन्ध्यामा दीप दाइले पुल्चोकको पहिलेको नारायणी होटेल रहेको प्रांगणमा खुलेको एब्स्युलुट बारमा आफ्नो एकल गायनको कार्यक्रम राख्नुभएको थियो ।
थोरै निम्तालु र प्रशंसकमाझ दीप दाइले सदाबहार गीतहरू पस्किरहनुभएको वेला एक शालीन व्यक्तित्वको अनायासै प्रवेश हुन्छ । गीत सुनिरहेकाहरूबीच केही खासखुस सुरु हुन्छ । कतै देखेदेखे जस्तो, कतै चिनेचिने जस्तो ती व्यक्तिबारे अनुमान चल्छ । उनीसँग परिचितहरू अभिवादन साटासाट गर्छन् । ती व्यक्ति पनि बारको खाली टेबलमा आफूलाई सहज बनाएपछि दीप श्रेष्ठको आवाजमा रम्न थाल्छन् । जसै दीप दाइ गाउँदै गरेको गीतको बिट मार्नुहुन्छ श्रोता–दर्शकमाझबाट पब्लिक डिमान्ड सुरु हुन्छ । तर, त्यो डिमान्ड जसको नामबाट कार्यक्रम आयोजना गरिएको उपर नभएर कार्यक्रमको दौरान सुटुक्क प्रवेश गरेका व्यक्तिप्रति लक्षित हुन्छ । ती नवआगन्तुक अरू कोही नभएर गायक दीपक खरेल हुनुहुन्छ ।
नेपाली सुगम संगीतमा आफ्नो स्वरमाधुर्यको छुट्टै मानक खडा गर्नुभएका उहाँका गीतहरू जति चर्चित छन्, उहाँ स्वयं भने चर्चाहरूबाट टाढा हुनुहुन्छ, वा भनाैँ, टाढै रहन रुचाउनुहुन्छ ।
प्रशंसकहरूले दीपक दाइलाई केही सुनाउन करबल गर्न थालेपछि कन्सर्टले अर्कै मोड लिन्छ । दीपक दाइ स्टेज चढ्नुहुन्छ र ब्यान्डसँग गीत गाउन थाल्नुहुन्छ । दीप दाइको अत्यन्तै कर्णप्रिय तर कमै मात्र सुनिने ‘आँखाहरूमा चाहा अल्झिँदा सोचेको बाटो बदलिन सक्छ’ दीपक दाइ यति मनोयोगले गाउन थाल्नुहुन्छ कि त्यो गीत वास्तवमा दीप दाइकै निम्ति प्रेमोपहार महसुस हुन्छ । एक मूर्धन्य गायकले अर्का मूर्धन्य गायककै गीत प्रेम र सम्मानभावले गाएका उदाहरण हामीले देख्दै सुन्दै आएका छौँ । गजल गायक जगजित सिंहले ‘दिल से’ एल्बममार्फत अग्रज गायकहरू हेमन्त कुमार, मुकेश, लता मंगेशकर आदिलाई प्रेमिल ट्रिब्युट दिएका छन् । एरिक क्लाप्टनको मित्र जर्ज ह्यारिसनप्रति ‘ह्वाइल माई गिटार जेन्ट्ली विप्स’ अर्को प्रेमिल ट्रिब्युटको उदाहरण हो । दीपक दाइले दीप श्रेष्ठको गीत गाउनु त्यही समकक्ष पाउँछु म ।
एकल कन्सर्ट आफ्ना निम्ति नजुरेको दीपक दाइले बताउनुभएको केही समयभित्रै उहाँको एकल गायन कार्यक्रमको घोषणा आयोजक संस्था नेपालयबाट हुन्छ । प्रिय गायकलाई आफ्नो जीवनकालमा पहिलोपल्ट साक्षात् गाइरहेको देख्न हजारौँ प्रशंसक लालायित हुन्छन् । तर, काठमाडौं कालिकास्थानको नेपालयको ‘आर–साला’ भनिने सानो प्रेक्षालयको ती सबै प्रशंसकलाई समेट्ने क्षमता राख्दैन । कार्यक्रमको मिति घोषणासँगै ‘आर–साला’ हाउसफुल भइसक्छ । तर, उहाँको एकल गायन जसरी पनि हेरिछाड्ने चाहनाले म प्रयास छाड्दिनँ र अन्तिम समयतिर एउटा टिकट हात पारिछाड्छु । रातो टिसर्टमा उहाँको व्यक्तित्वसँगै स्वर पनि त्यति नै खुल्छ । त्यसअघि रेडियो र सिडीमा सुनेको उहाँको आवाज श्वास फेर्न पनि एउटै हावा प्रयोग गर्नुपर्ने सानो प्रेक्षालयमा झन् माधुर्यका साथ सुन्दा अह्लादित बन्छु म । गीतहरूको रेकर्डिङको सन्दर्भ सँगसँगै गायन अघि बढेको त्यो साँझमा प्रशंसकहरू उहाँसँग ‘रुबरू’ हुन्छन् ।
‘आर–साला’ को एकल कार्यक्रमपछि उहाँ एकपछि अर्को कार्यक्रममा देखिँदै आउनुभएको छ । प्रत्यक्ष गायन मात्र नभएर उहाँ नयाँ–नयाँ गीतको रेकर्डिङमा व्यस्त हुनुहुन्छ । आफ्ना गायनयात्राका प्रारम्भका दिनहरूमा शम्भुजित बास्कोटाको कम्पोज (कुनैमा रचना पनि) र राजेन्द्र रिजालको रचनामा एक से एक हिट गीत दिनुभएका उहाँ पछिल्लो समयतिर नयाँ पिढीका कम्पोजर, रचनाकारसँगको सहकार्यमा देखिनुहुन्छ । ‘आर–साला’ लगत्तै उहाँलाई फेरि एकपटक सुन्ने अवसर जुर्छ ।
