पत्रकार माड्साब

राप्रउ पोखरेल राप्रउ पोखरेल
शुक्रबार, १ चैत, २०७५
डिजिटल संस्करण

मुर्धन्य साहित्यकार मदनमणि दीक्षित वैदिक वाङ्मयको वैज्ञानिक पद्धतिबाट अध्ययन गर्ने थोरै नेपालीमा पर्छन् । उनले आफ्नो जीवनयात्रालाई चार चरणमा विभाजित गरेर त्यसलाई जीवनः महाभियान’को संज्ञा दिएका छन् । प्रस्तुत निबन्धमा भने नयाँ पुस्ताका लागि एक किसिमले ओझेलमा पर्न लागेको उनको राजनीतिक र पत्रकारिताको व्यक्तित्वलाई संक्षिप्तमा प्रकाश पार्ने प्रयास रहनेछ । 

आफ्ना मित्रमण्डली तथा सामाजिक क्षेत्रमा माड्साबको नामबाट सुपरिचित मदनमणि (आचार्य) दीक्षित  (संवत् १९७९ फागुन ६ गतेको जन्म) २००८ सालदेखि आफ्नो माहिला भाइ हाल दिगंगत महेशमणि दीक्षितमार्फत नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध भएका थिए । त्यतिखेर पार्टीको नेतृत्वमा संस्थापक महासचिव क. पुष्पलाल थिए । २०१३ सालमा उनी आफ्नो कार्यथलो वीरगन्जबाट राजधानी काठमाडौंलाई कर्मथलो बनाउने गरी बस्न आए । २०१५ सालवैशाखदेखि सुरु भयो ‘हालखबर’ दैनिक खबर पत्रिकाबाटउनको पत्रकारिताको यात्रा–जीवन (महाभियान, पृष्ठ. २२५)। त्यस अखबारका मालिक ‘राष्ट्रिय प्रजातान्त्रिक महासभा’ पार्टीका अध्यक्ष रंगनाथ शर्मा थिए, जो दरबारनिकट मानिन्थे ।

२०१६ सालमा संसदीय आम निर्वाचनमा दुईतिहाइ बहुमतबाट नेपाली कांग्रेसले विजय प्राप्त ग-यो । विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा पहिलो निर्वाचित सरकार बन्यो । तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको आर्थिक सहायतामा दीक्षितले आफ्नै प्रकाशन र सम्पादकत्वमा २०१७ साल वैशाखदेखि ‘समीक्षा साप्ताहिक’ खबर पत्रिका प्रकाशित गर्न थाले । पञ्चायतकालमा समीक्षा साप्ताहिकलाई पटक–पटक प्रतिबन्ध लागे पनि ३४ वर्षसम्म यो पत्रिका निरन्तर रूपमा प्रकाशित भई नै रह्यो । २०को दशकको कुनै समयमा ‘नेपाल रिभ्यु’ अंग्रेजी साप्ताहिक पनि केही महिना सम्पादन र प्रकाशन गरेका थिए ।

दीक्षितको साहित्ययात्रा कथा र निबन्धबाट भएको थियो । उनको कथा र निबन्ध संग्रह ३०को दशकमा प्रकाशित भएका थिए । ०३९सालमा ‘माधवी’ उपन्यास प्रकाशित भएपछि उनको साहित्य यात्राले उचाइ प्राप्त ग-यो । यसपछि त उनी दलीय संलग्नताबाट टाढिँदै गएको देखिन्छ । ०४२ सालमा उनले आफू दलबाट पूर्णतः अलग भएको कुरा सार्वजनिक गरेका थिए । ०४० को दशकदेखि वैदिक वाङ्मयको अध्ययनमा बढी केन्द्रित हुन थाले । ५० को दशकसम्म दीक्षितले ‘विदुषी गार्गी’‘विश्वका प्रथम वैज्ञानिक उद्धालक आरुणि’, ‘महर्षि याज्ञवल्क्य’, ‘हाम्रा शाश्वत नारी’, ‘भूमिसुक्त’ (उपन्यास) जस्ता कैयौँ गम्भीर कृति लेखे । 


मदनमणि माड्साबको राजनीतिक र पत्रकारिताको जीवनलाई नजिकबाट बुझ्ने पुराना कम्युनिस्ट नेता भाइ महेशमणि, सैयदकमर शाह, मकबुल शाह, शैलेन्द्रकुमार उपाध्यायहरू हुन्, जो अब यस लोकमा रहेनन् । जीवितहरूमाती पहिलो पुस्ताका अरविन्द रिमाल, कृष्णराज बर्माजस्ता एकाध व्यक्ति मात्र हाम्रा समक्ष छन् ।माड्साबको अर्को परिचय एक कुशल फोटोग्राफरको पनि छ । पहिलो पुस्ताका विश्वेश्वरप्रसाद कोइरालालगायत धेरैजसो नेताका तस्बिर एवं २००८ सालमा नेपाल कम्युनिस्ट पार्टी, प्रजापरिषद् मिलेर बनेको संयुक्त मोर्चाको सार्वजनिक सभालगायत ऐतिहासिक महत्व  राख्ने तस्बिरहरू उनको संग्रहमा सुरक्षित छन् । 

सन् १९५० को पछिल्लो समय (संवत् २०१५/१६) देखि सोभियत संघ र जनवादी चीनबीच मतभेद बढेपछि विश्व कम्युनिस्ट आन्दोलनमा फाटो आयो । त्यस विभाजनको असरले एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका कम्युनिस्ट पार्टीहरू विभाजित हुन पुगे । नेपालको कम्युनिस्ट आन्दोलन पनि त्यसबाट अछुतो रहन सकेन । २०१९ सालमा पुष्पलाल श्रेष्ठ सम्मिलित तुलसीलाल अमात्यको नेतृत्व र अर्कोतिर केशरजंग रायमाझीको नेतृत्वमा नेपाल कम्युनिस्टपार्टीको नामबाट अलग अलग पार्टी गठन भएको थियो ।पछि ती पार्टी चिनियाँ पक्षधर र सोभियत संघ पक्षधरका रूपमा प्रस्तुत भए । माड्साब सोभियत समर्थक डा.केशरजंग नेतृत्वको नेकपासँग आबद्ध भए ।

पार्टीको नेतृत्व तहमा माड्साब कहिले पनि रहेनन् । तर, पार्टीको संस्थापन पक्षलाई सधैँजसो साथ दिने गर्थे । त्यसैले होला उनकोनिकटता नेतृत्वसँग जहिले पनि रह्यो । पत्रकारितासँगै उनको पार्टी–जीवन वेलाबखत विवादमा पर्ने गथ्र्यो । विश्व कम्युनिस्ट आन्दोलनका प्राधिकार मानिएका जोसेफ स्तालिन (सन् १८७८–१९५३) ले पार्टी संगठनमा लोकतान्त्रिक केन्द्रीयताको व्याख्यालाई एसिया अफ्रिकाका कम्युनिस्ट पार्टीहरूले अनुशरण गरेका थिए । जसअनुसार पार्टी अनुशासनभित्र नेतृत्वको आज्ञापालन गर्दा कुनै नवीन रचनात्मक बौद्धिकतालाई बन्देज गथ्र्यो ।तसर्थ, स्टालिनवादी पार्टी अनुशासनलाई स्वीकार नगर्ने माक्र्सवादी विचारका लेखक–पत्रकारकम्युनिस्ट पार्टीमा सितिमिती अटाउँदैनन् । नेपाल–भारत वा अन्यत्र पनि त्यो प्रवृत्ति देखिएको छ । भारतका राहुल सांकृत्यायन (सन्१८९३–१९६३), रांगेय राघव (१९२३–१९६२), के.दामोदरन (१९१२–१९७६), रामविलास शर्मा (१९१२–२०००), डि.डि.कोसाम्बी (१९०७–१९६६), भगवतशरण उपाध्याय (१९१०–१९८२) आदि व्यक्तित्व त्यसैका दृष्टान्त हुन् । पार्टी छाडे पनि उनीहरूले माक्र्सवादी चिन्तन र सिर्जनकार्यलाई निरन्तरता दिई नै रहे । 
०००

२००८ सालमा महासचिव पिएललाई पोलिटब्युरोको अपूरो बैठकले हटाएर मनमोहन अधिकारीलाई महासचिव बनायो । मनमोहनजस्ता डिग्री प्राप्त र सन् १९४२ देखि नै कम्युनिस्ट रानीतिमा क्रियाशील व्यक्ति नेतृत्वका लागि पक्कै पनि योग्य होलान् भनेर धेरै नेता र कार्यकर्ताले धारणा बनाएका थिए । तर, पार्टी खटनपटन र सञ्चालनमा पोलिटब्युरो सदस्य शैलेन्द्रकुमारको हाकडाक देखिन्थ्यो । अधिकारी पछिल्लोपटक नेकपा एमालेको अध्यक्ष हुँदा पनि उनको परनिर्भरतालाई अनुभव गर्ने पार्टीका नेता/कार्यकर्ताहरू अहिले छँदै छन् । माड्साबले ती सबै कुरालाई आफ्नो जीवनीपरक कृति ‘जीवनः महाअभिमान’मा प्रस्ट पारेका छन् । 

दोस्रो विश्वयुद्धपछि पश्चिमी देशको उपनिवेशबाट मुक्त भएका तेस्रो विश्व भनेर चिनिने एसिया अफ्रिकाका धेरैजसो राष्ट्रहरू सोभियत पक्षधर भएर अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत भइरहेका थिए । यतापश्चिम युरोपका उपनिवेशवादी इसाई राज्यहरूको समर्थनमा अमेरिकाले विश्वपुँजीवादी व्यवस्थाकोनेतृत्व गथ्र्यो । यता सोभियत संघले निकट भविष्यमा अमेरिकी साम्राज्यवादको पतन निश्चित छ भन्नेजस्तो दरिलो अश्वासन असंलग्न आन्दोलनमा संलग्नतेस्रो विश्वका नामले चिनिएका एसिया, अफ्रिकाका विकासशीलदेशहरूलाई दिइरहेको थियो ।

‘विश्वशान्ति समिति’, ‘अफ्रो एसियाली जन–ऐक्यबद्धता समिति’हरूबाट विश्व साम्राज्यवादको विरोधमा शान्तिपूर्ण आन्दोलन चलाएर उसको पराजयलाई सुगम बनाउनेछ भन्ने सोभियत नीतिको ती विकाशील राष्ट्रहरू अनुशरण गरिरहेका थिए । सोभियत समर्थक कयुनिस्ट पार्टीहरूले आफ्नो संगठन शक्तिलाई देशकै राष्ट्रिय सरोकारका विषयहरूमा बढी चासो राख्ने र आन्दोलनको विषय बनाउन सक्नुपथ्र्यो । तर, त्यतातिर सोभियत नीतिको बढी भर परेर नेपाललगायतका कम्युनिस्ट आन्दोलनले खासै चासो राखेको देखिएन । तिनीहरूले दुई शक्तिराष्ट्रबीचको प्रतिद्वन्द्वीतालाई विश्व समाजवाद र विश्व पुँजीवादको प्रतिद्वन्द्वीताको रूपमा हेरेका थिए । यस नीतिले गर्दा विश्वकम्युनिस्ट आन्दोलनको मध्यमार्गी धारलाई धेरै पछाडि पु-यायो रसमग्र कम्युनिस्ट आन्दोलनले धेरै क्षति बेहोर्नुप-यो । 

उपर्युक्त परिस्थितिमा सोभियत संघ विघटनको संघारमा पुग्दानपुग्दै हिंसावादी कथित कम्युनिस्ट हुर्किने र फस्टाउने अनुकूल वातावरण पायो । सुरु–सुरुमा त त्यो उग्रवादी धार चिनियाँ क्रान्तिबाट प्रेरित होला भन्ने बुझाइ धेरैको रह्यो । तर, समय अघि बढ्दै जाँदा त्यस हिंसात्मक आन्दोलनको पछाडि युरोपका इसाई राष्ट्रहरूसँगै अमेरिकी शक्तिको नियोजित भूमिका रहेको कुरा घटनाक्रमले प्रस्ट पार्दै ल्यायो । चर्च र सिआइए(अमेरिकाको बाह्य गुप्तचर संस्था)को सहयोगमा गठन गरिएको ‘रिम’ (रिभोल्युसनरी इन्टरनेसनलिस्ट मुभमेन्ट) अमेरिकन कम्युनिस्ट पार्टीका अध्यक्ष‘बोब अवेकियन’( जन्म सन्१९४३)का पनि अध्यक्ष थिए, छन् । सिआइएको योजनामा चलेको यो संस्थानेपालका माओवादीलगायतका उग्रवादी संगठनहरूको छाता संगठन थियो (आजको मितिसम्म नेकपाको यस संस्थासितको सम्बन्ध टुटिसकेको अनुमान हुन्छ ! ले) । आज यो संस्था अस्तित्वमा नरहेको जस्तो बुझिन्छ । 

राजा महेन्द्रका विकास आयोजनाहरूको व्यापक प्रचारकको रूपमा माड्साब आफ्नो पत्रिका समीक्षा साप्ताहिकमार्फत प्रस्तुत भएका थिए । यस्ता समर्थनले राजदरबारलाई मद्दत पुग्न गएको र प्रजातन्त्रको आन्दोलनलाई कमजोर बनाउन सहयोग पु-याएको आरोप माड्साबमाथि थोपरियो ।

