जसले अंग्रेज साम्राज्यको जरा हल्लाइदियो

जलियाँ वाला बाग हत्याकाण्ड

सुरेश निरौला सुरेश निरौला
शनिबार, १४ बैशाख, २०७६
डिजिटल संस्करण

अप्रिल१९ मा पन्जाबमा लोकसभा चुनावको सातौँ तथा अन्तिम चरणको निर्वाचन हुनै बाँकी थियो । त्यसको प्रचारप्रसारका लागि केन्द्रीय सरकारले अमृतसरमा गत शनिबार चुनावी आमसभा र जलियाँवाला बाग हत्याकाण्डका सहिदका लागि स्मृतिसभा गर्ने कार्यक्रम तय ग-यो । तर, पन्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले ठाडै विरोध जनाए । उनको बुझाइमा मोदी सरकार सहिदको रगतमाथि राजनीति गरेर लाभ लिन खोज्दै थियो । त्यसैले नआएकै राम्रो भनिदिए । ‘हामी भित्रैबाट घाइते छौँ, दुःखी छौँ,’ गत शनिबार अमृतसरमा आयोजित एक कार्यक्रममा सिंह रोष प्रकट गर्दै थिए, ‘हाम्रो दुःखमाथि खिल्ली उडाउन मात्र यहाँ आउने कष्ट नगर्नुहोस् प्रधानमन्त्री मोदीज्यू ।’ 

उनको रोष थियो, १३ अप्रिलमा ठीक सय वर्ष पुगेको जलियाँवाला बागको हत्याकाण्डमा भारतले देखाउँदै आएको असंवेदनशीलता । त्यहाँ तत्कालीन अंग्रेज शासकले अन्धाधुन्ध गोली बर्साएर सयौँको ज्यान लिएको थियो । हजारौँ अंगभंग भएका थिए । यसलाई पन्जाबीले शताब्दीकै दुःखद घटना मान्दै आएका छन् । सहिदको सम्मान र घटनामा पीडित परिवारको सन्ततिको साहनुभूतिका लागि बेलायती सरकारले क्षमा माग्नुपर्ने उनीहरूको माग छ ।

बर्सेनि यहाँ स्मृतिसभा हुन्छ, पीडितका परिवार मात्र होइन, समग्र पन्जाब बासिन्दा फेरि एकपटक सुकसुकाउँछन् । माफीको माग राख्छन् । तर, घटना भएको एक शताब्दी र देशले स्वतन्त्रता हासिल गरेको सात दशक बिते पनि न त भारत सरकारले बेलायतीलाई क्षमाका लागि दबाब दिन, सम्झाउन सकेको छ, न त बेलायतले यसप्रति कुनै क्षोभ प्रकट गर्दै माफी मागेको छ । 

बेलायती साम्राज्यबाट स्वतन्त्र भएको ५०औँ वर्षगाँठका अवसरमा सन् १९९७ मा महारानी एलिजाबेथ द्वितीया भारत भ्रमणमा आएकी थिइन् । उनी जलियाँवाला बाग स्मृति उद्यान नै पुगिन् । तर, यति मात्र भनिन्, ‘ब्रिटिस इतिहासको सबैभन्दा शर्मनाक घटना थियो ।’  माफी नमागेकामा भारतले चित्त दुखाउने, तर बेलायतले माफी माग्न नमान्ने क्रम एक शताब्दीदेखि चलिरहेको छ । आखिर के भएको थियो, जलियाँवाला बागमा ? यसलाई बुझ्न ठीक सय वर्षअघि फर्कनुपर्ने हुन्छ । 

सय वर्षअघि 
यो घटना भारतीय स्वतन्त्रता संग्रामसँग सम्बन्धित छ । अंग्रेज साम्राज्य इस्टइन्डिया कम्पनीले भारतमा आफ्नो कब्जा जमाइसकेपछि सुरुका केही दिन हर्षबढाइँसमेत भएको थियो । क्षेत्रीय राजा रजौटाले अंग्रेजको छत्रछायामा आफ्नो राज्य सुरक्षित हुने ठानेर जनतालाई आश्वस्त पारेका थिए । तर, केही समयपछि नै विरोधका स्वर उठ्न थाले । विभिन्न ठाउँमा स्वतन्त्रता आन्दोलन हुन थाल्यो ।

कम्पनी सरकारविरुद्ध औपचारिक विद्रोह भने सन् १८५७–५९ मा भएको थियो । बेलायती सेनामा कार्यरत भारतीय जवानमाथिको तीव्र भेदभावले जन्माएको थियो त्यो विद्रोह । सैनिक संगठनभित्र विद्रोह भएकाले कम्पनी सरकारले सजिलै दबाउन सक्यो । अर्कोतर्फ नेतृत्व अभावले पनि विद्रोहले आकार लिन सकेन । तर, भारतीय नागरिकप्रति भने गहिरो प्रभाव छाड्यो ।

