बुबाले तोडेकै जेलमा बन्दी बनेँ : प्रकाशमान सिंह

नयाँ पत्रिका नयाँ पत्रिका
शनिबार, २३ चैत, २०७५
डिजिटल संस्करण

९९७ सालमा बुबा (गणेशमान सिंह) पक्राउ पर्नुभयो । ००१ सालमा उहाँले भद्रगोल जेल ब्रेक गर्नुभयो । राणाशासनलाई चुनौती दिएको भन्दै बुबाको ठूलो फोटोसहित गोरखापत्रमा ‘वान्टेड’ छापियो । म चकित भएँ । उहाँले भारतमा बिपी कोइरालासँग मिलेर कांग्रेस गठन गर्नुभयो । ००७ सालको क्रान्तिको तयारी गर्न फेरि नेपाल फर्किनुभयो । 

०१७ सालमा तत्कालीन राजा महेन्द्रले ‘कु’ गर्दा म एक कक्षा पढ्दै थिएँ । प्रजातन्त्रको अपहरणपछि बुबालाई सुन्दरीजल जेलमा राखियो । त्यसवेला महिनाको एकपटक भेट्न पाइन्थ्यो । तर, बुबाले लामो समयसम्म कसैसँग भेट्नुभएन । के कारणले भेट्नुभएन, म सानै भएकाले उति थाहा पाइनँ । करिब तीन वर्षपछि मात्रै बुबासँग भेट भयो । 

हामी सपरिवार बुबालाई भेट्न गयौँ । जेलको गेटछेउमा भेट्ने ठाउँ थियो । फलफूलहरू लगेका थियौँ । प्रहरीले चाखेपछि मात्रै बुबालाई दिए । हामीलाई जेलको बिल्डिङ परपर घुमाइयो । मैले त्यहीँ पहिलोपटक किसुनजी (कृष्णप्रसाद भट्टराई), बिपी कोइराला, देवानसिंह राई र रामनारायण मिश्रलगायतलाई देखेँ । तर, उहाँहरूसँग दोहोरो संवाद भएन ।

कुनै काल्पनिक कथानायकको गाथाजस्तै छ, गणेशमानको कहानी जसले नेपाली जनताको दिल र दिमागलाई ७ दशकभन्दा बढी तरङ्गित बनाइरहेको थियो । उनी युवावस्थाको जस्केलो पार गर्ने वेलासम्म अनेक किंवदन्तीका पात्र बनिसकेका थिए ।
 

जेलमा भेट्दा बुबाले ‘राम्रोसँग पढ’ भन्नुभएको थियो । बुबा जेल पर्नुको कारण धेरथोर थाहा थियो । बुबा त्यहाँ ८ वर्ष बस्नुभयो । जेलबाट छुटेपछि घरमा छोटो समय बस्नुभयो । त्यसपछि जिल्ला भ्रमणमा निस्किनुभयो । जिल्ला भ्रमणमा म पनि बुबासँगै गएको थिएँ । मधेसका जिल्ला घुमेको सम्झना छ मलाई । 

उहाँ एकदमै लामो भाषण गर्नुहुन्थ्यो । सुरुसुरुमा मलाई दिक्क लाग्थ्यो । पछि बुबाले लामो बोल्नुहुन्छ भन्ने थाहा पाएपछि साथीसँग मिलेर फिल्म हेर्न जान्थेँ । फिल्म हेरेर फर्किँदासम्म उहाँ बोलिरहनुहुन्थ्यो । तर, अचम्म ! मानिसहरू हलचल नगरी घन्टौँ मत्रमुग्ध भई भाषण सुनिरहन्थे । गणेशमान सिंहको भाषण छ भनेपछि मानिसहरू टाढा–टाढाबाट आउँथे । भाषण गर्दा हँसाउने, टुक्का हाल्ने उहाँको बानी थियो । जिल्ला भ्रमण गर्दागर्दै नेपालमा बस्ने वातावरण भएन, बुबाको । त्यसपछि निर्वासनमा जानुभयो । भारतमा अर्को ८ वर्ष बित्यो । ०३३ सालको मेलमिलाप नभएसम्म उहाँ देशबाहिरै रहनुभयो । 
०००
बुबा घरमा धेरै समय बस्न पाउनुभएन । उहाँसँग घरपरिवारमा लामो समय सँगै बसेको सम्झना छैन । उहाँ मानिसलाई रैतीबाट नागरिक बनाउन संघर्ष गर्नुभएको व्यक्ति । भनिन्छ, नेपालको प्रजातान्त्रिक आन्दोलनमा उहाँले जस्तो दुःखकष्ट अरू कसैले भोगेन ।  ४१ वर्षअघि बुबाले जुन जेल ब्रेक गर्नुभएको थियो, म त्यही जेलमा बन्दी बनेँ । समय फरक थियो । तर, जेल एउटै थियो । बुबा राणाको खिलाफमा आन्दोलन गर्दा जेल पर्नुभयो । म प्रजातन्त्रका लागि आन्दोलन गर्दा जेल परेँ । ०४२/०४३ सालमा सत्याग्रहको समयमा ९ महिना भद्रगोल जेल बसेँ । जेलको पर्खाल हेर्दै मनमनै भनेँ, ‘दुईवटा अग्ला–अग्ला पर्खाल कसरी नाघ्नुभयो होला ? 

उहाँ आफूले गर्नुपर्ने काम आफैँ गर्नुहुन्थ्यो । आफू दुःख सहेर अरूलाई दुःख नहोस् भन्ने ठान्नुहुन्थ्यो । निकै ठूलो पर्सनालिटी भएको मान्छे । जति ठूलो व्यक्तित्व त्यति नै विशाल मानवीयता थियो उहाँमा । सबैसँग सरल व्यवहार गर्नुहुन्थ्यो । सामान्य मान्छेदेखि ठुल्ठूला नेतासँग बोल्दा पनि उहाँको एउटै भाषा र शैली हुन्थ्यो । एकदमै दयालु हृदयको हुनुहुन्थ्यो । कसैलाई दुःख परेको देख्नेबित्तिकै आफूले लगाएको कोट पनि फुकालेर दिनुहुन्थ्यो । सहयोग माग्न आउनेलाई खाली हात फर्काउनुभएन । 

बुबाले सिद्धान्त र आदर्शको राजनीति गर्नुभयो । अवसरवादी राजनीति होइन, आदर्शको राजनीति गर्नुपर्छ भन्नेमा उहाँको जोड थियो । ०४६ मा उहाँकै नेतृत्वमा आन्दोलन गर्न कम्युनिस्टहरू तयार भए । त्यसवेला कम्युनिस्टहरू चिराचिरामा विभाजित थिए । कार्यगत एकता त गर्ने भनियो, तर कोसँग गर्ने ? कुन समूहसँग गर्ने ? कम्युनिस्टहरूलाई संयुक्त मोर्चा बनाएर आउन बुबाले सुझाब दिनुभयो । सहाना प्रधानको नेतृत्वमा वाममोर्चा गठन भयो । त्यसपछि बुबाकै नेतृत्वमा ०४६ को आन्दोलन अघि बढ्यो । 

बिपी कोइरालाले उहाँलाई ‘मास लिडर’ भनेर त्यत्तिकै भनेको होइन रहेछ । दूरदराजको जनताले खेपिरहेको दुःखकष्ट उहाँले नजिकबाट महसुस गर्नुभयो । नजिकबाट बुझ्नुभयो । आममानिसले बुझ्ने भाषामै भाषण गर्नुहुन्थ्यो । आफ्ना विचार राख्नुहुन्थ्यो । त्यो उहाँको विशिष्ट क्षमता थियो । नेपालको माटो र आमजनताको ढुकढुकीसँग उहाँ एकदमै नजिकबाट जोडिनुभयो । 

बुबाको समयमा सबैतिर गाडी र प्लेनको सुविधा थिएन । त्यस्तो वेलामा पनि उहाँ कर्णालीबाहेक सबै जिल्ला घुम्नुभयो । देशको कुनाकुना पुग्नुभयो । घर आउनुभएका वेला पुगेको ठाउँको चर्चा गर्नुहुन्थ्यो । अहिले पनि म जिल्ला–जिल्ला पुग्दा यति सालमा तपाईंको बुबा यहाँ बस्नुभएको थियो भनेर गाउँलेले सुनाउँछन् । 

४१ वर्षअघि बुबाले जुन जेल ब्रेक गर्नुभएको थियो, म त्यही जेलमा बन्दी बनेँ । समय फरक थियो । सन्दर्भ फरक थियो, तर जेल एउटै । जेलको पर्खाल हेर्दै मनमनै भन्थेँ, ‘दुईवटा अग्ला–अग्ला पर्खाल कसरी नाघ्नुभयो होला बुबाले ?

प्रधानमन्त्री पद अस्वीकार 
०४६ को आन्दोलनपछि उहाँलाई राजा वीरेन्द्रबाट प्रधानमन्त्री बन्ने प्रस्ताव आयो । धेरै शुभचिन्तकहरूले उहाँलाई प्रधानमन्त्री बन्न आग्रह गरे । आमाको पनि आसय प्रधानमन्त्री पद सम्हाले हुन्थ्यो भन्ने थियो । उहाँले नै किसुनजीलाई अघि सार्नुभयो । ‘प्रधानमन्त्री बन्न यति त्याग र संघर्ष गरेको होइन’ भन्नुभयो । राजाले चाहेको मान्छे प्रधानमन्त्री हुने होइन, जनताको छोराले जसलाई रुचाउँछ त्यही प्रधानमन्त्री बन्छ भन्नुहुन्थ्यो । 


साँचो प्रजातान्त्रिक नेता कस्तो हुने भन्नेबारे सुन्दरीजल जेलमा उहाँहरूले निकै बहस गर्नुभयो । प्राप्तिका लागि संघर्ष गरेजस्तै प्राप्त भइसकेपछि पनि त्यो नेता जनताको बीचमा पास हुन्छ कि हुन्न भन्ने महत्वपूर्ण  ठान्नुभयो उहाँहरूले । यदि पास भयो भने मात्रै साँचो नेता हो भन्ने निष्कर्षमा उहाँहरू पुग्नुभयो । शक्तिमा पुगेपछि पनि संषर्घकालीन दिनहरू बिर्सन्छ कि बिर्संदैन ? शक्तिमा पुगेपछि अरूलाई हेर्छ कि हेर्दैन भन्ने प्रश्नले नै साँचो प्रजातान्त्रिक नेता चिनिने उहाँको निष्कर्ष थियो । अहिलेका नेताहरू कति साँच्चैका नेता हुन् भनेर चिन्ने मापदण्ड एउटा यो पनि हो  । 

०४६/०४७ मा बहुदलीय व्यवस्थाको स्थापना भएपछि आर्थिक क्रान्तिको आवश्यकता छ भन्नुभयो । उहाँले आर्थिक क्रान्ति नगरी राजनीतिक उपलब्धिको संरक्षण गर्न सकिँदैन भन्नुभयो । ०४६ को परिवर्तन सीमित वर्ग र जातिका लागि मात्रै आएको होइन, सबैका लागि आएको हो भन्नुहुन्थ्यो । यो परिवर्तन सबैको प्रयासबाट आएको हुनाले सबैले अनुभूत गर्न पाउनुपर्छ भन्नुहुन्थ्यो । दूरदराजका अवसर नपाएका जातजातिले पनि अवसर पाउनुपर्छ भन्नुहुन्थ्यो । अहिले हामीले गर्ने समावेशिताको कुरा उहाँले त्यसवेला नै गर्नुभएको थियो । समावेशिता, आर्थिक क्रान्ति र मूल्यको राजनीतिमा उहाँको जोड थियो । 

आइकनको खोजी
०४६ को आन्दोलनको नेतृत्व गणेशमान सिंहले गर्नुभयो । ०६२/०६३ को आन्दोलनको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गर्नुभयो । अहिले कुनै लिडर र आइकन नेपाली राजनीतिमा देखिएको छैन । नेपालमा भएको परिवर्तनलाई आममानिसले अनुभूत गर्न पाएका छैनन् । जनतालाई परिवर्तनको अनुभूत गराउने नेतृत्व अहिले हामीसँग छैन । समृद्धिको अभियान अगाडि बढाउन सक्ने नेताको अहिले आवश्यकता छ । जनतालाई परिवर्तनको अनुभूति दिलाउन सक्ने नेताको खोजीमा छ, देश । 

गणेशमान भन्थे, ‘म लौहपुरुष होइन’ : हरि अधिकारी 
विक्रमको बीसौँ शताब्दीको अन्तिम प्रहरमा राणा शाहीविरुद्ध विद्रोहको उद्घोष गर्दै सुरु भएको हाम्रो देशको लोकतान्त्रिक आन्दोलनका कुल एक दर्जन जति ठूला नेताहरूमध्ये एक गणेशमान सिंहको निधन भएको २१ वर्ष पूरा भएको छ । गणेशमान सिंहले महाप्रस्थान गरेको दिन २०५४ साल असोज २ गतेदेखि अहिलेसम्म दुई दशक लामो यस समयावधिमा देशमा केही ठूला परिवर्तन भएका छन् । शासकीय प्रणालीका रूपमा अढाई सय वर्षदेखि चल्दै आएको शाहवंशीय राजतन्त्रको पतन भई देश संघात्मक लोकतान्त्रिक गणतन्त्र बनेको छ ।

यसको प्राणप्रतिष्ठा गर्ने संविधान जारी भई सोही संविधानले परिकल्पना गरेका संघीय संरचनाहरूलाई वैधानिकता दिन सबै तहका निर्वाचनहरू पनि सम्पन्न भएका छन् । शक्तिसम्पन्न राजाको प्रत्यक्ष निर्देशनमा चलेको दलविहीन पञ्चायत व्यवस्थाविरुद्ध ०४६ सालको हिउँदमा अन्तिम र निर्णायक आन्दोलन गर्ने क्रममा गणेशमानकै आह्वानमा एक ठाउँमा जम्मा हुन तयार भएका कम्युनिस्टहरूको एकता अझ मजबुत भएको छ । नेकपाका नामले एक भएका उनीहरू निर्वाचनका माध्यमबाटै शासकीय शक्ति बनेका छन् । 

