नेपालको प्रजातान्त्रिक आन्दोलनका अप्रतिम नेता स्वर्गीय कृष्णप्रसाद भट्टराई (किसुनजी) र उहाँको जीवनको अन्त्यतिरको त्यस्तै १५–१६ वर्ष उहाँकी पूर्णतः समर्पित परिचारिका र अन्तरंग सहचरी रहेकी अमिता कपाली गिरीबीचको विशेष सम्बन्धलाई कुनै एउटा नाम दिएर पूर्ण रूपमा परिभाषित गर्न सायद सकिँदैन । धेरै विशिष्ट मानिसबीच विकसित विशेष सम्बन्धहरू यस्तै हुन्छन् । लौकिक परिभाषामा बाँध्न कठिन, सजिलैसँग वर्णन गर्न र व्याख्या गरेर बुझाउन नसकिने किसिमले जटिल र रहस्यमय पनि । किसुनजी र अमिताबीचको सम्बन्धलाई पनि यस्तै प्रकारको, सजिलो गरी बुझ्न नसकिने र रहस्यमयसमेत भन्न सकिन्छ । अमिता र आफ्नाबीच विकसित प्रगाढ सम्बन्धबारे जीवनको अन्तिम घडीसम्म एक शब्द पनि उच्चारण नगरेर स्वयं किसुनजीले त्यसलाई थप रहस्यमय र कांगे्रसजनका लागि चासोको विषय बनाइदिनुभएको थियो ।
अहिले फर्केर हेर्दा यस्तो लाग्छ, ती दुई एकदमै फरक पारिवारिक पृष्ठभूमि, फराकिलो उमेरको भिन्नता र प्राज्ञिक स्तर भएका व्यक्तिहरूलाई सायद नियतिले नै एक ठाउँमा भेला गराइदिएको थियो । नियतिलाई एकातिर राखेर भन्नुपर्दा ती दुईलाई एक ठाउँमा ल्याएर उभ्याइदिने तत्व भने नेपाली कांग्रेस पार्टी थियो जसको संस्थापक सदस्य किसुनजी हुनुहुन्थ्यो र लामो समयसम्म त्यस संगठनलाई उहाँले केन्द्रीय सभापतिका रूपमा नेतृत्व दिनुभएको थियो । अमिता कपालीका पिताजी मोहनलाल पनि नेपाली कांग्रेसकै निष्ठावान् कार्यकर्ता भएकाले अमितालाई बाइबर्थ कांग्रेस भन्न सकिन्थ्यो । उनी कांग्रेसको छात्र संगठन नेपाल विद्यार्थी संघको सदस्य हुँदै त्यसै दलको काठमाडांै महानगर कमिटीको वडा तहको संगठनमा सक्रिय थिइन् । वि.सं. २०४४ सालमा भएको तत्कालीन काठमाडाैँ नगरपञ्चायतको चुनावमा प्रधानपञ्च पदका लागि नेपाली कांग्रेसका उम्मेदवार हरिबोल भट्टराईको प्यानलबाट उठेकी उनलाई वडा नम्बर १ को सदस्य पदमा जित हासिल भएको थियो ।
विक्रमको ५० को दशकको सुरुका दिनमा अमिता किसुनजीको सम्पर्कमा आएकी थिइन् । त्यतिवेला किसुनजीलाई एकजना भरपर्दी निजी सहायिकाको आवश्यकता थियो र उहाँले सम्भावित उपयुक्त पात्रबारे यसो बुझेर खबर गर्न पार्टी अफिस र चाक्सीबारीमा भन्नुभएको थियो । आफ्नो घर वा अफिस दुवैतिर काम गर्ने निजी सहायकहरूका लागि जहिले पनि अलि अप्ठ्यारो र कडा स्वभावको हाकिम रहँदै आउनुभएकाले किसुनजीकहाँ काम गर्ने कामदार हत्तपत्त पाइँदैनथ्यो । हरेक काम तोकिएको समयमै पूरा भएको देख्न चाहने, दैनिकीको नियमिततामा १ मिनेट तलमाथि हुन नदिने, मातहतका कर्मचारीहरूले कसैका लागि कुनै पनि किसिमको सिफारिस गरेको मन नपराउने र लेखाइपढाइका दृष्टिले अत्यन्त प्रतिभाशाली कृष्णप्रसाद भट्टराईसँग जो कसैलाई पनि दकस लाग्नु स्वाभाविक नै थियो ।
