किंवदन्तीजस्ता बुद्धिजीवी

सुजित मैनाली सुजित मैनाली
बुधबार, २९ फागुन, २०७५
डिजिटल संस्करण

बुद्धिजीवीहरूमाथि गरिएका टिप्पणी नेपाली छापामा प्रकाशित हुने क्रम पछिल्लो समय बढेको छ । त्यस्ता टिप्पणीमा बुद्धिजीवीहरूले निर्वाह गरेका÷गर्नुपर्ने दायित्व र समाजमा उनीहरूले छोडेको प्रभावबारे प्रकाश पार्ने जमर्को गरिएका हुन्छन् । अधिकांश टिप्पणी बुद्धिजीवीहरूको सार्वजनिक जीवनमा सीमित छन् । बुद्धिजीवीहरूले सार्वजनिक गरेका आफ्नो छवि उनीहरूको निजी जीवनसँग मेल खान्छ–खाँदैन अर्थात् बुद्धिजीवीहरूको सार्वजनिक जीवन खोक्रो नैतिक मूल्यले पोतिएको त छैन भनी त्यस्ता टिप्पणीले प्रश्न गरेको देखिँदैन । 

यस्तै प्रश्न तेस्र्याएका छन्, बेलायती इतिहासकार पल जोन्सनले आफ्नो चर्चित किताब ‘इन्टलेक्चुअल्स’मा । किताबमा उनले उठाएको मूल प्रश्न छ– ‘अरूलाई यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भनेर अर्ती उपदेश दिने बुद्धिजीवीहरूको नैतिक धरातलचाहिँ कस्तो छ ? उनीहरूले परिवार, साथीभाइ आदिसँग गर्ने व्यवहार नैतिक मूल्यमा अडिएको छ–छैन ? यौन र अर्थसम्बन्धी उनीहरूको व्यवहारमा विचलन छ–छैन ? के उनीहरूले सत्य बोल्ने र लेख्ने गरेका छन् ?’ (सन् १९९२, पृ. २) । 

यी प्रश्नको आलोकमा जोन्सनले जाँ ज्याक रुसो, पिबी सेली, कार्ल माक्र्स, हेनरिक इब्सन, लियो टोल्सटोय, अर्नेस्ट हेमिङ्वे, बर्तोल्त ब्रेख्त, बट्र्रेन्ड रसेल, जाँ पल सात्र्रदेखि नोम चोम्स्कीसम्मलाई कठघरामा उभ्याएका छन् । सार्वजनिक वृत्तमा आदर्शको बर्को ओड्ने यी बुद्धिजीवीहरूको निजी जीवन चुत्थो थियो भन्ने निष्कर्ष उनले निकालेका छन् । 
जोन्सनको मापदण्डलाई आधार बनाएर नेपाली बौद्धिक वृत्तमा दृष्टि लगाउने हो भने बुद्धिजीवीहरूको अनिकाल पर्ने निश्चित छ ।

बुद्धिजीवीहरूको यस्तो भीडमा नयराज पन्त (१९७०–२०५९) फरक छन् । सार्वजनिक रूपमा भन्ने गरेको आदर्शअनुरूपको जीवन बाँच्ने प्रयत्न उनीबाट भएको पाइन्छ । किताबका ठेली पढेर सूचना संग्रह गर्नु एउटा कुरो हो । आफ्नो मान्यताबमोजिम जीवन व्यतीत गर्ने साहस बटुल्नु बेग्लै र विशिष्ट कुरो हो । किताबी ज्ञानमा अब्बल भएर पनि जवाहरलाल नेहरूको कद महात्मा गान्धीको भन्दा सानो हुनुको कारण पनि यही नै हो । १६ वर्षअघि बितेका नयराजको जीवन नियाल्दा सूदुर विगतको कुनै किंवदन्ती पढेको भान हुन्छ ।जोन्सनको मापदण्डलाई आधार मानेर नयराजको बौद्धिकताको परीक्षण गर्दा एउटा दुर्लभ र रोचक चित्र निर्मित हुन्छ ।

पुनर्जागरणका पक्षपाती
कतिपय विद्वान्का अनुसार, नयराजले सुरु गरेको संशोधन मण्डलले राष्ट्रवादी धारको इतिहास लेखन परम्पराको आधार निर्माण गरेको थियो (प्रणव खरेल र गौरव केसी, ट्रजेक्टोरी अफ हिस्ट्री राइटिङ, रिपब्लिका, ४ फेब्रुअरी २०१९, पृ. ७) । नयराजका योग्यतम शिष्यसमेत रहेका ज्येष्ठ पुत्र डा. महेशराज पन्तले पनि ‘नयराज पन्तलाई आफ्नो बुबाभन्दा पनि बढी बीसौँ शताब्दीमा जन्मेका अब्बल राष्ट्रवादी नेपालीको रूपमा मैले सम्झिने गरेको छु’ भनेर उनलाई राष्ट्रवादी कित्तामा उभ्याएका छन् (महेशराज पन्त, मेरा बुबा अर्थात् नयराज पन्त, अन्नपूर्ण पोस्ट, फुर्सद, २४ भदौ २०७५, पृ. ग) । 