कलेजको प्रारम्भिक जीवनतिरको मेरो साथी एवं गीतकार विजय सिवाकोटी रचित गीतको एल्बम लोकार्पणको कार्यक्रममा उहाँले आफ्ना समकालीन कम्पोजर दीपक जंगमको संगीतमा एउट गीत सुनाउनुहुन्छ । दीपक खरेल, शम्भुजित बास्कोटा र राजेन्द्र रिजालको ‘ट्रिओ’ उहाँको सांगीतिक जीवनको स्वर्णकाल हो । यसैगरी उहाँका अभिन्न मित्र एवं यशस्वी संगीतकार दीपक जंगमसँगको जुगलबन्दीका ‘बिहानीको सिरेटोमा’, ‘मेरो संसार तिमी नै हौ’, ‘गरूँ कि मीठो भुल’ श्रुतिमधुर गीतहरू हुन् ।
साहित्य, संगीत वा कलाका कुनै पनि विधाको कुरा गरौँ, हामी सर्जकलाई दुई हैसियतमा पाउँछौँ । पहिलो वर्गका सर्जकहरू जीवनको ऊर्जावान् समयमा प्रसिद्धिको उडान भर्छन्, र उनीहरूको क्रियाशीलता उमेर र परिस्थिति सँगैसँगै अवतरित हुन्छ । विगतको नोस्टाल्जियामा ती बाँचिरहेका हुन्छन् । दोस्रो वर्गका चाहिँ, थकानरहित उन्नयनको सोपान गरिरहेका हुन्छन् ।
दा भिन्ची, पिकासो, दालीजस्ता चित्रकार, मोर्गन फ्रिम्यान, अमिताभ बच्चनजस्ता अभिनेता, टैगोर र हाम्रै राष्ट्रकवि माधवप्रसाद घिमिरेका निम्ति उमेर संख्याको गिन्तीभन्दा बढी केही होइन । तर, गायकीको हकमा भने स्वरको मिठास र रेन्ज उमेरसँगै ढल्किरहेको हुन्छ । शास्त्रीय रियाज गर्ने पण्डित जसराज, लता मंगेशकर र उनकी बहिनी आशा आदि केही अपवाद हुन् जो उमेरले चार–बीस कटिसक्दा पनि अद्यावधि सक्रिय छन् । नेपालमा भने अपवादका रूपमा मात्र बीस र तीसका दशकमा सनसनी मच्चाएका केही हस्ती अझै सक्रिय देखिन्छन् । बीसको दशकबाट गीतियात्रा थाल्नुभएका दीप श्रेष्ठ र तीसको दशकका स्पन्दन दीपक खरेल अहिले पनि गीति जीवनका प्रारम्भिक दिन जसरी नै सक्रिय हुनुहुन्छ ।
बिटल्स समूहका पाउल मकार्टनीले १६ वर्षकै छँदा एउटा भविष्यवादी गीत रचे, ‘ह्वेन आई एम सिक्स्टी फोर’, जुन समूहले सन् १९६७ मा रेकर्डिङ गरेको थियो । सन् २००६ मा ६४ वर्ष पुग्दै गर्दा मकार्टनीलाई यसै गीतका हरफद्वारा ट्रिब्युट दिइएको थियो । मकार्टनी गायनमा अझै सक्रिय छन् । २०३५ सालमा मात्र २० वर्षको उमेरमा ‘तिम्रो त्यो हँसिलो मुहारको’ गीत गाउँदा दीपक दाइको मनमा के दौडिरहेको हुन्थ्यो, थाहा भएन । तर, सम्भवतः अहिले उहाँ पनि मकार्टनीको ‘सिक्स्टी फोर’ तिर आइसक्दा स्वरको मिठास र ओजमा कत्ति पनि गिरावट आएको छैन । स्वअनुशासन, सकारात्मक सोच र आध्यात्मिक जीवनदृष्टिका कारण उहाँको गीति उडान उचाइमै रहिरहन सफल भएको हुनुपर्छ ।
गत पुस महिनामा दाइले स्नेहका साथ आफ्नो एकल कन्सर्टमा निम्ता गर्नुभयो । पुस २८ गते भक्तपुरमा लिजेन्ड ब्यान्डका सिद्धहस्त वाद्यवादक टोलीसँग उहाँ एकल गायनमा प्रस्तुत हुनुभयो । मध्यजाडोको साँझमा छतविहीन प्रांगणमा भएको उहाँको प्रस्तुति वर्णानातीत थियो । दर्जनभन्दा बढी गीत गाउँदा पनि उहाँको स्वर न कतै ‘अफ’ थियो, न कतै ‘फ्ल्याट’ सुनिन्थ्यो । त्यस्तै, मिठास र ऊर्जा जतिवेला उहाँका गीतहरू रेडियामा (मात्रै) बज्दथे । प्रशंसकहरू अवाक् र आह्लादित बन्थे, दीपक दाइले उही परिचित शालीन र हल्का मुस्कानसहित तीन दशकअघिको तस्बिर श्रोताहरूलाई पस्किरहनुहुँदा, ‘तिम्रो तस्बिरले चित्त बुझाउँदा ।’