त्यति नै वेला अमिता कपाली चाक्सीबारीबाट, सम्भवतः पिएल सिंहको सिफारिस लिएर किसुनजीको सहायिका भई काम गर्ने अठोटका साथ कोपुन्डोल हाइट पुगेकी थिइन् । झट्ट हेर्दा कुनै कोणबाट पनि किसुनजीकी सहायक भएर काम गर्न योग्य र उहाँको परिष्कृत रुचिअनुकूल हुनेजस्ती नदेखिने एथेलेटिक ज्यान र धोत्रो स्वर भएकी, पढाइलेखाइमा पनि कमजोर अमिता कपालीलाई किसुनजीले कुन अभिप्रेरणाले हो, ‘हुन्छ नानी भोलिदेखि नै आऊ’ भनेर जागिर पक्का गरिदिनुभएको थियो । त्यस दिन उहाँले गरेको त्यो निर्णय अहिले पनि धेरैका लागि एउटा रहस्यको विषय रहेको छ । एकथरी कांग्रेसजनको अनुमान छ, चाक्सीबारीको सिफारिसमा आएकीले किसुनजीले सुरुमा धेरै खोजिनिती नगरी अमितालाई काम दिनुभएको हुनुपर्छ । काम गर्न नसके हटाइदिउँला भन्ने पनि हुँदो हो उहाँको मनमा । अमितालाई हायर गर्दा किसुनजीको मनमा के थियो त्यसबारेमा त केही भन्न सकिँदैन, तर यो कुरोचाहिँ पक्का हो कि उहाँको निकट रहेका धेरैलाई अमिता त्यहाँ धेरै दिन टिक्छिन् भन्ने लागेको थिएन ।
सन्त नेता कृष्णप्रसाद भट्टराईको जीवनको उत्तरार्धका ती दिनहरूको पनि स्मरण गर्न खोज्दै छु, जुन समयमा उहाँलाई अमिता कपालीले एउटी भक्तिनीले मात्र दिन सक्ने किसिमको पूर्णतः निःस्वार्थ प्रेमको उपहार दिएकी थिइन् । मेरो विचारमा सारा जगलाई नै कुटुम्ब मान्ने नेपाली राजनीतिक अखडाका नितान्त एक्ला जोगीको जीवनका सर्वोत्तम दिनहरू थिए ती ।
काठमाडाैँ महानगरको नक्साल टोलकी, नेवार समाजको परम्परागत जातीय विभाजनका हिसाबले भ-याङको सबैभन्दा तल्लो खुड्किलातिर पर्ने दलित जातिमा जन्मे हुर्केकी, समाजमा प्रचलित सुन्दरताको परिभाषामा नअटाउने– सुन्दर भन्न नसकिने –बरु असुन्दर भने पनि हुने), डँडाक ज्यान भएकी अमिता कपालीले छिटै नै किसुनजीको मन जितेर सबैले गरेको अनुमानलाई गलत साबित गरिदिइन् । उनले थोरै दिनमै किसुनजीको रुचि–अरुचिलाई ध्यानमा राखेर उहाँको दिनचर्यालाई व्यवस्थित मात्र गरिनन्, त्यसमाथि आफ्नो हलुका नियन्त्रण पनि कायम गरिन् । किसुनजीले गर्दै आएको दैनिक धार्मिक चर्यामा आफूलाई पनि ढालिन् । किसुनजीको मद्यपानको लतमाथि लगाम कस्दै लगिन् । अमिताका, किसुनजीलाई आफ्नो रुचिअनुसारको ढाँचामा ढाल्न खाजेझैँ लाग्ने यी सब कामहरूको किसुनजीमाथि गहिरो प्रभाव पर्यो । त्यतिवेलासम्म साँचो अर्थमा कुनै स्त्रीको प्रेमिल साहचर्य पाउनबाट वञ्चित रहँदै आउनुभएका किसुनजीका लागि अमिताले सश्रद्धा रचेको स्नेहको त्यो संसार अत्यन्त प्रिय लाग्न थाल्यो ।
