लिप सेकेन्ड

कथा

इन्दिरा दाँगी इन्दिरा दाँगी
शनिबार, २३ चैत, २०७५
डिजिटल संस्करण

इन्दिरा दाँगी हिन्दी भाषाकी लेखिका हुन् । भारतको मध्यप्रदेश राज्यको राजधानी भोपालमा बसेर क्रियाशील रहेकी दाँगीका ‘हवेली सनातनपुर’ तथा ‘रपटिले राजपथ’ उपन्यास ‘आचार्य, ‘रानी कमलापति’ नाटक तथा ‘एक सौ पचास प्रेमिकाएँ’ र ‘शुक्रिया इमरान साहब’ शीर्षकका दुई कथासंग्रह प्रकाशित छन् । साहित्य अकादमी युवा पुरस्कार तथा भारतीय ज्ञानपीठ नवलेखन अनुशंसा पुरस्कारलगायत भारतका प्रतिष्ठित पुरस्कारबाट सम्मानित दाँगीका कथाहरू अंगेजी, उर्दू, मलयालम, उडिया, तेलगु सन्थाली, कन्नड, गुजराती एवं मराठी भाषामा अनुदित भई विभिन्न ठाउँबाट प्रकाशित भएका छन् । प्रस्तुत छ दाँगीको कथा लिप सेकेन्ड ।
 

छ्वास्स ! – मृत्युको अपराजेय बंगाराले गाँस हाल्यो, यसपल्टको गाँसमा एक आकर्षक युवा जीवन थियो ।इन्जिनियर गुलाल भर्खरै सुरु गरेको आफ्नो सफ्टवेयर कम्पनीको अफिसमा काम गर्दागर्दै मध्यरात कटाएर बिहानको ३ बजेसम्म खटिइरहेको थियो । एउटा ठूलो सरकारी प्रोजेक्टका लागि उसले यति धेरै काम गरिसकेको छ, अब यो काम कुनै अर्को कम्पनीले भेट्ने कुरा कमसेकम उसलाई त असम्भव नै लागिरहेछ । 

‘यो प्रोजेक्ट हात लाग्नेबित्तिकै कम्पनीको नाम चल्नेछ । म यसमा यस्तो मिहिनेत गर्छु, मान्छेहरूले हाम्रो कामको उपमा दिन थाल्नेछन्, हाम्रो कम्पनीलाई काम दिन मान्छेहरू खोजीखोजी आउनेछन् । ... तीन वर्षभित्र बैंकको सबै ऋण चुक्ता गर्छु– अरू गर्नु नै के छ र मैले ! त्यसपछि स्टाफ बढाउँछु, अनि अफिसलाई प्राइम लोकेसनमा सार्छु, ... होइन, त्यो पछि गर्ने, पहिले बिनीको पढाइ, उसको बिहे र त्योभन्दा पहिले बुबाको अपरेसन गराउनैपर्छ जतिसक्दो चाँडो । ... यो प्रोजेक्ट त कसैगरी छुटाउनु हुँदैन ।’
यही र यस्तै सोच्दै ऊ घर जान निस्कनुभन्दा पहिले अन्तिम दृष्टि लगाइरहेको थियो, स्टाफहरूले सबै कम्प्युटर बन्द त गरे ? कतै ट्वाइलेटको बत्ती बलिरहेकै पो छ कि ? धारा खुल्लै त छैन, कतै ?
दुई कोठामा सञ्चालित कम्पनी । ६ जना कम्प्युटर–कर्मचारी । एउटा कुनातिर प्लाइउडले ढाकेर बनाइएको उसको क्याबिन– टेबुलकुर्सी र कम्प्युटर मात्र । भित्तामा टाँगिएको अब्दुल कलामको फ्रेम लगाएको फोटो । फोटाको कुनातिर टाँसिएको एउटा चिर्कटो– उसका हातले लेखिएका दुई पंक्ति,
अब्दुल कलाम भन्नुहुन्छ– एउटा ठूलो सपनालाई जोगाइराख ।
घर निस्कनुभन्दा पहिले यो फोटो, यी पंक्ति उसको अफिसको अन्तिम रुटिनको क्षण । दिउँसो आँखा प¥यो भने एक सेकेन्डका लागि त हेर्छ नै । स्टाफ हाँस्छन्, ‘सरको कामको लिप सेकेन्ड !’ लिप सेकेन्ड–जीवनको, जीवनभन्दा माथि एक क्षण । ऊ मुस्काउँदै सोच्ने गर्छ, ‘यही लिप सेकेन्डले एक दिन मलाई सेलिब्रेटी बनाउनेछ, हेरौला तिमीहरू !’ 
पृथ्वीका २५ लिप सेकेन्डजस्तै पच्चीस 
वर्षको गुलाल ! 
‘ए, झ्याल त खुलै रहेछ !’ 
चकचके बालकजसरी एक झोँक्का बाछिटा बताससँगै कोठामा फुत्त पसेर उफ्रिँदै निस्कियो । पानीका ससाना छिटा कम्प्युटरमा ठाउँ–ठाउँमा चढेर बदमास अनुहारमा मुस्काउन थाले । 
लगाउनलाई ऊ झ्यालको नजिक पुग्दा नपुग्दै अर्काे एक झोँक्का आयो र उसको काँध, सर्ट, अनुहार, केस भिजायो । बाहिर रात कति राम्रो छ, बुर्का लगाएकी कुनै युवतीजस्तै ! सबै जिम्मेवारी पूरा गरिसकेपछि ऊ बिहे गर्नेछ– अनि कुनै यस्तै भिजेको रातमा, यस्तै कुनै वेला उसको सेलफोनमा घरबाट घरीघरी फोन आइरहेको हुनेछ । उसको घर फर्किने व्याकुल प्रतीक्षा ! हरेक घन्टा एउटा कल ! हरेक कलमा हप्काई मिसिएको चिन्ता–आदेश–अनुरोध ! ... त्यो आधा खुलेको जुरोमा गुलाबी रिबन र काँटाले ननिदाईकन उसको प्रतीक्षा गरिरहेका हुने होलान् ! शरीरमा निद्राजस्तै आनन्दको आलस्य पस्न थाल्यो । ह्यान्डसम इन्जिनियरले झ्याल लगाउन हात बाहिर निकाल्यो । 
छ्वास्स !!– मृत्युको अपराजेय बंगाराले गाँस हाल्यो । यसपल्टको गाँसमा एक आकर्षक युवा जीवन थियो । औँलामा तिखो केही गाडिएको छ । अरिंगालको टोकाइको जस्तो दुखाइ ? ... होइन, नांगो तारको करेन्टको जस्तो !!
एक निमेषभित्रै उसले हात भित्र तान्यो अनि 
औँलाको टुप्पोमा गाडिएका आफ्ना दाँतसँगै, हावामा लहराउँदै तानिएर एउटा सर्प भित्र आइपुग्यो– रसेल भाइपर ?
मुटु छिटोछिटो धड्किन थालेन, मानौँ रोकियो– ठ्याक ! उसका आँखाअगाडि पलभर सम्पूर्ण अँध्यारो भयो । 
‘अहँ गुलाल !’–  शरीरको स्वरक्षणवृत्तिले भन्यो । सर्पलाई मुठ्ठीमा कस्सेर समात्यो ! अर्काे हातले टेबुलमा राखेको सिडीको बाकस झा-यो– खरररररर ।
सेकेन्डमै घटित भयो यो सबै । सबै सिडी भुइँमा र मुठ्ठीमा छटपटाउँदै गरेको सर्प पारदर्शी बट्टाभित्र बन्द । ड्रयरबाट फाइल बाँध्ने डोरी निकाल्यो र त्यसले औँलालाई कस्सेर बाँध्यो । विष फैलन दिनु हुँदैन ! कागज काट्ने ब्लेड हातमा छ र ऊ सर्पले टोकेको औँलाको टुप्पोलाई करिब–करिब ताछ्दै छ । आँखामा आँसु रसाउन थाल्यो, मुखबाट दबेको चित्कार, एकदम कष्टप्रद कुरा हो यो– आफ्नो छाला आफैँ काढ्नु, आफ्नो मासु कोतरेर निकाल्नु, थिचेर आफ्नै रगत बगाउनु, तर ज्यान जोखिममा परेपछि मान्छेले केचाहिँ गर्दैन र ! 
कम्प्युटर खोल्न र इन्टरनेटमा सर्च गर्ने पेजसम्म पुग्न छिटोमा कति समय लाग्न सक्छ, त्योभन्दा पनि कम समयमा ग¥यो उसले ती सबै । 
सर्च पेज–येलो पेजेज–एन्टिभेनम–उपचार उपलब्ध हुने भोपालका सबै अस्पताल । पहिलो नाम आयो– छेउको सरकारी मेडिकल कलेज अस्पतालको । 
‘छोड्दे !’ त्यस दारुण कष्टकर स्थितिमा पनि उसले आफैँलाई भन्यो । 
पेट दुख्दा र पखाला लाग्दाको कुरा अर्कै हो, तर जब ज्यानकै कुरो आउँछ, हिन्दुस्तानका सरकारी अस्पतालमा को जान चाहन्छ, विवश अधमरा गरिबहरूबाहेक । 
अर्को नाम छ, नर्मदा हस्पिटल, नियर हबिबगन्ज रेल्वे स्टेसन ।
हबिबगन्ज रेल्वे स्टेसन ?
लालघाटीबाट हबिबगन्ज रेल्वे स्टेसनको दूरी कति ? १५ किलोमिटर ? अहँ, २० जति होला ! अनि समय कति छ ?
अताल्लिँदै चार तला भ-याङ ओर्लियो ऊ ।
एक छिन उभिएर यता–उता सम्भावित मानवीय सहयोगका लागि दृष्टि दौडिए, लालघाटी चोकका सडक मातेर निदाएजस्तै – मौन, शून्य, मानवविहीन ।
कोही छैन ? उसका कति धेरै साथी छन्– फेसबुकका सयौँ भर्चुअल फ्रेन्ड्सदेखि लिएर जीवनका कलेज–स्कुलका पुराना साथीसम्म– साथी नै साथी ! अनि त्यति धेरै नाता कुटुम्ब, आत्मीयजन, सहकर्मी र परिवार, जिन्दगी भनेको जो नै हो... अनि यतिखेर जुन वेला मृत्यु उसको वरिपरि फन्का लगाइरहेछ, कोही छैन सँगै, कुनै सहयोग छैन पर–परसम्म ! 
–प्रिजेन्स अब् माइन्ड गुलाल ! 
उसको सेकेन्डह्यान्ड कार एकैपल्टमा स्टार्ट हुने हो र फेरि ?
घ्यार्रर्रर्र – पसिना निस्क्यो उसको ।
घ्यार्रर्रर्र – मन रुन्चे हुन थाल्यो
घ्यार्रर्रर्र घ्यारघ्यार – एउटा आशा
घ्यार्रर्रर्र घ्यारघ्यार घ्यारघ्यार घर्रर्रर्रर्रर्र
ओहो ! स्टार्ट भयो !
सर्प भएको बट्टालाई ड्यासबोर्डमा राख्यो र स्पिड समातेर कार सडकमा फोर्थ गियरमा दौडिँदै गयो । ... रातको कालो बुर्कामा बेरिएको लालघाटी आफ्नो नवयुवकलाई जाँदै गरेको हेरिरहेछ । पानी परिरहेछ – तप ! तप !
के फेरि आउनेछ ऊ ?     
‘रसेल भाइपर नै हो !’
