विमलाका कमला कविता

सुनिता खनाल सुनिता खनाल
शनिबार, २३ चैत, २०७५
डिजिटल संस्करण

यो फूल, बतास र हावाजस्तै बाँच्न चाहन्छु 
मलाई स्वीकार छैन दासजस्तै जिन्दगी । (अस्तित्व)

चिम्सा आँखामाथि बाक्लो चस्मा कवि विमला तुम्खेवाको खास ब्रान्ड हो । नाकमाथि अडिएको पावरफुल चस्माजत्तिकै आकर्षित छन्, उनका कविता पनि । मौरीझैँ भुनभुनाइरहेका थुप्रै कविको भिडमा कवि विमलाको स्वर प्रस्ट सुनिन्छ । उनी कवितालाई गहनताको रङले सजाउँछिन् ।

विमलालाई वैचारिक कविता मनपर्छ । उनी कवितालाई समयको सम्बोधन र परिवर्तनको संवाहक मान्छिन् । कहिलेकाहीँ एक्लै हुँदा आफ्नै कविताको नाडी छाम्छिन् उनी । कहिले आफूलाई भुवाजस्तै पाउँछिन् त कहिले चट्टान जस्तै । तर, उनी आफूलाई कहिल्यै छली भेट्टाउँदिनन् । कविता के हो वा के होइन ? यो पर्गेल्ने सामथ्र्य विमला राख्छिन् । ‘हामी आफू बाँचेको समयको कथा लेखिरहेका छौँ,’ उनी सुनाउँछिन् । 

कवि स्वप्निल स्मृति विमलाको कविताको नियमित पाठक हुन् । स्वप्निल धरान झर्दा पहिलोपटक किनेको कवितासंग्रह नै विमलाको कवितासंग्रह हो । त्यसवेला स्वप्निल भारी बोक्न धरान झरेका थिए । त्यो वेला नै पलाएको विमला र उनका कविताप्रतिको सम्मान स्वप्निलको मनमा अहिलेसम्म जीवितै छ । 

०००

उनका बुबा खड्कबहादुर तुम्खेवा युकेका आर्मी थिए । दश वर्षपछि त्यहाँको युद्ध सकियो । ब्रिटेन सरकारले उनलाई खाली हात नेपाल पठाइदियो । तेह्रथुमको ओख्रेमा खड्गबहादुर र सुकुमाया लिम्बूको विवाह भयो । तर, उनीहरूको सन्तान भएन । लामो समयसम्म परिवार सन्तानविहीन भएपछि खड्कबहादुरको यात्रा इन्डिया आर्मीतिर मोडियो । सुकुमायाकै स्वीकृतिमा श्रीमान्ले दुई सौता भित्र्याए । अर्की दुईबाट पनि सन्तान भएन । त्यसपछि मन बहलाउन यी दम्पती आफ्ना तन्नेरी–तरुनीसँग लाकलाके बजारमा धान नाच्न थाले । 

विवाहको १९ वर्षपछि परिवारमा चमत्कार भयो । सुकुमायाकै कोखबाट विमला जन्मिइन् । उनी जन्मिँदा परिवारमा हर्षको सीमा रहेन । घरमा खुसियाली छायो । उनीपछि लगातार दुई भाइ जन्मे, तर दुवै यस संसारमा रहेनन् । परिवारबाट एकपछि अर्को गर्दै भाइहरूले संसार छाडेपछि आमा विक्षिप्त भइन् । तेह्रथुमको डाँडापाखामा सुकुमायाको मन अडिएन । सपरिवार मधेस झरेर पथरीमा बस्न थाले । खोला र जंगलको बीचमा थियो घर । नजिकैको खोलामा पौडी खेल्दै हुर्किइन् विमला । 

पथरीमा रहेको पञ्चायत उमाविमा स्कुल सुरु गरिन्, विमलाले । तर, सुकुमायाले हिँडेको तमोरको गडतीरजस्तो बाटो अब विमलाले हिँड्न थालेकी थिइन् । कापी–कलम च्यापेर स्कुल धाउँदाधाउँदै विमलाको बीचैमा पढाइ छुट्यो । 

