सभ्य मानवको कुरूप चित्र

डा. ऋषिराम शर्मा डा. ऋषिराम शर्मा
शनिबार, २३ चैत, २०७५
डिजिटल संस्करण

भलाद्मीभित्र लुकेको पाखण्डी चरित्रको अनुहार हेर्ने मन छ ? सुकिलो राजधानीले गरिबका सपना परक्क निमोठेको नियाल्ने इच्छा छ ? नाता पर्ने आफन्तकहाँ बालश्रमिक भई बसेका बालिकाप्रति त्यस्ता दुष्ट मनोवृत्ति भएका आफन्तको राक्षसी रूप हेर्न चाहनुहुन्छ ? सभ्य भनाउँदाहरूभित्र लुकेको बर्बर र जंगली चरित्रको पर्दा उघार्न चाहनुहुन्छ ? नारीहरूलाई भोग, यन्त्र र दास बनाउनुहुन्न भन्ने एक्काइसौँ शताब्दीको मान्छेको आदिम रूप हेर्ने इच्छा छ ?

यदि चाहनुहुन्छ भने पढ्नुहोस्– किशोर पहाडीको किताब ‘रोजा कथाहरू’ र थाहा पाउनुहोस् मानिसको सुन्दरताभित्र लुकेका कुरूपताहरू; यौनिक अनुशासन र आदर्शको आवरणभित्र लुकेका छाडा यौनाचारहरू; सभ्यताको आवरणले ढाकिएका असभ्यताहरू; मानवताको मुखुण्डोभित्र लुकेको पाशविकता र ती सबैका नग्न, उदण्ड, आक्रामक, हिंस्रक, विक्षिप्त क्षुद्र रूप र वीभत्स आचरण ।

जसरी चौबिस घन्टाभित्र आधा दिन र आधा रात हुन्छन्, त्यसरी मानव जीवनका पनि उज्याला र अँध्यारा दुवै पाटा हुन्छन्, उज्याला पाटा हामी धेरै देख्छौँ, पढ्छौँ, तर अँध्यारो पाटो लेख्न र पढ्न बाँकी नै छ । हामी अरूबारे जे देख्छौँ, भोग्छौँ र पढ्छौँ ती सबै उज्यालो पक्षका पाना हुन्, तर मानव जीवनको एउटा अँध्यारो, तर निकै विशाल, अज्ञात तर व्यक्ति–व्यक्तिका तहमा अनुभूत एक रहस्यमय पाटो छ, यो पाटोलाई नपढी, यो पाटोलाई नहेरी मान्छे बुझ्न र चिन्न सकिन्न । किशोर पहाडीले चार दशक अवधिभित्र लेखेका कथाहरूबाट रोजेर निकालिएका ‘रोजा कथाहरू’ (३१ वटा कथा)मध्ये धेरैले मानवचरित्रको अँध्यारो पाटोको सजीव चित्र उतारेका छन् ।

किशोरका ‘रोजा कथाहरू’भित्र ३१ कथा छन् र ती हरेक कथाका पात्रका हरामी स्वभाव, नीच र तुच्छ प्रवृत्ति, स्वार्थी र घमन्डी चरित्र, यौनिक अराजकता, द्वन्द्वकालीन बर्बरता, बालशोषणजस्ता विषय र त्यसका विद्रूप पक्षको उद्घाटनलाई कथ्य बनाइएको छ । उनका कथामा धनको तुजुक र अभिमानका कारण सम्मान (नमस्कार)को भोकले सिर्जना गरेको आइडिया र त्यसबाट उत्पन्न तनावको प्रस्तुति छ, ‘तिमीहरू मलाई भेटेपिच्छे नमस्ते गर्ने गर हरेक नमस्तेको एक रुपैयाँ दिने गरुँला ।’ पैसाका लोभमा ओइरिएको नमस्ते थाम्नै नसक्ने भएपछि नर्मदाका बाउ गाउँबाटै अचानक पलायन भएको सन्दर्भ छ ‘अचानक’ कथामा ।


उनको ‘खिसी’ कथामा मीठा सपना तुन्दै चाउरेका लहैलहैमा लागेर पैसा फल्ने बोटको लोभमा सहर पसेको पहाडिया रामबहादुर र उसकी मैयाँको पीडा छ (पृ. ४३) । त्यो मात्र होइन, मामा पर्नेकहाँ बालश्रमिक बसेकी र युवती भएपछि मामाद्वारा नै बलात्कृत भई गर्भवती बनाइएकी सुखियालाई सोझो फारुखसँग बिहे गराइदिएको मामा भनाउदाको कुकृत्य छ । तिनै फारुख र सुखियाको जोडीले सुखको खोजीमा आउँदा काठमाडौंमा भोगेको दुखिया कथाको व्यथा (४९) छ ‘खुर्पाको बिँड’ कथामा ।

