मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ४ आइतबार
  • Sunday, 20 July, 2025
२o८२ श्रावण ४ आइतबार २o:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्वतमा पहिरोले घर पुर्दा श्रीमान्-श्रीमतीको मृत्यु, बुहारी भागेर बाँचिन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ४ आइतबार २o:o२:oo

शनिबार रातिदेखिको अविरल वर्षाको कारण आएको पहिरोले घर पुर्दा पर्वतको मोदी गाउँपालिकामा दुईजनाको मृत्यु भएको छ।

मोदी–३, देउराली लाङ्दीमा घरमाथिबाट आएको पहिरोले घर पुर्दा ७८ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती विश्वकर्मा रहेकी जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए।

आइतबार बिहान करिब ४ बजेको समयमा घरदेखि १० मिटरमाथिबाट आएको पहिरो ढुंगामाटोले बनेको कच्ची घरमा खस्दा उनीहरूको ज्यान गएको हो। घरमा तीनजना रहेकोमा बुहारी ३३ वर्षकी पवित्रा विक भने भागेर ज्यान जोगाउन सफल भएकी छिन्।

घटनाको सूचना पाएसँगै उद्धारको लागि प्रहरी चौकी देउपुर डिमुवा, पर्वतबाट प्रहरी सहायक निरीक्षक नेत्रबहादुर जिटीको कमान्डमा चारजना र पछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट सापकोटाको कमान्डमा ११ जनाको टोली खटिएको थियो। प्रहरी र स्थानीयले पुरिएकाहरूको खोजी गर्ने क्रममा सुरुमा श्रीमान र त्यसपछि श्रीमतीको शव फेला पारेको सापकोटाले जानकारी दिए।

सापकोटाका अनुसार पहिरोले पुरिएको घरसँग अर्को घर नजोडिएका कारण थप क्षति हुन पाएन। गत वर्षसमेत सोही स्थानमा छेउको घरमा पहिरो आएको थियो। घरमाथि कमलो माटो रहेको र अविरल वर्षाका कारण माटो बगेकाले पहिरो आएको उनले बताए।

पर्वतको डिमुवा बजारदेखि करिब १० किलोमिटरको दूरीमा रहेको घटनास्थल जाने बाटो ठाउँठाउँमा पहिरोले अवरुद्ध हुँदा उद्धारका लागि जाने टोलीलाई समस्या परेको सापकोटाले बताए। पछि डोजरको सहायताले घटनास्थलसम्म जाने बाटो खुलाइएको हो।