
नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा एमाले केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बैठक सुरु भएको एमाले पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
आजको बैठकमा पार्टीको सचिवालय र पोलिटब्युरो बैठकद्वारा पारित उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रस्ताव प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्नेछन्।
सोमबार बोल्न बाँकी रहेका केन्द्रीय सदस्यहरूले आज प्रतिवेदनमाथि आफ्नो धारणा राख्नेछन्। आज कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले उक्त प्रस्तावमाथि आ–आफ्नो धारणा राख्ने कार्यसूची रहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । प्रतिवदेनमाथि धारणा राख्न प्रत्येक केन्द्रीय सदस्यलाई बढीमा तीन मिनेटको समय उपलब्ध गराइएको छ । सोमबार प्रतिवेदनमाथि ४९ केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए ।