नेपालमण्डलका भिन्द्यः र महाभारतका भीमसेन

मल्ल के सुन्दर मल्ल के सुन्दर
शनिबार, १५ माघ, २०७८
डिजिटल संस्करण

महाभारतका जानकारहरूका लागि भीमसेनकोे चरित्र र भूमिकाका सम्बन्धमा थप बोध गराइरहनुपर्दैन । पञ्चपाण्डवका पुरुष चरित्रहरूमध्ये दोस्रो वरीयतामा रहेको यस पात्रलाई शारीरिक रूपमा अत्यन्त बलशाली मानिन्छ । पौराणिक ग्रन्थ महाभारतभित्र अनेकन् प्रसंगमा यिनको अत्यन्त रोचक विवरण पाइन्छन् । आख्यानमा गरिएका वर्णनकै आधारमा निर्मित आस्थाद्वारा समाजमा यस पात्रलाई एक अराध्यदेवको रूपमा पनि स्थापित गराएको छ । तर, महाभारतदेखि आर्यावर्त अनि हिमवत्खण्ड नेपालमण्डलसम्म आइपुग्दा भने आख्यानको भीमसेन भीमसेन रहेनन्, उनी भिन्द्यःको रूपमा रूपान्तरित भए ।

यद्यपि कतिपय भीमसेन र भिन्द्यः एकै हुन् भनी तर्क गर्छन्, कतिपय भिन्द्यः र भीमसेन फरक–फरक हुन् भन्ने दाबी गर्छन् । प्रत्येक वर्ष माघ शुक्ल एकादशीलाई भीमा एकादशीको रूपमा पर्वोत्सव मनाउँदै द्वादशीका दिन भीमसेनको विशेष आराधना र पूजा गर्दै आइरहेका नेपालमण्डलभित्रका रैथानेहरूमाझ प्रचलित अमूर्त सांस्कृतिक सम्पदाको एउटा जीवन्त पक्ष भिन्द्यःको परम्परा रह्यो, जुन रोचक र त्यत्तिकै मननयोग्य छ । 

प्रमुख कुरा– नेपालमण्डलका रैथान नेवारहरूमाझ प्रचलित भिन्द्यःले महाभारतको इतिवृत्तान्त र पञ्चपाण्डवसँग खास सरोकार र सम्बन्ध जाहेर गर्दैन । उनीहरूको सामाजिक आस्थाभित्र भिन्द्यःको भिन्नै स्थान छ । उनलाई आफ्नै खाले सामाजिक सम्बन्ध अनि सांस्कृतिक भूमिकामा स्थापित गरिएको छ । जसले गर्दा नेवार समाजभित्रको भिन्द्यःको अस्तित्वले एउटा भिन्नै चरित्र बोध गराउन खोज्छ । जुन किञ्चित अस्वाभाविक होइन ।

भिन्द्यःसँग नेवार समुदायको सांस्कृतिक जीवनमा यति सघन रूपमा सम्बन्ध गाँसेको छ, आफ्नो थातथलोबाट पर मोफसलमा पुगेर जीवन निर्वाह गरिँदा पनि नौलो घर–आँगन र टोलबस्तीभित्र भिन्द्यःलाई उनीहरूले पुर्याएकै हुन्छ । एक अर्थमा भिन्द्यःको देवस्थल र नेवार समुदायको वासस्थल पर्यावाचीकै रूपमा रहे । त्यसैले फैलिँदै गएको बन्द व्यापार अनि बजार–बस्तीको विस्तारसँगसँगै नेवार समुदायले देशको कुनाकाप्चामा मात्र होइन, सीमापारि उत्तरमा तिब्बतको ल्हासा र दक्षिणको दार्जिलिङ, कालिम्पोङ, आसाम आदि स्थानसम्म पनि भिन्द्यःको अस्तित्वलाई विस्तारित गरे । 

