गंगालालले पाएको त्यो चरम यातना

राजकुमार दिक्पाल राजकुमार दिक्पाल
शनिबार, १५ माघ, २०७८
डिजिटल संस्करण

वि.सं. १९९७ माघ १४ गते रातको १० बजेतिर । सदर जेलबाट एउटा लहरी (लामो आकारको ट्रक) विष्णुमतीको किनारमा रहेको शोभाभगवतीतर्फ लाग्छ । प्याफलको बाटो हुँदै शोभाभगवतीतिर बढिरहेको लहरीबाट एकजना पुरुषको आवाज आउँछ–हसिना, हसिना । त्यो आवाज थियो, गंगालाल श्रेष्ठको । अघिल्लो दिन मात्र सुत्केरी भएकी आफ्नी पत्नीलाई गंगालालले गरेको अन्तिम सम्बोधन थियो । हसिनादेवीले आफ्नो पतिको अन्तिम स्वर सुनेपछि आफ्नो घरकाहरूलाई उठाएर गंगालाललाई मार्नका लागि कतै लगिँदै गरेको सुनाइन् (डा. राजेश गौतम, ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषद्को भूमिका’ (भाग–१) २०६२ः१८१) ।


आफ्ना सहयोद्धा र उमेरमा अग्रज दशरथ चन्दका साथ माघ १४ गते राति उनीहरूलाई जेलबाट सिक्री, नेलसहित वधस्थलतर्फ लगियो । गंगालाल उमेरमा कलिलो भएकाले सकेसम्म उनलाई माफी मगाउने र माफी मागे ज्यान सजाय नहुने नीति तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले लिएका थिए । वि.सं. १९९७ माघ ७ गते सिंहदरबारमा फैसला हुँदा गंगालाललाई अंश सर्वस्वसहित ज्यान सजाय सुनाइयो । तापनि कलिलो उमेरका भएकाले ‘माफी मागे आजीवन कारावास’ भनेर सुनाइएको थियो । तर, गंगालालले मृत्यु नै रोजे । उनले त्यसवेला ‘कसैले बक्स दिएको ज्यानलाई स्वीकार गरेर बाँचिँदैन’ भन्ने खरो जवाफ दिएर युवा जोस देखाउँदै हाँसेर सजाय स्वीकार गरेका थिए (गौतम, उहीः१६४) ।


मृत्युदण्डको सजाय सुनाइँदा गंगालाल केवल २२ वर्षका थिए । यति कलिलो उमेर मात्रै होइन, घरमा उनकी श्रीमती गर्भवती थिइन् । मारिनु दुई दिनअघि मात्रै उनकी पत्नी हसिनादेवीले छोरो जन्माइन् । जेलमै उनले यो खबर पाएका थिए । आफ्ना छोराको नाम ‘शशि’ राखिदिनू भनी उनले खबर पठाएका थिए ।यस्तो अवस्थाका कारण गंगालाललाई मृत्युदण्डको सजाय सुनाइसकेपछि त्यतिखेरका शक्तिशाली जनरल बहादुरशमशेरकी छोरी पुकुमैया र अरू छोरीबेटीहरू तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरकहाँ गई गंगालाललाई माफी दिन अनुरोध गरेका थिए । तर, जुद्धशमशेरले कुनै पनि प्रत्युत्तर दिएनन् । पुनः अर्कोपल्ट उनीहरूले अनुरोध गर्दा ‘तिमीहरू त्यसलाई केटाकेटी भन्छौ, त्यसले कस्तो–कस्तो काम गर्यो थाहा छैन ? तिमीहरू नै केटाकेटी छौ बुझ्दैनौ, जाऊ’ भनी गाली गरी पठाएका थिए । तर, जुद्धशमशेरले गंगालालले अन्तिम समयसम्म पनि माफी मागेको खण्डमा माफी दिने गोप्य निर्णय गरेका र सोहीअनुसार निर्देशन पनि दिएका थिए (गौतम, उहीः१७७–१७८) । तर, गंगागालले अन्तिम समयसम्म पनि माफी मागेनन्, बरु मृत्यु नै रोजे ।