पृथ्वीनारायण शाहको कुशल राजनीतिक नेतृत्व उजिल्याउने प्राज्ञिक कर्ममा संशोधन मण्डल सक्रिय भएको तथ्यलाई आधार मानेर नयराजलाई राष्ट्रवादी पगरी गुथाउने गरिन्छ । तर, उनको समग्र जीवन मिहीनपूर्वक नियाल्ने हो भने उनको चिन्तन राष्ट्रवादबाट नभई संस्कृत भाषामार्फत बौद्धिक पुनर्जागरण गराउने आकांक्षाबाट अनुप्राणित देखिन्छ ।

पुनर्जागरणका लागि मानिसले आफूमा निहित हीन भावना त्यागेर आत्मविश्वासका साथ अघि बढ्ने संकल्प गर्नुपर्छ । भारतमा आध्यात्मिक पुनर्जागरण गराउने प्रयत्नमा लागेका आर्य समाजका संस्थापक दयानन्द सरस्वती (सन् १८२४–१८८३) ले भारतीय हिन्दूमाझ व्याप्त औपनिवेशिक हीनता हटाई उनीहरूमा आत्मविश्वासको ज्योति जगाउन वेदलाई दैवीवाणी ठहर गरेका थिए ।

मुगल र युरोपेली शक्तिहरू दक्षिण एसियामा विजयी भएपछि संस्कृत वाङ्मय शनैःशनैः कमजोर हुँदै गयो भन्ने भारतका पुनरुत्थानवादीहरूको विश्लेषणसँग नयराजको विश्लेषण मिल्दोजुल्दो थियो । भारतलाई अधीन गरेका मुगल र ब्रिटेनलाई पराजित गरी यस क्षेत्रमा बलियो र स्थिर राज्य स्थापना गर्ने पृथ्वीनारायणलाई नयराजले पुनर्जागरणको नेपाली बिम्ब बनाएका थिए । यो कुरा उनले लेखेको निम्न प्रसंगबाट स्पष्ट हुन्छ– ‘श्री ५ पृथ्वीनारायण शाहको समयमा नेपालमा विदेशीसँग मुकाबिला गर्ने शक्ति हामीसँग थियो । आफ्नै परम्पराअनुसार जमाएको सेनाले हामीले विदेशीसँग लडी आफ्नो देशको स्वातन्त्रय  रक्षा ग-यौँ । पछि, भीमसेन थापाले जनरल भई युरोपको नक्कल गरी पुरानो स्थिति तोडेर युरोपको ढाँचाको नयाँ फौजी व्यवस्था बाँधे । सक्कलले नक्कललाई जित्यो । भीमसेन थापाले भइरहेको राज्य पनि गुमाए । त्यसकारण पाश्चात्यहरूको अनुभव, कार्यतरिका उनीहरूको देश, काल, परिस्थितिअनुकूल र फाइदा दिने भए पनि त्यसको नक्कलले हामीलाई हानि गर्छ, फाइदा दिँदैन ।’ (नयराज पन्त, हाम्रो उद्देश्य र कार्यप्रणाली, २०५९, पृ. ६) । 
उनले लेखेको निम्त श्लोकले पनि यही मततर्फ संकेत गर्छ–
‘हाम्रा छैनन् विश्वविख्यात विद्वान्
हाम्रा छैनन् दूरदर्शी कलावान् ।
हाम्रो आफ्नो छैन केही पदार्थ
जेले पारौँ विश्वमा उच्च माथ ।।१।।
हाम्रो यस्तो दीनता क्यै हटाई
हामीलाई हौसला क्यै दिलाई ।
पार्ने हाम्रो चित्तमा सद्विवेक
जन्मेका छन् राजनीतिज्ञ एक ।।२।। (नयराज पन्त आदि (सं), २०२५, श्री ५ पृथ्वीनारायण शाहको उपदेश, पृ. १५)
१४औँ शताब्दीदेखि १७औँ शताब्दीसम्मको अवधिलाई युरोपमा पुनर्जागरणकाल भनिन्छ । ग्रिक र रोमन भाषामा लेखिएका प्राचीन ग्रन्थहरूको परिशिलनबाट मध्ययुगीन अन्धकारलाई चिर्दै कला, साहित्य, संस्कृति, राजनीति, अर्थतन्त्रलगायत युरोपको समग्र जीवनमा जागरण छाएको थियो । त्यस्तै खालको जागरण यस भूखण्डमा ल्याउनुपर्छ भन्ने नयराजको मान्यता थियो । यसका लागि पश्चिमी शैली अनुकरण गर्ने विकल्प रोज्ने होइन, संस्कृतविद्याको गहन अध्ययन गरी भारतीय प्राचीन विद्याद्वारा कार्यक्षमता पैदा गराउने दिशामा अग्रसर हुनुपर्छ भन्ने उनको मत थियो (हाम्रो उद्देश्य र कार्यप्रणाली, पृ. १) । 