साथमा रहन थालेको केही समयपछिदेखि नै किसुनजीमाथि चल्न थालेको अमिता कपालीको जादुले त्यतिवेला उहाँको नजिक वा दायाँबायाँ रहेका नेता–कार्यकर्तालाई ठूलै झड्का दिनु स्वाभाविक नै थियो । मानव स्वभावअनुसार, त्यतिवेलासम्म किसुनजीको नजिक रहेका लगभग सबै कांग्रेसजन अमिता कपालीसँग क्रूद्ध भए । कांग्रेस वृत्तमा अनेक अनर्गल खासखुस र गाइँगुइँ चले र सेलाए पनि । ती सब कुराले किसुनजीप्रतिको अमिताको समर्पण र भक्तिभाव कम हुनुको सट्टा झनै बढ्यो । त्यसबीच अमिताले सायास वा अनायास, कांग्रेसका कतिपय नेता–कार्यकर्तालाई किसुनजीसम्म पुग्नबाट रोक्न सुरु गरेको चर्चा व्यापक भयो । अमिताविरुद्ध झुटा–सच्चा, अनेक प्रकारका हल्ला चलाइए र समयक्रममा ती पनि सेलाएर गए ।
कुनै पनि कुरालाई हेर्ने पुरानो आत्मकेन्द्रित सोचका कारण हुनुपर्छ, बहुसंख्यक कांग्रेसजनले वृद्ध नेता भट्टराई र तरुनी कार्यकर्ता कपालीबीचको गहिरो स्नेह सम्बन्धलाई सहज र सकारात्मक किसिमले लिन सकेनन् । नेपाली समाजमा स्त्री–पुरुष सम्बन्धलाई वस्तुवादी दृष्टिकोणले हेर्न सक्ने व्यक्ति भेट्न लगभग असम्भव छ । अमिता कपालीले किसुनजीको स्याहारसुसार गर्न सुरु गर्नुअघि उहाँकी निजी सहायिका रहेकी बहुपठित विदुषी कविता भट्टराई (अहिलेकी योगिनी)का लागि पनि नेपाल विद्यार्थी संघकी यी लडाकु स्वभावकी तरुण कार्यकर्ताले किसुनजीको बुढ्यौलीले हत्तु पार्दै लगेको जीवनलाई बडो आत्मविश्वासका साथ सर्लक्क सम्हालेको घटना स्वाभाविक र निःस्वार्थ समर्पण हो जस्तो कहिल्यै लागेको थिएन । किसुनजीको निधन भएलगत्तैको एउटा भेटमा यस लेखकसँग कुराकानी हुँदा कविता भट्टराईले यस्तै आशय व्यक्त गर्नुभएको थियो ।
कविता भट्टराईले संकेत गर्न खोजेको कुरा प्रस्ट थियो भलै त्यसमा कुनै सत्यांश होस् वा नहोस् । हाम्रो समाजमा आफूले अरू कसैका बारेमा भनेको नराम्रो कुरा असत्य साबित भयो भने पनि त्यसबापत कुनै हर्जाना तिर्नुपर्ने अथवा कुनै किसिमको उत्तरदायित्व वहन गर्नुपर्ने प्रचलन छैन । त्यसैको फाइदा उठाएर मानिसहरू कसैका बारेमा जे पनि भनिदिन्छन् । कविताजी मात्र होइन, नेपाली कांग्रेसका धेरै नेता–कार्यकर्ता त्यतिवेला किसुनजी र अमिताबीच विकसित भएको प्रगाढ सम्बन्धको जगमा यौन मात्र थियो भन्ने कुरामा विश्वास गर्थे र तीमध्ये कत्तिले अझै पनि त्यसैमा विश्वास गरिरहेका होलान् । उनीहरूको यो अन्धविश्वासको जगमा जमेर बसेको छ स्त्री–पुरुषको कुनै जोडीका बीच परस्पर सहयोग, स्नेह अनि सहयोग र समर्पणको गहिरो भाव यौन सम्बन्धले मात्र पैदा गर्न सक्छ भन्ने एकांगी सोच । यसमा थोरै भूमिका यौनका विषयमा किसुनजीको प्रदर्शनप्रियता र हलुका गफ हाँक्ने बानीले पनि खेलेको छ भन्ने मलाई लाग्छ ।