राजनीतिक विकासका दृष्टिले देशले निश्चय नै पनि एउटा ठूलो फड्को मारेको छ । जनतामा राजनीतिक जागरुकता बढेको छ । देशमा विद्यमान परम्परागत सामाजिक असमानताहरू हटाउने दिशामा केही महत्वपूर्ण काम भएका छन् । नेताहरूले निहित स्वार्थपूर्तिका लागि दुरुपयोग गरेका कारणले त्यति प्रभावकारी हुन नसकेको भए तापनि समानुपातिक प्रतिनिधित्वका लागि गरिएको संवैधानिक व्यवस्थाले यसअघि नेपथ्य र किनारामा धकेलिएका वर्गहरूबाट राजकाजका निर्णायक तहहरूमा प्रतिनिधित्व हुने कुराको केही हदसम्म प्रत्याभूति भएको छ ।

निर्वाचनबाट पूर्ति हुने सार्वजनिक पदहरूमा महिलाहरू ३३ प्रतिशत हुनैपर्ने गरी तोकिएको छ । कतिपय कारणले प्रतिस्पर्धामा खरो उत्रिन नसक्ने वर्गको उत्थानका लागि विवादास्पद नै किन नहोस् आरक्षणको व्यवस्था गरिएको छ । हरेक वर्गका नेपाली जनतालाई नै निर्णायक शक्ति बनाएर देशलाई अगाडि बढाएर लैजाने अठोट संविधानमै अभिव्यक्त भएको छ ।

यी सब सकारात्मक विषयहरूको प्रकाशमा प्रथम दृष्टिले हेर्दा आजको नेपालको राजनीतिक स्थिति सकारात्मक र अग्रगामी जस्तो देखिन्छ । तर, बाहिर जस्तो देखिएको छ, यथार्थता त्यस्तो पटक्कै छैन । शासकीय अखाडामा पुग्ने मानिसको अदलाबदली हुने वा पालो फेरिनेबाहेक सत्ताको स्वरूप, नियत र शैलीमा थोरै मात्रामा पनि परिवर्तन आएको छैन । राजनीतिक स्तरमा भएका परिवर्तनहरू पित्तलको भाँडोमा लगाइएको सुनको जलपजस्ता मात्र साबित भएका छन् ।

जनआन्दोलन ०४६ सफल भई देश नयाँ युगमा प्रवेश गर्ने वेलामा गणेशमान सिंहले ‘देशले राजनीतिक क्रान्ति सम्पन्न गरेकाले अब सबैको ध्यान आर्थिक क्रान्ति गर्नमा केन्द्रित हुनुपर्छ र त्यसका लागि देशबाट भ्रष्टाचारलाई निर्मूल गरेर हटाउनुपर्छ’ भनेको कुरो अहिले पनि त्यत्तिकै अलपत्र परिरहेको हुनु देश अगाडि बढेको लक्षण हुन सक्दैन । सत्तामा सर्वसाधारण नेपालीको पहुँच फगत कागजमा सीमित भएको छ भने जनताका लागि भ्रष्टाचाररहित सुशासन कहिले हो कहिले देखेको एउटा धमिलो सपना मात्र ।


लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित विधिको शासन स्थापना गर्ने ध्येय प्राप्तिका लागि सारा जीवन समर्पित गरेका उद्भट क्रान्तिकारी सिंह जीवनको अन्तिम क्षणतिर निराशाको गर्तमा भासिएका थिए । देशमा व्याप्त बेथिति, कुसंस्कार, नैतिक पतन र सैद्धान्तिक विचलनको घटाटोप अन्धकारका कारण जुन कुण्ठाग्रस्त अवस्थामा उनको देहावसान भएको थियो, त्यसलाई समसामयिक नेपालको इतिहासको सबैभन्दा ठूलो त्रासदीका रूपमा लिनुपर्छ ।

उनले आजीवन आफ्नो रगत र पसिना बगाएर जोगाउँदै ल्याएको नेपालको लोकतान्त्रिक आन्दोलनको मियो, देशकै पुरानो र प्रतिष्ठित राजनीतिक संगठन नेपाली कांगे्रस पार्टी उनका निकट सहकर्मीहरूका कृपाले उनले देख्दादेख्दै एवं रोक्न खोज्दाखोज्दै सैद्धान्तिक तथा नैतिक विचलनको भयानक आहालमा डुब्न पुगेको थियो । न्याय र समतामा आधारित आदर्श नेपाली समाज निर्माणका लागि स्थापनाकालदेखि संघर्षरत राजनीतिक संगठन नेपाली कांग्रेसको त्यस्तो अधोगतिले दिएको मानसिक धक्काले सम्भवतः उनको जीजीविषालाई नै तोडिदिएको थियो ।