२० शताब्दी सुरुवाती दशकतिर स्वतन्त्रता संग्रामले उग्ररूप लिन थाल्यो, जब संग्रामले महात्मा गान्धी (त्यसवेला मोहनदास करमचन्द गान्धी) जस्तो सादगी र कटिबद्ध नेतृत्व पायो । गान्धी त्यसवेला दक्षिण अफ्रिकामा जातीय भेदभावविरुद्ध दुई दशक लामो लडाइँ लडेर विश्वचर्चित बनिसकेका थिए ।तर, पहिलो विश्वयुद्धले परिस्थिति कम्पनी सरकारको पक्षमा गइदियो ।

विश्वयुद्धको कारण देखाउँदै कम्पनी सरकारले नागरिकमाथि कडा निगरानी राख्ने कानुन ‘डिफेन्स अफ इन्डिया एक्ट १९१५’ जारी ग-यो । उक्त कानुनले नागरिकको बोल्ने, लेख्ने र जमघटका गतिविधि गर्न प्रतिबन्ध गरेको थियो । सरकारलाई कुनै आधारविनै नागरिकको धरपकड गर्न र थुना राख्न पाउनेजस्ता असीमित अधिकार दिएको थियो । यसले प्रेसमा सेन्सरसिप लगाएको थियो । विनाकुनै वारेन्ट गिरफ्तार गर्न पाउने र अदालतको आदेश नभए पनि बन्दी बनाएर राख्न सक्ने अधिकार दिएको थियो । 

जसै युद्ध सकियो । सरकारले यस्तो कानुन रद्द गर्ने भारतीय स्वतन्त्रता सेनानीहरूले सोचेका थिए । तर, कम्पनी सरकार त झन् कडा रूपमा पो प्रस्तुत भयो । उसले युद्धकालीन कानुन रद्द होइन, त्योभन्दा कडा अर्नाकिकल एन्ड रिभ्योलुस्नरी क्राइम एक्ट’ लागू ग-यो । यो ‘रल्याट एक्ट’का रूपमा चर्चित छ । यो कानुनले सरकारलाई युद्धकालभन्दा धेरै असीमित अधिकार दिएको थियो । जुन शान्तिकालका लागि आवश्यक थिएन । 

सन् १९१९ मार्चमा यो कानुन ल्याइएपछि भारतीय स्वतन्त्रता सेनानीहरूको धैर्यताको बाँध फुट्यो । युद्धकालमा गान्धी बेलायती सरकारप्रति नरम थिए । युद्धपछि बेलायतले भारतीयका लागि केही राम्रा, समान नीति ल्याउने उनको अपेक्षा थियो । तर, त्यसो भएन । त्यसैले रल्याट एक्टलाई गान्धीले सहज लिएनन् । गान्धीले ६ अप्रिल १९१९ मा एकदिने देशव्यापी आमरण अनशनको घोषणा गरे । यो अनशको राम्रो प्रभाव प-यो ।

आन्दोलनकारीको उत्साहका लागि गान्धी पनि पन्जाब आउने भए । तर, कम्पनी सरकारले गन्धीलाई बीचबाटैबाट गिरफ्तार ग-यो र मुम्बई (तत्कालीन बम्बै) फर्काइदियो । पन्जाबमा तनाव झन् भडकियो । १० अप्रिलमा प्रहरीले १२ प्रदर्शनकारीको हत्या गरेपछि प्रदर्शनले झन् उग्र रूप लियो । पाँचजना युरोपेली नागरिकको हत्या गरे । युरोपेली मिसिनरी मार्सेला सेरवुडमाथि आक्रमण गरी निर्मम कुटपिट गरे र सडकमा फालिदिए । पछि उनको त्यहीँ मृत्यु भयो । 

प्रदर्शनले उग्र रूप लिन थालेपछि नियन्त्रणमा लिन सहर सुरक्षा प्रमुख कर्णेल रेजिनल्ड डायरलाई खटाइयो । उनले ११ अप्रिलमा थप कडा नियम लागू गरे, जसमा एकैठाउँमा चारजनाभन्दा बढी भेला हुन, नाराबाजी तथा प्रदर्शन गर्न प्रतिबन्ध लगाइयो । उल्लंघन गरेमा सुरक्षाकर्मीले गोलीसम्म हान्न सक्ने चेतावनी थियो ।