स्त्री–पुरुषबीच आत्मीय सम्बन्ध बनाउन र त्यसलाई मजबुत पार्न यौनले एउटा महत्वपूर्ण तत्वका रूपमा भूमिका निर्वाह गर्न अवश्य पनि सक्छ, तर स्त्री–पुरुष सम्बन्धका सन्दर्भमा यौन नै सबै चिज हुन सक्दैन । किसुनजी र अमिताका बीच विकसित अद्भूतजस्तो लाग्ने गाढा सम्बन्धमा यौन नै मुख्य उद्दीपक तत्व रहेको थियो भन्नेहरूले उनीहरूको उमेरका बीच रहेको ग्याप र उनीहरू साथ रहेको अवधिमा किसुनजीको स्वास्थ्यस्थिति कस्तो थियो भन्ने विषयमा पनि एकपटक ध्यान दिनुपर्ने थियो । तर, त्यति पनि नगरेर, अरू परचक्रीहरूको त के कुरा, किसुनजीको निकट रहेर काम गरिरहेकाहरूले नै अमिता र उहाँको सम्बन्धलाई हरप्रकारले बदनाम गर्ने प्रयास गरे । त्यो मानव स्वभावको निकृष्ट पक्षको ज्वलन्त दृष्टान्त थियो ।
जसरी अमिता कपालीले हरप्रकारका आक्षेप र अनादरको कुनै परवाह नगरी पूरा समर्पणका साथ वार्धक्यका कारण बिरामी परिरहने किसुनजीको सेवा–शुश्रूषा गरेर उहाँको बुढ्यौलीलाई असहाय र कुण्ठाग्रस्त बन्न नदिई उहाँलाई थप केही वर्ष हामीहरूबीच हाँसी खेली बाँच्न सक्षम बनाइदिएकी थिइन् त्यसका लागि हामी किसुनजीका शुभचिन्तकहरू सबै ती स्नेहमूर्ति महिलाप्रति कृतज्ञ हुनुपर्छ । वार्धक्यका कारण शारीरिक अशक्तता बढ्दै गएको किसुनजीको एक्लो जीवनमा अमिताको आगमन नभएको भए उहाँको हालत कस्तो हुने थियो भन्ने कुराको कल्पना गर्दा पनि अत्यास लाग्दछ । त्यस स्थितिमा यस युगको त्यो एक्लो नायकको हालत वास्तवमै दयनीय बनेको हुने थियो भन्यो भने त्यो अत्युक्ति हुनेछैन । त्यस्तो सम्भावित दुर्दशाबाट बचाउन भगवान्ले किसुनजीकहाँ अमिताका रूपमा एउटी एन्जेल नै पठाइदिएका थिए भन्दा अत्युक्ति हुनेछैन ।
जीवनका अन्तिम केही वर्ष किसुनजी अमिताप्रति अलि बढी नै निर्भर हुन बाध्य हुनुभएको थियो जुन अवस्था उहाँजस्तो आत्माभिमानी र स्वाधीनचेता व्यक्तिको मनोनुकूल पटक्कै थिएन । उहाँको स्वास्थ्यस्थिति कमजोर र बारम्बार खराब हुन थालेपछि हो वा अरू कुनै कारणले हो, उहाँको निवासमा उहाँका कार्यकर्ता, शुभचिन्तक, आफन्त, यहाँसम्म कि लामो समयदेखिका सहकर्मीहरूको पहुँचलाई समेत कुण्ठित बनाइएको थियो । किसुनजीको दर्शन दुर्लभ, लगभग असम्भव भएको चर्चा हुन थालेको थियो । ती दिनमा अमिताकै इच्छाले हुनुपर्छ, किसुनजी कांग्रेसजनका हँसिला, रसिला, प्रिय नेताको सट्टा बाबा, जोगी, नेगी, सन्त र महन्तहरूका कृशनमुरारि बन्नुभएको थियो । आम र खास दुवै प्रकारका कांग्रेसजनबाट अमिता कपालीको आलोचना हुन थालेको त्यसै वेलादेखि हो ।
दैवकै इच्छाले हुनुपर्छ, अमिता कपालीले किसुनजी सत्तामा रहँदाका धेरै दिन व्यहोर्नुपरेन । हुन सक्छ, त्यो उनका लागि दैवले लुकाएर दिएको आशीर्वाद थियो, अंग्रेजहरू भन्छन् नि– ब्लेसिङ् इन् डिस्गाइज्, हो त्यस्तै । किसुनजी लामो अवधिसम्म प्रधानमन्त्रीका हैसियतमा सत्तामा रहनुभएको भए अमिता वा उनमा आश्रित परिजनहरूबाट त्यसको दुरुपयोग गर्ने प्रयत्न हुन सक्थ्यो (नहुन पनि सक्थ्यो) भन्ने आशंका किन हो मेरो मनमा उठिरहन्छ । यदि त्यस्तो हुन्थ्यो भने त्यो स्थिति अमिताका लागि अत्यन्त अप्रीतिकर हुन सक्थ्यो, किनभने त्यतिवेला उनले किसुनजीको सान्निध्य सधैँका लागि गुमाउनुपर्ने हुन सक्थ्यो । सबैलाई थाहा भएको विषय हो, किसुनजीले आफूनिकटका कसैबाट पनि भएको कुनै पनि प्रकारको अख्तियारको दुरुपयोगलाई सहन गर्नुहुने थिएन ।
