इतिहास अध्येता सुजित मैनालीको नयाँ किताब ‘शिलान्यास : नेपाल निर्माणको नालीबेली’ प्रकाशित छ । उनी इतिहासको आलोकमा वर्तमानका पात्रहरूको भूमिका केलाउँछन् ।
इतिहासबोध
तपाईंको किताबमा इतिहासका सन्दर्भ प्रशस्त छन् । तर, तपाईंले इतिहासको सहारा लिएर आफ्नो कुरा राखेको हुँ भन्नुभएको छ । ‘शिलान्यास’ इतिहासको पुस्तक होइन भने के हो त ?
नेपालको बौद्धिक वृत्तमा नेपाली समाज, नेपाल राष्ट्र र यहाँको संस्कृतिबारे तीव्र बहस जारी छ । यही बहसमा किताबमार्फत मैले पनि भाग लिएको हुँ । आफ्नो मतलाई प्रस्ट्याउन मैले इतिहासको सहारा लिएको छु । नेपालको विगत प्रस्ट्याउनमा नभई अहिले जारी बहसको जग पहिल्याउनमा मेरो बढ्ता अभिरुचि छ । मानिस विमान चढ्न भनेर विमानस्थलसम्म पुग्छ । तर, विमान उसको गन्तव्य होइन, गन्तव्यसम्म पुग्ने साधन मात्र हो । विमानलाई जस्तै इतिहासलाई पनि मैले माध्यम बनाएको हुँ ।
किताबको भूमिकाका रूपमा रहेको ‘उपोद्घात’को पहिलो वाक्य यस्तो छ, ‘किताबमा भएका कुरा अर्कै पारामा पनि भन्न सकिन्थ्यो तर मैले इतिहासको सहारा लिएर आफ्ना कुरा राखेँ ।’ इतिहासकै सहारा लिनुपर्ने किन ? ‘अर्कै पारा’ के हुन सक्थ्यो ?
जवाहरलाल नेहरूले छोरी इन्दिरा गान्धीका लागि ‘ग्लिम्पसेज अफ वल्र्ड हिस्ट्री’ लेखेका हुन् । किताबमा रक्तरञ्जित इतिहासबारे लामो चर्चा गरिसकेपछि विदीर्ण मनस्थितिका साथ नेहरूले छोरीलाई भनेका छन्, ‘तिम्रो कलिलो मनलाई हिंसा–प्रतिहिंसा, घात–प्रतिघातले व्यथित नबनाओस् भनेर अब म राजा–महाराजाका तरबारलाई होइन, स्थापत्यलाई केन्द्रमा राखेर तिमीलाई इतिहासबारे बताउँछु ।’ स्थापत्यलाई आधार बनाएर उनले उत्तिकै प्रभावकारी रूपमा विगतका कुरा लेखेका छन् ।
‘शिलान्यास’ मूलतः समावेशीकरण–बहिष्करणको बहसमाथि केन्द्रित छ । यसबारे गएको १३ वर्षमा थुप्रै किताब लेखिए । कतिपयले जनगणना प्रतिवेदनलाई आधार बनाए भने कतिपयले राज्यका निकायमा विभिन्न समुदायको प्रतिनिधित्वलाई । मैले इतिहासको आलोकमा आफ्नो मत प्रस्तुत गरेको छु ।
चीनको उदाहरण लिऔँ । चीन बढी ‘होमोजेनस’ छ । त्यहाँका करिब ९२ प्रतिशत मानिस हान जातिका छन् । अधिकांशले मन्डारिन भाषा बुझ्छन्, बोल्छन् । सयौँ वर्ष लामो गृहयुद्धको परिणाम हो चीनको यो समरूपता, जहाँ विजेताले पराजितलाई सोत्तर बनाएको थियो । तर, नेपालको अवस्था भिन्न छ । नेपालमा पर्वते, पहाडी जनजाति र तराई–मधेस मुलका मानिसको अनुपात लगभग समान छ । यसले राष्ट्र र राज्य निर्माणका क्रममा नेपालमा तुलनात्मक रूपमा कम हिंसा प्रयोग भएकोतर्फ संकेत गर्छ ।
काठमाडौंमा चैत्य र मन्दिरका गजुर सँगसँगैजस्तो ठडिएको प्रसंगले नेपाली समाजको आधारभूत चरित्र धार्मिक वैमनस्य होइन, धार्मिक सहअस्तित्व हो भन्ने देखाउँछ । बजारमा अथवा घरघरमा पाक्ने परिकारले पनि समाजको स्वरूप, विभिन्न समुदायबीचको सम्बन्धको विगतदेखि आगतसम्मका विवरण बोलिरहेको हुन्छ । काठामडौंका गल्लीगल्लीमा मःमः र चाउमिन ख्वाइने गरेको विषय खोतल्दै गइयो भने अर्थराजनीतिदेखि भूराजनीतिसम्मका गुत्थी केलाउन सकिन्छ । आफ्ना कुरा राख्ने यस्ता कैयौँ शैली उपलब्ध हुँदाहुँदै पनि मैले इतिहासमार्फत आफ्नो कुरा राखेँ । किनकि, म इतिहासमा बढी सहज महसुस गर्छु । यो मेरो अभिरुचिको विषय हो ।
किताबमा तपाईंले प्रशस्त सन्दर्भ–सामग्रीको जवाफ दिनुभएको छ । तपाईंले नेपालको इतिहासबारे लेखिएका अधिकांश सामग्रीको अध्ययन गर्नुभएको देखिन्छ । हाम्रो इतिहासबोध कस्तो पाउनुहुन्छ ?