बिनीसँगै हरेको एउटा टिभी सो सम्झँदै छ । संसारका सबैभन्दा विषालु हत्यारामध्ये एक रसेल भाइपर ! सिकारलाई मर्न लाग्ने समय एक घन्टा मात्र । पहिले रगत बिग्रन्छ, त्यसपछि सास फेर्न गाह्रो, त्यसपछि सम्भवतः ब्रेन ह्यामरेज अथवा मुटुको चाल बन्द !   
समय केवल एक घन्टा ! 
उसले सेलफोनमा घडी हे-यो, १५ मिनेट समय बितिसकेको छ ! मृत्यु केवल ४५ पाइला पछाडि छ । कारको गति तीव्र, अझ तीव्र, पानी पर्ने क्रम पनि ! 
फ्रन्ट ग्लासको पानी पुछ्ने वाइपर अड्कियो । पानीले अपारदर्शी बनाएको सिसाको कारण कतै एक्सिडेन्ट नै हुने पो हो कि ! उसले ड्यासबोर्डभित्रबाट यस्तै वेलाका लागि भनेर राखेको सिगरेटको बट्टा निकाल्यो र दुई–तीनवटा सिगरेटलाई कच्याककुचुक पारेर त्यसको सुर्ती फ्रन्ट ग्लासमा बाहिरतिरबाट दल्यो । पर्दै गरेको पानीको दृश्य सिसाजस्तै स्पष्ट भयो । 
उसको एकाग्रता गति, समय र सडकका बीच छटपटाइरहेछ र मौन मस्तिष्कबाट निस्केर एक–दुई–तीन आफ्नै अनुहारका मान्छे छेउमा बसेका छन् । एउटा छेउको सिटमा र दुइटा पछाडिपट्टि । मानाैँ ऊ सुनिरहेछ र तिनीहरू सबै पालैपालो सर्पसँग कुरा गर्दै छन् । अगाडिको बायाँतिरको सिटमा बसेको गुलाल रसेल भाइपर सर्पसँग भन्दै छ, ‘यु नो ह्वाट, मैले तँलाई कसरी चिनेँ ? बिनीसँगै एउटा टिभी सो हेरेको थिएँ– सर्पसँग सम्बन्धित नै । तेसो त म टिभी त्यति हेर्दिनँ । बुबा भने भिडिरहनुभएको हुन्छ अनेक–अनेक च्यानल, कहिले समाचार कहिले प्रवचन । बिनी कहिले–कहिले उहाँसँग रिमोट खोसेर जनावरको च्यानल लगाउँछे । भन्छे, जहिलेसुकै मान्छे–मान्छे हेर्दाहेर्दा वाक्क लाग्छ । उसको त्यो सोख देखेर म नै सबैभन्दा बढी हाँस्ने गर्थेँ र भन्थेँ, ‘बिनी तिमी मान्छेको होइन, पशुको डाक्टर हुनुपर्ने– पशु चिकित्सक ! हा हा हा !’

उसकै अनुहारको मान्छे एकदम दारुण हाँसो हाँस्यो । आँखामा आँसु छ । बाकसभित्रको फणा उठाउँदै गरेको सर्पलाई ऊ उदास स्वरमा भन्दै छ, ‘बिनी मेरी बहिनी हो । मभन्दा चार वर्ष कान्छी । एमबिबिएस गर्दै छे, एजुकेसन लोनमा । मैले उसलाई भनेको छु– लोनको चिन्ता नगर्नू, पढ्नु–लेख्नु, खुसी रहनू भनेर । उसका सबै चिन्ता गर्ने म छँदै छु नि, उसको दाजु ! एकपल्ट मेरो काम जमोस् मात्र न, एमबिबिएसपछि उसलाई एमडी गराउनु छ अनि कुनै राम्रो डाक्टर केटासँग बिहे गरिदिनु छ । एउटै बहिनी त हो मेरी, त्यसको बिहे यस्तो धूमधामले गरिदिन्छु, सब छक्क पर्नेछन् ..., तैँले गलत मान्छेलाई डसिस् यार !’ उसको गला अवरुद्ध भयो र ऊ साइड ग्लासबाट बाहिर हेर्न थाल्यो । ड्यासबोर्डमा राखेको सर्प गँडुल्किरहेको छ । 
रोयल मार्केट, इमामी गेटपछिको कमला पार्कछेउको सडक पनि कट्यो, यो पोलिटेक्निक चोक पनि । कति थप अमूल्य मिनेट खर्च भइसके जिन्दगीका ? ...फेरि घडी हे¥यो उसले– बाह्र !
