लुम्बिनी प्रदेशका मुख्यमन्त्री जगबहादुर महराले आइतबार विश्वासको मत लिने भएका छन्।
आइतबार दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २४औँ बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए।
केन्द्रमा माओवादीसँगको गठबन्धन त्यागेर कांग्रेससँग नयाँ सत्तागठबन्धन निर्माण गरेपछि एमालेले लुम्बिनी सरकारका मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको थियो। सोही कारण संविधानमा गरिएको व्यवस्थाअनुसार मुख्यमन्त्री महराले प्रदेश सभामा विश्वासको मतसम्बन्धी प्रस्तावको सामना गर्न लागेका हुन्।
यससँगै, लुम्बिनीमा एमाले र कांग्रेसले नयाँ सरकार बनाउन कसरत गरिरहेका छन्। लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद छन्। माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका चार–चार, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका तीन–तीन, अशोक राई नेतृत्वको जसपा र उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका दुई-दुई तथा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद छन्। एकजना स्वतन्त्र सांसद छन्।
८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ।