सरलाई मारिएको पनि नौ वर्ष भएछ’, डेढ दशकपछि भेटिएकी गुरुमालाई मैले अन्तिमचोटि सोधेँ, ‘अब त न्याय पनि पाउनुहोला के त ?’
गुरुमा केही क्षण मौन भइन् । उभो आकाशतिर आँखा घुमाइन् । त्यसपछि फिस्स हाँसिन् । उनको ओठमा बलजफ्ती दगुरेको त्यो मुस्कान बादलभित्र चम्किएको बिजुलीजस्तै थियो । जो निमेषभर उज्यालो
छरेर हराइजान्छ ।
त्यसपछि लामो सुस्केरा तान्नुभयो । र, सुस्तरी भन्नुभयो, ‘ईश्वर स्वर्गमा छ ।’
मैले कति वर्षअघि उनीसँगै गाएको गीतको
हरफ सम्झिएँ,
‘कसले बनायो तिमी र मलाई ? तिमी र मलाई ??
ईश्वर स्वर्गमा छ ।’
०००
कुरा म जन्मिनुभन्दा चार सालअघिको हो ।
त्यसवेलाको दार्जिलिङ अलग थियो । शान्त र सुन्दर थियो । चोरी–डकैती हुँदैनथे । हत्या–हिंसा हुँदैनथे । मान्छे जति कमाइ गर्न सक्थे, त्यतिमै सन्तुष्ट हुन्थे । उनीहरूले देख्ने सपना भनेको तोरीका दानाजत्रा पनि हुँदैनथ्यो । एकदम साना–साना सपना देख्थे । जो पूरा भएपछि जो–कोही आरामले मर्न सक्थे ।
अझ मेरो गाउँ त यति कुनामा थियो, जहाँका मानिससँग सपना नै हुँदैनथे । घाँस काटेर आएपछि एक प्याला मोही खाना पाइयोस्, सपना पूरा भइहाल्थ्यो । थाकेर लखरतरान हुँदा, एक मग जाँड पिउन पाइयोस्, सपना पूरा भइहाल्थ्यो । दुई छाक अघाउन्जेल दालभात खाना पाइयोस्, सपना पूरा भइहाल्थ्यो । आफूसँग जे छैन, त्यसको सपना देखिबस्ने फुर्सद नै उनीहरूसँग कहाँ हुन्थ्यो र ?
त्यस्तै वेला त हो, पहिलोचोटि शकुन्तला गुरुमा मेरो गाउँ पुगिन् । मेरो गाउँ अर्थात् कालेबुङको सबैभन्दा अभेक ठाउँ । जहाँ बिजुलीबत्ती थिएन । सडक थिएन । दोकानपाट थिएन । केही, केही, केही थिएन ।
होइन, केही थिएन त नभनौँ होला । त्यहाँ एउटा बुढो प्राइमरी स्कुलचाहिँ थियो । जो कुनै पनि
समय ढल्नसक्थ्यो ।
स्कुल जतिसुकै थोत्रो किन नहोस्, जतिसुकै अँध्यारो किन नहोस् । सिकाइने अक्षर जहिले नयाँ नै हुन्छ नि, होइन र ? त्यहाँ त्यही उज्यालो अक्षर सिकाइन्थ्यो ।
गुरुमा त्यही अक्षर पढाउन मेरो गाउँ आइपुगिन् ।
०००
शकुन्तला राई । गुरुमाको पूरा नाम यही थियो । तर, उनको नाम गाउँमा काम लागेन । उनी त हरेकका निम्ति बिगा स्कुलको गुरुमा थिइन् । त्यसैले, उनको नयाँ नाम बनियो, ‘बिगा गुरुमा’ ।
गुरुमा त्यही धुलोसरिको स्कुलमा बस्थिन् । गाउँका नानीहरूलाई दिनभरि अक्षर पढाउँथिन् । बेलुकी गाउँ घुम्थिन् । अलि–अलि जाँड पनि खान्थिन् र कोठामा आएर आरामको निद्रा सुत्थिन् ।
सन् १९८५ सालतिरको कुरा हो । गुरुमाको आगमनले स्कुलमा नयाँ रौनकता आएको थियो । विद्यार्थीको संख्या ह्वात्तै बढेको थियो । सुँगुरेदेखि मैदानसम्म, दलपचन्ददेखि गिदाङसम्म, कमेरेदेखि मलबुङसम्मका त्यहाँ पढ्न आइपुग्थे । कालेबुङमा नामी स्कुल छ, सन्त अगस्टिन । गुरुमाले त्यहीँको अंग्रेजी सिलेबसका किताब ल्याएर गाउँमा पढाउँथिन् ।
पढाउन सुरु गरेको वर्ष दिन भएको थियो । अचानक दार्जिलिङमा आन्दोलन सुरु भयो । सुवास घिसिङले गोर्खाल्यान्डको आन्दोलन चर्काए । पूरै पहाडमा आगो बल्न थाल्यो । दार्जिलिङमा हत्या र हिंसाको राजनीति सुरु भयो । मान्छले अचानक ठुल्ठूला सपना देख्न थाले ।
त्यही आन्दोलनको आगो बिस्तारै हाम्रो गाउँमा पनि आइपुग्यो । सबैभन्दा पहिले सुवास घिसिङको फर्मान आइपुग्यो, ‘अबदेखि स्कुलमा अंग्रेजी पढाउन पाइँदैन ।’
गुरुमाले डराएजस्तै गरेर भनिदिइन्, ‘हुन्छ ।
अब पढाउँदिनँ ।’
तर, खबर ल्याउनेहरू फर्किनासाथ नानीहरूलाई भनिन्, ‘चाहिने भनेको अंग्रेजी नै हो । अंग्रेजी नपढाइ हुन्छ र ?’
उनले फेरि अलि बाबा एन्ड फोर्टिन थिफ्सको कथा सुनाउन थालिन् । त्यसको दुई महिनापछि त हो, अचानक पहाड बन्द भयो । स्कुल बन्द भयो ।
०००
दुई वर्षसम्म दार्जिलिङ जलिरह्यो ।
त्यसपछि बल्ल आन्दोलन टुंगियो । दार्जिलिङले जुन सपना देखेका थिए, त्यो पूरा भएन । गोर्खाल्यान्डका ठुल्ठूला सपना देखाउने नेता हिल काउन्सिलतिर लागे । ज्यान दिने नेताहरूले ठेकेदारी गर्न थाले ।
दार्जिलिङमा विकासको नयाँ युग सुरु भयो । आन्दोलनको नाममा जे–जे भत्काइएको थियो, विकासको नाममा त्यही–त्यही बनाइन थालियो ।
आममान्छेले त के नै पो पाउनुथियो र ? उनीहरू फेरि फर्किएर त्यहीँ आइपुगे, जहाँबाट आन्दोलन सुरु गरेका थिए ।
बन्द टुंगियो । स्कुल खोलियो । गुरुमा फेरि फर्किएर मेरो गाउँ आइपुगिन् ।
लामो बन्द भएकाले स्कुल ओडार बनेको थियो । नानीहरू पढ्नलाई अल्छी गर्ने भइसकेका थिए । तैपनि, उनले गाउँलेहरूलाई बोलाएर स्कुल मर्मत गर्न लगाइन् । नयाँ नानीहरूलाई बटुलिन् । र, फेरि पढाउन सुरु गरिन् ।
नयाँ पिँढीले फेरि अक्षर सिक्न थाले ।
केही वर्ष त्यसै बिते ।
अलि–अलि अक्षर चिनेपछि पो मेरा गाउँकाहरूले बल्ल बुझे–
आन्दोलनले पोलेको गाउँको घाउ उस्तै छ, जसलाई सेक्न कुनै सरकार आइपुगेन ।
जो–जो आन्दोलनभरि रगत माग्न आएका थिए, उनीहरूलाई थाहै थिएन, मेरो गाउँ वर्षौंदेखि पिउनेपानीका निम्ति तड्पिरहेको छ । जसले गोर्खाल्यान्ड भएपछि ‘सुँगुरले नि नुनिया खान्छ’ भनेर सपना देखाए, उसलाई थाहै थिएन, मेरो गाउँ हरेक चैत–वैशाखमा आधापेट हिँडिरहेको हुन्छ ।