–हिम्मत नहार गुलाल ! 
सोचिरहेछ, वेलैमा अस्पताल पुग्न सकेन भने पत्रिकामा फोटो छापिनेछ– कारको ड्राइभिङ सिटमा युवक मृत फेला प-यो । उसको पूरै शरीर निलो भएको थियो । 
चिसो निलो रगत ? – हैन ! अझै धमनीमा तातो रगत बाँकी छ । सक्ने भए उसले कारलाई उडाउने थियो । 
यतिवेला पछाडिको दाहिनेतिरको सिटमा बसेको गुलाल सर्पलाई सुनाउँदै छ, ‘तैँले मेरा बुबालाई देखेकै छैनन् । देखेको भए पक्कै मलाई छोड्दिन्थिस् । १० वर्षजति पहिले उहाँको बाइपास सर्जरी भएको थियो । अहिले फेरि समस्या देखिएको छ । नसामा ब्लकेज हुन थालेको छ, फेरि अप्रेसन गर्नुपर्छ भन्छन् डाक्टरहरू । अप्रेसन भए उहाँ अझै आठ–दस वर्ष बाँच्नुहुन्छ । बुबा अप्रेसन नगर्ने भन्नुहुन्छ– जे–जति बाँकी छ, घर–फ्ल्याट त्यो तिमीहरूको भविष्यका लागि हो, त्यो म आफैँका लागि कसै गरी पनि सक्नु हुँदैन... । यसै वर्ष उहाँको अप्रेसन गराउनु छ । म त सोचिरहेको थिएँ, यो प्रोजेक्ट पाइयो भने अर्को महिना नै बुबालाई दिल्ली लगूँ भनेर, तर आज म मरेँ भने अप्रेसन गर्ने–नगर्ने भन्ने प्रश्न नै आउँदैन, उहाँ त मेरो मृत्युको खबर सुनेरै मर्नुहुन्छ !’
उसको अनुहारको यो मान्छे पनि चुप लागेर झ्यालबाट बाहिरतिर हेर्न थाल्यो र ड्राइभिङ गर्दै गरेको गुलालका मुठ्ठी स्टेरिङमा झन् बढी कस्सिए । 
न्यु मार्केटलाई पछाडि पार्दै गाडी लिंक रोड नम्बर एकमा पुगेको छ, तर गति यहाँदेखि घटेको छ । निढाल भएजस्तो हुन थालेको छ धमनीमा । टाउकामा एक प्रकारको विचित्रको बोझ । समय ? समय नै त जिन्दगी हो, अनि जिन्दगी यसवेला हातमा छ... समय पनि कस्तो ! ई, खर्च भइसके अरू आठ मिनेट । 
–गुलाल ! ए गुलाल ! निदाउनचाहिँ ननिदाउनू है !
ड्राइभिङ गर्दै गरेको अर्धचेत दिमागका अगाडि धमिलो केही, सडकको दृश्यमा आएर मिसिएको छः 
स्कुलमा साथीहरूसँग बिताएका परिश्रम–प्रतिद्वन्द्विताले भरिएका प्यारा दिनहरू । ... कलेजका सुन्दर वर्षहरू ..., त्यो क्लासमेट जो अरू कसैकी प्रेमिका थिई, आधा खुलेको केसको चुल्ठोमा सधैँ एउटा गुलाबी रिबन बाँध्ने गर्थी । क्याम्पस सेलेक्सनपछि भनेकी थिई उसले, ‘फेरि भेट्दैनौ गुलाल ?’ ... छ्वास्स् ! उसले हात तान्यो र हावामा लहराउँदै तानिएर सर्पभित्र आइपुग्यो !