सिंहले आफ्नो जीवनका, गहन निराशाले कुँडिएका अन्तिम दिनहरू ललितपुर खुमलटारस्थित आफ्ना एक सहयोगी भक्तबहादुर मल्लको बङ्गालामा बिताएका थिए । सिंहको जीवनका सम्भवतः सबैभन्दा खराब ती दिनहरूमा म उनलाई भेट्न केही दिन बिराएर खुमलटार गइरहन्थेँ । ती दिनहरूमा उनको स्वास्थ्य प्रायः खराब रहने हुनाले उनले मानिससँग भेटघाट गर्न धेरै नै कम गरेका थिए । त्यसै पनि लाभ–हानीको हिसाबकिताबमा चल्ने दुनियाँमा मानसिक रूपले हतास र शारीरिक रूपले असहाय गणेशमानलाई भेट्न उत्सुक कति जना नै थिए होलान् र ? मजस्ता उनका भक्तलाई भने उनको नयाँ निवासको ढोका हमेसा नै खुला रहन्थ्यो । ती अविश्रान्त क्रान्तिकारी नेताको त्यतिवेलाको क्लान्त र जीवनप्रतिको भरोसाको ऊर्जाले दिने तेज हराएर धमिलो भएको अनुहार देख्दा मेरो हृदय विदीर्ण हुन्थ्यो । तैपनि, म त्यहाँ गइरहन्थेँ । म उनको व्यक्तित्वको सम्मोहनले पूरै लट्ठिएको जो थिएँ । 

गणेशमान कुनै पनि विषयलाई स्रोताको मर्ममा गड्ने गरी भन्न सिपालु थिए । व्यंग्य र हास्यको मसाला हालेर गम्भीरभन्दा गम्भीर विषयलाई पनि रसिलो तर चोटिलो बनाएर सुनाउने कलामा उनको जोडा नै थिएन भने पनि हुन्छ । उनको व्यंग्यको निशानाभन्दा बाहिर कोही पनि थिएन, उनी आफैँमाथि पनि व्यंग्यको तीर हानिरहेका हुन्थे । आफूलाई जनस्तरबाट दिइएको ‘लौहपुरुष’ को उपाधिका बारेमा उनले गरेको खुलासा यस्तो थियोः ‘मलाई तपाईंहरू लौहपुरुष भन्नुहुन्छ तर म त्यस उपाधिका लागि योग्य बिलकुलै छैन ।

तीनजना राजाहरूले घोटीघोटीकन मभित्रको लोहालाई सिध्याइसकेका छन् । अहिले त म लौहपुरुष होइन, लौह भष्मपुरुष भइसकेको छु ।’ उनको विचारमा नेपाली कांग्रेस र पूरा देशकै दुर्दशाको मुख्य कारण गिरिजाप्रसाद कोइरालाको ‘प्रजातान्त्रिक नेपालको निर्वाचित तानाशाह’ बन्ने अवान्छित महत्वाकांक्षा थियो । र, त्यस घातक महत्वाकांक्षामाथि अंकुश लगाउन सम्भव भएर पनि नलगाएकोमा लामो समयसम्म पार्टी सभापति रहेका कृष्णप्रसाद भट्टराईप्रति पनि उनको ठूलो गुनासो थियो । 

मैले राष्ट्रिय जनमत संग्रह (२०३७) र नेपाली कांग्रेसले निरंकुश दलविहीन पञ्चायत व्यवस्थाविरुद्ध गरेको सत्याग्रह आन्दोलन (२०४२ साल) देखि नै गणेशमान सिंहको नजिक रहेर उनका लागि लेखन र प्रकाशनसम्बन्धी काम गर्दै आएको थिएँ । जनआन्दोलन (२०४६) का समयमा त अमेरिकन न्युज एजेन्सी युपिआई र भ्वाइस् अफ् अमेरिकाका लागि स्ट्रिट रिपोर्टर एवं साप्ताहिक नेपाली आवाजको वरिष्ठ सम्वाददाताका रूपमा मैले लोकतान्त्रिक आन्दोलनका पक्षमा आफ्नो बुताले भ्याएसम्म काम गरेको थिएँ ।