कुरुक्षेत्रको युद्धकाल र अन्यत्र निभाइएका पराक्रमी भूमिका र पञ्चपाण्डवका सहोदर रहेका भीमसेनप्रतिको श्रद्धा तथा स्मृतिस्वरूप भन्दा नेवार समुदायका लागि बन्द–व्यापार तथा आफ्नो दैनिक जीवनको आर्थिक कारोबारको संवाहक र संरक्षकका रूपमा भिन्द्यःलाई ग्रहण गरिएको छ । त्यसैले बन्द–व्यापरमा निपूर्ण नेवार समुदाय आफू जहाँ, जतासुकै पुगे पनि भिन्द्यःसँगको सामीप्य र आत्मीयता खोज्छन् । अनि कारोबार सञ्चालनका लागि खोलिएका पसल, कल–कारखना वा उद्योगधन्दामा एउटा खोपाभित्र लक्ष्मी वा कुवेर होइन, बरु अनिवार्य रूपमा भिन्द्यःको प्रतिरूपलाई जीवन्तता दिएको हुन्छ । प्रतिदिन त्यही भिन्द्यःको पूजापाठ, आराधना गर्न भुल्दैनन् उनीहरू । 


भिन्द्यःसँगको यसखाले आत्मीयता र सामीप्यका कारण नेवार बन्धुहरू दैनिक कारोबारको सुखद स्थितिलाई ‘भिन्द्यः जागेको’ रूपमा उपमा जोड्छन्, अनि घाटा सहनुपर्दा ‘भिन्द्यः रिसाएको’ अर्थमा बुझ्छन् । बन्द–व्यापारमा सुरक्षित गरिने लाभांश उनीहरूका लागि ‘भिन्द्यः भाग’ हो । यस सन्दर्भमा नेपालमण्डलभित्र सामाजिक जीवनको हिस्सा नै भइसकेका केही लोकाख्यान छन्, जसले भिन्द्यः बन्द–व्यापार र शुभलाभको प्रतीकका रूपमा समुदायमाझ स्थापित हुनका लागि उत्पे्ररित गरे । 


त्यतिखेर पाञ्चाली व्यवस्था थिए, स्थानीय तहमा स्वायत्तता दिइएको थियो । सुरक्षा, न्याय सम्पादन र राजस्व असुलीका लागि जिम्मा ठेकिएका स्थानीय शासक एक अमुक थकू जुजु बन्द–व्यापारका लागि ल्हासातिर लागे । उनले कमाएर ल्याएका अकुत धन कान्तिपुरसम्म ल्याउनु थियो । दोलखा पुग्दा उनले एकजना यस्ता बलशाली व्यक्ति फेला पारे, उनी थिए– तुयू ज्यापू । त्यसै तुयू ज्यापूले कुनै बिघ्नबाधाविना ती शासकको निवाससम्म धन–सम्पत्ति सुरक्षित रूपमा पु¥याए । शासक अत्यन्त खुसी भएर उनको साथ सहयोग र श्रमको सम्मानस्वरूप आफ्नो निवाससँगै तुयू ज्यापूलाई बसोवासको राम्रो व्यवस्था गरिदिए । तुयू ज्यापूले परिआएका वेला अरूलाई पनि यस्तै खाले शारीरिक परिश्रमका सहयोग गर्न हिचकिचाउँदैनथे । सहयोगी भावना भएका एउटा असल, राम्रो पात्रका रूपमा तुयू ज्यापू समाजमा चर्चित भए । असल र राम्रो गुणयुक्त चरित्र भएकै कारण कालान्तरमा समाजमा उनी भिंम्ह–असल, द्यःथुज्वःम्ह–भगवान्जस्तो अर्थात् भिन्द्यःका रूपमा सम्झिए । थकू जुजुका सन्ततिहरूले यही गुणास्मृतिका रूपमा उनको सम्मानमा काठमाडौं मरुगणेशबाट तलतिर झर्ने मोडमा स्मारक खडा गरे । त्यसैलाई मानिसहरूले पछिल्लो कालखण्डमा आएर विशाल मन्दिर खडा गरेर भीमसेनस्थानको रूप दिए । 