पिउनेपानीका निम्ति हामीले कुजुदाङ पुग्नुपथ्र्यो । अस्पतालका निम्ति मालबजार पुग्नुपथ्र्यो । अदुवा बेच्नलाई जोरलाइन पुग्नुपथ्र्यो । खोर्सानी बेच्नलाई ओदलाबाडी पुग्नुपुथ्र्यो । रासन थाप्न निम्बोङ पुग्नुपथ्र्यो । नेता भेट्न कफेर जानुपथ्र्यो ।
नजिकमा भएको एउटै थोक प्राइमरी स्कुल नै थियो । जो बिस्तारै भत्किएर लथालिंग बन्दै थियो ।
स्कुल भत्किन थालेपछि गुरुमाले नयाँ आइडिया सोचिन् । गाउँलेलाई एकट्ठा गरिन् । सम्झाइन् र नयाँ स्कुल भवन निर्माणका निम्ति आवेदन तयार गरिन् । अक्षर चिन्नेहरूको हस्ताक्षर बटुलिन् । नचिन्नेहरूको बुढीऔँलाको छाप जम्मा गरिन् । र हिँडिन्, कालेबुङ खण्ड विकास कार्यका लागि ।
दुई वर्ष त्यसै बिते । अहँ, तर केही भएन । स्कुल भवनको देवल भत्किएर झर्न लागेका थिए । बर्खामा पानी चुहिएर बस्नै गाह्रो हुन लागेको थियो । यस्तो वेलामा
चुनाव आइपुग्यो ।
सरकारी मान्छे होस् वा नेता, गाउँमा कोही आउँथे भने उनी चुनावकै वेला आइपुग्थे । आन्दोलनमा मरन्च्याँसे देखिएका नेता दागोपाप बन्नासाथ कति खाइलाग्दा भएछन्, मेरा गाउँलेले भोट बल्ल नजिक देख्न पाए ।
ल्यान्डका कुरा गर्नेहरूले गाउँलाई यसपटक अर्को नारा दिए, ‘भोट दिनुहोस्, जित्नासाथ गाउँमा रोड आइपुग्छ ।’
गाउँलेका सपनामा फेरि युरिया लाग्यो, बढेर अलि ठुल्ठूला भए ।
तर, स्कुलको अवस्थाले हैरान भएकी गुरुमाले हठात् गाउँलेहरू बटुलिन् । र भनिन्, ‘यसपालि कसैले भोट हाल्नुपर्दैन । किनकि, यो स्कुलको निम्ति मैले स्वीकृति दिनुपर्छ । स्वीकृति नदिएसम्म यहाँ मतदान केन्द्र नै बन्दैन । र, यसपालि म यसलाई मतदान केन्द्र नै बनाउन दिन्नँ । जब सरकारले नयाँ भवन बनाउँछ, तब मात्रै यो मतदान केन्द्र बन्छ ।’
गाउँलेहरू निराश भए । ‘बल्ल रोड आउलाजस्तो भएको थियो, गुरुमाले बिगा-यो ।’ नयाँ हल्ला चल्न थाल्यो । केही नहुँदा एक हुने मेरो गाउँ, आश्वासनमै दुई फ्याक भयो । राजनीतिले कति सहजै मान्छेलाई विभाजन गर्ने रहेछ ? मेरा गाउँलेले कुरा बुझ्नै सकेनन् ।
जे होस् । गुरुमाले कुरा बुझिन् । उनले पोलिङ अफिसरसँग कुरा गरिन् । अफिसरले स्कुलको रिपोर्ट विभागसम्म पु-याइदिने आश्वासन दिए । गुरुमाले मतदान केन्द्रका निम्ति हस्ताक्षर गरिदिइन् ।
चुनाव धूमधामले भयो । मेरो गाउँले पहिलोचोटि दुई भाग भएर मतदान गरे ।
अनि ?
अरू के हुन्थ्यो र ? भोटपछि फेरि नेताहरू गुमनाम भए । रोडको कुरासम्म गरेनन् । तर, अचम्म भयो । खण्डविकास कार्यालयमार्फत स्कुल भवन बन्यो ।
अब गाउँमा नयाँ स्कुल बिल्डिङ बन्यो । मैले त्यहीँ ‘क’ ‘ख’ सिक्न थालेँ ।
०००
स्कुल एकदम खुला थियो ।
गुरुमा एक्लैले ढुंगे क्लासदेखि चार क्लाससम्म पढाउनुपथ्र्यो । त्यसैले, कुनै कोठा बनाएका थिएनन् । पछि सर पनि आइपुगे । त्यसपछि चार क्लासका निम्ति अलग कोठा बनाइयो ।
अघि नै भनेँ नि, सर, गुरुमा स्कुलमै बस्नुहुन्थ्यो । अहिले बुझ्दा, सर गुरुमाकै खातिर हाम्रो गाउँ आउनुभएको रहेछ । उनी हामीलाई भोलेन्टियर भएर पढाउँथिन् ।
सब ठीकठाक चल्दै थियो । अचानक हाम्रो गाउँमा अर्को नयाँ स्कुल खुल्यो । त्यहाँ आइनम दाजुले बिहान दुई घन्टा पढाउन सुरु गरे ।
हामीले बिहान र दिउँसोका दुवै स्कुल भ्याउन थाल्यौँ । ध्यान दिनुपर्ने एउटै कुरा थियो, बिहान पढाउनेलाई ‘गुरुजी’ भन्नुपथ्र्यो । दिउँसो पढाउनेलाई ‘सर, गुरुमा’ नै भनेपुग्थ्यो ।
निकै पछि थाहा पाएँ, बिहानको स्कुल राष्ट्रिय स्वयंसेवक संघको रहेछ जहाँ धार्मिक प्रवचन धेर हुन्थ्यो । राइम्समा कट्टर हिन्दू भजन गाउन लगाउँथ्यौँ । दिउँसोको सरकारी स्कुल हो । तर, गुरुमा क्रिस्चियन भएकाले प्रभुको भजन गाउन सिकाइन्थ्यो ।
अब हामीले बिहान ‘जननी भारत भूमि’ गाउन थाल्यौँ । दिउँसो ‘ईश्वर स्वर्गमा छ’ नै गाइरह्यौँ ।
केटाकेटीलाई धर्म र भजनसँग केको सरोकार हुन्छ र ? हामीले दुवै धर्मको भजन कण्ठस्थ गरिदियौँ ।
भजन कण्ठस्थ गर्दैमा कथा कहाँ सकिनेवाला थियो र ? गाउँमा नयाँ समस्या थपियो । उसवेला मिसिनेरीका क्रिस्चियन धर्म बुझाउन गाउँतिर आइपुग्थे । उनीहरूलाई रोक्नका निम्ति बिहान पढाउने गुरुजीले हामीलाई खुलेआम प्रयोग गर्न थाले । गुरुजीले भनेको कुरा नसुनी धर पाइन्छ र ? मन नमानी–नमानी अब हामी प्रचारक केटीहरूको कट्टर दुस्मन बन्यौँ ।
त्यसपछि ?
क्रिस्चियन केटीहरू स–साना पर्चा बाँड्दै गाउँघर घुम्थे, हामी त्यसलाई बटुलेर बाटोतिर च्यात्दै हिँड्थ्यौँ ।
त्यस्तो वेला कमेराका दुई घर क्रिस्चियन भए । उनीहरूलाई फादरले बक्तिजम दिएपछि गाउँमा पूरै आगो लाग्यो । गाउँभरिका मान्छेहरू उनीहरूको घर घेराउमा पुगे ।
२४ घन्टा संघर्ष भयो । हात हालाहालको स्थिति बन्यो । तैपनि दुवै परिवार हिन्दू धर्ममा फर्किएनन् । उनीहरू क्रिस्चियन नै हुने भए । ठीक त्यही वेला हो, गाउँको एउटा समूहले सर–गुरुमालाई तारो बनायो । भनियो, ‘प्रचार गर्ने काम सर गुरुमाले गर्दै छ नि ! यो क्रिस्चियन गुरुमा आएपछि नै गाउँमा धर्मको प्रचार हुन थालेको हो ।’
मेरो गाउँ फेरि धर्मको नाममा दुई भागमा बाँडियो ।
गुरुमाले फेरि कुरा बुझिन् । गाउँलेहरू बटुलिन् र बैठक गरेर भनिन्, ‘धर्ममा लडाइँ गर्ने ता मूर्खहरू हो ! आरएसएसले यसरी तानाशाही मच्चाउन पाउँदैन । मेरो कोठामा गएर हेर्नु, कुन–कुन भगवान्का फोटा छन् ?’