एसिया अफ्रिकाका विकासशील देशका कम्युनिस्ट आन्दोनले आ–आफ्ना सरकारसँग निकट रहेर उसका प्रगतिशील कार्यक्रमलाई समर्थन जनाउनु विश्व कम्युनिस्ट आन्दोलनका लागि त्यतिखेरको सोभियत संघको निर्देशक नीतिजस्तो थियो । सोभियत समर्थक महासचिव केशरजंग रायमाझीको नेतृत्वको नेकपाले त्यही सोभियत नीतिको अनुशरण गरेर राजा महेन्द्रको निर्दलीय व्यवस्थालाई प्रत्यक्षतवरले त गरेन, तर उनका राष्ट्रविकासका कार्यक्रमहरूलाई आलोचनात्मक समर्थन गर्दैे रह्योे ।

भूमिको हदबन्दी रभूमिमा मोहीका हकसहितको भूमिसुधार र जातपात, छुवाछुतलाई निषिद्ध गरेर नागरिकहरूबीच कानुनी समानता बोकेको नयाँ मुलुकी ऐनलाई मौन समर्थन जनाएको थियो । राजा महेन्द्रकै कूटनीतिक प्रयासबाट पूर्व–पश्चिम राजमार्ग, अरनिको राजमार्ग, पृथ्वी राजमार्गहरूको निर्माण सोभियत र चिनियाँ सहयोगबाट निर्माण भएको थियो । तिनै समाजवादी राष्ट्रहरूको सहयोगमा अनेक ठूला उद्योगहरूको स्थापनाबाट नेपालको आर्थिक समृद्धिको जग हालेको थियो । त्यस्ता आधारभूत योजनाहरूलाई समर्थन जनाएबापत डा.रायमाझी र उनको पार्टीले ‘रोयल कम्युनिस्ट’को पगरी बदनामीको रूपमा बेहार्नुपरेको थियो । 

राजा महेन्द्रका ती विकास आयोजनाहरूको व्यापक प्रचारकको रूपमा माड्साब आफ्नो पत्रिका समीक्षा साप्ताहिकमार्फत प्रस्तुत भएका थिए । यस्ता समर्थनले राजदरबारलाई मद्दत पुग्न गएको र प्रजातन्त्रको आन्दोलनलाई कमजोर बनाउन सहयोग पु-याएको आरोप माड्साबमाथि थोपरियो । उनी त्यस किसिमको आरोपको बेवास्ता गर्दै यस्तो भन्ने गर्थे, ‘निर्दलीय व्यवस्थाले गरेको जनपक्षीय कार्यक्रमको विरोध नै गर्नुपर्छ भन्ने छैन तेस्तो मान्यता राजनीतिक संकीर्णताको उपज हो ।’ 

यहाँ भारतीय कम्युनिस्ट पार्टीका एक नेता मोहित सेनको पुस्तक ‘अ ट्राभलर एन्ड द रोड’को यौटा प्रसंग स्मरणयोग्य छ, जसको सार यस्तो छ–भारतको कम्युनिस्ट आन्दोलन आफ्नो स्थापनादेखि नै उच्च शिक्षितहरूको नेतृत्वमा थियो । कम्युनिस्ट पार्टीले देशका शोषित–पीडित वर्गको मुक्ति र सामाजिक न्यायको वकालत गर्दै आयो । तर, पनि यसले वर्गीय समर्थनलाई बढाउन सकेन । उनी थप अगाडि भन्छन् भारतीय कम्युनिस्ट आन्दोलनले यहाँको सामाजिक धरातललाई रम्ररी बुझ्ने चेष्टा नै गरेन । आन्दोलनको उद्देश्य जनमुखी भए पनि त्यसको भाषा र प्रस्तुतिमा भारतीयपन थिएन । (पृष्ठ २३७, ४९१–५०८) ।


मदनमणि माड्साब पनि नेपालको वाम आन्दोलन र प्रजातन्त्रको संघर्षबारे आफ्नो पुस्तक ‘जीवनः महाअभियान (संवत् २०६६)मा प्रश्न उठाउँछन्, ‘नेपालमा प्रजातन्त्रको स्थापना हुँदासम्म के प्रजातन्त्रका निम्ति संघर्षको इतिहासको निर्माण भएको थियो ? नेपाल कम्युनिस्ट पार्टीको स्थापना र आन्दोलनको प्रारम्भिक कालमा गरिएका संघर्षहरूलाई प्रचार गरिएजस्तै ती सत्यतथ्य थिए ?’ माड्साबले प्रजातन्त्र र कम्युनिस्ट आन्दोलनको अपरिपक्व पृष्ठभूमिलाई लिएर ती प्रश्न उठाएका थिए । समाजविज्ञान र राजनीतक जीवनसँग जोडिएका बौद्धिक समुदायलाई लक्षित गरेर उठाइएका ती प्रश्नलाई तत्कालीन इतिहासको कसीमा हेर्नुपर्ने हुन्छ ।