पल्टने खड्कबहादुरसँग कवि हृदय थियो । घरमा बिपी कोइरालाका कृतिबारे कुरा गरेको उनले सानैमा सुनिन् । बुबाको साहित्यलाई प्रेम गर्ने बानीले विमलालाई कवि बनाउन मद्दत ग-यो । सानैमा ‘म’ शीर्षकको कविता लेखेर तिहारको सांस्कृतिक कार्यक्रममा सुनाइन् । भन्छिन्, ‘त्यहीँबाट कविता यात्रा सुरु भयो ।’ छोरीलाई कविता लेख्न हौसला दिने पल्टने खड्कबहादुर २०५५ सालमा ५५ वर्षकै उमेरमा ब्लड प्रेसर हाई भएर इन्डियाको बिएस अस्पतालको आइसियूमा अस्ताए । अब विमलाको कविता सुन्ने पहिलो श्रोता रहेन । बाबुको लास नेपाल ल्याइन् । केश मुन्डन गरी बाबुको किरिया बसिन् । 

५५ सालमै अर्को पनि आपत् आइलाग्यो विमलालाई । अचानक घरमा आगो लाग्यो । कविताका खेस्राहरू सबै घरको खरानीमा मिसियो । केही कवितालाई दिमागमा सेभ गरेकी थिइन् । जति सम्झिइन्, त्यसैलाई जम्मा पारेर ‘विमला तुम्खेवाका कविताहरू’ (०५५) प्रकाशित गरिन् ।

‘गीत बनेर गुन्जिन चाहन्छु तिम्रो ओठमा
चाहन्न मेरो मृत्युमा 
मानिसहरू रोऊन्
मेरो नाममा शोकसभा आयोजना होस्
र, निर्दोष फूलहरू मसँगै मरून् ।’ (इच्छा)

उनी मृत्युलाई शोक मान्न तयार छैनन् । मृत्युजस्तो क्रूर सत्यलाई अँगाल्न अनुरोध गर्छिन् । आफ्नै नानीहरूजस्तै कोमल फूललाई लासमाथि चढाउन मञ्जुर छैन उनलाई । 

कविता प्रकाशनपूर्व नै उनी धरानको ‘ब्लास्ट टाइम’को ब्युरोचिफ भएर पत्रकारितामा आइसकेकी थिइन् । फ्याक्सको जमाना थियो । सुरुमा न्युज लेखेको पैसा पाइनन् उनले । पछि एउटा बाइलाइन आएको पचास रुपैयाँ पाउन थालिन् । राजधानी दैनिकका पुरुषोत्तम दाहालले उनको न्युज लेख्ने स्टायललाई रुचाए र उनलाई संवाददाता बनाइदिए । 

०५७ सालमा विमला राजधानी आइन् । भाषाशास्त्री तथा साहित्यकार नरेन्द्रराज चापागाईंले उनलाई कविता लेख्न हौसला दिए । नरेन्द्रराजले विमलालाई भनेका थिए, ‘विमला ! तिमी लामो रेसको घोडा हौ । लेख्न नछोड्नू ।’ विमला आज पनि कविता लेख्न बस्दा उनै स्व. नरेन्द्रराजलाई सम्झिन्छिन् । 

२५ वर्षदेखि काठमाडौंको सडकमा कविताको झोला बोकेर हिँडिरहिन् उनी । सँगैका साथीहरू गाडी चढेर हिँडिरहँदा उनी पुतलीसडकमा झोलाभित्र कविता मात्रै बोकेर हिँडिन् । जीवनको ४०औँ सिँढी पार गरिसकेकी विमला अझै कविता लेखनमै क्रियाशील छिन् ।

काठमाडौं आएपछि विमलाको नागबेली यात्रामा अर्को घुम्ती थपियो । घर छाड्ने वेला आमाले आँसु पिलपिल झार्दै थमाइदिएको २ हजार रुपैयाँ काठमाडौं दुई फन्को घुम्न पनि पुगेन । कस्तो महँगी, कस्तो दौडधुप ? विमला काठमाडौं देखेर छक्क परिन् । उनीसँग कुनै जागिर थिएन । भीमसेनगोलामा कोठा लिएर बस्न थालिन् । अनि सुरु भयो भृकुटीमण्डप र बागबजारको गल्ली नाप्ने यात्रा । 

पत्रकारिता गर्दागर्दै नारायण श्रेष्ठ, अनमोलमणि, पदम गौतमलगायत समूहसँग उनको संगत भयो । चन्द्रवीर तुम्बापो, राजन मुकारुङ र हाङयुग अज्ञातसँग पनि संगत बढ्यो । 

काठमाडौंका गल्ली, चोक र सभाहरूमा विमला कविता सुनाउन पुग्थिन् । खल्ती सुक्खा हुन्थ्यो । कहिलेकाहीँ त टेम्पो चढ्न पनि हम्मेहम्मे पथ्र्यो । एक महिनापछि काठमाडौंमा आमा पनि थपिइन् । बाबुको पेन्सनले दुई छाक खाने मेसो मिलाइन् र कवितायात्रामा नै दौडिरहिन् ।

