१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार १७:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सात वर्षदेखि खानेपानी आयोजना अलपत्र, दुई वर्षको बजेट फ्रिज

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १७:२२:oo

सिराहाको धनगढीमाई नगरपालिका– १३ भोर्लेनीस्थित विष्णुपुरकट्टी खानेपानी सरसफाइ उपभोक्ता समितिअन्तर्गतको खानेपानी आयोजना सात वर्षदेखि अलपत्र परेको छ।

मधेश प्रदेश सरकारको उर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयमातहत सप्तरीको राजविराजस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत निर्माणाधीन खानेपानी आयोजना अलपत्र हुँदा स्थानीयले सास्ती भोग्नुपरिरहेको समितिका अध्यक्ष किताब तामाङले गुनासो गरे। ‘अहिलेको सुक्खा समयमा खानेपानी अभाव बढ्दै छ,’ उनले भने, ‘गाउँको खानेपानी आयोजना अलपत्र छोडिँदा अप्ठ्यारो झेल्नुपरेको छ।’ 

दुई आर्थिक वर्षको बजेट फ्रिज
आर्थिक वर्ष ०७३/७४ देखि थालिएको खानेपानी आयोजनाका लागि आ.व. ०७६/७७ को १० लाख पूरै र ०७९/८० को ३० लाख रुपैयाँमध्ये २७ लाख ५९ हजार रुपैयाँ डिभिजनको कारणले फ्रिज भएको धनगढीमाई १३ का वडाध्यक्ष सूर्यमान तामाङले बताए। 

चालू आ.व.को १० लाख बजेटमध्ये आयोजनाको कार्यालय भवन निर्माणका लागि ठेकेदारलाई पाँच लाख रुपैयाँ भुक्तानी दिएपछि बाँकी रहेको पाँच लाख रुपैयाँ पनि फ्रिज हुन सक्ने उनको आशंका छ। ‘तत्कालीन विष्णुपुरकट्टी गाविसको १, २ र ४ नं. वडाका आठ सय ८१ घरधुरीलाई लक्षित गरी थालिएको आयोजनाको पूर्णताका लागि डिभिजनले हेलचेक्र्याइँ गरिरहेको छ,’ वडाध्यक्ष तामाङले भने।

‘आ.व. ०७९/८० को ३० लाख रुपैयाँ बजेटबाट पाइप र विद्युतीय मोटर खरिद गरी तत्काल पाइप बिच्छ्याएर खानेपानी वितरण थालौँ भन्ने आग्रह गर्दा कार्यालय भवन बनाउने भनियो। तर, भवनको डिपिसीसम्मको काम गरेर ठेकेदार नै सामानहरू लिएर हिँड्यो,’ उनले भने। आ.व.०७७/७८ मा १० लाख रुपैयाँ बजेटबाट खरिद गरिएको ५० केभिएको विद्युतीय ट्रान्सफर्मर पनि सुरक्षाको कारणले त्रिपालले छोपेर आफ्नै घरमा राख्न बाध्य भएको उनले सुनाए।

‘खानेपानी आयोजनाका लागि जिरोमाइल–सर्रे अम्बास जोड्ने सडकको एक कित्ताभित्र लाखौँ मूल्यको चार कट्ठा जग्गा निःशुल्क दिएका भोर्लेनी गाउँका सिंहमान तामाङ र जयलाल तामाङसहित गाउँलेहरू आयोजना अलपत्र हुँदा निराश बन्न थालिसके,’ वडाध्यक्ष तामाङले भने, ‘डिभिजनले आ.व. ०७३/७४ मा ठेक्कामार्फत बनाएको एक लाख लिटर क्षमताको ओभरहेड ट्यांकी पनि प्रयोगविहीन छ।’

डिभिजन प्रमुख नहुँदा काम प्रभावित
आयोजनाको चारकोठे कार्यालय भवन निर्माणको ठेक्का आस्था कन्स्ट्रक्सनले लिएको छ। आ.व. ०७९/८० को जेठमा भ्याटसहित साढे २७ लाख रुपैयाँको ठेक्का सम्झौता भएको थियो।

सम्झौताबमोजिम मंसिरसम्म निर्माण सम्पन्न गर्ने गरी काम गरेको भए पनि डिभिजन प्रमुख नहुँदा काम गर्न गाह्रो भएपछि काम रोकेको आस्था कन्स्ट्रक्सनका सञ्चालक प्रमोद महतोले बताए।

‘ठेक्का सम्झौतापछि मोबिलाइजेसनबापत सोही आ.व.मा दुई लाख ४१ हजार रुपैयाँ र आ.व. आ.व. ०८०/८१ को १० लाख बजेटमध्ये आफूले गरेको डिपिसीसम्मको कामबापत पाँच लाख रुपैयाँ भुक्तानी लिएको छु,’ उनले भने। त्यसपछि पनि निर्माणको कामलाई निरन्तरता दिने योजना रहेको भए पनि ठेक्का सम्झौता सकिएको, म्याद थप नगरी काम गर्न नमिल्ने, तर डिभिजन प्रमुख नहुँदा प्राविधिक रूपले काम गर्न गाह्रो भएपछि काम रोकेको उनले बताए।

‘वैशाखको अन्त्यसम्म डिभिजन प्रमुख हाजिर हुने सुनेको छु, कार्यालय भवनको बाँकी काम सम्पन्न गर्न म्यादसमेत थप भएकाले अब काम पुनः गर्नेछु,’ उनले भने।

ad
ad