आन्दोलनका वेला सिंहलाई चाक्सीबारीको उनको घरमै नजरबन्द गरिएको थियो तर उनीसँग भेट्न र कुरा गर्न पाउने व्यक्तिहरूमा म एकजना पनि थिएँ । त्यतिवेला विकसित भएको परस्पर विश्वास एवं भरोसाको सम्बन्ध उनको अन्तिम क्षणसम्म त्यत्तिकै मजबुत रह्यो । करिब २ दशक उनको निकट रहेर काम गर्दाको अनुभवका आधारमा म भन्न सक्छु– गणेशमान सिंह  जत्तिको गुणी मानिस एक युगमा एउटा मात्र जन्मन्छ । 

गणेशमान सिंहको व्यक्तित्वलाई एउटा शब्दमा परिभाषित गर्ने हो भने, ‘असाधारण’ भन्नुपर्ने हुन्छ । सृष्टिकर्ताले कुनै प्रकारको विशिष्ठ धातुको प्रयोग गरी बनाएजस्तो थियो, सिंहको अतुलनीय व्यक्तित्व । समग्रमा उनको व्यक्तित्वको निर्माण भएको थियो– कुनै महाकाव्यको धीरोदात्त नायकमा हुनुपर्ने धैर्य, ध्येयप्रतिको अविचलित निष्ठा, अपरिमित साहस, लगनशीलता, कष्ट सहन सक्ने अद्भूत क्षमता, त्यागको भावना, दया र करुणाजस्ता प्रसाद गुणहरूबाट । जीवन र जगत्लाई बुझ्ने एवं असल तथा खराबबीचको भेद छुट्याउने तीक्ष्ण अन्तर्दृष्टि, दैवी अवदानका रूपमा लिएर आएका उनमा किशोरावस्थामै वैचारिक परिपक्वता आइसकेको थियो । उनी आफ्नो जीवनको बाटो र लक्ष्यलाई लिएर कलिलै उमेरमा प्रस्ट भइसकेका थिए ।

गणेशमान सिंह आफ्नो धूनमा पक्का थिए । राणाहरूको हुकुमी शासनमा पशुको जस्तो दाशतापूर्ण जीवन बिताउन बाध्य पारिएका लाखौँ नेपाली जनताप्रति उनको हृदयमा असीम करुणा छचल्किरहेको थियो भने दिमागमा राणा शासनप्रति घृणाको ज्वारभाटा उठिरहेको । त्यो ज्वारभाटा क्रान्तिको चेतनामा परिणत भएपछि आभिजात्य कुलमा जन्मेका कारण प्राप्त भएको र भविष्यमा प्राप्त हुन सक्ने सबै प्रकारका पद, प्रतिष्ठा तथा पैसालाई गणेशमानले एक झट्कामा त्यागिदिएका थिए । उनको पारिवारिक पृष्ठभूमि, तत्कालीन सामाजिक परिवेश र विद्रोहको बाटोमा पाइला बढाउने वेलासम्म पाएको जे–जस्तो शिक्षा–दीक्षा प्राप्त गरेका थिए तिनको आलोकमा हेर्दा गणेशमानले देखाएको त्याग तथा बलिदानको त्यो महान् भावना अविश्वसनीय, आश्चर्यजनक र अप्रतिम थियो । 

बडाकाजी रत्नमान सिंहको वैभवशाली परिवारमा हुर्किएको हुल्याहा हेराकाजीबाट मातृभूमिलाई निरंकुशताको पिँजडाबाट मुक्ति दिलाउन आत्मबलिदानसम्म गर्न तयार क्रान्तिकारी युवकमा परिणत भएका गणेशमान सिंहको जीवनलाई निरन्तर संघर्षको कहिल्यै नटुङ्गिने शृंखला भन्न सकिन्छ । क्रान्तिमार्गमा पाइला बढाएपछि उनले पारिवारिक सम्बन्धका सबै बन्धनहरूबाट आफूलाई मुक्त पारेका थिए ।

राणा प्रशासनले आफूजस्ता विद्रोहीहरूलाई दिन सक्ने शारीरिक र मानसिक यातनालाई दृढ आत्मविश्वासका बलमा जित्ने अभ्यास गरी त्यसमा सफलता हासिल गरे उनले । त्यसपछि त उनलाई कायल बनाउने प्रयासमा कोर्रा हानिरहेका सिपाहीहरू थाकेर हैरान र लज्जित भएका थिए तर उनी कायल भएका थिएनन् । जन्मकैदको सजाय दिएर उनलाई राखिएको अभेद्य किल्लाजस्तो काठमाडांै सदर जेलको फलामे बन्धनलाई उनले एकलव्य प्रयत्नबाट तोडिदिएका थिए । उनको समकक्ष धैर्य, सौर्य र साहस बिपी कोइराला र टंकप्रसाद आचार्यमा बाहेक कुनै पनि नेपाली नेतामा देख्न पाइएको छैन । 