अनेकन् देवस्थलहरूमा पुजिने आजु र अजिमाहरू पनि कुनै अमुक शक्ति नभई आफ्नै समुदायभित्र विशेष कालखण्डमा मानवकल्याणका लागि प्रशंसनीय भूमिका खेलेर गएका सहोदर आफ्नै पुर्खाहरूका स्मारक हुन् ।


त्यस्तै अर्को एक लोकाख्यानले भने अलिक फरक विवरण प्रस्तुत गर्छ । यद्यपि, त्यस आख्यानले पनि भिन्द्यःको थकू जुजुसँगै सम्बन्ध उजागर गर्छ । कान्तिपुरको थकू जुजु त्वयः मल्लको वैवाहिक सम्बन्ध दोलखाका राजा अभयदेवकी राजकुमारी पद्मावतीसँग जोडिएपछि दाइजोस्वरूप हजारौँ रोपनी जग्गाजमिन पनि पाए । काठमाडौं कालिमाटी, तहाचल, छाउनीवरपरका फाँटहरू दाइजोमा पाएका थकू जुजुका बिर्ता थिए भनिन्छ । त्यहाँ खेतीपाती गर्नका लागि दाइजोस्वरूप एकजना यस्तो बलवान्, शारीरिक क्षमताका किसान पठाएका थिए, जसले एकै रातमा ती सम्पूर्ण फाँटमा रोपाइँको काम भ्याउँथे । उनको पराक्रम र पुरुषार्थ देखेर थकू जुजुले उनलाई भीमसेनकै प्रतीकसरह माने । उनकै योगदान र श्रमको कदरस्वरूप थकू जुजुले आफ्नै निवाससँगै बस्ने व्यवस्था मिलाए । आख्यानअनुसार थकू जुजुका रैती उनै पराक्रमी किसानलाई पछि भिन्द्यःको रूपमा सम्झना गरिन थालियो । 

यी आख्यानसँगको ऐतिहासिक तादम्यलाई अनुसन्धान गरिनुपर्छ नै, तर आजपर्यन्त काठमाडौंका थकू जुजुका सन्ततिहरूले भीमसेनीस्थानस्थित भिन्द्यःलाई आफ्ना रैतीका रूपमा लिन्छन् र मूर्तिअगाडि शिर निहुर्याउँछन् । कुतूहल हुन सक्छ, लोकाख्यानमा चर्चा गरिएका मानसपुत्र तुयू ज्यापु समुदायका लागि कसरी मन्दिरभित्र प्रतिस्थापना गरिनुपर्ने भिन्द्यः अर्थात् ईश्वरसरह पूजनीय भए ? तर, नेपालमण्डलभित्रका रैथानेहरूका सामाजिक मूल्य र पुरातन परम्परासँग जानकारहरूका लागि भने भिन्द्यःको रूपमा मानसपुत्र तुयू ज्यापुको आराधना गरिनु नौलो होइन ।

मानिसको अभ्यान्तरमा नै देवत्वको अंश हुन्छ, त्यसलाई बोधगम्य बनाउन सक्नुमा समुदायको चैतन्य क्षमता निर्भर गर्छ भन्ने नेवारबीच स्थापित आधारभूत मान्यता हो । त्यसैले उनीहरू अबोध, कोमल बालिकामा देवीको रूप पाउँछन् र आफ्ना अराध्यदेवी कुमारीको रूपमा स्थान दिन्छन् । भैरव, महाकाली, अष्टमातृका आदिका प्रतिरूप जिउँदो मान्छेमै अवतरण गराउँछन् र तत्स्वरूपका मुकुण्डोसहित उनीहरू नृत्यका भावभंगिमासहित साक्षात्कार हुन्छन् ।