 इन्द्रचोकको राणाविरोधी त्यो भाषण
आर्य समाजी शुक्रराज शास्त्रीले भारतमा महात्मा गान्धी र सुवासचन्द्र बोसलाई भेटेर फर्केपछि नेपाली भाषा प्रकाशिनी समितिबाट उनको जागिर खोसियो । उनी घरमै नजरबन्दमा परेका थिए । आफ्नो घरको आर्थिक अवस्थाका साथै आफ्नो स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि नजरबन्दबाट मुक्त हुन उनले राणाशासकसमक्ष ‘मानिसले मानिससँग मानिसको किसिमले व्यवहार गरियोस्, त्यो पनि कमसेकम भगवान्का लागि’ भनी निवेदन दिँदा उनले सोचेजस्तो जवाफ पाएनन् । त्यसपछि उनले नागरिक अधिकार समितिको तर्फबाट अध्यक्षको हैसियतले वि.सं. १९९५ को मंसिर महिनाको एक दिन आमभाषण गरी आफ्नो नजरबन्दी तोड्ने विचार गरे । उनले भाषणमा राणा सरकारको र व्यवस्थाको आलोचना गरी समयको मागअनुसार चल्न सरकारलाई अनुरोध गरेका थिए । शुक्रराज शास्त्रीले बोल्न सिध्याएपछि समितिकै सदस्य गंगालाल बोल्न थाले । उनले मानवोचित अधिकार लिने क्रममा सरकारसँग संघर्ष गर्न पनि जोसिलो आह्वान गरे । यसको भोलिपल्टै शुक्रराज पक्रिए र अर्को दिन उनलाई तीन वर्षको कैद सजाय सुनाइयो । गंगालालले पनि शुक्रराज शास्त्रीपछि असनमा राणाविरोधी जोसिलो भाषण गरेका थिए । त्यो भाषण राणाहरूका लागि अप्रिय थियो । त्यसपछि गंगालाल भागेर हिँड्न लागे (गौतम, उहीः७८–७९) ।


भाषणका क्रममा गंगालालले भनेका थिए, ‘मालिकले च्यै–च्यै भन्दै फ्याँकिदिएको एक टुक्रा रोटीमा कुकुरहरू झ्याम्मिएझैँ राणाहरूको एउटा सानो निगाह र जुठो पाउनका निम्ति झ्याम्मिँदै के बाँच्ने ?’ (सिद्धिचरण श्रेष्ठ, ‘सिद्धिचरणका जेल संस्मरण’ (सम्पा. सरुभक्त)–२०५२ः४१) ।यो भाषणपछि स्वाभाविक रूपमा उनी राणाहरूको आँखाको तारो बन्ने नै भए । उनी लुकी–लुकी हिँडिरहेका वेला उनलाई उनका आफन्तहरूले त्यतिवेला माफी मागेर छुट्ने उपायका लागि सल्लाह दिएका थिए । सायद उनलाई यस्तो सल्लाह नदिई केही बन्दोबस्त गरेर नेपालबाहिर भगाउन सकेको भए ९७ सालमा उनी मारिने पो थिएनन् कि ! (श्रेष्ठ, उहीः३८) ।


जनताको बोली बन्द भएको त्यो समय इन्द्रचोकमा आमभाषण गरी राणाहरूलाई चुनौती दिनु सानो आँटबाट सम्भव थिएन । त्यस्तो आँट जुटाउने सामथ्र्य गंगालालमा देखियो । यसले राणाहरूको मुटुमा हल्लियो ।पछि उनका बाबुले उनलाई आफैँले समाती लगेर सरकारसमक्ष बुझाइदिए । त्यसवेलाका कर्णेल गंगाबहादुर नाता पर्ने र गंगालाल पनि सानै उमेरका भएकाले त्यसवेला उनी जमानीमा छुटेका थिए (गौतम, उहीः७९) ।आफ्नो बाबुले समातेर सरकारसमक्ष बुझाई जमानीमा छुटे पनि राणाविरुद्ध तातिएको उनको रगत भने सेलाएको थिएन । पारिवारिक दबाबलाई झेल्न नसकेर मात्रै उनले त्यसवेला सरकारसमक्ष आत्मसमर्पण गरेका थिए । यसका लागि उनले आफ्ना बाबुलाई लेखेको एउटा चिठी भरपर्दाे प्रमाण हो ।