गुरुमाको कोठामा प्रभु इशुदेखि गौतमबुद्धसम्म हाँसिरहेका थिए ।
गाउँलेहरूले बल्ल कुरा बुझ्न लागेका थिए । त्यहीवेला गुरुमाले अन्तिम घोषणा गरिदिइन्, ‘यस ठाउँका निम्ति पन्ध्र वर्ष मैले संघर्ष गरेँ । तर, अन्तमा हारेँ । मेरो ट्रान्सफर भयो । अब कहिल्यै नफर्किने गरी कालेबुङ फर्किँदै छु ।’
मैले त्यहीँ वर्ष चार क्लास सकेको थिएँ । गुरुमाले हामी सबैलाई स्कुलमा अन्तिमपटक बोलाउनुभयो । त्यसपछि केहीबेर टिल्पिलाउनुभयो ।
र सुस्तरी गाउन थाल्नुभयो, ‘ईश्वर स्वर्गमा छ !’
अनि ?
सर गुरुमाले गाउँ छाड्नुभयो ।
०००
दिन उत्तिकै बितिरहे ।
राजनीति गर्नेहरूले गाउँलाई टुक्र्याउने खेल खेलिनै रहे । धर्मका निम्ति लड्नेहरूले बाइबल च्याति नै रहे । बनिएको स्कुल फेरि पुरानो हुँदै गयो । अलि–अलि पढ्नेहरू सहरतिर लागे । यस्तो वेला बल्ल मैले कलेजको दैलो टेकेँ ।
अब सर र गुरुमाको याद कागजमा पेन्सिलले लेखिएका अक्षरजस्ता भइसकेका थिए । केही च्यातिएर जान लागेका थिए । केही उप्किएर गइसकेका थिए । पन्नामै रहेका पनि खिएर धमिला भइसकेका थिए ।
जम्मै अक्षरहरू मेटिन लाग्दा हो । अचानक एक दिन खबर कागजमा रगतसरिको सरको फोटो छापिएको देखेँ ।
उतिखेर म बर्खर पत्रकारितामा छिर्दै थिएँ । दोस्रो चरणको गोर्खाल्यान्ड आन्दोलनले दार्जिलिङ पूरै बन्द थियो ।
मदन तामाङको हत्या भएको ठीक दश दिनपछिको घटना हो । रगतले ओतप्रोत मेरा सर अस्पतालमा लम्पसार थिए ।
मेरो श्वास बन्द होलाजस्तो भयो । सर मरेको समाचार पढिसकेपछि पो बल्ल बुझेँ, उनलाई दिउँसै कुटेर मारिएको रहेछ । सरको ठूलो गल्ती के थियो भन्नुस् न ? उनले पुरानो दललाई छाडेनन् । आन्दोलनकारी दलको झन्डा समाएनन् ।
झन्डाको बदला हत्या ? यस्तो आन्दोलनमा नै सम्भव हुन्छ । दार्जिलिङमा नै सम्भव हुन्छ ।
तर, गर्ने के ? सर आन्दोलनकारी दलका क्याडर थिएनन् । त्यसैले आन्दोलनमा नै मरे पनि सहिदको सूचीमा उनी परेनन् ।
दुनियाँले उनलाई उसरी नै भुले, जसरी प्यास मेटिएपछि केही क्षणका लागि मान्छेले पानीको धारा बिर्सिदिन्छन् । जसरी भोक मेटिएपछि केही क्षणलाई मान्छेले खानाको भान्सा भुलिदिन्छन् ।
मैले पनि त्यसरी नै सरलाई बिर्सिदिएँ ।
के मेरी गुरुमाले पनि सरलाई भुलिन् होलान् त ? अहँ त्यो कसरी सम्भव हुन सक्थ्यो र ??
