स्वर्गद्वारीको टुप्पोमा मदनकृष्ण

व्यक्ति

वसन्त आचार्य वसन्त आचार्य
शनिबार, १४ बैशाख, २०७६
डिजिटल संस्करण

गाडीबाट ओर्लिएपछि टोपी नै खस्ने ठाडो उकालोतिर हामी अघि बढ्यौँ । हाम्रो मनमा एउटै आशंका दौडिएको थियो– मदन दाइलाई कसरी लैजाने होला ? आफ्ना अनन्य मित्र हरिवंश आचार्य साथमा थिएनन् । तर, मदनकृष्ण श्रेष्ठ एक्ला थिएनन् । उकालो चढ्दा साथ दिने हात थुप्रै थिए ।

मदनकृष्णको बलियो आत्मविश्वाससामु कसैले वक् फुटेन । ‘दाइलाई घोडामा लैजानुपर्छ,’ हामीले योजना बनायौँ । मदनकृष्णले दह्रो पाइला चाल्दै भने, ‘म आफैँ हिँड्छु । जहाँसम्म सक्छु चढ्छु । नसके झर्ने हो ।’ हातमा शुभेच्छुकले दिएको गुराँस बोकेर उनले पाइला अगाडि बढाए । जीवनमा हजारौँ सिँढी चढेका उनलाई अगाडि देखिएको सिँढी चढ्न कसैले प्रश्न गरेको मन पर्दैनथ्यो, सायद । प्रवेश गेटमा उभिएर पोज दिए । आफ्ना फ्यानहरूसँग केही फोटो खिचे । अनि चढे उकालो । 
०००
स्वर्गद्वारीको पैतालामा गाडीले ब्रेक लगाएपछि कवि तुलसी दिवस ढोका खोलेर मदनकृष्ण श्रेष्ठलाई गाडीबाट झर्न हातले सहारा दिन खोज्दै थिए । ‘मभन्दा बुढो मान्छेले मलाई सहारा दिने कहाँ हुन्छ ?’ उनले भुँइको धुलोलाई चोट लाग्ला जसरी सुस्तरी पाइला चाले । उनलाई त्यस्तै रोगले छोएको छ । न सजिलोसँग बस्न मिल्छ न उठ्न र हिँड्न नै । बामे सर्दै कुनै बालक उठेजस्तो उनलाई निकै धौधौ हुन्छ । तर, शरीरको धौ अनुहारमा कहिल्यै ल्याउँदैनन् । डाक्टरले हिँड्दा, बस्दा अनि डुल्दा अरूको सहारा लिन भनेका छन् । ‘सधैँभरिका लागि साथ दिने यशोदा गएपछि (निधन भएपछि) जति गाह्रो भए पनि के गर्नु र ?’ उनले सुनाए । 

जीवनमा सँगै हिँड्ने मान्छे गुमाएको पीडा, शरीरको पीडा, पीडैपीडाका बीचमा पनि उनको अनुहार भने संयोगान्त उपन्यासजस्तो छ । संसारमा सबै दुःख कतै मिल्क्याएर हिँडेका छन् उनी । ‘जीवन बाँच्दासम्म आफैँलाई गुनासो हुने गरी बाँच्ने होइन,’ उनले सिकेको आर्ट अफ लिभिङ यही हो । 

होलेरीको रोल्पामा भएको अक्षर महोत्सवमा उनी अक्षर निफन्न आएका थिए । होलेरीबाट बिहान ७ बजे स्वर्गद्वारीका लागि यात्रा तय गर्दा मदनकृष्णलाई नलैजाने योजना थियो । कवि रमेश क्षितिजले मुखै खोले, ‘दाइलाई गाह्रो होला, नगए पनि हुने, आराम गर्नुहुन्छ कि ?’