छुटेको सेलफोनको घडी कारमा चलिरहेको होला, थाहा छैन अरू कति समय छ जिन्दगीसँग ? समयको आकलन गर्न अब सास मात्र छ । छिटोछिटो स्वाँस्वाँ हुँदै गरेको सास । पछाडिबाट आउँदै गरेको मृत्यु कति नजिक आइसक्यो । अहिले पन्जा फैलाउँछ र ङ्याक्छ गुलाललाई ... आमाको गुलाललाई, बुबाको गुलाललाई, ... बिनीको पितासमान दाजु गुलाललाई । 


यसवेला पछाडि देब्रेतिर बसेको गुलाल सर्पसँग आफ्नो मन बाँड्दै छ । ‘केटाकटी वेलाको एउटा घटना सुनाऊँ तपाईंलाई, के थाहा यही नै मेरो अन्तिम वेला हो कि ! यो अन्तिम वेलामा केवल आमालाई सम्झिन चाहन्छु । म तँलाई त्यतिवेलाको घटना सुनाउँदै छु जुनवेला म पाँच–साढे पाँच वर्षको थिएँ होला । हामी सबै केटाकेटीहरू कोलोनीको सडकमा क्रिकेट खेल्दै थियौँ । म बल लिन भनेर दौडिएँ, त्यसैवेला अगाडिबाट हुँइकेर आएको एउटा मोटरसाइकलले मलाई ठक्कर दिएर गयो । मेरो शरीर एकतिर ताछिएको थियो । छिमेकी आन्टीले मलाई ओखती लगाइदिनुभयो, पट्टी बाँधिदिनुभयो र घर पु-याइदिनुभयो । तर, घरमा त आमा अघि बेहोस भएर लडिराख्नुभएको छ र छेउमा बसेकी बिनी रोइरहेकी छे । खोइ कसले हो उहाँलाई भनिदिएछ, एक्सिडेन्टमा तपाईंको गुलाल...’
उसको गला अवरुद्ध भयो । आँखामा आँसु रसाए, 
‘... त्यतिवेला मलाई त परेन, तर आमालाई हस्पिटल लैजानुपरेको थियो । उहाँलाई यतिधेरै चोट परेछ, झन्डै कोमामा नै जानुभएको । उहाँलाई नर्मल हुन पूरै डेढ महिना लाग्यो । त्यतिजेला म पाँच वर्षको सानो बच्चो थिएँ, अहिले २५ वर्षको जवान छोरो छु, सोच त उहाँलाई के हुन्छ होला ? ... मेरी आमा एकदम नै सोझी हुनुहुन्छ, यार !’
देब्रेतिर बसेको उसको अनुहारको मान्छे पनि बाहिरको शून्यतातिर हेर्न थाल्यो । ड्राइभिङ गर्दै गरेको गुलालको छातीमा दुखेजस्तो भयो ।
‘सुन तिमीहरू सबै...’ उसले आफ्ना अनुहारका तीनैजनालाई हेर्न चाह्यो ।  
–कहाँ ?
–को ?
कारमा केवल दुई सत्य छन्– ड्राइभिङ गर्दै गरेको गुलाल र ड्यासबोर्डमा गँडुल्किएर बसेको सर्प । 
एमपी नगर चोकबाट उसले दाहिने मोडेको मात्र के थियो, ई बन्द भयो कार !