आफ्ना पितालाई चिठी लेख्दै गंगालालले भनेका थिए, ‘जताततै कोलाहल ज्वाला देख्छु, आफैँ सल्किन लागेको छु ! मलाई त्यो निभाएर मर्न दिनोस् !’


वि.संं १९९७ मा पक्राउ परेपछि गंगालालको घर खानतलासी गर्दा फेला परेका कागजपत्रमध्ये एउटा उनले आफ्नो बाबुलाई पठाउन लेखेको पत्र रहेछ । खानतलासीका क्रममा सिंहदरबारमा जम्मा भएका कागजका थुप्रोबाट बालकृष्ण सम (तत्कालीन कप्तान बालकृष्णशमशेर) ले पाएको चिठीअनुसार गंगालाल राणाविरुद्धको क्रान्तिकारी कदममा थाकेको देखिँदैन । पहिले सरकारसमक्ष आत्मसमर्पण गर्दा उनले ‘अबदेखि राजनीतिमा काम गर्दिनँ, सीधासोझा भएर जागिर खान्छु’ भनी कबोलेका थिए । एक साताअघि मात्र जागिर खान पहाडतिर गएका बाबुलाई उनले ‘अब सहन सकिनँ’ भनेर चिठी लेखे । चिठीको व्यहोरा यस्तो छ :

बा !
तपाईंको आज्ञापालन गरेर शान्तिसित बसुँला भन्ने लागेको थियो, सक्दै सकिनँ, म सक्दिनँ । आज रातभर निद्रा परेन । बिर्से पनि हुने पाठ म घोकिरहेछु । सम्झिनुपर्ने पाठचाहिँ मैले बिर्सिन आँटेछु ! आफ्नो पेटको अग्निलाई आफ्नै रगतले निभाइरहेका भोका अगणित भाइहरूका पहेंला सुखसित डराएर आँखा चिम्लिन आँटेछु ! तिनका पेटको गहिरो स्वरले मागेको सुन्न नसकी कान थुनेर भाग्न पो आँटेछु । अन्तस्करणबाट आगो रुमल्लिएर आयो ! के–के असह्य भयो । अब म सहन असमर्थ छु ! जताततै कोलाहल ज्वाला देख्छु, आफैँ सल्किन लागेको छु । मलाई त्यो निभाएर मर्न दिनोस् ।


तपाईं मेरा पिता हुनुहुन्छ, तर हामी सबैजनाको जन्मभूमि माताप्रतिको हाम्रो कर्तव्यमा तपाईंको आज्ञाले म पछि हट्न सक्दिनँ । अब मेरो माया मारिदिनोस् । मेरा अरू भाइहरू छँदै छन्, एउटा छोरालाई नेपाल आमाको निम्ति बलिदान दिनुहोला भन्ने देशभक्त पुत्र गंगालालको निवेदन छ । अत्याचार र अन्यायविरुद्ध लड्दै म देशलाई छातीको ढाल थापेर बचाउँछु ।
बालक पुत्र गंगालालको
दण्डवत् सेवा 
(श्रेष्ठ, उहीः४२–४३) ।

 खानतलासीमा भेटिएको कागजको टुक्रा
राणाशासनको विरोधमा नेपाल प्रजापरिषद्ले लगातार चारपटक पर्चा छ¥यो । पर्चा काण्डले राणाहरूमा ठूलो हलचल मच्चियो । त्यसपछि व्यापक धरपकड सुरु गरियो । वि.सं. १९९७ कात्तिक २ गतेदेखि धरपकड सुरु गरिँदा गंगालाल पनि पक्राउ परे ।त्यसवेला भारतको पटनाबाट हिन्दी भाषामा प्रकाशित हुने साप्ताहिक अखबार ‘जनता’मा नेपालसम्बन्धी लेखरचना तथा समाचारहरू वेला–वेलामा छापिने गथ्र्यो । त्यसबाट पनि नेपालीहरूमा राजनीतिक जागरण र राणाविरोधी जनमत खडा गर्नका लागि ठूलो सहयोग मिलिरहेको थियो । त्यसैले ‘जनता’ साप्ताहिक राणाहरूका लागि ठूलो समस्या बनेको थियो ।


