कविता
भँडार कोठाको ढोकामाथि
सधैँ झुन्डिरहन्थ्यो भोटेताल्चा
कोठामा थियो कालो मधुस
र, मधुसभित्र थियो आमाको सुर्केथैली
झुन्डिएझैँ बाको काँधमा परिवारको दायित्व
झुन्डिरहेको हुन्थ्यो भँडारको साँचो
ममतासँगै आमाको छातीमा
रहस्यमा उत्सुकताहरू लपेटिएजस्तै
गोप्य चिजमा
धेरैका आँखा दौडिएजस्तै
मेरो मनको खुल्दुली ओठबाट फुत्तै निस्कन्थ्यो—
त्यो थैलीमा के छ आमा ?
तर, आमाको जवाफ सधैँ अमूर्त हुन्थ्यो—
केही होइन, छट् छट् !
मानौँ थैलीको सुर्केनी
अन्यन्तै अभेद्य थियो ।
कति हिउँद–बर्खाहरू कट्थे
कति शिशिर र वसन्तहरू बित्थे
परवाह थिएन आमालाई कुनै
व्यस्त थिइन् उनी गाउँमा
मस्त थिइन् उनी आफ्नै दुनियाँमा
एकदिन छोरो सहर पस्यो
त्यो दिन सूल बनेर आमाको छातीमा बस्यो
पहिलोपल्ट मितिको महत्व थाहा भयो आमालाई
ऋतुहरू घुमिरहे तर वसन्त कहिल्यै आएन
बादलहरू आकाशमा होइन, आँखामा मडारिरहे
गाउँमा बर्खाको भेल फुट्यो
अनि ममत्वको डोरी पक्रेर
आमा पनि पसिन् सहर
आमा पुगेकी मात्र थिइन् सहर
बदलिन थाल्यो छोराको व्यवहार
धमिलिँदै गयो
मायाको सङ्लो संसार
मन अमिलो, आँखा धमिलो
प्रत्येक गाँस बेस्वादिलो
हरेक सास निसासिँदो ।
आमाले गराइरहिन्
सहरमा पनि स्नेहको वर्षा
गाउँमा जस्तै
तर, के भिज्थ्यो र कंक्रिटको जंगल ?
रसाएन छोराको मन
वासहरू प्रदूषित–गाँसहरू प्रदूषित
नियत कुत्सित–सम्बन्धहरू कलुषित
उफ् !
आफ्नै सन्तानको माया नपाउँदा
कति सजिलै
जहर बन्दारहेछन् सहरहरू
अन्ततः आमा अटिनन् सहरमा
अनुहारमा पूर्णे र मनमा औँसी एकैसाथ बोकेर
पुगिन् उनी आफ्नै आँगन र मझेरीमा
उही पाखा पँधेरीमा ।
गाउँ फर्केपछि आमाले
फोडिन् रहस्यको ताल्चा
खोलिन् सुर्केथैली
र, निकालिन् छोराको त्यही तस्बिर
जुन ऊ सहर पस्नुभन्दा वर्षौंअघिको थियो
आमाले फोटोमा एकटक लगाइन्
र, सोचिन्—
अब च्यातच्युत पारेर फ्याँकिदिऊँ यसलाई
तर, अहँ ! किन मान्थ्यो आमाको मन
उल्टै मनले पो सम्झायो—
यो त्यो छोरो होइन जुन सहरमा छ
सहरको छोरो बिग्रियो त के भयो ?
तस्बिरको छोरो त अझै सद्दे नै छ ।
लामो सुस्केरासँगै
आमाले फोटो थैलीमै हालिन्
दुई थोपा आँसु झारिन्
अनि थैलीको सुर्केनी त्यसरी नै गाँठो पारिन्
जसरी मायाविनाको मुटु गाँठो पर्छ ।