किसुनजीले महाप्रस्थान गरेको आठ वर्ष भएको छ । अमिता किसुनजीकी सेविका वा प्रेमिकाको हैसियतबाट धेरै माथि उठेर उच्च तहकी महन्त भएकी छिन् । उनको हालको पदवी छ– महामण्डलेश्वर अमिता गिरी । अहिले आएर किसुनजी र अमिता कपालीबीचको सम्बन्धलाई कुनै नाम दिन खोज्नु अथवा अतीत बनिसकेको ती दुई प्रेमी–प्रेमिकाको जीवनको त्यस परिच्छेदको पुनःभ्रमण गर्नुलाई एउटा अर्थहीन अभ्यास मान्न सकिन्छ । सामाजिक आचार–व्यवहारका दृष्टिले पनि यो त्यति मनासिब विषय होइन । यसलाई सम्बन्धित व्यक्तिको गोप्यताको नैसर्गिक अधिकार हनन गर्ने चेष्टाका रूपमा पनि लिन सकिने हुँदा यससँग गम्भीर कानुनी जोखिम पनि जोडिएको छ । त्यस प्रकारको गतिविधि गर्दा सम्बन्धित पात्रको नितान्त निजी कार्यव्यापारमा अनावश्यक खोजीनिती गरेको अबगाल आइलाग्ने कुरो त छँदै छ, विवाद बढ्दै गयो भने अन्त्यमा गएर त्यो मुद्दा न्यायिक निरुपणको विषय बन्न पुग्ने सम्भावना पनि रहन्छ । तेस्रो व्यक्तिको नजरले हेर्दा अर्का दुई व्यक्तिबीचको सम्बन्ध गलत किसिमले बुझिने र त्यही गलत बुझाइ समाजमा फैलिने जोखिम त छँदै छ ।
यति हुँदाहुँदै पनि मैले यो आलेख तयार गर्नबाट आफूलाई रोक्न सकिनँ । किन ? किनभने मलाई लाग्छ, मैले मेरा ती दुवै मित्रबीच विकसित सघन सम्बन्धका सबै आयामलाई ठीक ढंगले बुझेको छु र म यो लेखको माध्यमबाट ती दुईबीचको त्यस प्रेमिल सम्बन्धलाई लिएर हुन सक्ने गलत बुझाइलाई चिर्ने प्रयत्न गरिरहेको हुनेछु ।
यो लेखका माध्यमबाट म सन्त नेता कृष्णप्रसाद भट्टराईको जीवनको उत्तरार्धका ती दिनहरूको पनि स्मरण गर्न खोज्दै छु, जुन समयमा उहाँलाई अमिता कपालीले एउटी भक्तिनीले मात्र दिन सक्ने किसिमको पूर्णतः निःस्वार्थ प्रेमको उपहार दिएकी थिइन् । मेरो विचारमा सारा जगलाई नै कुटुम्ब मान्ने नेपाली राजनीतिक अखडाका नितान्त एक्ला ती जोगीको जीवनका सर्वोत्तम दिनहरू थिए ती । प्रकारान्तरमा यही कुरा अमिता कपालीको जीवनमा पनि लागू हुन्छ । उनले पूरा तन्मयताका साथ किसुनजीको सेवामा बिताएका ती केही दिनहरू नै उनको जीवनमा आएका सर्वोत्तम दिन थिए । सन्त नेता पनि भनिने कृष्णप्रसाद भट्टराई नामक त्यो पारस पत्थरको स्पर्श पाएर नै सामाजिक रूपले पछाडि परेको वर्गबाट आएकी एक सामान्य स्त्री अमिता कपालीले गृहस्थाश्रमको सकस व्यहोर्नुअघि नै महामण्डलेश्वरको उपाधिले विभूषित महन्त हुने सौभाग्य पाएकी छिन् ।