उनका कथामा चालिसको दशकतिर डिग्री पास गरेर जागिर नपाई गरिबी र बेरोजगारीका कारण जाँडको आहालमा डुब्दै आत्महत्या गर्ने रघु (५५) एकातिर छ भने अर्कातिर अतिधनाढ्य, तर असाध्यै कन्जुस पूर्णमानको कञ्जुस्याइँको पराकाष्ठा (प्लास्टिकको डोरी समातेर ट्वाइलेटको खापा अठ्याउनुपर्ने कुरो), रमरम हास्यका साथ यसरी प्रस्तुत भएको छ, ‘हरेक बिहान एकपल्ट पूर्णमान सेफको पैसा गन्छ, हरेक साँझ पनि गन्छ, बिटाका बिटा राखिएका नोटहरू मुसार्छ... र चर्पीको ढोकामा प्लास्टिकको डोरी झुन्डिएको झुन्डियै छ । बुढीमाउ तीन चार हजार पर्ने सारी लाएर ट्याक्सी चढ्छिन् ।’

मानवीय नग्न चरित्रको यथार्थ चित्र प्रस्तुत गर्ने सन्दर्भमा उनले भाषाको नग्न प्रयोग गरेका छन् । कथ्यलाई उदांगो पार्न उनले भाषामा श्लीलताको पर्खाल गर्लम्मै भत्काएका छन् ।

किशोर पहाडीले मानवीय कुरूप चरित्रको पर्दाफास गर्न फेन्टासी (स्वैरकाल्पनिक) र चेतनप्रवाह शैलीको पनि बेजोड प्रयोग गरेका छन् । ‘भोलामानले मलाई के दिएको त्यस्तो...’ कथामा भोलामानको जादू र चमत्कार (१५०) छ जसमा जादूगर भोलामानसँग अल्लारे ‘म’ पात्रले ‘केटीहरूलाई नांगै हेर्ने’ लालसा राख्छ र भोलामानले दिएको एक थोत्रो, तर जादूगरी चस्मा लगाएर लुगाभित्रको रूप नियाल्न थाल्छ । ऊ जब सहरका केटी हेर्छ र भन्छ, ‘कति स्वास्नी मान्छेलाई हेर्दा त होस उड्थ्यो । बाहिर सोह्र शृंगार गरेर हिँडेकी चस्मा लगाएर हेर्दा त भित्र मैला नै मैला लुगाहरू’ (१५५) । जब गाउँकी युवती हेर्छ ऊ भन्छ, ‘पहाडी बालाहरूलाई हेर्न निकै मजा भयो... उनीहरू त भित्रि लुगाहरू केही नलगाउने... छ्याङ्ग जिउ पनि चट्ट मिलेको’ (१५६) । सहरको सुकिलोपनभित्रको मैलो, युवाहरूको विकृत मानसिकता र विकृतिको पर्दाफास गर्न उनको फेन्टासी प्रयोग बेजोड छ ।

किशोरका ‘रोजा कथाहरूभित्र निकै विशद् र व्यापक चित्रण गरिएको नारी, पुरुष र यौनसँग सम्बन्धित समाज–निषेधित पाटो छ र यसैका माध्यमबाट उनले पितृसत्तात्मक समाज, नारीहरू माथि हुने यौनिक शोषण, पतिपीडित पत्नीहरूको व्यथा, स्त्रीलम्पट पुरुषहरूको आदिम एवं जंगली व्यवहारको चित्रण गरेका छन् । धेरैजसो कथाहरूमा धेरथोर रूपमा यसको प्रसंग आएकै छ, तर समाजका प्रतिष्ठित, उच्चपदस्थ, भद्र, सज्जन भनाउदा पुरुषहरूका त्यस्ता कृत्यलाई पहाडीले आफ्ना कथामा निकै चोटिलो प्रहार गरेका छन् ।

‘अर्धाङ्गिनी र सिपाही’ कथामा सिपाही जागिरमा गएका समयमा गाउँकै भद्रभलाद्मी प्रधानको छोराले बिटुल्याएको, तर आफ्नो सिपाही लोग्नेलाई थाहा नभएको कुरो यसरी प्रस्तुत हुन्छ ‘मलाई कस्तो इमानदार भनी सोचिरहेको होला उसले मलाई गाउँको प्रधानको छोरोले बिटुलो बनाइसकेको कुरा उसलाई के थाहा ? (२६) टोक्थ्यो, निचोथ्र्यो, चाट्थ्यो – के गथ्र्यो गथ्र्यो प्रधानको छोराले ... सहरमा पढेर आएको सबै जानेको थियो त्यसले’ (२६) ।