भारतीयहरूले ब्रिटिस शासनविरुद्ध एक शताब्दीजति नै संघर्ष गरेर स्वाधीनता प्राप्त गर्न सकेका थिए । उनीहरूलाई बाह्य सहयोग प्राप्त थिएन । नेपालमा २००७, ०४२ र ०६२ सालहरूमा भएको परिवर्तन प्रजातन्त्रवादी दल र केही शिक्षित नेपालीको संलग्नता रहेको थियो । तर,सत्यको अर्को पाटो के हो भने उपर्युक्त तीनवटै परिवर्तनमा विदेशीहरूको बढी चासो र संलग्नता रहेको हामीले अनुभव गरेकै हो । समाजशास्त्रीय वा माक्र्सवादी दृष्टिकोणबाट हेर्ने हो भने ती आन्दोलनका पृष्ठभूमि त्यस्तो परिवर्तनका लागि चाहिने परिस्थितिको विकास भइनसकेको अवस्था थियो । त्यसले गर्दा नेपाली राजनीतिमा समयअनुरूपको परिपक्वता आउनै पाएन भन्न सकिन्छ । त्यसको परिणाम के देखियो भने उक्त तीनवटै राजनीतिक परिवर्तनपछि यहाँको राज्य संयन्त्र र सरकारको नीति निर्माणमा विदेशी शक्तिको प्रभाव र हस्तक्षेप बढ्दै गएको हामीले पायौँ ।

२००७ को परिवर्तनपछि राज्य सञ्चालनमा बढेको भारतीय संलग्नतालाई घटाउँदै नेपाललाई स्वाधीन राष्ट्रको प्रतिष्ठा दिलाउन राजा महेन्द्रले उद्योग–वाणिज्य, अर्थ, गृह, शिक्षा, राष्ट्रिय सुरक्षा, आर्थिक योजना एवं सन्तुलित परराष्ट्र नीतिलाई कार्यान्वयन गरेर एक स्वाभिमानी सार्वभौमसत्ता सम्पन्न स्वाधीन राष्ट्रको स्थानमा पु-याएका थिए । राजा महेन्द्रको निर्दलीय राजनीति र निरंकुश राजतन्त्रको अभ्यास लोकतान्त्रिक मूल्यको आधारमा निन्दनीय हुन सक्ला । तर,त्यति हुँदाहुँदै पनि वर्तमान राजनीतिक नेतृत्वले उनको नीतिबाट शिक्षा लिने ठाउँ निकै छ ।

०४६ को परिवर्तनपछि अमेरिकालगायत पश्चिम युरोपका इसाई राज्यले लोकतन्त्र, मानव– अधिकार, पहिचानको राजनीति (कम्युनल रिपे्रजेन्टेसन !), नागरिक चेतनाको विकास गराउनेजस्ता कार्यक्रम आइ/एनजिओहरू र उनीहरूकै खटनपटनमा चल्ने अन्तर्राष्ट्रिय विकास संस्थामार्फत चलाइरहेका छन् । पश्चिमी राष्ट्रका कुत्सित चाललाई बुझेका मदनमणि दीक्षितले बार्धक्यको यस वयमा पनि देशको भविष्यप्रति चिन्ता लिइरहेको अवस्था उनको लेखनीमा बरोबरजसो हामी पाउँछौँ ।