अध्ययन शैली
संस्कृत भाषामा आधारित प्राचीन पद्धतिको शिक्षण विधि ब्युँताएर मात्र नेपालसहित यस भूखण्डको बौद्धिक पुनर्जागृति सम्भव छ भनी सार्वजनिक अभिव्यक्ति दिने नयराज यस्तो मान्यताप्रति स्वयंचाहिँ विश्वस्त थिए–थिएनन् भनी बुझ्न नितान्त आवश्यक छ । अहिले संस्कृत भाषा र अध्यात्म एक–अर्काका पर्याय बनेका छन् । संस्कृत वाङ्मयका पक्षपाती भए पनि नयराजले संस्कृत भाषामा आधारित शिक्षालाई अध्यात्मबाट अलग राखे । यसो गर्दा उनी अध्यात्मको ठेकेदारी लिएका पण्डा–पुरेत सामु ‘अल्ट्रा मोर्डन’ कहलिए । यति हुँदाहुँदै पनि पश्चिमी चिन्तनपद्धति अँगालेर आधुनिक कहलिएका बुद्धिजीवीले उनलाई पुरातनपन्थी भनिरहे ।

नयराज संस्कृत वाङ्मयबाट निःसृत प्राचीनतालाई आत्मसात् गर्ने र पश्चिमीकरणलाई ढिम्किन नदिने मौलिक किसिमको आधुनिकताका पक्षधर थिए ।संस्कृत शिक्षामा अध्यात्म प्रभावी भएपछि यसको पतन सुरु भएको हो भन्ने नयराजको ठहर थियो । त्यसैले संस्कृत भाषामा छिपेको प्रयोगपरक पाटोतर्फ मात्र उनले एकोहोरो ध्यान थियो ।
यही मान्यतामा रहेर उनले संशोधन मण्डलको पाठशालामा अध्ययन गर्ने शिष्यहरूका लागि पाठ्यक्रम तयार पारेका थिए ।

पाठ्यक्रम तयार पार्दा कौटिल्यलगायत पूर्वाचार्यहरूलाई आधार बनाएका थिए । कौटिल्यले विद्यालाई त्रयी (वेद), आन्वीक्षिकी (दर्शन), वार्ता (खेती, पशुपालन, वाणिज्य) र दण्डनीति (राजनीति) गरी चार भागमा विभाजन गरेका छन् (उही, पृ. २) । यसैलाई आधार बनाएर नयराजले पाठ्यक्रममा लिपि, भाषा, व्याकरण, गणित, इतिहास, भूगोल, काव्य, दर्शनलगायत विषयबारे लेखिएका मूलतः संस्कृत भाषाका ग्रन्थहरू समावेश गरेका थिए ।  स्वाध्याय र अध्यापनका क्रममा उनी व्याकरणलाई सबैभन्दा बढ्ता जोड दिने गर्थे । आचार्य भास्कर लिखित ग्रन्थ ‘सिद्धान्तशिरोमणि’को निम्न श्लोकको मर्मलाई आत्मसात् गरेर उनले व्याकरणलाई उच्चासनमा राखेका थिए– 

यो वेद वेदवदनं सदनं हि सम्यग्
ब्राह्म्याः स वेदमपि वेद किमन्यशास्त्रम् ।
यस्मादतः प्रथममेतदधीत्य धीमान्
शाास्त्रान्तररस्य भवति श्रवणेधिकारी ।। 

अर्थात्, जसले व्याकरणलाई राम्रोसँग बुझेको छ, त्यसले सरस्वतीको घर भएको वेदलाई पनि बुझ्न सक्दछ भने अरू शास्त्रको त के कुरा ? यसकारण पहिले व्याकरण पढी बुद्धिमान् भएको मानिसले अरू शास्त्र पढ्ने अधिकार पाउँछ (नयराज पन्त, यो काम किन भइरहेछ ?, २०१४ (२०६९), पृ. ५) ।पाठ्यक्रममा रहेका केही ग्रन्थलाई उनले आधार ग्रन्थ मानेका थिए । ती ग्रन्थ घोकेर कण्ठ गर्नुपर्ने र कण्ठ गरेका श्लोकलाई विस्मृत हुन नदिन नित्य पाठ गर्नुपर्ने थिति बसालेका थिए । नयराजका अनुसार पश्चिमी ढाँचाको शिक्षणभन्दा संस्कृत भाषामा आधारित शिक्षण नितान्त भिन्न छ । संस्कृत भाषाका प्राचीन ग्रन्थहरू सूत्रबद्ध रूपमा लेखिएका हुन्छन् । कण्ठ गर्न सजिलो होस् भनेर तिनलाई सकेसम्म छोट्याइएको हुन्छ (उही, पृ. १४) । पाश्चात्य ढाँचाका पुस्तकहरूमा चाहिँ लम्बेतान व्याख्या गरिएको हुन्छ । त्यसैले पाश्चात्य ढाँचाको शिक्षणविधिमा घोक्ने कुराको कल्पनासम्म पनि गर्न सकिँदैन । नयराजले आफ्नो पाठशालामा रघुवंश, अष्टाध्यायी, भट्टिकाव्य र अमरकोश गरी चार ग्रन्थलाई घोकेर कण्ठस्थ राख्नुपर्ने र यसभन्दा बढ्ता पढ्न चाहनेले पनि त्यसअघि यी ग्रन्थ कण्ठ सुनाउनुपर्ने थिति बसालेका थिए (उही, पृ. २८) । 