देवस्थलहरूमा पुजिने आजु र अजिमाहरू पनि कुनै अमुक शक्ति नभई आफ्नै समुदायभित्र विशेष कालखण्डमा मानवकल्याणका लागि प्रशंसनीय भूमिका खेलेर गएका सहोदर आफ्नै पुर्खाहरूका स्मारक हुन् । कुनै अदृश्य लोकबाट भूमण्डलमा आएका अलौकिक पात्रहरूमा भन्दा आफ्नै माझका जीवन्त लौकिक प्राणीहरूमै ईश्वरीय गुण हुन सक्छ भन्ने नेवार समुदायको सामाजिक आस्था हो । तसर्थ, नेवारहरू सपरिवार तिहारका वेला म्हपूजाको मण्डपमा बसेर आत्मचिन्तन, आफूभित्र आफैँलाई खोज्छन् । त्यसैगरी जीवनको एउटा निश्चित कालखण्ड व्यतीत गरिसकेपछि मानिसमै देवत्वको अंश भेटिन्छ भन्ने विश्वासमा प्रत्येक ज्येष्ठ व्यक्तिलाई बूूढो पास्नी जँक्वःको रूपमा रथारोहण गराइन्छ । तुयू ज्यापू मानसपुत्रबाट अराध्यदेवको स्थानसम्म स्थापित हुनुको मूल आधार नेपालमण्डलका रैथानेहरूको जीवनदर्शन र सामाजिक मूल्य–मान्यता नै हो भन्ने कुरा स्पष्ट हुन्छ । 


एकातिर थकू जुजुका सन्ततिहरू तुयू ज्यापू– भिन्द्यःद्वारा विशेषतः ल्हासा व्यापारको क्रममा प्राप्त सहयोगप्रति आजसम्म कृतज्ञ छन् र उनलाई बन्द–व्यापारका अराध्यदेवका रूपमा पुजिने चलन बसाले, उनको सम्मानमा मन्दिर बनाएर पूजा, जात्रा र अनेकन् परम्परा चलाए । ऐतिहासिक अभिलेखले पुष्टि गरेअनुसार थकू जुजुले निर्माण गरिदिएको मन्दिरभित्र एक्लो भिन्द्यःको प्रतिमूर्ति मात्र थिए– त्यो ने.संं ६६० को कुरा थियो । राजा महिन्द्र मल्लको शासनकाल ने.सं. ६८४ मा उक्त मन्दिर तीनतलेको रूपमा विशाल आकार दिए । ने.सं. ७९३ मा राजा प्रताप मल्लले त भिन्द्यःको मूर्तिसँगै एउटा महिलाको मूर्ति थप्न लगाए । त्यसैलाई पञ्चपाण्डवकी द्रोपदी नामकरण गरियो, साथै भिन्द्यःलाई भीमसेनको रूपमा अथ्र्याए । आस्थाअनुसार मूलतः बन्द–व्यापारका संरक्षकको सरह मन्दिरभित्र उभ्याइएको भिन्द्यःको मूर्ति यसरी राजकीय हस्तक्षेपपछि हिन्दूकरण र भीमसेनको रूपमा भ्रमित हुने वातावरण बन्यो । 


ल्हासा व्यापारका क्रममा परिवारबाट लामो समयसम्म टाढिएका आफन्तजनसँगको विछोड तथा दुःखद घडीमा पुनर्मिलन र सकुशलताका लागि गरिने स्तूति तथा विरह–वेदनाका गीतहरूमा सदैव भिन्द्यःसँग याचना गरिएका भाव छरपस्ट भेटिन्छन् । नेपालभाषाका प्राचीन काव्यविधामा यसखाले ल्हासा यात्रा र भिन्द्यःको प्रसंग तथा प्रशंसा पर्यायवाचीकै रूपमा छन् । भिन्द्यः अर्को अर्थमा परिवारिक मिलाप र प्रेमालापका प्रतीकात्मक पात्र पनि हुन् । तात्कालीन समाजभित्रको त्यसखाले प्रचलनले भिन्द्यः र भीमसेनको चारित्रिक भूमिका फरक–फरक रहेछ भन्ने थप पुष्टि गर्छ । 