रुन्टीको डाँडाबाट गुराँसको रङ चोरेर मदनकृष्णले जवाफ दिए, ‘मेरी यशोदा स्वर्गमा कुन बाटो गई भनेर हेर्न त जानैपर्छ, कतै उनका पाइला देखिन्छन् कि ?’ एकै छिनमा उनले फेरि अनुहारको रङ बदल्दै भने, ‘भोलि आफू जाने बाटो आजै हेर्नुपरेन ? नत्र कता जाने कता, अलमल परिन्छ ।’ उनका पाइलामा पीडा होइन, आत्मविश्वास र अठोट झल्किन्थ्यो । 
जीवनको भीमकाय पहाड उक्लेका मदनकृष्णसँग जाबो स्वर्गद्वारीको उकालो चढ्ने कुरा के ठूलो थियो र ? ‘रोगले छोएपछि केही लाग्दो रहेनछ,’ उनले सुनाए । 

उकाली चढ्दै गर्दा स्वर्गद्वारीबाट उक्लिएका एक हुल मान्छेहरू मदनकृष्णलाई देखेर छक्क परे । जिब्रो टोके । खुसी हुँदै भने, ‘ओ माई गड मदनकृष्ण दाइ !’ फलामे बारले वारपार बनाए पनि उनीहरू नाघेरै टाँसिन आइपुगे । ‘आज दाइसँग सेल्फी हानिन्छ’ भन्दै दर्जन मोबाइलमा मदनकृष्णका तस्बिर कैद भए । त्यसपछि उनी फेरि लागे उकालो । 

मदनकृष्णले केही पाइला चाल्दा नचाल्दै फेरि आइपुग्थे शुभेच्छुकहरू, सेल्फी खिच्न । मदनकृष्ण हातमा गुराँस लिएर मुस्कुराउँथे । दुई पाइला सार्न धौधौ हुने उनलाई लामो उकालो हिँड्न कठिन थियो । तर, स्वर्गद्वारी पुग्नैपर्ने अठोट थियो । उनी फ्यानहरूको घेरामा घेरिँदै, सेल्फी खिच्दै माथि उक्लिरहे ।

स्वर्गद्वारीको आधा बाटो छिचोलेपछि कपालमा कपास फुलाएका एक मानिसलाई मदनकृष्ण आफैँले नमस्कार गरे । ‘नमस्कार हजुर मैले ठम्याइनँ त,’ ती वृद्ध अकमक्क परे । सँगै हिँडेका अर्काले जवाफ दिए ‘त्यो टिभीमा आउने मदनकृष्ण ।’ वृद्ध चकित भए । उनले मदनकृष्णको हात ताने अनि आफ्नो निधारमा लगाए । ‘आज दुईवटा प्रभुसँग भेट हुने हो, एउटा प्रमुख मन्दिरभित्र, एउटा प्रभु तपाईं यहाँ,’ खुसीले उनका आँखा ओसिला भएका थिए । 

जतिले उनलाई देख्थे आँखामा उत्साहको इन्द्रेणी टल्किएको हुन्थ्यो । ‘तपाईं बिरामी मान्छे कसरी चढ्नुभएको ?’ धेरै यस्तै प्रश्नले उनलाई घेराबन्दी गर्थे । उनी चलचित्रको मुख्य डाइलगजस्तो उही डाइलग दोहो-याउँथे, ‘आफ्नै शरीर ठीक छ कि छैन भनेर जाँच्न आएको हुँ  ।’ कतिपय फोटो खिचेर टाढा गएसकेपछि पनि फर्कीफर्की मदनकृष्णलाई हेर्थे । अनि परबाट हात हल्लाउँदै कराउँथे, ‘मदन दाइ, म मह जोडीको फ्यान हुँ ।’ मदनकृष्ण मुसुमुसु हाँसिदिन्थे ।
०००
यशोदासँग छुट्टिएको एक वर्ष पुग्न आँटेको थियो । तर, उनका आँखाले भने उनैलाई नै खोजिरहेझैँ लाग्थ्यो । ‘यशोदाको पनि यहाँ आउने धोको थियो,’ उनी सुस्तरी भन्थे । ‘स्वर्ग जाने बाटो गाह्रो रहेछ, यस्तो लामो बाटो एक्लै हिँड्दा यशोदालाई कति गाह्रो भयो होला,’ सायद उनी मनमनै यस्तै सोच्थे । तर, अनुहारमा उदासीको बादल मडारिन दिँदैनथे । 