काठमाडौंको गल्लीमा कविता यात्रामा हिँड्दाहिँड्दै उनका बारेमा कतिले किस्सा पनि बनाए । एक समय कविहरूको भिडमा हुने हल्ला उनले सम्झिइन्– ‘विमलाले नमस्कार नगरेका मान्छे नै छैन समेत भनियो ।’ कतिले विमलालाई पारिजातको अपोजिट अर्थात् ‘वारिजात’ भनेर नामकरणसमेत गरे । उनका अनेक किस्सा साहित्यवृत्तमा आजभोलि पनि चर्चा हुन्छ । विमलाले हरेस खाइनन् । लेखिरहिन् । 

विमलाका बालसखाहरू कोही हङकङमा छन्, कोही युकेमा छन् । विमलालाई पनि डाक्टरले मन पराए । लाहुरेले मन पराए । धेरै विवाह प्रस्ताव नै राखे । कतिले तीन वर्षसम्म चिठी पठाइरहे । आफूलाई एकतर्फी मनपराउने केटाले पठाएको उपहार आधा मूल्यमा बेचेर साथीहरूलाई भोज खुवाइन् । आइडी भिरेर हङकङ जाने अफर चारपटक त्यागेको घटना विमलाको स्मृतिमा ताजै छ । भन्छिन्, ‘लाहुरेको श्रीमती हुन मञ्जुर भइनँ । कविता छुट्ने डरले सतायो ।’ 

०७२ सालमा काठमाडौंका किरण लामासँग उनको चिनजान थियो । किरणको स्वभाव आफैँसँग मिल्दोजुल्दो देखिन् उनले । छोटो समयमै दुईजना मिल्ने साथी बने । कफी सप, क्याफे र रेस्टुराँमा बात मार्दै उनीहरूले घन्टौँ बिताए । त्यही सालको मंसिरमा दुईजनाले लगनगाँठो कसे । अर्को वर्ष दुवैजनाको मायाको चिनो जन्मिइन् ‘योन्छेन’ । 

कविता लेखनसँगसँगै विगत लामो समयदेखि सञ्चारिका समूह र महिला सुरक्षा दबाब समूहमा पनि आबद्ध छिन्, उनी । उनी इन्डिया, थाइल्यान्डजस्ता देशको भ्रमणमा गइसकेकी छिन् । 

०००

२५ वर्षदेखि काठमाडौंको सडकमा कविताको झोला बोकेर हिँडिरहिन् उनी । सँगैका साथीहरू गाडी चढेर हिँडिरहँदा उनी पुतलीसडकमा झोलाभित्र कविता मात्रै बोकेर हिँडिन् । जीवनको ४०औँ सिँढी पार गरिसकेकी विमला अझै कविता लेखनमै क्रियाशील छिन् । भन्छिन्, ‘कविता मेरा लागि बाँच्ने आधार हो ।’ पहिलो कविताकृति प्रकाशनको केही वर्षपछि ‘नदी, छाल र तरङ्गहरू’ (०६०), र ‘संस्मरण एउटा बुढो रूखको’ (०६५) जस्ता कविताकृति प्रकाशित गरिसकेकी छिन् उनले । दश वर्षको लामो अन्तरालपछि ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ भर्खरै बजारमा ल्याएकी छिन् । 

मदन रेग्मी, भूपी शेरचन र बैरागी काइँलालाई आइडल मान्छिन् विमला । समकालीन कविहरूमा विनोदविक्रम केसी र स्वप्निल स्मृतिका कविता उनलाई औधी मनपर्छ । तिनका कविताले क्रान्तिको चेत बोकेको उनको बुझाइ छ । कवि स्वप्निल स्मृति तुम्खेवाका कवितामा कतै नसुनिएका र नपढिएका छुट्टै दर्शन भएको अनुभूत गर्छन् । भन्छन्, ‘उनको कवितात्मक शैलीमा निजत्व छ । कलात्मक पक्ष निकै सबल हुने गर्छ ।’ कवि श्रवण मुकारुङ विमला तुम्खेवाका कवितामा कोमलता भेट्छन् । भन्छन्, ‘आफ्नो लिम्बू संस्कृति, नारी, प्रेमजस्ता विषयमा केन्द्रित भएर कविता लेख्ने विमला अहिलेको समयकी उत्कृष्ट कवि हुन् ।’ 

सम्पादकको रोजाइ

सुझावित समाचार