‘जनता’ पत्रिकामा समाचार तथा लेख रचना छपाउने व्यक्तिको खोजीका लागि राणाहरूले एउटा मिसन नै भारतमा राखेको थियो । उक्त पत्रिकामा लेख तथा समाचार छपाउने व्यक्तिका विषयमा राणा सरकारले भारतमा पठाएको गुप्तचर मिसनका बारेमा ‘वि.सं. १९९५ को नेपालको राजनीति विषयमा केही अप्रकाशित पत्र’ शीर्षकमा केही महत्वपूर्ण पत्रहरू प्रकाशित छन् (दिनेशराज पन्त, ‘पूर्णिमा’ पूर्णाङ्क ७५–२०४५ मंसिरः२०–५१) ।


त्यसवेला राणाहरूले ‘भिक्षुक’ उपनामबाट वनारसमा रही जासुसी गर्नका लागि वटुकप्रसाद उपाध्याय भट्टराईलाई परिचालित गराएका थिए (गौतम, उहीःपरिशिष्ट ५ः६) भन्ने देखिन्छ ।भारतमा बसेर ‘जनता’ साप्ताहिकमा छापिएको लेख तथा समाचार अनि ती छाप्ने व्यक्तिका बारेमा जासुसी गरेर काठमाडौं पठाइएका पत्रमध्ये एउटामा ‘जनवरी १२ मा पनि फेरि लामै लेख लेखेको रहेछ । ६ र ७ ठाउँमा यो पत्रिका बिक्री हुँदो रहेछ । त्यो लिन नेपालीहरू को–को आउँदा रहेछन् भनी प्रत्येक शुक्रबार ती–ती ठाउँमा मानिसहरू पठाउने गरेको छु’ भन्ने उल्लेख छ (पन्त, उहीः२३) ।


यस्तै अर्को काठमाडौंबाट भारततिर पठाइएको पत्रमा ‘जनवरी १२ को ‘जनता’को कटिङसहित आइपुग्यो । सो कटिङमा छाापिएको लेख नेपाली कसैको होलाजस्तो लागेको छैन । लेख हिन्दी राम्रो गरी लेख्न जान्ने यस्तो लेख र त्यस्ता किसिमको कुरा अजमाउन सक्ने शुक्रराज छ । त्यसलाई अहिले त्यो किसिमको लेख लेखी पठाउन पाउने अवकाश (फुर्सद) छैन । त्यसलाई पटनैतिरको कोही नेपालीले लेखाउने लेख्ने ‘जनता’ अफिसको मानिस हुनु धेरै सम्भव छ’ भन्ने उल्लेख छ (पन्त, उहीः२७) ।


अर्को पत्रमा ‘जनता’ साप्ताहिकको लोकप्रियताको बारेमा उल्लेख छ । पत्रमा ‘शुक्रबारको दिन ‘जनता’ पत्रिका कलकत्तामा बिक्रीका लागि आउँदो रहेछ । नचिनिएका नेपालीहरू तँछाड–मछाड गरी लिन आउँदा रहेछन् । एक आनाको साप्ताहिक ‘जनता’लाई दुई आना, तीन आना, चार आना हालेर पनि लैजान्छन् भनी मेरा मानिस खबर ल्याउँछन्’ भन्ने उल्लेख छ (पन्त, उहीः३०) ।