‘रघुवंश’मा भनिएको ‘आफूले पढेको विद्या उपस्थित राख्न दिनका दिन अभ्यास गर्नुपर्छ’ भन्ने सन्दर्भ (उही, पृ. २१८) लाई उनले निजी जीवनमा पनि इमानदारीपूर्वक परिपालन गरेका थिए । शस्त्रलाई जस्तै शास्त्रलाई पनि सधैँ धार लगाइरहनुपर्छ भन्ने मान्यताप्रति प्रतिबद्ध उनले आफूले पढिरहनुपर्ने ४२ वटा ग्रन्थको सूची तयार पारेका थिए, जसमध्येमा नेपालको संविधान पनि थियो । तीमध्ये केही ग्रन्थ उनी नित्य पढ्ने गर्थे । अष्टाध्यायी हरेक दिन आधा घन्टा पढ्थे । कौटिल्य अर्थशास्त्र, वेदांग ज्यौतिष र सिद्धान्तशिरोमणि हरेक दिन करिब १०–१० मिनेट पढ्थे । वेद र भागवत पढेर केही मिनेट बिताउँथे । गणित विषय पढ्न पनि छुटाउँदैनथे । यस्ता ग्रन्थ पढेर थाकेपछि मन बहलाउन काव्य पढ्ने गर्थे (उही, पृ. २१९) । समय पूर्वनिर्धारण गरेर कर्म गर्नुपर्छ भन्ने प्रेरणा उनले कौटिल्य (१।५) बाट पाएका थिए–


‘राजहरूले दिनको पहिलो भाग हात्ती, घोडा, रथ र अस्त्रशस्त्रसम्बन्धी विद्या आर्जन गर्नू; दिनको पछिल्लो भाग इतिहास पढेर–सुनेर बिताउनू ।’नयराजले सर्वाधिक रुचाएका किताबमा भास्करको ‘सिद्धान्तशिरोमणि’, कौटिल्यको ‘कौटिल्य अर्थशास्त्र’ र पाणिनीको ‘अष्टाध्यायी’ थिए ।

संस्कृतलाई अहिले मृत भाषा पनि भनिन्छ । यो पुरेत्याइँ गर्ने भाषा हो, संस्कृत पढेर वृत्ति चल्दैन भन्ने आमधारणा छ । तर, नयराजले संस्कृत मात्रै पढेर पनि वृत्ति चलाउन सकिन्छ भन्ने दाबी जीवनभर गरिरहे । यस्तो दाबीलाई सर्वप्रथम आफैँमा परीक्षण गरे । बनारसस्थित काशिका राजकीय संस्कृत पाठशालाबाट ज्यौतिष अध्ययन गरेर नेपाल फर्किएपछि उनले आजीवन ज्योतिष अध्यापन गराएर गुजारा चलाए । आफ्ना छोराहरू महेशराज र दिनेशराजलाई पनि आफ्नै मार्गमा हिँडाए । 

उनको पाठशालामा शिष्यहरूलाई कक्षा उत्तीर्ण गरेको प्रमाणपत्र दिइँदैनथ्यो । आफूले शिक्षा लिएको छु भन्ने प्रमाण पेस गर्नुपरे विद्यार्थीले आफूले पढेका ग्रन्थहरू कण्ठ सुनाइदिनुपथ्र्यो (हाम्रो उद्देश्य र कार्यप्रणाली, पृ. ३०) । अहिलेको जमानामा अव्यावहारिक प्रतीत हुने यस्तो खालको शिक्षणपद्धतिप्रतिको उनको भरोसामा आडम्बर थिएन । उनले आफ्ना दुवै पुत्रलाई यही ढाँचाको शिक्षा दिएका थिए । सबैका छोराछोरीलाई मातृभाषामा शिक्षा दिनुपर्छ भनेर सार्वजनिक वृत्तमा कुर्लने, तर आफ्ना छोराछोरीलाई अंग्रेजी भाषामा शिक्षा लिन विदेशसम्म पठाउने अहिलेका बुद्धिजीवीहरूभन्दा नयराज भिन्न थिए ।