कुनै काल्पनिक कथानायकको गाथाजस्तै छ गणेशमानको कहानी जसले नेपाली जनताको दिल र दिमागलाई ७ दशकभन्दा बढी तरङ्गित बनाइरहेको थियो । उनी युवावस्थाको जस्केलो पार गर्ने वेलासम्म अनेक किंवदन्तीको पात्र बनिसकेका थिए । उनको व्यक्तित्व तथा चरित्रका अनेक विशिष्ठतालाई ध्यानमा राख्दै र उनले फत्ते गरेका अनेक अद्भूत कामलाई सम्झँदै नेपाली जनताले उनलाई स्वतःस्फूर्त ढंगमा अनेक मान–पदवीले विभूषित गरिदिएका थिए ।

उनी अल्लारे उमेरमा बिगडे दिल शाहज्यादा जस्तो हुँदा टोलछिमेकमा हाराँचा (नेवाःभाषामा ढीट हुल्याहा) भनिएका थिए । हेराकाजी हाराँचाबाट कायाकल्प भई क्रान्तिकारी योद्धा बनेका गणेशमान सदर जेलबाट भागेर राणाका पहरेदारहरूलाई जिल्याउँदै हिन्दुस्तान सकुशल पुग्न सफल भएपछि उनलाई ‘वीर गणेशमान’ को उच्च विशेषण दिएका थिए जनताले । जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि नझुक्ने, नडगमगाउने इस्पाती इरादाका पक्का भएकाले उनलाई लौहपुरुष पनि भनियो । नेपाली कांग्रेसले त औपचारिक निर्णय नै गरेर उनलाई सर्वमान्य नेताको स्थान दिएको थियो । 

जनआन्दोलन ०४६ उनकै आह्वान र नेतृत्वमा भएको थियो । त्यसको सफलतापछि केही अति उत्साही व्यक्तिहरूले उनलाई ‘प्रजातन्त्रका पिता’ पनि भने र उनको नाममा त्यो अस्वाभाविक पदवी चलाउने प्रयत्नसमेत गरे । तर, प्रजातन्त्रजस्तो व्यापक अर्थवत्ता भएको एउटा आदर्श जीवन पद्धतिको पितृत्व कुनै एक व्यक्तिमा निहित गराउन खोज्नु नै एक हास्यास्पद विषय भएकाले त्यो प्रयत्न खासै अगाडि बढ्न सकेन । कसैलाई कसैको पिता, माता वा भ्राता घोषित गर्ने कुरा त्यसै पनि जोखिमपूर्ण हुन्छ । धेरैजना मिलेर प्राप्त गरिने कुनै पनि कुराको स्वामित्व एक व्यक्ति वा व्यक्तिहरूको सानो समूहलाई दिने कुरामा सर्वसत्तावादको हरक आउन सक्छ । 

गणेशमान सिंहमा भएका अनेक प्रसाद गुणहरूको बारेमा राम्रोसँग खोजबिन गर्ने हो भने उनले जनस्तरबाट थप दुई–चार आकर्षक पदवी पाउनेछन् भन्ने विषयमा भने म ढुक्क छु । जनआन्दोलन ०४६ को लगत्तै पछि राजा वीरेन्द्रले प्रधानमन्त्रीको पद सम्हाल्न आग्रह गर्दा सिंहले सो पद नलिएर कृष्णप्रसाद भट्टराईलाई अन्तरिम सरकारको नेतृत्व गर्ने अवसर दिएकै हुन् ।

भट्टराईले अत्यन्त कुशलताका साथ संक्रमणकालको व्यवस्थापन गरेपछि गणेशमानको त्यो निर्णय सही साबित भएको थियो । त्यस घटनाको आलोकमा सिंहलाई त्याग वीरको पदवी दिन सकिन्छ । आफू स्वयं तत्कालीन समयको एउटा ‘लिजेन्ड’ भइसकेका भए पनि गणेशमान आफ्ना नेता बिपी कोइरालाका एक बफादार र अनुशासित तर हरेक मुद्दामा आफ्नो स्वतन्त्र राय राख्न सक्ने सहयोगी थिए । बिपीले गरेका निर्णयहरूका बारेमा चित्त नबुझ्दा राय बझाए पनि अन्त्यमा अनुशासित कार्यकर्ताका रूपमा नेताले निर्दिष्ट गरेको बाटोमा हिँड्दथे । 