यसैगरी अर्को पत्रमा ‘जनता’मा लेख लेखाउने मानिसहरूको विषयमा शंका गरिएको छ । पत्रमा साप्ताहिक ‘जनता’मा लेख लेखाउने नेपाली कोही पत्ता लगाउने कोसिसमा लाग्नुभएकै छ । सो कोसिस अवश्य सफल नगराई छाड्नु हुनेछैन भन्नु कुरा यकिन मानेको छु । लेखमा प्रवृत्त भएका नेपाली फलाना–फलाना हुन् भन्ने शंका गर्दै छन् भनी ६ जनाको नाम लेखाउनुभएको रहेछ । विचार गर्दा सुब्बा देवीप्रसाद, ख. कृष्णप्रसाद, सूर्यविक्रम ज्ञवाली हो भन्ने लाग्दैन । नेपालैबाट आएको लेख छापिने गरेको पनि होइन । शंकरप्रसाद र शुक्रराजको जेठान तथा त्यसमा कोही मालिक छ भन्ने सुभा ठीक ठहर्न आउनु बेर छैन । पत्ता लगाउनुभएपछि को–को रहेछन् थाहा हुने नै छ’ (पन्त, उहीः३०) ।


त्यसवेला कलकत्तामा बसेर भारतीय पत्रपत्रिकाहरूमा लेखहरू छापेर राणाशासनविरुद्ध जनमत अघि बढाउने विचार नेपाल प्रजापरिषद्ले लिएको थियो । तर दशरथ चन्दको आर्थिक समस्याका कारण त्यो अभियान तुरुन्तै सफल हुन सकेको थिएन । पछि उनी कलकत्ताबाट पटना गएर ‘जनता’ नामक समाजवादी साप्ताहिक पत्रिकाका सम्पादक रामवृक्ष बेनीपुरीसँग भेट भएपछि उनले यस सम्बन्धमा हार्दिक सहयोग गर्न स्वीकार गरे (गौतम, उहीः७०–७१) ।


यसरी ‘जनता’ साप्ताहिकले धमाधम नेपालको तत्कालीन समस्या सम्बन्धमा लेख तथा समाचारहरू नियमित रूपमा प्रकाशन गर्न थालेपछि राणाहरूले यस पत्रिका लेख तथा समाचार लेख्ने मानिस पत्ता लगाउन ठूलै संयन्त्र प्रयोग गरेका थिए भन्ने उल्लिखित पत्रांशबाट स्पष्ट हुन आउँछ ।गंगालालको घरमा खानतलासी गरिँदा राणाहरूको विरोधमा लेखिएको एउटा कागजको टुक्रा फेला परेको थियो । ‘जनता’ साप्ताहिकबाट सारेर राखिएको कागजको टुक्रा थियो, त्यो । यही कागजको टुक्राका कारण नेपालतिरैबाट भारततिर छाप्न पठाउने गरिएको सामग्रीको स्रोत पत्ता लाग्ने भयो भनी राणाहरूले यसलाई ठूलो महत्व दिएका थिए । त्यही कागजको टुक्राका कारण गंगालालसित सोधखोज हुन थाल्यो । वास्तवमा ‘जनता’ साप्ताहिकबाट सूर्यलाल सिंहले सारेर राखेको कागजको टुक्रा थियो, त्यो (श्रेष्ठ, उहीः४६–४७) ।

 गंगालालले पाएको चरम यातना
सुन्दै आङ जिरिङ्ग हुने यातना पाएका थिए, गंगालालले पक्राउ परेपछि । त्यो वेला धेरै ठूलो र पीडादायी यातना पाउने उनै गंगालाल थिए ।सुरुमा उनलाई उक्त कागजको टुक्रामा लेख्ने व्यक्ति को हो भनी सोधिएको थियो । उनले आफैँले ‘जनता’ पत्रिकाबाट सारेर राखेको बताएका थिए । तर, उनलाई ‘यो तैँले कहाँबाट पाइस्, कसले दियो, तेरो हस्ताक्षरसित त यो मेल खाँदैन । साँचो कुरा बताउने भए बता’ भन्दै साँचो कुरा बताउने भए छाडिदिने पनि बताइयो ।