अर्थको अंकुश
कसैसँग सम्बन्ध तोड्नु छ भने उसलाई सापटी दिए पुग्छ । अकुत कमाउने मौका नपाउन्जेल मात्र व्यक्ति सदाचारी बन्छ भन्ने आमविश्वासको अन्तर्य पनि यही नै हो । त्यसैले जोन्सनले बुद्धिजीवीहरूको इमानदारी परीक्षण गर्न उनीहरूको आर्थिक जीवनमा नियाल्नुपर्छ भनेका छन् ।  नयराजको आर्थिक जीवनबारे चर्चा गर्नुअघि एउटा घटनाबारे उल्लेख गर्नु रोचक हुन्छ । तोत्रराज पाण्डेलाई सहलेखक बनाएर नयराजले लेखेको ‘नेपालको संक्षिप्त इतिहास’ वि.सं. २००४ मा छापियो । किताबका प्रकाशक तोत्रराज स्वयं थिए । किताब एसएलसीको पाठ्यक्रम बन्यो । किताबमा जंगबहादुरको अवधिसम्मका घटनाबारे उल्लेख थियो ।

पाठ्यक्रममा पर्न सफल त्यस किताबको अद्यावधिक संस्करण प्रकाशन गरेर मुनाफा गर्र्ने मनसाय तोत्रराजका दाजु रुद्रराजले बनाए । यसका लागि उनले नयराजलाई सन्दर्भसामग्री बटुल्ने खर्चबापत पाँच सय रुपैयाँ अग्रिम भुक्तानी दिए ।किताब अद्यावधिक गर्ने कामका लागि अभिलेखलगायत ऐतिहासिक सामग्री संकलन गर्ने काममा नयराजले आफ्ना शिष्यहरू रामजी तेवारी र शंकरमान राजवंशीलाई लगाए । उनीहरूका लागि काम गरेको दिनको जनही १० रुपैयाँ ज्याला तोकिदिए । सन्दर्भसामग्री बटुल्न ठूलो समय र परिश्रम आवश्यक पथ्र्यो । बटुलिएका 

सामग्रीको परिशिलन गरेर किताब अद्यावधिक गर्नु अर्को महाभारत थियो । द्रव्य आर्जनलाई मुख्य लक्ष्य बनाएका प्रकाशक रुद्रराजसँग नयराजलाई पर्खिने धैर्य भएन । उनले ‘नेपालको संक्षिप्त इतिहास’को सार खिचेर त्यसमा केही थपथाप गरी आफ्ना छोरा माधवराजको नाममा ‘नेपालको इतिहासको एक झलक’ शीर्षकमा पातलो किताब निकाले ।

किताब निस्किएपछि नयराजले आफू ठगिएको महसुस गरे । रुद्रराजसँग लिएको पाँच सय रुपैयाँ फिर्ता गरेर सम्बन्ध तोड्ने निश्चय उनले गरे । त्यस घटनाबारे नयराजका पुत्र महेशराजले लेखेका छन्, ‘हुन त रुद्रराज पाण्डेयकहाँबाट आएको रुपैयाँको केही अंश रामजी तेवारी र शंकरमान राजवंशीलाई उपकरणहरूको संग्रह गर्ने गरेको कामबापत दिँदा खर्च भइसकेको थियो तापनि उनीहरूकहाँबाट आएको पूरै रकम नयराज पन्तले फिर्ता गर्ने भए ।