चौबीसै घन्टा घोर साम्प्रदायिक मानिसले घेरिएर बस्नु परे पनि सिंह साम्प्रदायिक सोचबाट माथि थिए । पार्टीले ०४४ सालमा काठमाडांै नगर पञ्चायतको प्रधानपञ्चको चुनाव लड्ने निर्णय गरेपछि उनले त्यो महत्वपूर्ण  निर्वाचनको उमेदवारका रूपमा उनका निकटस्थ लगभग सबैको कडा विरोध हुँदाहुँदै पनि गैरनेवार हरिबोल भट्टराईलाई छानेका थिए । जनताको सामूहिक विवेकप्रति उनमा ठूलो भरोसा थियो । त्यही भरोसाका बलमा उनले नेवार बहुल मानिएको काठमाडौंमा जैसीबाहुन हरिबोल भट्टराईलाई जिताएर देखाइदिएका थिए । 


सिंहमा साहित्यकार, कलाकारहरूप्रति उच्च सम्मानको भाव थियो । तीन हप्तासम्म वीर अस्पतालमा राखिएका कवि मोहन कोइरालालाई दिल्ली लगेर उपचार गराउन अनिवार्य भएपछि मैले सिंहनिवासमा पठाएको खबरका भरमा सिंह आफैँ वीर अस्पताल आई कोइरालालाई हौसला प्रदान गरेका थिए । उनले कविको उपचारका लागि १० हजार भारु दिनुका साथै अखिल भारत आयुर्विज्ञान संस्थान (एम्स्) मा शल्यक्रियाको व्यवस्था मिलाउन त्यतिवेला काठमाडौं  कांग्रेसका सभापति वीरनाथ कर्माचार्यको उपचारका लागि दिल्लीमै रहेका पिएल सिंहलाई अह्राएका थिए ।

उनकै प्रयासले गर्दा कवि कोइरालाले त्यो खड्गो काटेका थिए । कवि वासु शशीको स्मृतिग्रन्थ तयार गर्ने क्रममा पनि सिंहकै प्रयासले गिरिजाप्रसाद कोइराला सरकारबाट ६० हजार प्राप्त भएको थियो । सिंहले जनस्तरमा पाएका मान, पदवीहरूको कुरा गर्दा मलाई काठमाडांैका नेवार मित्रहरूले उनलाई सम्बोधन गर्दा प्रयोग गर्ने गरेको ‘तःबा’ भन्ने शब्दको सम्झना हुन्छ । 

नेपाल भाषामा बुबाका दाइ अर्थात् ठूलोबुबालाई तरिबा भनिन्छ । उच्चारण भेदले गर्दा कतिपयले तरिबालाई तर्बा भनेको पनि सुनिन्छ । त्यसलाई झनै सजिलो र श्रुतिमधुर पारेर तःबा मात्र पनि भन्छन् धेरैले । तरिबा, तर्बा, तःबा जे भने पनि एउटै अर्थ लाग्ने नेवाः भाषाको यस शब्दले सम्बोधित व्यक्तिप्रति सम्बोधन गर्ने व्यक्तिले प्रकट गरेको विशेष सम्मानको भावलाई नै जनाउँछ ।

नेवारहरूको समाजमा जन्म दिने बाबुलाई दिने भन्दा बढी सम्मान बुबाको दाइ अथवा तःबालाई दिने परम्परा छ । नेवार छोराहरू बाबुसँग मित्रवत् हुन सक्छन् र तिनले आफ्नो बाबुलाई ‘अ..बा’ भनेर विनाखास दकस वा संकोच, फुक्काफाल शैलीमा सम्बोधन गर्न सक्छन्, तर तिनै नेवार युवकहरू ठूलोबुबा अर्थात् तःबालाई बोलाउनुप-यो भने मर्यादाको एउटा बन्धनमा अनायाश नै बाँधिएको अनुभव गर्छन् । नेवा समाजमा ठूलोबुबालाई ‘अ..तःबा’ भनेर सम्बोधन गर्ने कल्पनासम्म पनि गर्न सकिँदैन । 

म मेरा नेवार मित्र, मित्राणीहरूले गणेशमान सिंहलाई तःबा भनेर गरेको सम्बोधनलाई अति नै उपयुक्त र प्रतीकात्मक रूपले महत्वपूर्ण मान्दछु । प्रजातान्त्रिक आन्दोलनका प्रतीक पुरुष बिपीको मृत्यु भइसकेको र उनका सहोदर भाइ गिरिजाप्रसादले राजाको पाउमा प्रजातान्त्रिक आन्दोलनको इतिहासलाई चढाउन खुट्टा उचालिसकेको त्यस अँध्यारो समयमा टुहुरा बनेका सम्पूर्ण प्रजातन्त्रवादी नेपाली जनताका निम्ति गणेशमान सिंह तःबा नै थिए । अर्थान्तरमा तःबालाई कुटुम्बको मूली, अभिभावक वा नेता पनि त भन्न सकिन्छ नि ! 

सम्पादकको रोजाइ

सुझावित समाचार