‘समीक्षा साप्ताहिक’मा नयाँ–नयाँ प्रतिभाकास्तम्भहरूसमेत छापिन्थ्यो । समाचार पत्रिका भएर पनि त्यस साप्ताहिकले नेपाली इतिहासको खोजपूर्ण सामग्री प्रकाशनमा सुरुवाती कदम चाल्यो । इतिहास संस्कृतिका अन्वेषक प्राध्यापक मोहनप्रसाद खनालको खोजपूर्ण अभिलेख सामग्रीलाई सुरुमा समीक्षा साप्ताहिकले छापेर उनलाई प्रोत्साहित गरेको थियो ।त्यतिखेर खनाल कर्मचारी सञ्चयकोषमा एक सामान्य कर्मचारी थिए । समीक्षाले ०३४देखि राजनीतिक, साहित्य कला र पत्रकारिता क्षेत्रकाचर्चित व्यक्तिहरूको फोटोसहित अन्तर्वार्ता छाप्ने स्तम्भको पनि थालनी ग-यो । ०३४/३५ तिर पञ्चायतको अनुदार राजनीतिक परिवेशमा विश्वेश्वरप्रसाद कोइरालालाई भेट गर्नु दुस्साहस गरेकोझैँ हुन्थ्यो । तर,त्यस्तै परिवेशमा श्री विप्र कोइरालाका ४ वटा तस्बिर प्रथम पृष्ठमा राखेर माड्साबले उनको अन्तर्वार्ता छापिदिए । यस किसिमको अन्तर्वार्ता छाप्ने माड्साब पहिलो पत्रकार थिए । उनको त्यस साहसिक पत्रकारिताले बौद्धिक र राजनीतिक वृत्तमा तरंग उत्पन्न गरेको थियो । ०१७पछि नेपालको पत्रिकामा छापिएको कोइरालाको त्यो पहिलो अन्तर्वार्ता हुनुपर्छ । 

नेपालको पहिलो श्रमजीवी पत्रकार किशोरीरमण राणा (राना !) को पनि लहरै फोटो राखेर परिचयात्मक विवरण सर्वप्रथम (र,त्यो नै अन्तिम पनि !) सार्वजनिक गरेका थिए । किशोरीरमण आफ्नो नामबाट कहिल्यै नखुलेका पुराना पुस्ताका पत्रकार थिए । यहाँ किशोरीरमण राणाको विषयमा थप केही भन्नुपर्ने हुन्छ । किशोरीरमण सुरुताका वनारसबाट प्रकाशित हुने हिन्दी दैनिक ‘आज’मा काम गर्थे । पछि कसरी हो, सल्यानमा माध्यमिकविद्यालय खुलेपछि त्यहाँ अंग्रेजी पढाउने शिक्षक भएर केही समय बसेका थिए ।

त्यतिखेर उनका शिष्यहरूमा भूतपूर्वप्रधानमन्त्री मरीचमान सिंह एवं चर्चित बुद्धिजीवी नीलाम्बर आचार्य पनि थिए । तारिणीप्रसाद कोइरालाले उनलाई काठमाडौंमा ल्याएर आफ्नै नाममा सम्पादक र प्रकाशक रहने गरी दर्ता गराएका ‘कल्पना’पत्रिकामा काम लगाए । तर, त्यस पत्रिकालाई यथार्थमा किशोरीरमणले नै चलाउने गर्थे । ०१७ को काण्डपछि कल्पना पत्रिकाको प्रकाशन बन्द भयो । त्यसपछि अमेरिकी धारको मानिएको रमेशनाथ पाण्डेको ‘नयाँ सन्देश’ र ‘नेसनल हेराल्ड(अंग्रेजी)’, चिनियाँ धारको मानिएको गोविन्द वियोगीको ‘मातृभूमि’ तथा चिनियाँ धारकै अर्को प्रेमकुमारी पन्तले चलाएको ‘विक्ली मिरर’ आदि अंग्रेजी/नेपाली गरी एकैपटक ४/५वटा पत्रिकाहरूमा सम्बन्धित धारलाई सघाउने गरी सम्पादकीय र राजनीतिक विष्लेषणका निबन्धहरू छद्म नामबाट लेख्थे । साँच्चै भन्ने हो भने प्राविधिक रूपले उनैले पत्रिका चलाइरहेका थिए । तर, उनले कुनै पत्रिकामा पनि आफ्नो नामबाट कहिल्यै केही लेखेनन् । जीवनको अन्तिम कालमा जनार्दन आचार्यको समकालीन साप्तहिकमा सम्भवतः ०५२ तिर हुनुपर्छ, उनले एक वा दुईवटा लेख भने आफ्नै नामबाट छपाएका थिए । पत्रकारिताको इतिहासमा उनी लेखिनुपर्ने व्यक्ति हुन्, तर रातोदिन काम लिनेहरूले उनीप्रति चासो वा चर्चा कतै नगरिदिएर गुमनाममै रहन मद्दत पु-याएकोमा मन दुःखी हुन्छ ।