पन्जाबी १२ अप्रिल, एक दिन चुप लागेर बसे । सायद नयाँ रणनीति तय गर्नु थियो । भोलिपल्ट १३ अप्रिल अर्थात् वैशाखी पथ्र्यो । त्यो मनाउनुथियो । त्यसैको आडमा सरकारी अवज्ञा तोड्न मिल्ने उचित बहाना पनि मिल्यो । स्थानीय नेताहरूले बैसाखी मनाउन सबैलाई जलियाँवाला बागमा भेला हुन आह्वान गरे ।  

१३ अप्रिल १९१९ (घटनाको दिन) 
वैशाख १ गते, पन्जाबीले पनि नयाँ वर्षका रूपमा धुमधामसँग मान्छन्, नेपालीले जस्तै । वैशाखी मनाउन पन्जाबीहरू ठूलो समूहमा जलियाँवाला बागमा भेला भए । नयाँ वर्ष मनाउन र मन्दिरको दर्शन गर्नु त छँदै थियो, खासमा सरकारले ल्याएको नयाँ कानुन विरोध गर्नु एवं कफ्र्यु पनि उल्लंघन गर्नु थियो । पूरै सहर उर्लेर जलियाँवाला बागको चार बिघा क्षेत्रफलमा फैलिएको चउरमा भेला भयो । त्यसवेला अन्दाजी १० हजारको संख्यामा भेला भएको अनुमान छ । कर्णेल डायरले उक्त जनसमूहले कफ्र्यु तोडेर बजारमा प्रदर्शन गर्ने सुराकी पाए । त्यसैले उनी केही गाडी र बख्तरबन्दसहित त्यता लागे ।

तर, उनी र उनका सिपाही चढेको सवारी बगैँचा जाने बाटो छिर्न सकेन । त्यसपछि डायर र उनका सिपाही हिँड्दै बगैँचाको मूलद्वार पुगे । सिपाहीले अन्य द्वार पनि बन्द गरे । निस्कने/भाग्ने ठाउँ कतै बाँकी रहेन । त्यसपछि सिपाहीहरू एकातिर भेला भए र सतर्क पोजिसनमा उभिए । उनीहरू भिडभन्दा १ सय ५० फिट पर पूर्वी कुनामा थिए । भिडले सोच्यो, ‘सुरक्षा दिएका होलान् ।’

यत्तिकैमा डायरले कडा स्वरमा कराए, ‘फायर ।’ सिपाहीहरूले अन्धाधुन्ध गोली बर्साए । गोली करिब १० मिनेट बर्सियो । सिपाहीले त्यतिवेलासम्म गोली बर्साइरहे, जबसम्म उनीहरूले लोड गरेको पहिलो लटका गोली सकिँदैनन् । कोलाहल र भागदौड मच्चियो । कतिपय किचिएर मरे । चउरको बीचमा इनार थियो । कतिपय त्यहाँ खसे । पछि त्यहाँबाट १ सय २० शव निकालियो । 

सिपाहीले भिडलाई नै लक्षित थ्री नट थ्री राइफलबाट १ हजार ६ सय ५० गोली वर्षाएका थिए । ३ सय ७९ जनाको घटनास्थलमै मृत्यु भयो । करिब १ हजार १ सय घाइते भए । यो कम्पनी सरकारको तथ्यांक थियो । स्थानीयका अनुसार घटनामा त्यसको दुगुना बढी मृत्यु र घाइते भएका थिए । मृत्यु भएकामा ४१ नाबालिग थिए । ६ हप्ताका शिशुको पनि गोली लागि मृत्यु भएको थियो । 

त्यति हुँदा पनि कम्पनी सरकारले कफ्र्यु हटाएन । सहरभरि बख्तरबन्द गाडीसहित सैनिक तैनाथ थिए । घाइतेको तत्काल उद्धार हुन सकेन । घटना बेलुकातिर भएको थियो । भाग्न सक्नेहरू छेउछाउका घरमा लुकेर रात बिताए । घाइते भने रातभरि त्यहीँ छटपटाउन बाध्य भए । दुखाइ सहन नसकेरै कतिको ज्यान गयो । पछि हन्टर कमिसनलाई बयान दिने क्रममा डायरले भनेका थिए, ‘उद्देश्य त बख्तरबन्द र मेसिनगनसहितको गाडी लिएर बगैँचाभित्र जाने थियो । नसकेपछि थ्री नट थ्री मात्र बोकेर गएका थियौ ।’ रिसको आवेगमा रहेका डायरले घाइतेको पनि मद्दत गर्न चाहेनन् । यही भनाइप्रति भारतीयले चित्त दुखाउँदै आएका छन् । उनीहरूको सोचाइमा, डायरको उद्देश्य भिड नियन्त्रण गर्नु थिएन । उनी प्रतिशोध लिन चाहन्थे । सम्पूर्ण पन्जाबीको हत्या गर्न चाहन्थे ।