एक–एक रुपैयाँका पाँच सय डबलले भरिएका, कपडाका दुइटा थैली मलाई...बोकाई उनी रुद्रराज पाण्डेयकहाँ पुगे । नयराज पन्तको र रुद्रराज पाण्डेयको घरमा पाँच मिनेटको पनि दूरी नभए पनि म सानै भएकोले होला, मलाई ती थैली बोक्न गाह्रै भएको थियो ।’ (नयराज पन्तको किताब ‘म गोबरगणेश बनेछु’ (२०६९) मा महेशराज पन्तको ‘मुखबन्द’, पृ. ६) ।
आर्थिक जीवनमा यस्तो व्यवहारको अपेक्षा अहिले अत्यन्तै थोरै बुद्धिजीवीहरूबाट गर्न सकिन्छ । विद्या द्रव्यसँग सटही गर्ने चिज होइन भन्ने मान्यताका पक्षधर नयराजको पाठशालामा शिष्यहरूलाई निःशुल्क अध्यापन गराइन्थ्यो । ‘ट्युसन फी’ लिइँदैनथ्यो । पढाउनेले स्वयंसेवा गर्नुपथ्र्यो । माथिल्लो कक्षाकाले तल्लो कक्षाकालाई पढाउनुपथ्र्यो । पाठशालाको ध्येयसँग सहमत हुने व्यक्तिले मात्रै शिक्षक बनेर स्वयंसेवा गर्न पाउँथे । यस्तो ध्येयसँग अभिभावक र छात्र दुवै सहमत छन् भने मात्र छात्रलाई शिष्यका रूपमा पाठशाला भर्ना गरिन्थ्यो । त्यसअघि अभिभावकले ‘अंग्रेजी आदि विदेशी भाषा नपढे पनि उच्च ज्ञान आउन सक्दछ तथा जीवन निर्वाह गर्ने धन उपार्जन गर्न सकिन्छ भन्ने कुरामा म भित्र हृदयदेखि विश्वास गर्दछु, त्यस पाठशालाको नियमअनुसार अष्टाध्यायीसम्म यिनलाई पढाउँछु, यो प्रतिज्ञा मैले पालन गरिनँ भने संस्कृतभाषाको उत्थानको भ्रूणहत्या गरेको पाप मलाई लागोस्’ भन्ने व्यहोरा लेखेर पाठशालासमक्ष बुझाउनुपथ्र्यो । त्यस्तै शिष्यले ‘यस पाठशालाको नियममा रही अष्टाध्यायीसम्म पढ्दछु, यो प्रतिज्ञाको पालन नगरी यस पाठशालाको परिश्रमलाई विदेशी भाषामा चढ्ने खुड्किलो मैले बनाएँ भने विद्याद्रोह गरेको पाप मलाई लागोस्’ भनेर मञ्जुरीनामा लेख्नुपथ्र्यो (हाम्रो उद्देश्य र कार्यप्रणाली, पृ. ७१) । 
संस्कृतभाषा पढेर उच्च ज्ञान हासिल गर्न तथा जीविका चलाउन पर्याप्त हुन्छ भन्ने कुरामा पूर्ण विश्वास नगर्नेले दिएको चन्दा पनि अस्वीकार गर्ने पाठशालाको नीति थियो (उही, पृ. ९) । आफ्नो विवेक बन्धक राखेर दाताहरूसमक्ष ‘म यो–यो कुरा लेख्न कबुल गर्छु’ भनी कबुलियतनामा लेखी पारितोषिक बुझ्ने बुद्धिजीवीहरूभन्दा नयराज फरक थिए ।  
रकम हिनामिनालगायत आर्थिक विवादमा नयराज फसेका थिए भन्ने चर्चा बौद्धिक वृत्तमा सुनिँदैन । बरु उनीसँग संगत गरेकाहरूबाट उनको आर्थिक इमानदारीसम्बन्धी अनेक किस्सा सुन्न पाइन्छन् । 
आर्थिक जीवन पारदर्शी हुनुपर्छ भन्ने मत उनले कौटिल्यको जीवनबाट ग्रहण गरेका थिए । कौटिल्य घरमा राज्यको काम गर्दा राज्यकोषबाट खरिद गरिएको तेलबाट बत्ती बाल्ने गर्थे । निजी काम गर्नुप-यो भने निभाएर आफ्नै पैसाले किनेको तेलबाट अर्को बत्ती बाल्ने गर्थे । कौटिल्यसम्बन्धी यस्तो प्रसंगबाट नयराज प्रभावित थिए । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ छँदाताका उनको खोकिलामा दुईवटा कलम हुने गथ्र्यो । प्रतिष्ठानका लागि केही लेख्नुप¥यो भने उनी प्रतिष्ठानको कोषबाट खरिद गरिएको कलम प्रयोग गर्थे । अरू वेला आफ्नो तलबबाट किनिएको कलम चलाउँथे । आर्थिक जीवन सफा हुनुपर्छ भन्ने मान्यताप्रति उनी प्रतिबद्ध थिए भन्ने कुरा संशोधन मण्डलबाट प्रकाशित हुने जर्नल ‘पूर्णिमा’मा जर्नलको आयव्यय विवरण आवधिक रूपमा प्रकाशन हुने गरेको तथ्यबाट पनि स्पष्ट हुन्छ ।   
  
आलोचनाको अचानो
कोठाको फिकदानीजस्तै विद्या पनि निरन्तर सफा (संशोधित) राख्नुपर्ने विषय भएको ठहर गरेर नयराजले विद्या संशोधन गर्ने अभियान सुरु गरे (म गोबरगणेश बनेछु, पृ. ७२–७३) । यही उद्देश्यका लागि इतिहास–संशोधन, व्याकरण–संशोधन र पञ्चांग–संशोधनसम्बन्धी पर्चा प्रकाशन गर्न थाले । इतिहास–संशोधनबाट उनी बढ्ता चिनिए । संशोधक तथा संशोधकहरूको गुरु भएकाले विद्वत्जगत्माझ नयराज मूलतः आलोचकका रूपमा परिचित छन् ।