०२७ को कुरा। काठमाडौंमा वेश्यावृत्तिमा लागेका युवतीहरूबारे फोटोसहितको यौटा रोचक अध्ययन विवरण क्रमशः ‘समीक्षा’ साप्ताहिकले दुई अंकमा छाप्यो। यस्तो कार्यमा लागेकानेपाली युवतीको वृत्तान्त ‘समीक्षा’ले नै पहिलोपटक छापेको थियो । त्यो खोजपूर्ण आलेख साहित्यकार शंकर लामिछानेबाट प्राप्त गरेको कुरा यस पंक्तिकारलाई माड्साबले बताएका थिए।


यौटा महत्वपूर्ण  प्रसंग, ०२७ तिर महिना यतिखेर सम्झिन सकिनँ, काठमाडौंमा वेश्यावृत्तिमा लागेका युवतीहरूबारे फोटोसहितको यौटा रोचक अध्ययन विवरण क्रमशः समीक्षा साप्ताहिकले दुई अंकमा गरेर छाप्यो । यस्तो कार्यमा लागेका नेपाली युवतीको वृत्तान्त समीक्षाले नै पहिलोपटक छापेको थियो । त्यो खोजपूर्ण आलेख साहित्यकार शंकर लामिछानेबाट प्राप्त गरेको कुरा यस पंक्तिकारलाई माड्साबले बताएका थिए ।  माड्साब प्रजातान्त्रिक हक र राष्ट्रिय सबालमा सधैँ संघर्षको पंक्तिमा उभिन्थे । ०३६ को जनमत संग्रहमा समीक्षा साप्ताहिक बहुदल पक्षधर थियो । बहुदललाई जिताउन उनले आफ्नो भएभरको ऊर्जा खर्चेका थिए । जनमतको परिणाम पराजयमा गएपछि उनी सारै नै चिन्तामा डुबेका बुझिन्थ्यो ।
०००

गल्ती हुनु मानवीय कमजोरी हो । त्यो माड्साबबाट पनि भएको थियो । ०१९ को पञ्चायती संविधानलाई ०३२ मा दोेस्रोपटक (पहिलोे संशोधन ०२४) संशोधन गरियो । केही उदारताको अपेक्षा गरिएको संशोधनबाट पञ्चायती व्यवस्था झन् प्रतिगामी दिशातर्फ उन्मुख हुन पुग्यो । त्यसताका समीक्षालाई प्रतिबन्ध लगाइएको थियो । समीक्षामा लागेको प्रतिबन्ध खोलाउने आशयले हो वा अरू कुनै कारणले डोरिएर उनले दरबारनिकट मानिएको त्रैमासिक साहित्यिक पत्रिका रत्नश्रीमा प्रकाशित एउटा लेखमा त्यो प्रतिगामी संशोधनसहितको संविधानलाई पूर्ण समर्थन जनाउन पुगे । त्यस लेखमा आफूले राजनीतिको सुरुवातदेखि नै वैचारिक र पार्टीगत संलग्नतामा अनुशरण गर्दै आएको कम्युनिस्ट सिद्धान्तको राजनीतिक जीवन ठूलो भूल भएको भनेर पश्चात्ताप जनाएका थिए । प्रजातान्त्रिक विचार राख्नेहरूले निन्दा गर्नु त छँदै थियो, उनीहरूले त्यस्तो गरे पनि । तर, आफूले मान्दै आएको नेता डा. रायमाझीले र पार्टीका निकटवर्ती मित्रहरूले समेत माड्साबमाथि कडा रोष जनाएका थिए । 

विप्र कोइरालाका चारवटा तस्बिर प्रथम पृष्ठमा राखेर माड्साबले उनको अन्तर्वार्ता छापिदिए। यस किसिमको अन्तर्वार्ता छाप्ने माड्साब पहिलो पत्रकार थिए। उनको त्यस साहसिक पत्रकारिताले बौद्धिक र राजनीतिक वृत्तमा तरंग उत्पन्न गरेको थियो। २०१७ सालपछि नेपालको पत्रिकामा छापिएको
कोइरालाको त्यो पहिलो अन्तर्वार्ता हुनुपर्छ। 


अर्को घटनाः भारतले नेपालमाथि ०४५/४६ मा आर्थिक नाकाबन्दी थोप-यो, जुन १५ महिनासम्म अर्थात् ०४६ को चैत्रमा राजनीतिक परिवर्तन नभएसम्मजारी राख्यो । नेपाली कांग्रेसलगायतका पञ्चायतविरोधी दलहरूले नाकाबन्दीले प्रजातन्त्रको पुनस्र्थापनामा सहयोग पुग्नजाने मान्यता लिएर समर्थन जनाउँदै आन्दोलन पनि सुरु गरे । माड्साबले भने भारतले नेपालको विरुद्धमा नाकाबन्दी गरेर अघोषित युद्ध गरेको हो भन्ने रूपमा लिए ।