पुरुषप्रधान समाजमा लोग्नेले श्रीमतीलाई भोग्ने साधनका रूपमा मात्र हेरेको र पुरुषको नारीप्रतिको भोग्या रूप नग्न चित्र प्रस्तुत गर्न ‘यन्त्र’ कथामा लेखक लेख्छन्, ‘एकातिरको स्तनलाई छोरोले चुसिरहेको छ अर्को स्तनलाई लोग्नेले मुछ्दै छ ऊ यसरी दोहोरो स्वास्नीमान्छे भइदिन्छे... ऊ यसरी यन्त्र भैदिन्छे ।’उनको ‘सर्वज्ञ र सेक्स’ कथामा मालिककी श्रीमती, तर युवती पारोलाई कामुक नजरले हेर्ने उसको रूपको वर्णन यसरी गर्छ, ‘त्यो हावामा उसले लगाएको कुर्तासुरुवाल पनि उसको नितम्ब र ढाडद्वारा किचिएर छटपट गर्न थाले मैले त्यो छटपट छटपट गरेको पनि हेरिरहेँ’ (२४५) ।

किशोरका ‘रोजा कथाहरू’ समयगत परिवेशमा तीसको दशकदेखि साठीको दशकसम्मका ३० वर्ष सेरोफेरोका कथाहरू छन् भन्ने कुरा उनका कथामा आएका यी सन्दर्भले प्रस्ट्याउँछन्, ‘दश रूपियाँमा टन्न मासुभात खाने (५९) स्टोभमा दम दिएर केटली बसाल्ने (८७) नर्मदाको बाबुलाई प्रधानमा उठ्नुपर्छ भनी कर लगाएँ (११) ऊ बाध्यतावश केरा एक दर्जन भाँच्छे, दिँदै चार रुपियाँ लिन्छे ।’

उनका केही कथानकको संरचनामा नवीन प्रयोग छ । बायोडाटाको शैलीमा लेखिएको ‘प्रतिनिधि र प्रतिनिधिहरू’ (१२८) कथामा तीनवटा फरक–फरक, तर समाजमा हुने मानिसका प्रतिनिधि चरित्रको प्रस्तुति छ । उनले संरचनागत नवीनताको प्रयोग ‘सर्वज्ञ र सेक्स’लगायत अन्य कथामा पनि गरेका छन् ।‘अबोध’मा एक गैरजिम्मेवार बाबु; ‘उत्कण्ठा’मा सित्तै भिनाजुको मोटरसाइकल चढ्न खोज्ने सालो; ‘तासको बहाल’मा पुरुषहरू तासको बहालमा रहने र महिलाहरूले श्रम गर्नुपर्ने शोषणको अभिव्यक्ति; ‘तेरो कथा लेखेँ शमशेर’मा स्वार्थका लागि धर्म परिवर्तन गर्ने शमशेरका बहुरूपी चरित्र; ‘धेरै जनकराजहरू’मा पतन हुँदै गएको मानवीय मूल्य; ‘पराजित’मा घुस्याहा, झगडिया र भ्रष्ट व्यक्तिको समवेदनामा प्रशंसाका शब्दगुच्छा राख्नुपर्ने बाध्यता तथा ‘भिड र प्रतिभा’मा मृत साहित्यकारको शोकसभा मृत साहित्यकारकै बेवास्ता र आ–आफ्नो प्रशंसा गाउने आत्मप्रशंसक वक्ताका माध्यमबाट विविध व्यक्तिका विभिन्न कुप्रवृत्तिको पर्दाफास गरिएको छ ।

उनका कथाको भाषा संवादमय र रोचक छ । शैलीगत वक्रता र यथार्थको नग्न चित्र उतार्न उनको भाषा प्रयोग पनि त्यत्तिकै बेजोड छ । उनका ‘विशुदाइ’, ‘रस’, ‘मुग्ध सिम्फोनी’, ‘निकटता’लगायतका कथाहरूमा पात्रहरूको छिन–छिनमा प्रवाहमय भएर बगिरहने अन्तर्मुखी चेतना वा मनको गतिशील अवस्थाको वर्णन गर्ने चेतनप्रवाह शैलीको प्रयोग पनि देख्न सकिन्छ ।

भाषाको जीवन्त, चित्रमय एवं कलात्मक प्रयोगको बान्की उनका कथामा पाइन्छ । मानवीय नग्न चरित्रको यथार्थ चित्र प्रस्तुत गर्ने सन्दर्भमा भने उनले भाषाको नग्न प्रयोग गरेका छन्, किनभने कथ्यलाई उदांगो पार्न उनले भाषामा श्लीलताको पर्खाल गर्लम्मै भत्काएका छन् । त्यही ढलेको पर्खालबाट नियाल्दा उनका कथामा सक्कली, सभ्य, भलादमी ठूला मान्छेका नक्कली, असभ्य, दुष्ट र खराब चरित्र छ्यांग र प्रस्ट रूपमा देख्न सकिन्छ । यसरी उनका कथा मानवको आन्तरिक संसारलाई हेर्ने ऐना हुन् र यस ऐनाको माध्यमबाट हरेक पाठकले मानवभित्रका विविध प्रवृत्तिहरूलाई राम्ररी अवलोकन गर्न सक्ने हुँदा यी कथा पठनीय छन् ।

सम्पादकको रोजाइ

सुझावित समाचार