विद्वान्हरूको आलोचना गर्दा नयराज अत्यन्तै रुखो र निर्मम भाषा प्रयोग गर्थे, जुन कतिपय अवस्थामा अभद्र प्रतीत हुन्थ्यो । यस्तै भाषा प्रयोग गर्ने परम्परामा उनले शिष्यहरूलाई दीक्षित गरे । उनका शिष्यहरूले ‘श्री डिल्लीरण रेग्मीज्यूले हाम्रो सम्पत्ति फेरि पनि चोर्नुभयो’ –शंकरमान राजवंशी, पूर्णिमा ११, पृ. १७–२४), ‘हाम्रो वक्तव्य– श्री डिल्लीरमण रेग्मीज्यूको छटेलपन’ (पूर्णिमा ११, पृ. २३४–२९४) जस्ता ठाडो शीर्षकमा आलोचना छपाए । आलोचनाको यस्तो शैलीले अन्ततः संशोधन मण्डलका सदस्यहरूलाई नै घाइते बनाउन थाल्यो । शिष्य शंकरमान राजवंशीले संशोधन मण्डल त्यागेपछि स्वयं नयराजले ‘शंकरमान राजवंशी अब अनुचित काम पनि गर्न लागेछन्’ शीर्षकमा लेख छपाए (पूर्णिमा ३८, पृ. ३९–४७) । त्यसयता उनका शिष्यहरूले गुरुले सिकाएकै शैलीमा यदुवंशी पारामा एक–अर्कामाथि प्रहार गरिरहेका छन् भन्ने तथ्य धनबज्र बज्राचार्य र महेशराज पन्तसँग ज्ञानमणि नेपालको शास्त्रार्थ हेर्दा स्पष्ट हुन्छ ।

नयराजले सुविचारित रूपमा आलोचनाको त्यस्तो शैली अँगालेका थिए । पूर्ववर्ती लेखकहरूको आलोचना गरेर उनीहरूका लेखाइमा खोट औँल्याएपछि मात्रै आफूले बोलेको–लेखेको कुरामा अरूको ध्यान आकर्षित हुन्छ भन्ने उनको मान्यता थियो । कडा शब्दमा आलोचना गर्ने आचार्य भास्करको शैलीलाई नयराजले मानक मानेका थिए । यसबारे उनले लेखेका छन्, ‘भास्करको तर्कशैली, कुरा पक्का गरी बोल्ने र आफूले पक्का गर्न नसकेको कुरामा यो कुरा मैले पक्का गर्न सकेको छैन भनी बोल्न संकोच नमान्ने लेखनशैलीले म अत्यन्त प्रभावित भएँ...भास्करले...प्राचीन विद्वान्का मतको परीक्षा कडा शब्दमा गरेका छन्...भास्करले गरेको आलोचना उपपत्तिपूर्ण छ । त्यसलाई खण्डन गर्न सकिँदैन...वस्तुको परीक्षा गर्न र त्यताबाट साँचो कुरा पत्ता लगाउन भास्करकै बाटो लिनुपर्छ ।’ (नयराज पन्त, प्राचीन गणित र नवीन गणितको तुलना, २०३८, पृ. १)
संस्कृत भाषाको पुनर्जागरणका कट्टर पक्षधर हुनुको नाताले विद्वत् जीवनदेखि दैनन्दिन्यसम्मका प्रसंगबारे धारणा बनाउन उनी संस्कृत वाङ्मयमा शिखर पुरुषहरूलाई आधार मान्ने गर्थे । कामन्दकीयनीतिसार (१३ सर्ग) को निम्न श्लोकलाई आधार बनाएर उनले नेपालबारे अध्ययन गर्ने विदेशीलाई सत्री अर्थात् जासुस ठहर गरेर उनीहरूसँग हिमचिम नगर्ने नीति लिएका थिए– 
विद्याशिल्पापदेशेन संश्लिष्योभयवेर्तनः ।
कृत्यपक्षं विजानीयात् तद्भर्तुश्च विचेष्टितम् ।।१३।। 
तीर्थाश्रमसुरस्थाने शास्त्रविज्ञानहेतुना ।
तपस्विव्यञ्जनोपेतैः स्वचारैः सह संपतेत् ।।१४।।
अर्थात्, विद्या आर्जन र कालिगडी कार्यको निहुँले दुवैतिर (स्वपक्ष र परपक्ष) को पैसा (तलब) खाई मान्छेसँग सम्बन्ध राखेर कृत्यपक्ष (भड्काउँदा भड्किने मानिस) लाई र त्यहाँका राजाको चेष्टालाई पनि बुझ्नु । तीर्थ, आश्रम, देवस्थानमा तपस्वीको भेष लिएर आफ्ना जासुसहरूसँग शास्त्रको चर्चा गर्ने भनेर भेट गर्नू (नयराज पन्त, २०२९, गुरुज्यू हेमराजको विषयमा विदेशी विद्वान्हरूको विचार, पूर्णिमा ७(४), पृ. २४६) । 

पृथ्वीनारायणकालीन पादरी जिसेप्पीदेखि नयराजकालीन जिसेप्पी तुच्चीसम्मको जीवन हेर्दा नेपालबारे अनुसन्धान गर्ने विदेशी लेखक सत्री हुन् भन्ने उनको विश्लेषण निराधार ठहर्दैन । पछिल्लो समयका थियोडोर रिकार्डी पनि यही पंक्तिमा उभिएको ठोस प्रमाण निकट भविष्यमै उपलब्ध भएमा अनौठो मानिनेछैन । यति हुँदाहुँदै पनि नेपालबारे अनुसन्धान गर्ने विदेशीलाई एकमुष्ठ रूपमा ‘सत्री’ भनेर खारेज गरिदिने नयराज शैलीले बौद्धिक मन्थनको आयातनलाई साँघुरो बनाउँछ भन्ने हेक्का राख्नुपर्छ । यद्यपि, यसबाट आफ्नो मान्यताप्रतिको उनको निष्ठाचाहिँ झल्किन्छ ।
  