उनलाई अनेक धम्की र लोभ देखाएर केरकार गर्दा उनले ‘मलाई थाहा छैन’ भन्ने जवाफ दिइरहे । त्यसपछि उनलाई चड्कन लगाइयो, उनी ढल्मलिए । उनको चस्मा १० हात पर उछिट्टिएर चकनाचुर भयो । उनको कन्चटको रौँ उखेलियो । कन्चटको रौँ सकिएपछि गुप्ताङ्गको रौँसमेत उखेल्न लगाइयो । त्यतिबाट पनि नपुगेर उनलाई बाँसमा झुन्ड्याएर कोर्रा लगाउन सुरु गरियो । पीडाले कहालिएर उनी चिच्याउँथे । यातनाको असह्य पीडाले उनी ‘भन्छु बाबा भन्छु’ भन्थे । ‘लौ भन् त’ भन्दा ‘सतोसत धरोधर्म मलाई केही थाहा छैन हजुर’ भन्ने जवाफ हुन्थ्यो । फेरि उनलाई जनरल नरशमशेरको आदेशमा सिपाहीहरूले कोर्रा बर्साउन सुरु गर्थे । पिट्न छाडेर बाँसमा बाँधेको डोरी फुकाउँदा गोली लागेर खसेको चरोझैँ उनी थ्याच्च मुखले भुइँमा टेक्न पुगेका थिए । भोलिपल्ट फेरि पिट्ने भन्दै एकजना सिपाहीले आङतिर र अर्कोले खुट्टातिर समाएर उनलाई उनको ठाउँमा लगेर राखे । घरबाट बेलुका खाना ल्याइँदा उनी खाना लिन जान सकेनन् (श्रेष्ठ, उहीः४७–४८) ।

भाषणका क्रममा गंगालालले भनेका थिए, ‘मालिकले च्यै–च्यै भन्दै फ्याँकिदिएको एक टुक्रा रोटीमा कुकुरहरू झ्याम्मिएझैँ राणाहरूको एउटा सानो निगाह र जुठो पाउनका निम्ति झ्याम्मिँदै के बाँच्ने ?’


राणाहरूको पहिलो कोपभाजनमा गंगालाल परेका थिए । सिंहदरबारलाई त्यतिखेर यातनागृह बनाइएको थियो । गंगालाललाई यातना दिइँदा सिपाहीहरूले उनको खुट्टाको नलिहाडमा छालाका कोर्राहरूले हानिरहेका थिए । कोर्रा उनको खुट्टामा बेरिन्थ्यो । सिपाहीहरू त्यसलाई एकै झटकमा तान्थे । त्यसरी तान्दा उनको खुट्टाका मासुहरू खुट्टाको हाडबाट छुट्थे । मासुहरू फुट्थे । पिट्दा–पिट्दा सिपाहीहरू थाक्थे र पालो फेर्थे (गौतम, उहीः१३५) ।
यातनाको भोलिपल्ट उनको खुट्टा सुन्निएर रगत च्यापच्याप्ती लागेर सुरुवाल फुकाल्न नमिल्ने अवस्था बनेको थियो । सुरुवालको कपडा मासुभित्र गढेर झिक्न मुस्किल भएको थियो । उनी तीन–चार दिनसम्म यस्तै दशामा थिए (श्रेष्ठ, उहीः४८) ।


 गंगालालको अन्तिम भेटघाट
राणा सरकारले गंगालालका नातेदारहरूलाई भेट्न आउने खबर पठाएको थियो । यस्तो खबर पाएर गंगालालका पिता भक्तलाल, शम्भुराम, आनन्दराम र चन्द्रमान श्रेष्ठ सदर जेलमा पुगेका थिए । भक्तलाल छोरा गंगालाललाई देख्नासाथ रोएर फर्के । भेट गराउन ल्याउँदा उनको दुवै हात पछाडि लगेर हतकडी लगाइएको थियो । भेटमा चन्द्रमानले उनकी पत्नी र आमाले माफी मागिरहेको बताउँदा त्यसतर्फ उनले वास्ता गरेनन् । बरु अगाडिको रुख र जगन्नाथको मन्दिरलाई उदाहरण बनाएर उनले ‘यो रुख पनि पुरानो र बुढो भएपछि आफैँ ढल्छ । यो मन्दिर पनि पुरानो भएपछि चुहिन्छ र भत्किन्छ, हाम्रो जीवन पनि यस्तै हो, केही छैन’ भन्दै भेट्न आउनेहरूलाई उल्टै सान्त्वना दिइरहेका थिए (गौतम, उही :१७९) ।