हजार मान्छेले मुख सिएर बसेको दार्जिलिङमा हठात् मेरी गुरुमाले एक दिन आवाज निकालिन् । मैले विश्वास नै गरेको थिइनँ । हाड र छाला मात्रै भएकी मेरी गुरुमामा त्यस्तो तागत कहाँबाट आयो कुन्नि ? उनले दुनियाँलाई सुनाइन्, ‘मेरा पतिलाई कसैले मारेको होइन । उनलाई लिएर राजनीतिकरण नगरिदिइयोस् ।’
जसले मलाई अक्षर सिकाइन् । मान्छेले गर्ने धर्म र राजनीति पढाइन् । धेरथोर जीवन बुझाइन् । उसले आफ्नै जीवनबारे यत्रो ठूलो झुट कसरी बोल्न सक्छ हँ ?
अबचाहिँ, मैले गुरुमालाई नभेटी बस्न सकिनँ ।
पूरै डेढ दशकपछि हो, मैले मेरी गुरुमालाई भेटेँ । उनका सिलिक्क परेको कपाल, झुस्लुंग भइसकेको थियो । डिम्पल बस्ने गालामा चाउरी परिसकेको थियो । सर्लक्क परेका हातखुट्टा नसासरि बनेको थियो ।
त्यही कमजोर शरीरलाई मैले जीवनकै बलियो प्रश्न सोधेँ, ‘गुरुमा, सरको केसचाहिँ कहाँ पुग्यो नि ?’
उनी केही क्षण मलिन भइन् । त्यसपछि सुस्तरी भनिन्, ‘म एउटी विधुवा मान्छे न्यायका निम्ति कहाँ–कहाँ पुगुँ ? मैले केस फिर्ता लिएँ । अपराधीलाई अब न्यायालयले होइन, ईश्वरले सजाय दिनेछन् ।’
त्यसपछि भक्भकिँदै त्यही गीतको अन्तिम लाइन दोहो-याइन्, ‘ईश्वर स्वर्गमा छ !’
म अब केटाकेटी थिइनँ । त्यसैले मैले विश्वास गरिनँ,
‘के साँच्चै ईश्वर स्वर्गमा छ होला र?’
कालेबुङ, भारत
ईश्वर स्वर्गमा छ !
सुझावित समाचार
मन परेका ६ पुस्तकबारे लेखक, अनुसन्धाता जेबी विश्वकर्मा
मलाई दर्शनशास्त्र, इतिहास, समाज, राजनीति र संस्कृतिका विषयमा लेखिएका आख्यान र गैरआख्यान दुवै किसिमका पुस्तक मनपर्छ । यस्ता पुस्तक…
एक कविको न्यायालय
कवि मन र उपमेयर मनबिच द्वन्द्व त चल्छ नै । द्वन्द्वभन्दा धेरै कार्याेन्मुख भएकाले सोहीअनुसार काम गर्छु ।
कवि तथा लेखक प्रगति राईलाई मन परेका पाँच पुस्तक
पुस्तक पढ्ने कारण व्यक्तिपिच्छे फरक हुन सक्छ । मैले चाहिँ आफूलाई द्विविधाबाट निकाल्न पुस्तक पढ्न थालेको हुँ । कुनै काममा द्विविधा …
कर्मकाण्ड सिकाउने अग्निस्थापना विधि
संस्कृत अध्ययन गर्नुभएको छैन, तर कर्मकाण्ड गर्न चाहनुहुन्छ भने पण्डित सुरज पराजुलीको विधिनिषेधादि प्रमाणसहितको अनुसन्धानात्मक सँगा…
समाजशास्त्री राम गुरुङलाई मन परेका सात पुस्तक
एभिक्टेड – प्रोभर्टी एन्ड प्रफिट इन द अमेरिकन सिटी : यो पुस्तक अमेरिकन समाजशास्त्री म्याथ्यु डेसमन्डले लेखेका हुन् । पुस्तकमा…
जब मोहनशमशेरले नेपालको झन्डा परिवर्तन गर्न आदेश दिए...
सन् १९४७ मा नेपाल–भारत संयुक्त अधिराज्यबिच नेपाली नागरिकलाई दुवै सेनामा भर्ना गर्ने त्रिपक्षीय सम्झौता, १९५० को शान्ति तथा…