कामनिवृत्तिको कर्म
नयराजको यौन जीवनलाई लिएर बजारमा कुनैखालको अफवाह सुनिँदैन । यसअर्थमा उनको यौन जीवन संयमित थियो । ४१ वर्षको उमेरमा नयराजले पत्नी बुधकुमारीलाई गुमाए । पत्नीवियोगबाट व्यथित बनेर उनले संस्कृत पद्यमा एउटा शोककाव्य लेखे (नयराज पन्त, विश्रान्ती, २०५०, पृ. १२) । पत्नी वियोगपछि उत्पन्न रिक्ततालाई उनले प्राज्ञिक गतिविधिमा अझ एकोहोरिएर पूर्ति गरे । उनले पुनर्विवाह गरेनन् । ब्रह्मचर्यको पूर्ण परिपालन गर्ने प्रतिज्ञा गरे । ब्रह्मचर्य पालन गर्ने सवालमा उनी कतिविघ्न कट्टर थिए भन्ने बुझ्न एकजना छात्रासँगको उनको प्रसंग उल्लेख गर्नु वाञ्छनीय हुन्छ । 


उनी रानीपोखरी संस्कृत महाविद्यालयका अध्यापक छँदाको कुरा हो । त्यतिवेला उनी विधुर भइसकेका थिए । ज्यौतिषविद्याका प्रखर अध्यापकका रूपमा उनी विद्यार्थीमाझ परिचित थिए । उनको ख्याति सुनेर शिष्य बन्न आउने एकजना युवतीलाई उनले ब्रह्मचर्य भंग हुने आशंकामा अस्वीकार गरेका थिए । नयराजसँग पढ्न आउने ती युवतीको नाम थियो, विद्याकुमारी बज्राचार्य । पूर्वमध्यमा पास गरेर रानीपोखरी संस्कृत महाविद्यालयमा उच्च शिक्षा हासिल गर्न भनेर उनी आएकी थिइन् । उनले ज्योतिष विषय लिएर उत्तरमध्यमा पढ्ने निधो गरिन् । ज्यौतिष उत्तरमध्यमा नयराजले पढाउने निधो भयो । नयराज कक्षाकोठामा आए । त्यहाँ विद्याकुमारीलाई देखेपछि भने, ‘नानी, मैले विधुर भएर यस्ता महिलालाई पढाएको छैन, म पढाउन्नँ ।’ विद्याकुमारीले पढ्न जिद्दी गरिन् । नयराज मानेनन् । 

महाविद्यालयका प्राचार्य पद्मप्रसाद भट्टराईसम्म कुरो पुग्यो । उनले पनि नयराजसँग विद्याकुमारीलाई कक्षाकोठामा राखेर पढाउन दबाब दिए । नयराजले अन्तिम फैसला सुनाए, ‘उनीलाई पढाउनैपर्ने भए मेरो कोठामा पर्दा राखियोस्, म पढाउँछु । उनी पर्दापछाडि बसेर पढून् ।’ (हंसपुरे सुवेदी, छात्रा विद्याकुमारी र गुरु नयराज, ज्ञानगुनका कुरा–भाग ८२, २०६०, पृ. ४६–५१)  कुरो त्यसै सेलायो । विद्याकुमारीले नयराजकी शिष्य बन्न पाइनन् ।

ब्रह्मचर्यको पूर्ण परिपालन गर्ने प्रतिज्ञा भंग हुने भयले नयराज विद्याकुमारीबाट पन्छिन खोजेका थिए । सही अर्थमा ब्रह्मचर्य धारण गर्न व्यक्तिले अष्टाङ्गमैथुनबाट निवृत्त हुनुपर्ने कुरा शास्त्रमा गरिएको छ । अष्टाङ्गमैथुनअन्तर्गत ‘कुदृष्टि मनमा लिई स्त्रीपुरुष कसैले पनि परस्पर आँखा जुधाउनु–हेर्नु’ पनि पर्छ (उही, पृ. ४६–५१) । कक्षामा गुरु र चेलीको हैसियतले रहँदाबस्दा कुनै पनि वेला इमान डग्ला र यस्तोखालको मैथुनमा संलग्न भइएला भन्ने चिन्ता नयराजमा थियो ।
  उपसंहार
नेपालको बौद्धिक वृत्त मात्र होइन, समग्र इतिहासमै सार्वजनिक र निजी जीवनलाई एउटै धागोमा समेट्ने सवालमा नयराजजस्तो व्यक्ति पाउन गाह्रो छ । यसअर्थमा उनलाई नेपाली बौद्धिक क्षेत्रका विशिष्ट अपवाद मान्नुपर्छ । 

Follow @sujitmainali

सम्पादकको रोजाइ

सुझावित समाचार