जेलभित्र साथी कामाक्षादेवी पनि भेटघाटका लागि पुगेकी थिइन् । त्यस भेटमा कामाक्षादेवीसँग उनले पान खान मागेका थिए । कामाक्षादेवीले पुष्पलाललाई पान किन्न पठाइन् । त्यतिवेलै कामाक्षादेवीले गंगालालसम्मुख ‘दाइ, जहिलेसम्म तपाईंहरूले देशका लागि गर्नुभएको काम पूरा गर्न सकिँदैन र हुन्न, तबसम्म म पनि पान खान्नँ’ भन्ने प्रण गरेकी थिइन् । गंगालालले त्यसवेला आफ्नो जीवनी दमनराज तुलाधरलाई भनेर, सोधेर लेखाउन र साथीहरूलाई बनाएको बाटो नभुल्नु भन्ने खबर सुनाइदिन पनि कामाक्षादेवीसँग आग्रह गरेका थिए । (गौतम, उहीः१७९–१८०) ।


यो काण्डमा प्रजापरिषद्का सदस्य हरिकृष्ण श्रेष्ठ पनि परेका थिए । उनलाई पनि सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको थियो । गंगालालकी पत्नी हसिनादेवी हरिकृष्णको मामाकी छोरी हुन् । गंगालालले बिदाइका समय हरिकृष्णसँग ‘दाइ, जाँदै छु । बहिनीको ख्याल राखिदिनुहोला’ भनेका थिए (हरिकृष्ण श्रेष्ठसँग लेखकले २०५८ सालमा गरेको कुराकानी) ।


 तड्पाउँदै मृत्युदण्ड
गंगालालले सहादतको समयमा पनि निकै नराम्रो यातना भोगे । आफूहरूलाई झुन्ड्याएर नभई गोली हानी मार्न दशरथ चन्दसहित गंगालालले माग गरेका थिए । उनीहरूको मागअनुसार उनीहरूलाई गोली हानी मृत्युदण्ड दिइयो । तर, उनीहरूले सहजै मृत्युवरण गर्न पाएनन्, उनीहरूलाई तड्पाई–तड्पाई मारियो ।
मार्ने वेलामा दशरथ चन्दलाई उत्तरपट्टि र गंगालाललाई पश्चिमपट्टि फर्काएर बाँधिएको थियो । दुवैलाई बाँधिसकेपछि मृत्युदण्ड तामेली गर्न खटिएका जनरल नरशमशेरले गंगालाललाई हेरेर ‘हेर्, माफी मागिस् भने अझै पनि तँसँग समय छ’ भन्दा गंगालालले उल्टै ‘मैले माफी माग्नुपर्ने काम के गरेको छु र, बरु तँ तिमीहरूले गरेको अत्याचारका लागि हामीसँग माफी माग्’ भनेका थिए (गौतम, उहीः१८१–१८२) ।


वधस्थलमा बाँधिएर राखिएका दशरथ चन्दलाई पोडे लगाएर पहिलो गोली घुँडामा र दोस्रो गोली तिघ्रामा हान्न लगाई दशरथलाई तड्पाउन थालेपछि गंगालाल रिसाएर ‘सक्छस् भने तेरो बाउलाई एक गोली हानेर मार्’ भनी कराए । नरशमशेर रिसाएर स्वयं आफैँले गंगालालको घुँडामा एक गोली हाने । दशरथको कोखामा तेस्रो गोली हानिँदा उनी छटपटाउन थाले । यो दृश्य देखाएर नरशमशेर गंगालाललाई माफी मगाउन चाहन्थे । तर, गंगालाल झन् उत्तेजित र जोसिलो भएर निस्के । नरशमशेरले गंगालालको तिघ्राभन्दा अलि तल दोस्रो गोली हाने । दशरथ छटपटाइरहेका थिए । उनलाई चौथो गोली छातीमा हानियो । उनले सहादत प्राप्त गरे (गौतम, उहीः१८२) ।


