कुलत पनि एउटा गजबकै जिनिस हो । लाभ–हानि सोचिन्न । असरै गरोस्, कुनै मतलब हुन्न । बस् ! एक मात्रै ध्येय हुन्छ– मजा लुट्नु । कोहीलाई घन्टाकै अन्तरालमा चियाकफीकोकुलत हुन्छ । कोहीलाई चुरोट रक्सीको त कोहीलाई गाँजा, भाङ, धतुरोको । आखिर जे होस् । लाभभन्दा ज्यादा हानि नै हुन्छ । हानि नै होस्, अम्बलीहरू निःस्वार्थ कुलतको मजा लुट्न तल्लीन हुन्छन् । शारीरिक क्षति, आर्थिक क्षति, सामाजिक क्षति सबै सहेर पनि कुलतका खातिर खटिन्छन् । कुलत निःस्वार्थ र लाभहीन बफादारीको नमुना हो । त्याग हो । योगदान हो । बलिदान हो ।
यिनै कुलतमध्ये सबैभन्दा उत्कृष्ट कुलत हो ‘देश बचाउने’ कुलत । ‘सूर्य’ टोबाकोका भन्दा ज्यादा अम्बली अहिले ‘देश बचाउने’ कुलतका छन् । भलै यसले क्यान्सर जगाओस् । दम, खोकी, श्वासप्रश्वास समस्या ल्याओस् । मुटु, कलेजो झिरिप पारोस् । कुलतका खातिर कुलत्याहाहरू जस्तै त्याग बलिदान दिन पछि पर्दा रहेनछन् । ‘ज्यान त्यागौँला कुलत नत्यागौँला’ भन्ने भावसहित केही अम्बलीहरू देश बचाउने कुलतका खातिर उपचार भइसकेको पुरानो क्यान्सर बल्झाउन लागेका छन् । ‘क्यान्सर आऊ फोक्सो बचाउ’को लयमा यदाकदा सुन्न थालिएको छ, ‘राजा आऊ देश बचाऊ ।’
हुन त राजा नभए पनि राजाको पटक्कै कमी हुन दिइएको छैन । महामहिम राष्ट्रपतिज्यूले अगाडि ‘श्री ५’ नलेख्नु भए नि उहाँको ठाँट पटक्कै ‘श्री ४’ मा झरेको छैन । उहाँको सवारी देख्दा महाराजको पटक्कै न्यास्रो लाग्दैन । विलासिताका अरू कुरा छाडौँ महामारीमा किनिएका कार्पेटमाधरी साक्षात् राजा देखिन्छ । कहिले गाडी त कहिले हेलिकोप्टरको जुगाडमा सेनालाई पनि पुराना परमाधिपति वन पसेजस्तो महसुस भएको छैन । दसैँमा टीका लगाउन लाइन लाग्ने र घुँडा फटाउने अवसरबाट नि कोही चाकरीबाज वञ्चित हुनुपरेको छैन । नेपाल सरकार पटक–पटक ‘मेरो सरकार’ नि भइहाल्या छ । भाइभारदारदेखि राजनीतिक दलका नेतालाई समेत वेलाबखत दर्शन–भेटमा बोलाउनुभएकै छ । जीवनशैली, व्यवहारदेखि बोलीमा पनि महामहिममा महाराजको कमी छ र ?
फेरि प्रमज्यू पनि साक्षातै हुनुहुन्छ । उहाँले पनि त राजतन्त्र चाहनेको खातिरदारीमा कुनै कमी हुन दिनुभएको छैन । अग्लो सोफादेखि हेलिकोप्टरमा सवारी भएर गाउँगाउँमा पुगेर राजसी जन्मदिन मनाउनेदेखि प्रजालाई दर्शनको अवसर दिनेदेखि ‘म सुनिने मात्रै होइन, देखिने प्रधानमन्त्री हुँ’ भन्ने सन्देश दिनुभएकै छ । ‘मैले बुझेँ’ शैलीमा प्रजाबाट फूलमाला ग्रहण पनि गर्नुभएकै छ । प्रदेशलाई नि केन्द्र सरकारको प्रशासनिक एकाइ मात्रै हो भन्नुभएकाले एकात्मक शासन व्यवस्थाको नि अभाव महसुस गर्न दिनुभएको छैन ।
स्वेच्छाचारितामा पनि पुरानो तलतल मेट्नका लागि केही कमी छैन । हुकुम प्रमांगी चलेकै छ । भ्रष्टाचार नि यथावत् नै छ । अरू त अरू देशको नामबाट नि परिवर्तनको अवशेष ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाएर नेपाल मात्र राखिएको छ । बाँकी त्यसैमाथि ‘अधिराज्य’ थप्नु त हो । अचेल नि आलोचना मन पर्दैन । विरोध मन पर्दैन । विपक्षी मन पर्दैन । बाँकी ‘५ जनाभन्दा भेला हुन नदिन, टेलिफोन, इन्टरनेट बन्द गर्न र सञ्चारमाध्यममा सेन्सर लगाउन’ त हो ।
राजतन्त्रको अभावै छैन त, किन मागेका हुन् ? पुराना दरबारियाहरू लागुपदार्थ सेवन गर्थे । अहिलेका दरबारिया महामारीमा स्वास्थ्य सामग्रीमा धरी कमिसन सेवन गर्छन् । पहिलेका पनि ‘प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै’ भन्थे । अहिलेका पनि ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै’ भन्छन् त किन मागेका हुन् पुरानो ?