‘आम्मै ! हिजो रातभरि फिलिममा मदन दाइलाई हेरेँ । आज अगाडि नै देख्न पाइयो ।’ पोखरातिरबाट आएका महिलाको हुलले फेरि उनलाई घे-यो । उनीहरूले गाडीमा ‘सुख–दुःख’ सिनेमा हेरेका रहेछन् । ‘आउनुहोस् फोटो खिचौँ,’ मदनकृष्णले प्रस्ताव राखे । ‘खिच्न त हुन्थ्यो । बुढाले फेरि गाली गर्लान्, भैगो तपाईंको  मात्रै खिच्छौँ,’ महिलाहरू ठट्टा गर्दै हाँसे । ‘मलाई त गाली गर्ने बुढी पनि छैनन्, यही बाटो स्वर्ग गइन्,’ मदनकृष्णले हाँसेर जवाफ दिए । तर, आँखा ओसिला थिए । 

लेखक तथा डा. रवीन्द्र समिरले उनको स्वास्थ्यको हेरचाह गर्छन् । ‘डाक्टरले अनुमति नदिँदा नदिँदै पनि आएको हुँ,’ उनले थपे, ‘आफूले आफैँलाई जाँच्न आएको हुँ ।’ डाक्टरका अनुसार उनका लागि सबैभन्दा कठिन काम भनेको नै सिँढी चढ्नु हो । हिडिँरहदा दुईवटै खुट्टा एक–आपसमा टाँसिन आइपुग्छन् । जति बल गर्दा पनि पाइला सार्न गाह्रो पर्छ ।

दिमागमा पेसमेकर राखिएको छ । तर, हरेकपटक आफू स्वस्थ छु भन्ने प्रमाण पेस गर्न मन लागिरहन्छ, उनलाई ।
सेल्फी लिने र हालखबरले सोध्नेहरूले मदनकृष्णलाई थप उर्जा थपिदिन्थे । उनले पनि उत्साहका साथ जवाफ दिन्थे, ‘नट गुड बट गुड ।’ सफलताको कुनै सीमांकन गरिएको भए त्यही अन्तिम रेखामा उनको लोकप्रियता पुगेको छ । तर, पनि कुनै खालको अहंता देखिँदैनथ्यो ।

बाटोभरि उनलाई छलेर हिँड्नेलाई समेत उनी नमस्कार गर्थे । कतिपय अकमकाउँथे र भन्थे, ‘तपाईंलाई कहाँ देखेको ?’ उनी आफ्नै पारामा जवाफ दिन्थे, ‘स्वर्गद्वारीको उकालोमा ।’ सोध्नेहरू अलि टाढा पुग्थे । अनि फरक्क फर्केर आउँथे र सेल्फी खिचेर जान्थे । 

स्वर्गद्वारीको टुप्पोमा पुगेपछि मदनकृष्णको अनुहारमा एकाएक खुसी पोतियो । तेन्जिङले पहिलोपटक सगरमाथामा पाइला राखेजस्तै उनी रमाए । शरीरसँगको परीक्षामा उनी पास भएका थिए । स्वर्गद्वारी पुग्नुभन्दा पनि त्यहाँ चढ्न सक्नु उनका लािग महान् काम थियो । स्वर्गद्वारीको टुप्पोबाट उनले आफूले सुख–दुःख पोख्ने साथीलाई फोन गरे । अनि हर्षित हुँदै भने, ‘हरि म आफ्नै पैतालाले टेकेर स्वर्गद्वारी आएँ नि !’

सम्पादकको रोजाइ

सुझावित समाचार