गंगालाललाई अन्तिम गोली नरशमशेर स्वयंले प्रहार गरेको भन्ने भनाइलाई उनले आफ्नो जीवनभरि खण्डन गर्दै रहे । उनले गंगालाललाई आफूहरूले लगेको पोडेको हातबाट अन्तिम गोली प्रहार गरिएको बताइरहे । ‘तन्नेरी’ द्व्रैमासिकको वर्ष २२ अंक १ र उनको आत्मवृत्तान्त ‘उहाँकै जुवानी’ (२०५८) मा दशरथलाई अनुभवी पोडेको एकै गोलीमा काम खत्तम भएको उल्लेख छ । तर, गंगालाललाई गोली हान्न लगिएको दोस्रो पोडेले भने बन्दुकको ट्रिगर तान्नुको सट्टा उल्टै बन्दुक फ्याँकेर भागेकाले सिपाहीहरूले पक्रेर ल्याएको, दशरथलाई मार्दा आफू र कर्णेल चन्द्रबहादुर थापा परको पाटीमा बसेको, त्यहीँ सिपाहीहरूले पोडेलाई पक्रेर हाजिर गराएको उल्लेख गरेका छन् । पोडेलाई अनेक प्रलोभन र धम्की दिँदा पनि ‘बरु मलाई मारे हुन्छ, म त सक्दिनँ’ भनी भुइँमा लडिबुडी गरेपछि पहिलेकै पोडेलाई थप बक्सिस दिने आश्वासनका साथ अर्को एक बोतल रक्सी पनि पिलाई पाटीबाट आफू आएको र त्यतिवेला ‘एकैचोटि मार्ने भन्दाभन्दै मेरो साथीलाई किन पहिला मारिस्, मलाई पनि गोली ठोक्’ भन्दै कराइरहेका गंगालालतर्फ अँगालो हालेर पोडेलाई त्यहाँसम्म पु¥याएको तर बन्दुकको ट्रिगर भने पोडेले नै तानेको उनको भनाइ छ (राजकुमार दिक्पाल, ‘साधना’ मासिक–फागुन २०५८ः७४ ) ।


तर गंगालाललाई गोली हान्न नमान्ने पोडेलाई राणाहरूले ६ महिना जेल सजाय दिएका थिए (इतिहासकार डा. राजेश गौतमसँग लेखकले २०५८ सालमा गरेको कुराकानी) ।दशरथ र गंगालाललाई मृत्युदण्डको तामेलीका लागि खटिएका नरशमशेरसँगै घटनास्थलमा खटिएका वेदबहादुर सिलवालको भनाइअनुसार दशरथलाई नजिकै गएर गोली हान्ने पोडेको हिम्मत मरिसकेको र डरले कामिरहेको उसले टाढाबाट हानेको गोली भनेको ठाउँमा लगाउन असम्भव थियो । उसलाई अँगालोमा हालेर पेस्तोल समाउन मद्दत गरेको निहुँमा नरशमशेरले नै पेस्तोलको ट्रिगर दबाई गोली चलाए र उक्त गोली ठीक ठाउँमा लाग्न पुग्यो र पोडेको नाममा नरशमशेरले गोली हानी गंगालाललाई सहिद बनाए, त्यतिखेर रातको करिब २ बजेको थियो (गौतम, उहीः१८३–१८४) ।  यसरी २२ वर्षको उमेरमा गंगालाल १९९७ माघ १५ गते बिहान हुन लाग्दा बलिदान भए । उनले चाहेका भए माफी मागेर आफ्नो जीवन बचाउन सक्थे, तर राणाशासनबाट देशलाई उन्मुक्त गराउन उनले बलिदान रोजेर अमरत्व प्राप्त गरे ।

सुझावित समाचार