विगत दोहो¥याउनलाई इतिहास पढिँदैन । वर्तमानलाई राम्रोसँग बुझेर भविष्यको खाका कोर्न इतिहास पढिन्छ । यही मर्मलाई आत्मसात गरेर अमेरिकी विश्वविद्यालयहरूमा पछिल्लो समय ‘एप्लाइड हिस्ट्र’ पढाउन थालिएको छ । इतिहासको सही मूल्यांकन गर्न सम्यक दृष्टि चाहिन्छ । इतिहास पढ्दै गर्दा तत्कालीन सन्दर्भमा कुनै घटना घट्नु, घटाइनु कत्ति सान्दर्भिक थियो भनी हेर्नुपर्ने हुन्छ । ऐतिहासिक पात्रहरूको प्रगतिशीलतालाई अहिलेको तुलामा तौलिनु उपयुक्त होइन । वर्तमानको कुण्ठालाई कसैले इतिहासमा आरोपित गर्न खोज्छ भने उसको पठन दोषपूर्ण बन्न पुग्छ । पछिल्लो समय नेपालमा यस्तैखालको दोषपूर्ण पठन फस्टाएको छ । त्यसैले किताबमा मैले इतिहासको ‘इम्पेरिकल’ अध्ययन अपूर्ण हुन्छ, यसको ‘होलिस्टिक’ अध्ययन हुनुपर्छ भनेको छु ।
राज्य निर्माण
किताबको अधिकांश हिस्सा नेपाली राज्य निर्माणको वृत्तान्तमा खर्चिनुभएको छ । नेपाली राज्य निर्माणबारे प्रशस्त लेखिइसकेको छ । फेरि पनि यही विषयमा लेख्न आवश्यक किन ठान्नुभयो ?
बर्तोल्त ब्रेख्तको कविता ‘अ वर्कर रिड्स हिस्ट्री’ मलाई असाध्यै मन पर्छ । यसमा नायकको नायकत्वले इतिहासको छायामा धकेलेका उसका सहयात्री र सहयोगीहरूको गाथा गाइएको छ । म यो कविताबाट प्रभावित छु । तर, सँगसँगै म इतिहास निर्माणमा नेतृत्वको भूमिकाको पनि उच्च मूल्यांकन गर्छु ।
किताबमा मैले नेपाली राज्य निर्माणको वृत्तान्तबारे परम्परागत ढाँचामा लेखेको छैन । इतिहास निर्माणका क्रममा खासगरी पहाडी जनजाति समुदायका मानिसले खोलेको भूमिका र उनीहरूले व्यहोर्नुपरेको सांस्कृतिक उथलपुथलको विवरण प्रस्तुत गरेको छु । गंगाराम राना, झागल गुरुङ, वंशु गुरुङ, बिस्या नगर्ची, प्रतिमान राना, देवु राना, त्रिभुवन प्रधान, नरसिंह गुरुङ, लखन थापामगर, अंगद घले, अभिमानसिंह राना, लाल झाजस्ता राजामहाराजा अथवा उनीहरूले प्रतिनिधित्व गर्ने समुदायका भारदार र सैनिकहरूको विरुदावलीका कारण ओझेल परेका पात्रबारे मैले प्रकाश पारेको छु । यो ढाँचामा यसअघि असाध्यै कम लेखिएका छन् ।
ऐतिहासिक पात्रहरूको प्रगतिशीलतालाई अहिलेको तुलामा तौलिनु उपयुक्त होइन । वर्तमानको कुण्ठालाई कसैले इतिहासमा आरोपित गर्न खोज्छ भने उसको पठन दोषपूर्ण बन्न पुग्छ ।
किताबमा तपाईंले पृथ्वीनारायण शाहबारे लगाइएका कतिपय आरोपको खण्डन गर्ने प्रयास गर्नुभएको छ । तपाईंको लेखनीलाई पृथ्वीनारायणको नायकत्व स्थापित गर्ने अर्को अभ्यासको रूपमा बुझ्दा के फरक पर्छ ?