राष्ट्रवाद जागेकै छ, देश बनाउने कुरो भएकै छ ।
भोक र रोगले मर्ने छँदै छन् । शासकलाई ऐस छँदै छ । जनतालाई गएगुज्रेको जिन्दगी बाँच्ने सुविधा छँदै छ । नसक्दा मर्ने विकल्प नि छँदै छ । बेथिति छँदै छ । कुशासन छँदै छ । योभन्दा नि खराब के हुनुपर्यो र फेरि राजा आउनुपर्यो ? तर, यो त कुलत हो कुलत । कुलतको नि कुनै तर्क हुन्छ र ? जब तर्क सकिन्छ अनि कुलत सुरु हुन्छ । यो देश बचाउने कुलत हो ।
‘क्यान्सर आऊ फोक्सो बचाऊ ।
राजा आऊ देश बचाऊ ।’
उसो त कोही लोकतन्त्र आएकोमै चित्त दुखेकाहरू थिए, राजा फालेकोमा गानो गएकाहरू थिए, संघीता र समावेशीताले पेट पोलेकाहरू र धर्मनिरपेक्षताले कब्जियत भएकाहरू थिए । ती डाँको छाड्दै भन्दै थिए, ‘राजतन्त्र, पुरानो राज्य संरचना, हिन्दू राज्यजस्ता जिनिस पनि जाबो आन्दोलनले फालेर हुन्च ? जाबा जनताको बलिदान संघर्षले फालेर हुन्छ ? जनप्रतिनिधिको सर्वसम्मतिले फालेर हुन्छ ? यस्ता विषयमा त जनमतसंग्रह गर्नुपर्छ ।’
शासकलाई ऐस छँदै छ । जनतालाई गएगुज्रेको जिन्दगी बाँच्ने सुविधा छँदै छ । नसक्दा मर्ने विकल्प नि छँदै छ । योभन्दा नि खराब के हुनुपर्यो र फेरि राजा आउनुपर्यो ? तर यो त कुलत हो कुलत । कुलतको नि कुनै तर्क हुन्छ र ? जब तर्क सकिन्छ, अनि कुलत सुरु हुन्छ ।
परिवर्तनको पीडाले असह्य भएर चिच्याउथे, ‘जनमतसंग्रह गर्ने हिम्मत छ दलहरूको ? हिम्मत छ सरकारको ?’ कोही सुन्दैनथे । यसरी परिवर्तन अपाच्येहरू रुँदा पनि सरकार किन सुनिरहेको छैन अचम्म लागेको थियो । हुँदाहुँदा स्वयं शशांकजी र वैकल्पिक शक्तिमानहरूसमेत रुन थालिसक्नुभएको थियो । यसरी मान्छे रुवाएर किन कानमा तोरीको तेल हालेर बसिरच सरकार ! जनमतसंग्रह गरिहाल्नु नि लाग्थ्यो ।
तर, फेरि–फेरि रुन्चेहरू नि किन इतिहासका पछिल्ला घटना मात्रै जनमतसंग्रह गर्नुपर्छ भन्दै छन् ?लाग्थ्यो–इतिहासका हरेक कालखण्डका हरेक घटनाको जनमतसंग्रह गर्नुपर्छ । जनताबाट अनुमोदन नगराई नि घटना परिवर्तनले वैधानिकता पाउँछ ? पहिलो त काठमाडौंमा पूरै पानी नै पानीको तलाउ थियो रे । मञ्जुश्रीले चोभारमा च्वाट्ट काटेर पानी निकालिदिएर उपत्यकाबाट पानी बाहिर तर्काई जिमिन बनाइन् रे ।