– घ्यार्रर्रर्र
– घ्यार्रर्रर्र
– घ्यार्रर
– घ्यार्र
होइन, अब त्यति समय बाँकी छैन ! २० मिनेटजति बाँकी होला ! पछ्याउँदै गरेको मृत्यु त्यहीँ पछाडि आइसक्यो । 
बाकस बोकेर ऊ सडकमा निस्किएर दौडियो ।
मुसलधारे पानीमा केही पनि स्पष्ट देखिँदैन । त्यो बिहानको पत्रिका पु-याउने गाडी होला । सुरुवातको मन्द गतिजस्तै लोडिङ अटो । अलि छिटो कुदेँ भने भेट्टाउँछु । 
फुटगार्डमा चढेर ब्याकडोरतिर झुन्चियो ऊ । हात खुस्किन खोज्दै छ । छातीमा केहीले समाएजस्तो भइरहेछ, मानाैँ कुनै अदृश्य अजिंगर आफ्नो सिकारलाई समातेर उसको सास रोक्दै छ ... अजिंगर होइन रसेल भाइपर ! !
ऊ आफैँलाई ढाडस दिइरहेछ,
‘अस्पताल आउनै लाग्यो !’
साँच्चै अस्पताल आउनै लाग्या छ । यो देब्रेतिर हबिबगन्ज रेल्वे स्टेसन र त्यो देखिँदै छ अग्लो उज्यालो बोर्ड– नर्मदा हस्पिटल ! 
अरे ! तर, पत्रिकाको जिप त रेल्वे स्टेसनतिर मोडियो ! गति कम भएको जिपलाई उसले छाडिदियो र अस्पताल जाने बाटोतिर कुद्यो । 
छुटेको सेलफोनको घडी कारमा चलिरहेको होला, थाहा छैन अरू कति समय छ जिन्दगीसँग ? समयको आकलन गर्न अब सास मात्र छ । छिटोछिटो स्वाँस्वाँ हुँदै गरेको सास । पछाडिबाट आउँदै गरेको मृत्यु कति नजिक आइसक्यो । अहिले पन्जा फैलाउँछ र ङ्याक्छ गुलाललाई ... आमाको गुलाललाई, बुबाको गुलाललाई, ... बिनीको पितासमान दाजु गुलाललाई । 
‘तिमीले केही चिन्ता नलिनू । पढ्नू–लेख्नू र खुसी हुनु । सबै चिन्ता गर्ने म छँदै छु नि, तिम्रो दाजु !
गोडा लरखराउन थाले । सास फेर्न एकदम गाह्रो, निलो हुँदै गएको शरीर ।
यो तीनवटा बाटा जोडिएको ठाउँबाट दाहिनेतिर जानुपर्छ– ऊ हस्पिटल ! दौडिँदै गरेका गोडाले मोडिनुभन्दा पहिले नै आफ्नो तागत हराए । ऊ लड्यो । सर्प भएको बाकस सडकमा उछिट्टिएर पर पुग्यो । 
बाटा जोडिएको ठाउँमा बेहोस भएझैँ घोप्टिएको छ । पर कुनै निलो सडकबाट केही अनुहारले उसलाई बोलाउँछन् ।
आधा खुलेको चुल्ठोमा गुलाबी रिबन बाँधेकी युवती उदास उभिएकी छे, 
–फेरि भेट्दैनौ गुलाल ?
–बुबा छातीको दुखाइले छटपटाइरहेछन्
–गुलाल !
रुँदै गरेकी उसकी बहिनी
–दाजु !
अनि आमा, सबैभन्दा धेरै माया उसैलाई गर्छिन्
–मेरो छोरो !
लिप सेकेन्ड– जीवनभन्दा माथि रहेको जीवनको एक क्षण । ..फेरि आँखा उघारेर टाउको उठाउने हिम्मत जुटायो गुलालले ।
‘मैले मर्न हुँदैन अहिले ! ममाथि धेरै जिम्मेवारी छन् !’
लरबरिँदै उठ्यो । सर्प भएको बाकस बोक्यो र फेरि कुद्यो – सायद सासविना नै ।
र, यसपल्ट लड्दा उसको सास करिब–करिब सकिइसकेको थियो र शरीर पूरै निलो भएको थियो । 
...ऊ यसपल्ट अस्पतालको भ-याङमा लडेको थियो । 

अनुवाद : सुमन पोखरेल

सम्पादकको रोजाइ

सुझावित समाचार