कविता
एउटा आँखा फुटेको छ,
तर तपाईं अलिकति मुस्काइरहनुभएको छ ।
एउटा हात भाँच्चिएको छ,
तर तपाईं काँधमा छोरा राखेर घुम्न निस्किनुभएको छ
आन्दोलनमा निधारमा गोली लागेर मरेको छोरीको फोटोमुन्तिरको
भुइँमा सम्भोग गरिरहनुभएको छ
सडकभरि
खुन सुकेका टाटाहरू छन्
त्यही उक्काउन
तपाईं त्यहीँ तेज धारमा पिसाब फेरिरहनुभएको छ
भर्खरै केही त भएकै हो
किनभने सडकभरि जुत्ताचप्पलहरू छरपस्ट छन्
किनभने
एउटा चप्पललाई लात हान्दै तपाईं
त्यही बाटो गइरहनुभएको छ प्रेस क्लब
तपाईंलाई बयान दिनु छ
र भन्नु छ–
‘आफू हुँ भन्ने दाबीमा मैले जुन आन्दोलन गरेँ
त्यो गलत थियो
म मेरो बहकाउमा आएँ
बाटो बिराएँ
आजदेखि म आफ्नै घाँटीमा
आफैँ पासो लगाएर झुन्डिन तयार छु
म मेरो भुल कबुल गर्न तयार छु’
तपाईंले घाँटीमा पासो लगाउने घोषणा गर्नुभएकैले
थानाले तपाईंलाई पक्राउ नगर्ने भएको पक्का हो
त्यसपछि नै त तपाईं जंगलबाट निस्किनुभो
र बजारमा खुल्लमखुल्ला हिँडिरहनुभएको छ
तपाईं साह्रै हर्षित देखिरहनुभएको छ ।
तर यति धेरै भइसकेर पनि तपाईं छटपटिरहनुभएको छ
भन्नुस् न छातीभित्र के लुकाइरहनुभएको छ ?
के सोचिरहनुभएको छ ?
घाउरे इतिहासको पाप्रा अलिकति उध्रेको छ
पिपको ठूलो धर्का लुम्सो निस्किएको छ सुतुतु बाहिर
औँलाले त्यही खेलाउँदै तपाईं केही सोचिरहनुभएको छ
भन्नुस् न, के सोचिरहनुभएको छ ?
हरियो मरुभूमि फैलिइँदै फैलिइँदै फैलिइँदै
गइरहेको यो चियाबारीमा
तपाईंको घर छ
त्यो घरको दैलो कच्चा छ
कच्चा दैलो तोड्दै हरदम पसिरहन्छन् पुलिस
र पल्टाइरहन्छन् ओछ्यानको तोसक
र खोजिरहन्छन् तपाईंको नागरिकता–पत्र
तर भेट्छन् कन्डोमका खोलहरू
तपाईं केही त सोचिरहनुभएको छ ।
यतिखेर
बाहिर बौलिरहेको आँधी छ
जोरजोरले हल्लिरहेका छन्
तपाईंकै अनुहारका सोझा रुखहरू
बाँसका झ्याङहरूबाट खसिरहेछन्
तपाईंको सपनाजस्तै हजारौँ हरिया पात
तपाईंको सपना उड्दै उड्दै उड्दै
उड्दै उड्दै उड्दै पुगिसकेको छ डिलमा
तपाईं केही त सोचिरहनुभएको छ ।
ओछ्यानमा सुतिरहेकी जवान छोरी छ
हातहरू कलकलाउँदा, औंलीहरू सुनौला, ओठहरू पोटिला
बलियो बलियो आवाज थुनिएको लुते छातीमा टक्क सुहाउँदो छ
चिटिक्क चिटिक्क स्तन
घोर अन्धकार छ घरभित्र
उपद्रो मच्चाइरहेको बलवान् हात्ती छ घरबाहिर
हात्तीमाथि छ सवार पार्टी अध्यक्ष
आइरहेछ तपाईंको घरतिर ।
ओछ्यानमा सुतिरहेकी जवान छोरी छ
कोठामा निभेको बत्ती छ
र देखिरहनुभएको छ भोटे सपना ।
तपाईं केही त सोचिरहनुभएकै छ
नढाँटी भन्नुस् त, त्यस्तो के सोचिरहनुभएको छ ?
जीवनलाई थुन्नुभएको छ बोनसको आन्दोलनमा
वा बाँध्नुभएको छ आफैँलाई
रोजवृद्धिको निम्ति निस्किएको लामो जुलुसको लहराले
वा कस्नुभएको छ आफ्नै
निर्बल सपनाको नाम्लोले आफ्नो घाँटीमा टन्टनी
र झुन्डिनुभएको छ धुरीखम्बानजिक
तपाईं यत्रो वर्षदेखि
चुपचाप चुपचाप चुपचाप झुन्डिरहनुभएको छ
चुपचाप चुपचाप चुपचाप चुपचाप झु ....न्डि....रहनु भएको छ
एउटै जीवनमा यति धेरै भइसकेको छ
तरै पनि फिटिक्क आवाज निकालिरहनुभएको छैन ।
भन्नुस् न, खासमा तपाईं के सोचिरहनुभएको छ ?
हरेक बिहान बन्द बगानको सुकेको शिरीषको हाँगा खस्छ
तपाईंको टाउकोमा
र तपाईंको लुतेघरको अँध्यारो कोठामा नै मर्छ
तपाईंको जवान गिदी
त्यसपछि बन्नुहुन्छ मुर्दा
तपाईं कहिले अन्धा, कहिले लाटा, कहिले बहिरा,
कहिले मुर्दा हुनुभएदेखियता
यो ठाउँमा केही पनि ठिकठाक चलिरहेको छैन
हेर्नुस् न बत्ती पनि ठिकठाक बलिरहेको छैन
हेर्नुस् न पात पनि ठिकठाक हल्लिरहेको छैन
हेर्नुस् न हावा पनि ठिकठाक चलिरहेको छैन
हेर्नुस् न फूल पनि ठिकठाक फुलिरहेको छैन
हेर्नुस् न शक्तिशाली शब्दहरू
घस्रिनसमेत नसक्ने भइसकेका छन्
हेर्नुस् न बुलुन्द आवाजहरू अचानक ला....टा बनेका छन्
हेर्नुस् न मुठीहरू भिखारीका फैलिएका हत्केला बनेका छन्
मुस्कानहरू कुटिल कुटिल कुटिल बनेका छन्
प्रेमहरू कातिल कातिल कातिल बनेका छन् ।
तरै पनि तपाईं सेल्फी हानिरहनुभएको छ
फेसबुक र ट्विटर चलाइरहनुभएको छ
स्टाटस लेखिरहनुभएको छ
लाइक र कमेन्ट पनि कोट्याइरहनुभएको छ
तर कसैलाई कुनै कुनै कुनै जबाब दिइरहनुभएको छैन ।
तपाईं त नबोली नबोली बोलिरहनुभएको जस्तो देखिनुहुन्छ
तपाईं त नहेरी नहेरी हेरिरहनुभएको जस्तो देखिनुहुन्छ
केही न केही सोचिरहनुभए जस्तो देखिनुहुन्छ ।
भन्नुस् न, केही न केही त सोचिरहनुभएको छ
साँच्ची नै केही सोचिरहनुभएको छ ?
सोचिरहनुभएको छ ?
के सोचिरहनुभएको छ ?