नाकाबन्दीले दरबारलाई घुँडा टेकाए पनि नेपालकै स्वाभिमानलाई मर्दन गर्ने दुराशय राखेको हुन सक्ने उनको विश्लेषण थियो । यस्तो राष्ट्रिय संकटलाई एकजुट भएर प्रतिरोध गर्नुपर्छ भन्ने विचारलाई प्रधानमन्त्री मरिचमान सिंहसमक्ष राखेर उनले ऐक्यबद्धता जनाए । तर, माड्साबले प्रधानमन्त्रीलाई लेखेको खुला निवेदनमा आफूले पञ्चायतमा पूर्ण समर्पण गरेको कुरा उल्लेख गर्न भने बिर्सेनन् । नेपाली कांग्रेसका प्रकाश कोइराला (विपि पुत्र)ले पनि भारतीय नाकाबन्दी नेपालका लागि संकटको समय हो । नेपाली कांग्रेसले यतिखेर आन्दोलन नगरेर नाकाबन्दीको विरोध गर्नुपर्छ भन्ने बेहोराको वक्तव्य दिन पुगे । कांग्रेस पार्टीले उनलाई कारबाहीस्वरूप पार्टीबाट निष्कासित गरिदियो । 

माड्साबले ०३२ मा आफ्नो पार्टीको नीति नरहेको भए पनि सिक्किमलाई (उनी सुख्खिम भन्ने गर्थे) भारतले आफूमा बिलय गरेकोमा कडा विरोध जनाएका थिए । अहिलेको अर्थात् ०४५/४६) कोनाकाबन्दीमा पनि भारतको दुर्नियत हुन सक्ने उनको आशंका थियो ।त्यसो भन्दैमा जीवनभर आस्था राखेको राजनीतिक मान्यतालाई निन्दा गर्दै आत्मसमर्पण गर्नु समर्थनयोग्य हुन सक्दैनथ्यो, त्यो आलोच्य छ । 

माड्साबले वैदिक वाङ्मयको अध्ययन गर्ने क्रममा ३० को दशकदेखि यो पंक्तिकार पनि संलग्न हुन पुगेको थियो । ‘माधवी’को लेखनत्यही अध्ययनको परिणाम थियो ।त्यसको कथानक यस पंक्तिकारले नै सुझाएको थियो (मदनमणि दीक्षित, जीवनःमहाभियान, पृष्ठ ३३४,३३५) । उपन्यासको लेखनको क्रममा त्यो प्राचीन समाजको चित्रण, सुहाउँदो भाषाको प्रयोग गर्नेजस्ता पक्षहरूमा दिनहुँजसो हाम्रो छलफल हुने गथ्र्यो । 

माड्साबको साहित्यसाधना र वैदिक वाङ्मयको समाजशास्त्रीय अध्ययनबारे धेरै समालोचकले कलम चलाएका छन् । पंक्तिकार पनि त्यसमध्ये एक हो । तर,उनको माक्र्सवाद प्रेरित राजनीति र पत्रकारिताबारे भने त्यतिसारो लेखिएका छैनन् । बरु उनी स्वयंले ‘जीवनः महाभियान’ पुस्तकमा ती यात्रालाई इतिहासको सापेक्षतामा विस्तारपूर्वक प्रस्तुत गरेका छन् । उनका यस्ता पाटोका विषयमा छुट्टै अध्ययन हुनुपर्छ भन्ने पंक्तिकारको मान्यता छ । भर्खैरै गठित मदनमणि अध्ययन अधिष्ठानले यसतर्फयोजना बनाएको छैन भने यसतर्फ यथाशीघ्र लागोस् भनेर आग्रह गर्छु । 

अन्त्यमा, मदनमणि दीक्षित एक प्रौढ, अध्यावसायी, उच्चकोटिका साहित्यसाधक एवं माक्र्सवादका सच्चा अनुयायी हुन् । त्योभन्दा माथि उनी फराकिलो अर्थमा र समग्रमा राष्ट्रलाई सर्वोच्च मान्ने एक इमानदार नेपाली हुन् । आजको समयमा पनि आफ्नो राष्ट्रप्रति उनको चिन्तनको सान्दर्भिकता छ र नयाँ पुस्ताले प्रेरणा पाउन सक्छ । यिनै शब्दमा उनको सुस्वाथ्य जीवन र थप सिर्जनशीलताको कामना गर्छु । 

सम्पादकको रोजाइ

सुझावित समाचार