तथ्यसँग बाझिने कुरा कसैले गरेको छ भने त्यसको खण्डन गर्नैपर्छ । तथ्य जाँचकीका रूपमा पनि मैले काम गरिसकेको छु । त्यसैले म तथ्यप्रति बढी संवेदनशील छु । तथ्यमाथि शासकले एकाधिकार कायम गरेकाले उत्पीडितहरूले तथ्यलाई बेवास्ता गरी सत्यलाई एकोहोरो प्राथमिकता दिनुपर्छ भनेर अनुसन्धानकर्तालाई पाटे अल्छी बन्न प्रेरित गर्ने प्रवृत्तिप्रति मेरो गहिरो असहमति छ ।
‘शिलान्यास’को आरम्भमै मैले कसैलाई उठाउने अथवा खसाउने नियतका साथ गरिएका इतिहास लेखनको अपूर्णताबारे औँल्याएको छु । किताबमा मैले आग्रहलाई पन्छाएर तथ्यको आलोकमा इतिहास र इतिहासका पात्रहरूको विवेचना गरेको छु ।
विविध
किताबको दोस्रो अध्यायमा नेपालको अस्तित्व हालसम्म अविच्छन्न रहँदै आउनुपछाडिको कारणबारे विवेचना गरिएको छ । यसबारे छोटोमा भनिदिनुस् न !
नेपालको अस्तित्व अविच्छिन्न रहँदै आउनुका प्रमुख कारणमध्येमा पर्छन्, यहाँको भूगोल, यहाँको संस्कृति र जटिल समयमा यहाँको नेतृत्वले देखाएको सुझ्बुझपूर्ण व्यवहार । यदि, भूगोलकै कारण मात्र नेपालको स्वतन्त्रता अक्षुण्ण रहन्थ्यो भने नेपालको जस्तै भूगोल भएका सिक्किम र कास्मिर आज विश्व मानचित्रबाट बिलाउने थिएनन् । यही भेगको अर्को मुलुक भुटानले आफूलाई भारत संरक्षित राष्ट्रका रूपमा खुम्च्याउनुपर्ने थिएन ।
पहिलो अध्यायमा मैले नेपालको स्वतन्त्रता र यहाँका संस्कृतिहरूबीचको अन्तरघुलन, अन्तरमिश्रणबारे संक्षेपमा लेखेका छु । दोस्रो अध्यायमा स्वतन्त्रता अक्षुण्ण राख्न नेपाली नेतृत्वले लिएको रणनीतिको शृंखला प्रस्तुत गरेको छु । यस क्रममा चीन र भारतसँगको नेपालको युद्धदेखि पछिल्लोपटक नेपालले भोग्नुपरेको भारतीय नाकाबन्दीसम्मका प्रसंगबारे विवेचना गरेको छु ।
किताबमा चर्चित मानवशास्त्री डोरबहादुर विष्टको किताब ‘फेटालिज्म एन्ड डेभलपमेन्ट’बारे विवेचना गर्नुभएको छ । डोरबहादुर र ‘फेटालिज्म एन्ड डेभलपमेन्ट’बारे तपाईंको मत कस्तो छ ?
विष्टको किताब ‘फेटालिज्म एन्ड डेभलपमेन्ट’लाई म ‘ओभररेटेड’ किताब भन्न रुचाउँछु । तीन दशक लामो अध्ययन–अनुसन्धानपछि ‘फेटालिज्म एन्ड डेभलपमेन्ट’ लेखेको हुँ भनी विष्टले दाबी गरेका छन् । किताब लेखनका क्रममा विभिन्न दातृ निकाय र विदेशी विद्वान्ले उनलाई आर्थिक तथा प्राज्ञिक सहयोग बर्साएका थिए । कतिपय विदेशी विद्वान्ले किताबलाई नेपालको विकासमाथि लेखिएको अभूतपूर्व ग्रन्थसम्म भनेका छन् ।
वैदेशिक लगानीबाट आयोजना गरिएका विद्वत्त सभा र प्रकाशनमा यसबारे विहंगम छलफल गर्ने क्रम आजका मितिसम्म जारी छ । यसको चर्चाको आयातन हेर्दा लाग्छ, मानौँ यो ज्यारेड डायमन्डको ‘गन्स, जम्स एन्ड स्टिल’ अथवा डारोन एसिमग्लु र ज्याम्स ए. रबिन्सनको ‘ह्वाई नेसन्स फेल’को नेपाली संस्करण हो । तर, किताब त्यो स्तरको बिलकुल छैन ।
विष्टको यो किताबलाई मैले दातृ निकायको प्रोत्साहनमा, उनीहरूका निहित उद्देश्यमा टेवा पु-याउने उद्देश्यसहित लेखाइएको ग्रन्थ ठहर गरेको छु । यो किताबको प्राज्ञिक धरातल असाध्यै कमजोर छ । परस्परविरोधी सन्दर्भहरू प्रशस्तै छन् । नेपालको इतिहास र संस्कृतिका आधारभूत ग्रन्थसम्म नपढी उनले यी विषयमा हात हाल्ने दुस्साहस गरेका छन् । किताब फितलो भए पनि आजका मितिसम्म यसले यथेष्ट चर्चा पाइरहनुको अर्थराजनीतिक कारणबारे केही खुलासा पनि गरेको छु ।