हिमालयन अन्थ्रोपोलोजीमा सन् १९७८ मा प्रकाशित समाजशास्त्री डोरबहादुर विष्टको ‘नेपलिज इन तिब्वत’ शीर्षकको शोधजन्य लेखअनुसार नेपालको तिब्बतसँगको सम्बन्धमा भिन्द्यःको स्थान केवल सामाजिक आस्था र प्रचलनमा मात्र सीमित नरहेर कूटनीतिक तहसम्म नै रहेको रहेछ । उनले उल्लेख गरेअनुसार प्रत्येक बाह्र वर्षमा नेपालमण्डलभित्रबाट तिब्बतका लागि भिन्द्यः यात्रा गरिन्थ्यो, ल्हासामा पुगेर त्यसको औपचारिक जानकारी गराइन्थ्यो । ल्हासाका प्रशासकद्वारा भिन्द्यः यात्राको सम्मानमा निश्चित रकम हस्तान्तरण गरिन्थ्यो । उनका अनुसार सत्तरीको दशकसम्म चिनियाँ सरकारद्वारा बैंकमार्फत भिन्द्यः यात्राका लागि भुक्तानी गरिएको लगत सुरक्षित थिए । ऐतिहासिक कालखण्डका यी प्रचलन र परम्पराले भिन्द्यः र महाभारतका पात्र भीमसेन एकै होइनन् भन्ने तथ्य प्रस्तुत गर्छ ।

 
समुदायस्तरमा भिन्द्यःप्रतिको आस्थाका कारण कान्तिपुरकै अनुसरण गर्दै ने.सं ८०१ तिर राजा श्रीनिवास मल्लले भीमसेनस्थानकै आकृतिमा मंगलबजार दरबार स्क्वायरमा ठूलो मन्दिर खडा गरे । प्रत्येक वर्ष भदौ नवमीका दिन धुमधामसँग भिन्द्यः जात्रा गर्ने प्रचलन पनि चलाए । त्यस्तै राजा जगतप्रकाश मल्लले पनि भक्तपुरको दत्तात्रयमा एकैखाले वास्तुकलामा ने.सं ७८३ मा भिन्द्यः मन्दिर निर्माण गरे । महत्वपूर्ण कुरा त्यस भिन्द्यः मन्दिरको भुइँतलामा रहेको खुल्ला पाटी र त्यहाँ प्रत्येक वर्ष होली पर्वको आरम्भस्वरूप स्त्रीको योनीको प्रतीकको रूपमा सजाइएको रातो कपडा र डोरीमा लटकाइएको विशाल आकारको लिंगको प्रस्तुति हो । त्यस लिंगलाई भिन्द्यःको गुप्तांग मानिन्छ, अनि फागु अष्टमीका दिन प्रचलनअनुसार पूजापाठसहित रतिक्रियाको प्रतीकात्मक अनुष्ठान सम्पन्न गरिन्छ । भक्तपुरको यो परम्पराले भिन्द्यःलाई वीर्यवद्र्धक र कामकलाका नायकका रूपमा प्रस्तुत गर्छ । जुन महाभारतका भीमसेनको चारित्रिक गुणभन्दा बेग्लै छ । यति मात्रै होइन, नेवार बौद्ध सम्प्रदायका लागि भिन्द्यः महायानी मतअनुसारका लोकेश्वर हुन्, तसर्थ विशेषतः काठमाडौं भीमसेनस्थानस्थित भिन्द्यःको नित्य पूजा पनि बज्राचार्य परिवारले जिम्मा लिँदै आएका छन् । 


सम्झौँ, आखिर भिन्द्यः भिन्द्यः मात्र हुन्, अन्य होइनन् ।

सम्पादकको रोजाइ

सुझावित समाचार