मञ्जुश्रीले पानी भएको ठाउँमा जिमिन बनाएर हुन्च ? यहाँ जिमिन बनाउनुपर्यो भन्ने जनताको मागै थिएन । उपत्यकाको पानी तर्काउँदा उपत्यकामा हाहाकार भो र मेलम्ची सेलम्ची भनेर कुदिराख्नु पर्याछ । त्यसैले यस विषयमा जनमतसंग्रह गराउनुपर्छ । जनमतसंग्रहबाट फेरि चोभार थुनी ताल बनाउनुपर्छ । जनमतसंग्रह नै नगरी ताललाई सहर बनाउन पाइन्छ ?द्रव्य शाह दौडमा जितेर राजा भए रे । अब दौडमा जितेर राजा हुन्च कहीँ ? यत्रो विषयमा जनमतसंग्रह गराउनुपरेन ? त्यसैले यस विषयमा तुरुन्त जनमतसंग्रह गराइयोस् । जनमतसंग्रहले अनुमोदन गरेन भने तुरुन्त लिगलिगबाट अर्को प्रक्रियाबाट राजा छानियोस् । अनुमोदन भयो भने वैकुण्ठ मानन्धरलाई राजा बनाइयोस् ।
पृथ्वीनारायणको पालादेखि नेपाल एकीकरण भयो रे । अब जनमतसंग्रह नै नगरी एकीकरण गरेर हुन्च ? यसमा नि तुरुन्तै जनमतसंग्रह गरम् । त्यत्रो नालापानी युद्ध चल्यो रे । सन्धि भयो रोकियो । त्यसरी राष्ट्रघाति सन्धि गरेर युद्ध रोकेर हुन्च ? यस विषयमा जनमतसंग्रह गरम र फेरि युद्ध लडम् । त्यत्रो कोतपर्व भयो रे । हुन हुन्थ्यो कि हुन्नथ्यो भनी जनमतसंग्रह गरम् र मरेका सबैलाई ब्युँताम् र जहानियाँ राणाशासन आउनै नदिम् । त्यत्रो एक्सेचार वर्ष शासन गर्या राणाशासन जाबो दिल्ली सम्झौताको भरमा फाल्न हुन्छ ? जनमतसंग्रह गरौँ फेरि फर्काम् ।
७२ सालमा त्यत्रो भूकम्प आयो । जनमतसंग्रह नै नगरी त्यत्रो भुँइचालो आएर हजारौँको ज्यान लिन हुन्छ ? अर्बौं क्षति गराउन हुन्छ ? त्यसैले भूकम्पलाई जनमतसंग्रहबाट हटाम् र देशलाई वैशाख ११ मा पुर्याम् ।कोरोना महामारी सुरु भो । सारा मानिसलेमास्क लगाउन सुरु गरे । यसरी जनमतसंग्रह नै नगरी सारा मानिसले मुख छोपी हिँड्न हुन्छ ? पहिले जनमतसंग्रह गरौँ । यसैगरी इतिहास र वर्तमानका हरेक घटना जनमतसंग्रहबाट अनुमोदन गराम् । नगरे त्यसलाई निलम्बन गरम् । जतिसक्दो कुलतलाई कार्यान्वयन गरौँ ।
‘क्यान्सर आऊ फोक्सो बचाऊ ।’
राजा आउ देश बचाऊ ।
अहिले नि समाजमा ‘उपल्ला जातका’सँग पिरेम गरेकै निहुँमा नमराजहरू मारिएकै छन् । बोक्सीको अन्धविश्वासमा बर्सेनि दुव्र्यवहार भएकै छन् । दलितहरूको धाराकुवासम्म पहुँच बर्जितै छन् । बलात्कारमा धरी पञ्च–भलाद्मीले मिलापत्र गराएकै छन् सोही समाजका जनप्रतिनिधिहरू पिर्कामा चढेर सलामी खाँदै साक्षात् महाराजको तलतल मेटाइहालेका छन् । अहिले पनि गरिबलाई रोग लागिहालेमा उपचार गरेर बाँच्ने छुट छैन । ‘सरकार’लाई आफ्नो उपचार गर्न विदेश जाने र करोडाैँ खर्च गर्ने लुट छँदै छ । महामारीमा समेत तिमेर्का उपचार गरिन्न आफैँ बाँच भनिएकै छ त योभन्दा नि देश कति ‘बचाउनु’पर्यो र ? बाँचेकै त छ, राजाले बचाए जसरी ।
तर पनि अम्बल हो । कुलत हो । त्याग्न कहाँ सकिन्छ ।
त्यसैले क्यान्सर आऊ, फोक्सो बचाऊ ।
राजा आऊ, देश बचाऊ ।