त्यसपछि 
जलियाँवाला बाग हत्या काण्ड पछि अन्दोलनले नयाँ मोड लियो । समग्र भारतीय प्रति अंग्रेज विरुद्ध नराम्रो छाप प-यो । कम्पनी सरकारको समर्थन गर्ने राज्य रजौटाका राजा र मुख्य अधिकारीले पनि साथ छाड्ने निर्णय गरे । नोवेल पुरस्कार विजेता भारतीय सहित्यकार राविन्द्रनाथ टैगोरले अंग्रेज सरकारले दिएको आफ्नो टाईटल ‘नाईटहुड’ फिर्ता नै गरिदिए ।

 गान्धी हिरोमा स्थापित भए । तर आन्दोलनलाई यही रुपमा जारी राख्दा हिंसा भडकिने निश्चित थियो । उनले आन्दोलनकारीमा संयम कायम गराउन सत्याग्रह स्थागित गर्नु प-यो । एक वर्ष शान्त रहेपछि फेरी ‘भारत छोडो’ सत्याग्रह सुरु गरे । यो चार वर्ष चल्यो । यो रक्तपात पछि भगत सिंह, उद्यम सिंह, आजात, सुबासचन्द्र बोसजस्ता क्रान्तिकारी नेताको पनि उदय भयो, जो शान्तिबाट हैन, क्रान्तिबाटै अंग्रेजलाई लखेट्नु पर्छ भन्ने विचारका थिए । जनतामा अंग्रेज विरुद्ध रगत उम्लिदो थियो । त्यतिमात्र हैन, त्यो हत्याकण्डले कम्पनी सरकारको जरै उखेर फाल्न भारतीयलाई प्रतिबद्ध बनायो । त्यसको तीन दशक नबित्दै कम्पनी सरकारले भारत छोड्नुपरेको थियो । 

घटनाका ‘खलनायक हिरो’
हत्याकाण्डका खलनायकका रूपमा सेनाका कर्णेल रेजिनल्ड डायरलाई लिइन्छ । त्यसवेला उनी कम्पनी सरकारका सहर सुरक्षा प्रमुख थिए । घटनालगत्तै कम्पनी सरकारले उनलाई बर्खास्त त ग-यो । तर, बेलायती महारानीले भने उनको प्रशंसा गरिन् । बेलायतले उनलाई हिरो मान्यो ।

हत्याकाण्डका खलनायकका रूपमा सेनाका कर्णेल रेजिनल्ड डायरलाई लिइन्छ । त्यसवेला उनी कम्पनी सरकारका सहर सुरक्षा प्रमुख थिए । घटनालगत्तै कम्पनी सरकारले उनलाई बर्खास्त त ग-यो । तर, बेलायती महारानीले भने उनको प्रशंसा गरिन् । बेलायतले उनलाई हिरो मान्यो । स्थिति नियन्त्रणमा लिनु डायरको बाध्यता रहेको स्पष्टीकरण थियो । उनलाई बेलायतले ‘पन्जाबमा सुरक्षा कायम गराएको’ प्रशंसास्वरूप २६ हजार पाउण्ड पुरस्कार दियो । त्यो रकम यतिवेलाको १० लाख पाउन्डबराबर हो । महारानीले पनि प्रशंसा गर्दै बहादुरीको निसानी ‘तरबार’ प्रदान गर्दै सम्मान गरेकी थिइन् । 

भारतीय भने खलनायक ‘हत्यारा’का रूपमा चित्रण गर्छन् । उनीहरूचाहिँ डायरलाई ‘पन्जाबको कसाई’ ठान्छन् । हत्याकाण्डपछि डायरलाई बेलायत नै बोलाइयो । उनी बेलायतमै सामान्य जीवन बिताउन थाले । सन् १९४० मा उनी ७५ वर्षका थिए । एक बैठकमा भाग लिने क्रममा पन्जाबी क्रान्तिकारी युवा उद्यम सिंह (जो हत्याकाण्डमा गोली लागी घाइते भएका थिए)ले डायरमाथि दुई गोली प्रहार गरे । लगत्तै डायरको मृत्यु भयो । सिंहले पनि भाग्ने मौका पाएनन्, पक्राउ परे । तीन महिनापछि सिंहलाई पनि फाँसी दिइयो ।

सम्पादकको रोजाइ

सुझावित समाचार